spot_img
spot_img

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३ सय ३५ पुग्यो

११ दिनपछि पुरिएको घरबाट ६४ वर्षीया महिलाको जीवितै उद्धार

राप्ती पोष्ट समाचार

दाङ,भदौ रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार साँझ ५ बजेसम्म फेला परेका शवको संख्या १ हजार ३ सय ३५ पुगेको छ । बाढीका कारण ठूलो जनधनको क्षति भएकोमा खोज तथा उद्धार कार्य जारी रहँदा विभिन्न जिल्लाबाट उक्त संख्यामा शव फेला परेको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये रसुवामा १ सय ६०, नुवाकोटमा १ सय ९३, धादिङमा ६७, चितवनमा ३ सय ६२, गोरखामा ७४, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २२ र नवलपरासी पश्चिममा २ सय १९ वटा शव फेला परेका छन् । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण नदी आसपासका जिल्लामा ठूलो क्षति पुगेपछि खोजी तथा उद्धारलाई तीव्र बनाइएको छ ।

फेला परेका शवको पहिचानका लागि प्रहरीले डीएनए नमुना संकलनसहित आवश्यक प्रक्रिया अघि बढाएको छ । हालसम्म १ हजार ३० वटा शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । व्यवस्थापन गरिएका शवलाई पहिचान तथा अन्य प्रक्रिया पूरा गर्न सकिने गरी सुरक्षित रूपमा माटोमुनि राखिएको बताइएको छ ।

शव पहिचानका लागि मृतकका परिवार तथा आफन्तबाट डीएनए नमुना संकलन गर्ने कार्यलाई समेत निरन्तरता दिइएको छ । हालसम्म मृतकका १ हजार २ सय ६० र आफन्तका १ हजार १२ गरी कुल २ हजार २ सय ७२ वटा डीएनए नमुना संकलन गरिएको प्रहरीले जनाएको छ ।

पहिचान हुन नसकेका शवको विवरणसमेत सार्वजनिक गरिएको छ । हालसम्म पहिचान नभएका १ हजार २ सय ९२ वटा शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ । शव पहिचानमा सहजता ल्याउन र आफन्तलाई आवश्यक सूचना प्राप्त गराउन विवरण सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

खोजीमा ४ हजार ८ सय ८७ जना बेपत्ता

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनलगायतका कामका लागि नेपाल प्रहरीले ठूलो संख्यामा जनशक्ति परिचालन गरेको छ । हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको प्रहरीले जनाएको छ ।

बाढीपछि बेपत्ता भएका नागरिकको खोजी कार्य अझै जारी छ । शनिबार साँझसम्म ४ हजार ८ सय ८७ जना बेपत्ता रहेको विवरण प्रहरीले सार्वजनिक गरेको छ । नदी तथा बाढी प्रभावित क्षेत्रमा सम्भावित स्थान पहिचान गरी सुरक्षा निकायले खोजी कार्य गरिरहेका छन् ।

यसैगरी विभिन्न जिल्लामा स्थापना गरिएका होल्डिङ सेन्टरमा ३ हजार ९८ जना व्यक्तिलाई राखिएको छ । बाढीका कारण घर तथा बस्ती जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने, स्थानीय तह, स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा खोजी गर्ने काम गरिरहेको छ । बाढीका कारण विभिन्न ठाउँमा अवरुद्ध भएका सडक तथा बाटो खुलाउने कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ ।

११ दिनपछि पुरिएको घरबाट महिलाको जीवितै उद्धार

यसैबीच नुवाकोटमा त्रिशूली नदीको विनाशकारी बाढीमा पुरिएको घरबाट ११ दिनपछि एक महिलाको जीवितै उद्धार गरिएको छ । विदुर नगरपालिका–१० बेत्रावतीमा पुरिएको घरबाट प्रहरीले ६४ वर्षीया चण्डीका श्रेष्ठलाई शनिबार जीवितै उद्धार गरेको हो ।

