spot_img
spot_img

इतिहासकै कठिन मोडमा पत्रकारिता

राप्ती पोष्ट

बाह्रकुने, २० बैशाख । नेपालको पत्रकारिता इतिहासको कठिन मोडमा पुगेको भन्दै यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई समेत अफ्ठेरो स्थितीमा पुराएको नेपाल पत्रकार महासंघ दाङको साधारण सभामा बोल्ने बक्ताहरुले बताएका छन् । पत्रकार महासंघ दाङको २३ औं साधारण सभामा बोल्नेहरुले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा राज्यसत्ता जहिल्यै अनुदार रहेको भन्दै कठिन संघर्षका लागि तयार हुनुपर्ने धारणा राखेका थिए ।

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुले गर्ने संघर्ष समाप्त नभएको बताउनुभयो । उहाँले सवै विज्ञापन सरकारी मिडियामा मात्रै दिने भन्ने निर्णयले अहिलेको सरकार प्रेसप्रति अनुदार रहेको स्पष्ट गरेको बताउनुभयो ।
पत्रकारहरुले आफूले गरेका कर्मका बारेमा समीक्षा गर्नु उत्तिकै आवश्यक रहेको धारणा पनि उहाँको थियो । यतिवेला पत्रकारले कुनै कुरा लेख्यो भने आम पाठकले विश्वास नगर्ने अवस्था रहेकोतर्फ गम्भिर समीक्षा आवश्यक रहेको उहाँको धारणा थियो । पोखरेलले नेपालमा लोकतन्त्रलाई संस्थागत विकास गर्न मिडिया क्षेत्रको अहं भूमिका रहेको कुरालाई कसैले भूल्न नहुने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासनले नेपाल पत्रकार महासंघ आन्दोलनमा रहेको स्मरण गराउनुभयो । उहाँले नेपाल पत्रकार महासंघ सरकारको कदमको विरुद्धमा आन्दोलनमा रहेको भन्दै यो आन्दोलन सफल नहुँदासम्म जारी रहने र यसका सवै पत्रकारहरुको सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो । कार्यक्रममा बोल्नेहरुले नेपालका पत्रकारहरुले विगतमा कठिन चुनौति सामना गर्दै अघि बढेको बताएका थिए । सरकार संचारप्रति अनुदार बन्दै गएको तर्फ सवै सचेत हुनुपर्ने धारणा पनि बक्ताहरुको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय उपाध्यक्ष उदय जिएम, प्रेस काृउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी, नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्षहरु केवी मसाल, सुदिप गौतम, दुर्गालाल केसी, पूर्व केन्द्रिय सदस्य अजय दिप शर्मा, पत्रकार महासंघ लुम्विनी प्रदेशका महासचिव पाण्डव शर्मा, प्रेस सेन्टरकी केन्द्रिय उप महासचिव लक्ष्मी आचार्य, फोनिज दाङकी अध्यक्ष दिप्ती शिखा चौधरी, राप्ती प्रेस मञ्चका अर्जुन अधिकारी लगायतले बोल्नुभएको थियो ।

उक्त अवसरमा सचिव जे एन सागरले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष अमर भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले सचिव र कोषाध्यक्षको प्रतिवेदन पास गर्नुका साथै अघिल्लो कार्यकालमा नविकरण गर्न छुटेका १६ जनाको नविकरणका लागि प्रदेश समितिलाई जानकारी गराउने निर्णय गरेको थियो ।

सोही अवसरमा नेपाल पत्रकार महासंघ दाङले गठन गरेको पत्रकार महिलाका लागि सुरक्षा नीति २०८२ सार्वजनिक गरिएको थियो । मस्यौदा समितिका सदस्य सुशिला आचार्यले मस्यौदा प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले उक्त सुरक्षा नीति पनि पारित गरेको थियो । कार्यक्रममा स्वागत उपाध्यक्ष ओपेन्द्र बस्नेतले र धन्यवाद उपाध्यक्ष नारायणी रजौरले गर्नुभएको थियो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार