कृति समिक्षा
शरद ऋतु
नेपालको सामाजिक आन्दोलन, त्यसमा पनि विशेषगरी मानवीय सेवाको पर्याय बनेको नेपाल रेडक्रस सोसाइटीको इतिहासमा दाङ जिल्लाको योगदान अतुलनीय छ । दाङमा रेडक्रस अभियानलाई संस्थागत गर्न, यसको प्रभावकारिता बढाउन र समुदायस्तरसम्म विस्तार गर्न आफ्नो सम्पूर्ण जीवन समर्पित गर्ने दुई ऐतिहासिक व्यक्तित्व हुन् नारायण प्रसाद आचार्य र भगवती शर्मा । यो दम्पती नेपाली समाजसेवाको आकाशमा यस्तो नक्षत्रका रूपमा स्थापित भयो, जसले निःस्वार्थ भाव, त्याग र समर्पणको अद्वितीय उदाहरण प्रस्तुत ग¥यो । स्वर्गीय नारायण प्रसाद आचार्य र भगवती शर्माको भौतिक अवसानपछि उहाँहरूको स्मृतिलाई चीरस्थायी बनाउने र उहाँहरूले पु¥याएको योगदानलाई अभिलेखीकरण गर्ने पवित्र उद्देश्यका साथ ‘नारायण–भगवती स्मृतिग्रन्थ’ प्रकाशन भएको छ । यो स्मृतिग्रन्थ केवल दुई मृत आत्माप्रति चढाइएको श्रद्धासुमन मात्र होइन, दाङ जिल्लाको सामाजिक, शैक्षिक, स्वास्थ्य र मानवीय सेवाको क्षेत्रको झन्डै पाँच दशक लामो इतिहासको जीवन्त दस्तावेज पनि हो । यस ग्रन्थले समाजसेवामा लाग्न चाहने वर्तमान र भविष्यका पुस्ताका लागि एउटा अमूल्य मार्गदर्शक र प्रकाश–स्तम्भको काम गरेको छ । कुनै पनि मानिस यस पृथ्वीमा जन्मनु र एउटा निश्चित उमेर अवस्था पार गरेपछि निधन हुनु स्वभाविक कुरा हो । जीवन जति सहज देखिन्छ, यथार्थमा त्यस्तो हुँदैन । हरेकले फरक भोगाई भोगिरहेका हुन्छन । आज मानिसले आफ्नो दुःख भन्दा अरुको दुःख कम देखिरहेको हुन्छ । आफ्नो सुख भन्दा अरुको सुख ज्यादा ठानिरहेको हुन्छ । जे देखिएको हुन्छ त्यस्तो हुँदैन । हरेकका आफ्नै कथा छन् । हरेकका आफ्नै व्यथा छन् । दाङ जिल्लाको सन्दर्भमा एउटा गज्जवको नाम हो नारायण प्रसाद आचार्य । सामाजिक सेवाको क्षेत्रमा उहाँले रेडक्रसका माध्यमबाट जे योगदान गर्नुभयो त्यस्तै खालको योगदान गर्ने अर्को व्यक्ति अव हुने छैन । सामाजिक क्षेत्रमा गरिने योगदान खेलाडीको रेकर्ड ब्रेक गरेको जस्तो हुँदैन । नारायणप्रसाद आचार्यले पु¥याएको भन्दा बढी योगदान अरुले गरेको हुनसक्छ । तर रेडक्रसका माध्यमबाट उहाँले जे गर्नुभयो त्यो अर्कोले गर्न गाह्रो छ ।
नेपाल रेडक्रस सोसाइटीले उहाँकै बारेमा स्मृतिग्रन्थ प्रकाशन गरेको छ । नारायण प्रसाद आचार्यको निधन भएको केही दिनमै उहाँकी जीवन संगीनी भगवती शर्माको निधन भएको थियो । श्रीमानको बाटो पच्छ्याउँदै उहाँ पनि रेडक्रसको केन्द्रिय नेतृत्वमा पुग्नुभएको थियो । जहाँ विपत त्यहाँ उहाँहरुको उपस्थिती र वकालत हुन्थ्यो । नारायण र भगवतीको स्मृतिमा नेपाल रेडक्रस सोसाइटीले निकालेको स्मृतिग्रन्थमा विभिन्न क्षेत्रमा आवद्ध ५१ जनाका अनुभूतीहरु समेटिएका छन् । तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का, पूर्व मेयर घनश्याम पाण्डे देखि लिएर नारायणप्रसाद आचार्यसंग संगत र सहकार्य गरेकाहरुले लेखेका गहकिला सामग्री स्मृतिग्रन्थमा समावेश गरिएको छ । कुनै पनि स्मृतिग्रन्थको गरिमा र जीवन्तता त्यसको सम्पादन र प्रकाशन प्रक्रिया कति निष्पक्ष, व्यवस्थित र गहन छ भन्ने कुरामा भर पर्छ । ‘नारायण–भगवती स्मृतिग्रन्थ’ लाई पाठकसमक्ष ल्याउन बर्तमान अध्यक्ष मदन गौतमलाई संरक्षक राखेर सम्पादकमा भिमलाल मरासीनी र सदस्यहरूः वंशीकुमार शर्मा, गोपाल शर्मा भट्टराई, र विश्राम अधिकारीले भूमकिा खेल्नुभएको थियो । स्मृतिग्रन्थको प्रकाशकीयमा नारायण प्रसाद आचार्यले २४ वर्षसम्म नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको सभापतिका रूपमा नेतृत्व सम्हाल्दै संस्थालाई एक सुदृढ, विश्वसनीय र परिणाममुखी आधार प्रदान गर्नुभएको विषय उठान गरिएको छ । आचार्यको नेतृत्व शैली दूरदर्शी, समन्वयकारी र पारदर्शितामा आधारित रहेको साथै उहाँकी जीवनसङ्गिनी भगवती शर्माले ३५ वर्षको लामो अवधि जिल्ला शाखा तथा केन्द्रीय सदस्यका रूपमा रहेर सङ्गठनको उन्नति र विस्तारमा अभूतपूर्व भूमिका निर्वाह गर्नुभएको विषय उल्लेख गरिएको छ । । विशेषगरी महिला सहभागिता, स्वयंसेवक परिचालन र समुदायस्तरमा रेडक्रसको पहुँच विस्तारमा भगवतीले खेल्नुभएको भूमिका उल्लेखनीय रहेको उल्लेख छ ।
नारायण प्रसाद आचार्यको जन्म वि.सं. २००० साल आषाढ २७ गते तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मोतिपुरमा भएको थियो । उहाँका पिता गोविन्द प्रसाद आचार्य र माता पीमा देवी उपाध्याय हुनुहुन्थ्यो । उहाँ गोविन्द प्रसाद आचार्यका ज्येष्ठ सुपुत्र हुनुहुन्थ्यो । उहाँका एक भाइ कृष्ण प्रसाद आचार्य हुनुहुन्छ । वैवाहिक र पारिवारिक जीवनको कुरा गर्दा उहाँका दुई श्रीमती हुनुहुन्थ्यो । जेठी माया आचार्य र कान्छी भगवती शर्मा । जेठी श्रीमती माया आचार्यबाट एक छोरा प्रकाश आचार्य र एक छोरी शुष्मा आचार्य हुनुहुन्छ । छोरा प्रकाश र बुहारी सुशीला आचार्यबाट तीन नातिनीहरू प्राची शर्मा, आर्या शर्मा र पर्ल आचार्य हुनुहुन्छ । शिक्षाको कुरा गर्ने हो भने नारायणप्रसाद आचार्यले प्रारम्भिक शिक्षा तुलसीपुरस्थित जीतेन्द्र मिडिल स्कुलमा कक्षा ५ सम्म गर्नुभएको थियो । त्यसपछि संस्कृत शिक्षाका लागि उहाँ जनता महा–विद्यालय बिजौरी जानुभयो र उत्तर मध्यमाको अध्ययन पूरा गर्नुभयो । उच्च शिक्षाका लागि उहाँ भारतको वनारस जानुभयो र त्यहाँबाट स्नातक तहको शिक्षा प्राप्त गर्नुभयो । समाजसेवाको लामो यात्रा पूरा गरी उहाँको वि.सं. २०८२ साल वैशाख ८ गते आफ्नै निवासमा दुःखद निधन भएको थियो ।
२०५४ सालमा नेपाल रेडक्रस सोसाइटी दाङको अध्यक्ष भएपनि त्यसअघि उहाँले अन्य विभिन्न क्षेत्रमा योगदान गर्नुभएको थियो । रेडक्रस आन्दोलनको नेतृत्वः वि.सं. २०५५ सालदेखि २०७९ सालसम्म लगातार २५ वर्षसम्म उहाँ नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको सभापति हुनुभयो । त्यसअघि झन्डै २० वर्ष उहाँले तुलसीपुरको उरहरी उपशाखा र जिल्ला शाखामा स्वयंसेवकका रूपमा निःस्वार्थ काम गर्नुभएको थियो । वि.सं. २०२१ सालदेखि २०३० सालसम्म उहाँले जनता महा–विद्यालय बिजौरीमा पुस्तकालय स्थापना गर्न र बेलझुण्डी दाङमा नेपाल संस्कृत विश्वविद्यालयको स्थापनाका लागि प्रारम्भिक चरणमा सक्रिय र महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । साथै वि.सं. २०२७ देखि २०३० सालसम्म सोही विद्यालयमा कार्यालय प्रमुख रही प्रशासनिक कार्य सञ्चालन गर्नुभएको थियो । उहाँले रेडक्रसका रहेकमो समयमा विभिन्न उल्लेखनिय काम गर्नुभयो । देखिने कामहरु गर्नुभयो । खासगरी स्वास्थ्य र पूर्वाधार विकासका लागि योगदान गर्नुभयो । उहाँकै कार्यकाल र सक्रियतामा दाङको घोराहीमा २०५९ सालमै रक्तसंचार केन्द्रको प्रारम्भ गरिएको थियो । यस्तै तुलसीपुर र लामीमा पनि व्यवथित रक्तसञ्चार सेवा केन्द्र (ब्लड बैंक) स्थापना गरियो । जसको सञ्चालनपछि राप्ती क्षेत्रकै स्वास्थ्य सेवामा क्रान्ति आयो भन्दा हुन्छ ।
आचार्यको स्मृतिग्रन्थमा ५१ जनाका विचार, अनुभूती समेटिएका छन् । यो स्मृतिग्रन्थ वैचारिक र भावनात्मक रूपमा निकै उच्चकोटीको छ । जसमा २५ वटा भन्दा बढी विशिष्ट लेखहरू र अन्य संस्मरणहरू समेटिएका छन्, जसले नारायण–भगवती दम्पतीको व्यक्तित्वका विविध आयामलाई उजागर गर्छन् । तुलसीपुर उपमहानगरपालिकाका मेयर टीकाराम खड्काले ‘मानव सेवाभावका एक प्रणेता नारायण आचार्य’ भनेर उहाँलार्य सझना गर्नुभएको थियो । उहाँले आचार्यलाई दाङको मानवीय सेवाका पितामहका रूपमा चित्रण गर्दै उहाँको निश्छल र परोपकारी भावनाको चर्चा गर्नुभएको छ । सामाजिक रुपमा मात्रै होइन राजनीतिक रुपमा पनि आचार्यले योगदान गर्नुभएको बिषय उल्लेख गर्दै खड्काले आचार्य राजनीतिक कार्यकर्ता मात्रै होइन विचारशील संवादक र कुशल संयोजकका रुपमा रहेको सँझना गर्नुभएको छ । नेपालमा मात्रै होइन भारतमा रहेको समयमा समेत राजनीतिक र सामाजिक सेवाको क्षेत्रमा आचार्य क्रियाशिल रहेको विषय खडकाको लेखमा उल्लेख गरिएको छ । यस्तै तुलसीपुर उपमहानगरपालिकाका पूर्व प्रमुख घनश्याम पाण्डेले ‘निःस्वार्थ सेवाका दुई अमर स्मृति श्री नारायण–भगवती ।’ भनेर लेख्नुभएको छ । तुलसीपुरका पूर्व नगरप्रमुख पाण्डेले नारायण र भगवती दुवैको संयुक्त योगदानको चर्चा गर्दै उहाँहरूले दाङको सामाजिक रूपान्तरणमा पु¥याएको योगदानको राजनीतिक र सामाजिक कोणबाट विश्लेषण गर्नुभएको छ । विजौरीमा पुस्तकालय स्थापनाका लागि भूमिका खलेको, विभिन्न स्थानमा विद्यालय स्थापनाका लागि योगदान गरेको, विभिन्न स्थानमा बाढी पैह्रो आउँदा सवैभन्दा पहिले सेवाका हात सहित पुग्ने गरेको सँझना पाण्डेले गर्नुभएको छ ।
रेडक्रस दाङका अध्यक्ष मदन गौतमले ‘मोतिपुरका नारायण’ शिर्षकमा लेख लेख्नुभएको छ । स्मृतिग्रन्थका संरक्षक समेत रहनुभएका गौतमले आचार्यको पारिवारिक पृष्ठभूमि, मोतिपुर गाउँको परिवेश र उहाँको बाल्यकालदेखिको सेवाभावको आत्मीय सङ्गालो प्रस्तुत गर्नुभएको छ । गौतमले २०५४ सालमा नारायणप्रसाद आचार्यले रेडक्रसको जिम्मेवारी लिएर एउटा घेराबाट बाहिर निकालेको प्रशंग उल्लेख गर्नुभएको छ । पहिले पनि रेडक्रस थियो तर कहाँ थियो ? के गर्दै थियो ? भन्ने बारेमा धेरैलाई थाहा नै थिएन । उहाँले रेडक्रसको कमिटीलाई विभिन्न गाउँ विकास समितिमा समेत विस्तार गर्नुभयो । अर्को हिसावले रेडक्रसलाई दाङ जिल्लाभर फैलाउने काम गर्नुभयो । यहि विषयलाई गौतमले उठान गर्नुभएको छ । यस्तै अर्का लेखक हरिहर पौडेलले ‘स्वर्गीय नारायण र भगवती शर्माको सम्झनामा दुई शब्द’ लेख्नुभएको छ । रेडक्रस दाङका उप–सभापति पौडेलले आचार्यसँग २० वर्ष सँगै काम गर्दाका अनुभवहरूलाई स्मृतिग्रन्थमा लेख्नुभएको छ । उहाँले नारायणप्रसाद आचार्यलाई ‘मानव भएर जन्मिनु आफैंमा अपार वरदान हो र मानवीय भावनाले प्रभावित पीडामा सँगै रहेर सहयोग गर्नु नै धर्म हो’ भन्ने मान्यता राख्ने महामानवका रूपमा स्मरण गर्नुभएको छ ।
स्मृतिग्रन्थमा केही आचार्य र शर्माको जीवनीका बारेमा लेखिएका लेखहरु, कतिपय उहाँहरुसंग विताएका स्मरणहरु, केही सामाजिक रुपमा काम गर्दाका अनुभूतिहरु रहेका छन् । कतिपय उहाँका नातेदारले लेखेका बिषयहरु पनि समेटिएका छन् । संझनामा नारायण आचार्य शिर्षकमा अजीतकुमार शर्माको लेख रहेको छ । पूर्व अध्यक्ष डिल्लीबहादुर केसीले मैले चिनेका स्व. नारायण र भगवती शर्मा शिर्षकमा लेख लेख्नुभएको छ । उहाँले भगवती शर्मालाई रेडक्रसको अभियानमा ल्याएको स्मरण पनि यहि लेखमा गर्नुभएको छ । स्वगीय नारायण आचार्यको स्मृतिमा शिर्षकमा नवराज रजौरेले लेख्नुभएको छ । उहाँले आचार्यले पाएका पुरस्कार, सम्मान लगायतका विषयलाई समेत समेट्नु भएको छ । श्रद्धासुमन नारायण–भगवतीप्रति शिर्षकमा प्रकाश श्रीवन्दले लेख्नुभएको छ । कुशल तर्तालले ‘रेडक्रस अभियानमा २ दशक लामो यात्रामा’ शिर्षकमा लेख्नुभएको छ । उहाँले रेडक्रसमा आचार्यको दुई दशक लामो अनवरत यात्रा र त्यसले संस्थालाई पु¥याएको उचाइको प्रशासनिक र साङ्गठनिक समीक्षा गर्नुभएको छ । यसैगरी विमल के.सी. ले ‘दाङ रेडक्रसका हेनरी ड्यूना तथा प्रेरणाका स्रोत’ शिर्षकमा लेख लेख्नुभएको छ । के.सी.ले आचार्यलाई अन्तर्राष्ट्रिय रेडक्रसका संस्थापक हेनरी ड्यूनासँग तुलना गर्दै दाङका सन्दर्भमा उहाँ हेनरी ड्यूना जत्तिकै पूजनीय र प्रेरक रहेको तर्क गर्नुभएको छ ।
यस्तै दोर्ण बहादुर वलीले ‘मेरो मार्गदर्शक नारायण–भगवती’ शिर्षकमा आफूलाई सामाजिक र स्वास्थ्य क्षेत्रमा लाग्नका लागि प्रेरणा दिएको उल्लेख गर्नुएको छ । शुष्मा भण्डारीको ‘मेरा प्रेरणाका स्रोत’ शिर्षकमा लेख समेटिएको छ । छोरी शुष्माले आफ्ना पिताको वात्सल्य, पारिवारिक अनुशासन र समाजप्रतिको उत्तरदायित्वलाई एउटा छोरीको दृष्टिकोणबाट भावनात्मक रूपमा व्यक्त गर्नुभएको छ । सिमा न्यौपानेले समाजसेवी द्वय नारायण भगवती’ शिर्षकमा लेख लेख्नुभएको छ भने मदन धिताल ‘मैले चिनेका दम्पती’ शिर्षकमा लेख लेख्नुभएको छ । यी लेखहरूले नारायण र भगवतीको घरायसी जीवन, उहाँहरूको आपसी समझदारी र कसरी एउटा आदर्श दम्पती बनेर समाजको सेवा गर्न सकिन्छ भन्ने कुराको प्रत्यक्षदर्शी अनुभव प्रस्तुत गरेका छन् । स्मृतिग्रन्थका सम्पादक भिमलाल मरासिनीले ‘रेडक्रसको अटल र अविराम यात्रामा नारायण–भगवती’ शिर्षकमा लेख लेख्नुभएको छ । सम्पादक मरासिनीले रेडक्रसको सिद्धान्तलाई यो दम्पतीले कसरी आफ्नो व्यवहार र जीवन पद्धतिमा उतारे भन्ने कुरालाई मर्मस्पर्शी ढङ्गले लेख्नुभएको छ ।
सम्पादक मण्डलको सदस्यका रुपमा रहनु भएका बंशीकुमार शर्माले मानवताका दुई उज्याला दीप नारायण–भगवती शिक्षकमा लेख्नुभएको छ भने धर्मराज न्यौपानेले मेरो स्मृतिमा श्रद्धेय नारायण आचार्य शिर्षकमा लेख्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी घोराहीको सभापती र जिल्ला उपसभापतीका रुपमा लामो समय योगदान गर्नुभएका नरेशजंग राणाले श्रद्धाञ्जली शिर्षकमा कविता लेख्नुभएको छ । पश्चिम दाङमा रहेको पुरन्धारा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष ज्ञानप्रसाद आइतबारेले मेरो संझनामा नारायण भगवती शिर्षकमा लेख्नुभएको छ । तुलसीपुर व्लड बैंक स्थापनाका लागि गरिएका संघर्षका विषयलाई समेटेर विष्णुकुमार देवकोटा ‘तुलसीपुरमा ब्लड बैंक स्थापना’ शिर्षकमा लेख्नुभएको छ । उहाँले तुलसीपुरमा रक्तसञ्चार केन्द्र स्थापना गर्दा झेल्नुपरेका प्राविधिक, आर्थिक र सामाजिक चुनौतीहरू र त्यसमा नारायण आचार्यले खेल्नुभएको नेतृत्वदायी भूमिकाको ऐतिहासिक टिपोट पाइन्छ । पूर्व प्रशासक हरिप्रसाद पाण्डेले ‘मृदुभाषी श्रद्धेय स्व.नारायण आचार्यको स्मरणमा’ शिर्षकमा आचार्यको बोलीको मधुरता, विनम्रता र कहिल्यै कसैलाई चित्त नदुखाउने उहाँको विशिष्ट मानवीय गुणको स्मरण गर्नुभएको छ ।
इसैगरी पद्मप्रसाद न्यौपानेले श्रद्धार्पण स्वर्गीय नारायण दम्पतीप्रति लेख्नुभएको छ भने तिलक न्यौपानेले सरसफाई अभियन्ताको प्रेरकको रुपमा नारायण आचार्यले गर्नुभएको योगदान स्मरण गर्नुभएको छ । स्मृतिग्रन्थमा केवि मसाल, शरद अधिकारी, सुशिल बस्नेत, खगराज न्यौपाने, गोपाल शर्मा, जगदिश देवकोटा, राजकुमार यादव, श्रीधर शर्मा आचार्य, रामदयाल गुप्ता, कपिलमणि लामिछाने, निर्मल नेपाली, निर्मला गौतम, गोकर्ण पौडेल, चन्द्रिका न्यौपाने, सुष्मा अधिकारी, कृष्णप्रसाद आचार्य, नारायण कुमार आचार्य, बासुदेव आचार्य, दोलख बहादुर डाँगी, जगत तामाङ, देवी प्याकुरेल, विश्राम अधिकारी, दिलिप न्यौपाने, सन्तोष ढकाल र प्रकाश डाँगीको लेख समेटिएको छ । ५१ जनाले विविध विषयहरु समेटेर लेखिएका लेखहरुको संगालोका रुपमा रहेको स्मृतिग्रन्थ आफैमा ऐतिहासिक दस्तावेज बनेको छ । यो पुस्तक केवल व्यक्तिको प्रशंसामा सीमित छैन, यसले दाङ जिल्लाको समग्र सामाजिक विकास, रेडक्रसको स्थापना, विकासक्रम र रगत अभावका कारण छटपटिएका बिरामीहरूको जीवन बचाउन गरिएका सङ्घर्षहरूको ऐतिहासिक अभिलेख राखेको छ । यस स्मृतिग्रन्थमा अनेकन क्षेत्रका जानकार व्यक्तित्वका बारेमा लेखिएक्ँे छ । यसलाई सर्सती पढ्ने हो भने यसमा रहेका राजनीतिज्ञ, समाजसेवी, कर्मचारी, सञ्चारकर्मी, र पारिवारिक सदस्यहरूका विचार पढ्ने हो भने सवैले नारायण–भगवती दम्पतीलाई विभिन्न कोणबाट बुझ्ने अवसर पाउँछन् । यो स्मृतिग्रन्थ नारायणप्रसाद आचार्यका बारेमा अनुसन्धान गर्न चाहनेका लागि राम्रो बनेको छ । सम्पादक मण्डलले विधागत विविधताहरु संयोजन गरेको छ । जस्तै संस्मरण, अनुसन्धानमूलक लेख, श्रद्धाञ्जलीलाई सुन्दर ढङ्गले संयोजन गरिएको छ ।
स्मृतिग्रन्थमा लेखिएका सवै कुरा सत्य हुनुपर्छ । यसमा कसैका बारेमा अति बढाई चढाइ गर्नु हुँदैन । कुनै व्यक्तिका बारेमा आलोचना गर्नु प¥यो भने पनि आधिकारिक रुपमा र प्रमाणिक कुरा मात्रै राख्नु पर्दछ । कुनै व्यक्तिको जिवन पर्यन्त उसका बारेमा धेरै नै आलोचना गर्नुभनेको व्यक्तिले गरेको योगदानप्रति अन्याय हुन्छ । स्मृतिग्रन्थमा केही विषयहरु दोहोरिएर आएका छन् । लेखकलाई विषयबस्तुको जानकारी दिएर लेख लेख्न पठाउने हो भने बिषयमा दोहोरोपन हुँदैन । विषयबस्तुहरु पनि राम्रा आउँछन् । आगामी दिनमा यस्ता स्मृतिग्रन्थ प्रकाशन गर्दा अरुले पनि ख्याल गर्नुपर्छ । कतिपय अवस्थामा स्मृतिग्रन्थ फेसन जस्तो पनि भएको छ । रकम छ भन्दैमा योगदान नै नभएकाहरुको लागि स्मृतिग्रन्थ प्रकाशन गरिदिनु भनेको स्मृतिग्रन्थको महत्वमाथिको मजाक हो । समग्रमा ‘नारायण–भगवती स्मृतिग्रन्थ’ नेपाली वाङ्मय र सामाजिक क्षेत्रका लागि एउटा अमूल्य उपहार हो । यो ग्रन्थले के पुष्टि गर्छ भने मानिसको आयु उसको भौतिक शरीरको उपस्थितिमा मात्र सीमित हुँदैन, उसले समाजका लागि गरेका सत्कर्महरूले उसलाई इतिहासमा सधैं जीवित राख्छन् । नारायण प्रसाद आचार्य र भगवती शर्माले पद, प्रतिष्ठा वा व्यक्तिगत स्वार्थका लागि कहिल्यै काम गर्नुभएन । उहाँहरूको जीवनको एकमात्र मन्त्र थियो, ‘मानवता र सेवा’ ।
आजको समाजमा मानि उपभोक्तावादी र स्वार्थी बन्दै गएको छ । जहाँ मानिसहरू पद र पैसाका लागि मरिहत्ते गर्छन्, नारायण–भगवती दम्पतीको निःस्वार्थ सेवाको कथाले हामीलाई आत्मसमीक्षा गर्न बाध्य तुल्याउँछ । यो पुस्तक प्रत्येक सामाजिक कार्यकर्ता, विद्यार्थी, रेडक्रसकर्मी र दाङको इतिहास बुझ्न चाहने हरेक पाठकका लागि सङ्ग्रहणीय र अध्ययनयोग्य छ । नेपाल रेडक्रस सोसाइटी प्रकाशक भएको हुँदा रेडक्रसका विषयहरु धेरै आएका छन् । उहाँका अन्य पाटोहरु पनि रहेका छन् । राजनीतिको पाटो, सामाजिक सेवाको क्षेत्रमा योगदान गरेका अन्य पाटोहरुका बारेमा पनि स्मृतिग्रन्थमा समावेश गर्नुपर्ने थियो । पारिवारिक सदस्यहरु, उहाँका अन्य सन्तानका विषयहरुलाई पनि स्मृतिग्रन्थमा समावेश गरेको भए अझ राम्रो हुने थियो । तैपनि सम्पादक मण्डल र प्रकाशक परिवारले यस्तो ओजपूर्ण ग्रन्थ बजारमा ल्याएर स्वर्गीय दम्पतीप्रति सच्चा आदर र समाजप्रतिको ठूलो दायित्व पूरा गरेका छन् । यो ग्रन्थको अध्ययनले पाठकमा सेवाको नयाँ ऊर्जा र समाजप्रतिको दायित्ववोध गराउनेछ भन्ने आशा गर्न सकिन्छ । स्वर्गीय नारायण प्रसाद आचार्य र भगवती शर्माप्रति हार्दिक श्रद्धासुमन ।