उहाँ आनन्दलाल श्रेष्ठकी श्रीमती हुनुहुन्छ । बाढीका कारण चारतले घर क्षतिग्रस्त भई पुरिएको अवस्थामा रहे पनि प्रहरीले खोजी कार्य जारी राखेको थियो ।

प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमाण्डमा खटिएको प्रहरी टोलीले बेत्रावतीस्थित नदीको बगर तथा क्षतिग्रस्त संरचनामा खोजी कार्य गरिरहेको थियो । सोही क्रममा आनन्दलाल श्रेष्ठको चारतले घरको छततर्फ पुगेपछि प्रहरी टोलीले घरभित्रबाट आवाज सुनेको थियो ।

प्रहरी निरीक्षक दर्नालका अनुसार घरभित्रबाट आवाज आएपछि प्रहरी टोलीले तत्काल उद्धारको प्रयास थालेको थियो । घरको पर्खालमा सानो प्वाल बनाएर खोजी गर्दा भित्रबाट ‘बचाऊ, बचाऊ’ भन्ने आवाज सुनिएको थियो ।

त्यसपछि प्रहरीले पर्खाल फुटाएर उद्धार कार्य अघि बढाएको थियो । स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायको समेत सहयोगमा प्रहरी टोलीले चण्डीका श्रेष्ठलाई जीवितै बाहिर निकाल्न सफल भएको हो ।

११ दिनसम्म भग्नावशेषभित्र रहेकी महिलाको जीवितै उद्धार हुनु बाढीपछिको खोज तथा उद्धार अभियानमा आशा जगाउने महत्वपूर्ण घटना बनेको छ । लामो समयसम्म घरभित्र पुरिएको अवस्थामा रहे पनि उहाँ बोल्न सक्ने अवस्थामा भेटिनुभएको प्रहरीले जनाएको छ ।

उद्धार गरिएकी चण्डीका श्रेष्ठलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी पठाइएको छ । उहाँको अवस्था हाल मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ ।

उद्धार तथा खोजी कार्यलाई निरन्तरता

बाढीका कारण ठूलो मानवीय क्षति भएको अवस्थामा समेत सम्भावित स्थानमा जीवित नागरिक फेला पर्न सक्ने सम्भावनालाई ध्यान दिँदै सुरक्षा निकायले खोजी कार्यलाई निरन्तरता दिएको छ । बाढी तथा पहिरोबाट क्षतिग्रस्त संरचना, नदी किनार, बगर र जोखिमयुक्त क्षेत्रमा प्रहरी, नेपाली सेना तथा सशस्त्र प्रहरी बलसहितका सुरक्षा निकाय परिचालन भइरहेका छन् ।

नेपाल प्रहरीले स्थानीय तह, स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी उद्धार, खोजी, राहत वितरण र सडक तथा बाटो खुलाउने काम गरिरहेको जनाएको छ । बाढीका कारण विस्थापित तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा राख्ने कामसमेत जारी रहेको छ ।

बेपत्ता नागरिकको संख्या ठूलो रहेकाले खोजी कार्य चुनौतीपूर्ण बनेको छ । तर, ११ दिनपछि समेत चण्डीका श्रेष्ठलाई जीवितै उद्धार गर्न सफल भएको घटनाले उद्धार टोलीमा थप आशा र ऊर्जा थपेको छ । प्रहरीले सम्भावित सबै स्थानमा खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ ।

भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढीले प्रभावित जिल्लामा ठूलो क्षति पुर्‍याएपछि अहिले राज्यका विभिन्न संयन्त्र उद्धार, खोजी, राहत तथा पुनःस्थापनाको काममा केन्द्रित भएका छन् । फेला परेका शवको पहिचान र व्यवस्थापनसँगै बेपत्ता नागरिकको खोजी तथा विस्थापित परिवारको सुरक्षा र राहतलाई प्राथमिकतामा राखिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार