कृषि कर्ममा रमाउँदै पूर्व वडाध्यक्ष
शरद अधिकारी
२०७४ सालको स्थानीय तहको निर्वाचनमा घोराही बजार क्षेत्र रहेको वडा नं. १४ मा अध्यक्षका रुपमा निर्वाचित भएपछि शक्तिराम डाँगीलाई धेरैले चिने । पाँच बर्षको कार्यकाल विताएपछि उहाँ पुनः उमेदवार बन्नु भएन । उहाँको कामलाई देखेर धेरैले पुनः उमेदवार बन्ने अनुमान गरेका थिए । निर्वाचनपछि उहाँ जनप्रतिनिधिको भूमिकामा देखिने कुरा भएन । जनप्रतिनिधिको जिम्मेवारी नभएपछि उहाँको भूमिका बाहिरी रुपमा देखिएन । तर तीन बर्ष यता उहाँ आफ्नो गाउँ फर्किएर उत्पादनमा लाग्नु भएको छ । परिभाषित जिम्मेवारी पुरा भएपछि राजनीतिलाई पेशा बनाउनु भन्दा उत्पादनमा जोडिने हो भने त्यसले आत्मनिर्भर बन्न सकिन्छ भन्ने लागेर उत्पादनको काममा लागेको उहाँको भनाई छ ।
विहीबार उहाँलाई खोज्दै घोराही १२ मा रहेको उहाँको घरमा पुग्दा खोलाबाट पानी ल्याउनका लागि व्यस्त हुनुहुन्थ्यो । करिव एक विगाहा जमिनमध्य केहीमा मौसमी खेती रहेको छ भने केही जमिन व्यावसायिक खेतीका लागि प्रयोग गर्नु भएको रहेछ । केही बर्ष यता निकै प्रख्यात फलफूलका रुपमा रहेको ड्रागन खेतीमा उहाँ लाग्नु भएको छ । ‘करिव सात आठ कट्ठा जमिनमा ड्रागन खेती गरेको छु, गएको बर्ष देखि उत्पादन दिन थालेको छ ।’ उहाँले भन्नुभयो ।
जनप्रतिनिधिका रुपमा घोराही १४ को नेतृत्व गरेपनि उहाँको बसाई घोराही १२ अर्थात साविक हापुर गाविसमा थियो । बजार क्षेत्रमा आएर सामाजिक काम गर्दा गर्दै उहाँलाई वडाध्यक्षको उमेदवार बन्नुपर्ने अवस्था आयो । पार्टीले भनेपछि उठ्दैन भन्ने कुरा भएन । उठ्नुभयो, निर्वाचित हुनुभयो । पाँच बर्षको कार्यकाल विताउनुभयो । पार्टी काम भनेको दैनिक रुपमा गर्नुपर्ने काम होइन । जनप्रतिनिधिको कार्यकाल सकिएपछि त्यसै बस्न हुँदैन भनेर ड्रागन खेतीमा लागेको डाँगीले सुनाउनुभयो ।
तीन बर्ष अघि भारतको पश्चिम बंगाल पुगेर ड्रागनका विरुवा ल्याउनु भएको रहेछ । ‘हामी तीन जना भारतको पश्चिम बंगाल पुगेर चार हजार विरुवा ल्याएका हौं, त्यो मध्य मैले छ सय विरुवा राखें । अरु विरुवा अरु साथिहरुले लग्नुभयो ।’ डाँगीले तीन बर्ष अघिको घटना सँझनुभयो । जनप्रतिनिधीको जिम्मेवारी सकिदै गर्दा अव केही नयाँ काम गर्नुपर्छ भन्ने लागेर आफूले ड्रागन तर्फ आकर्षित भएको डाँगीको भनाई छ ।
दाङ जिल्लामा व्यावसायिक रुपमा ड्रागन खेती गर्नेहरुको संख्या ह्वात्तै बढेको छ । घरको छतमा वा घरमा एक दुई बोट ड्रागन नरोप्ने कुनै व्यक्ति छैन होला । रहरका लागि केही विरुवा रोप्नु एउटा कुरा हो, व्यावसायिक रुपमा खेती गर्नु फरक कुरा हो भन्ने उहाँको अनुभव रहेको छ । ‘यो निकै मेहनत गरेपछि मात्रै हुर्कन्छ, पानी र मलको सन्तुलन मिलाउनुपर्छ, बर्षातको समयमा पानी जम्न हुँदैन, जाडोमा धेरै पानी दिनुपर्छ । पानीका लागि हरेक विरुवामा पाइप लगिएको छ । पाइपबाट पानी दिंदा पनि नपुग्ने भएपछि थप पानी दिनुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो ।
तीन बर्ष यता विहान र साँझको समय घरमै खेतीपातीमा वित्ने गरेको छ शक्तिरामको । बजारमा बस्दा कसरी कटाउने होला भन्ने चिन्ता हुन्छ तर खेतीपातीमा लागेपछि समय कसरी कटाउने भन्ने चिन्ता होइन कि समय नै हुँदैन, समय वितेको पत्तै हुँदैन ।’ डाँगीले भन्नुभयो । दुई बर्ष अघि देखि उत्पादन दिन थालेको ड्रागनको खेतीसंग अन्य तरकारी र विभिन्न फलफुल समेत उहाँको बारीमा देखिन्छन् । केही विरुवाहरु प्रयोगका लागि लगाएको उहाँले प्रत्यक्ष देखाउनुभयो । ‘म केही प्रयोग पनि गरिरहेको छु ।’ भन्दै डाँगीले कलमी बनाइरहेको देखाउनुभयो ।
अन्य खेतीको तुलनामा आम्दानी राम्रो हुने उहाँलाई लागेको छ । पहिलेको तुलनामा खाने बानीको विकास भएको छ । अहिले यो संसारभरि स्वास्थ्यका दृष्टिकोणले निकै लोकप्रिय हुँदै गएको छ । यसको बाहिरी आवरण नै आकर्षक देखिन्छ भने यसको भित्र लुकेको सेतो वा रातो गुदी मात्र स्वादिलो होइन, शरीरका लागि बहुपरकारका फाइदाहरू पनि बोकेको हुन्छ । नेपालमा पनि पछिल्लो दशकमा यसको खेती हुँदै गएको छ र स्वास्थ्यप्रेमीहरू बीच यसको प्रयोग झनै बढ्दो छ । यहि भएर आफूले पनि व्यावसायिक रुपमा ड्रागन खेती गर्न थालेको डाँगीको भनाई छ ।
बजारको चिन्ता छैन भन्दै दुइ दिन अघि मात्रै एक क्युन्टल निकालेको बताउनुभयो । घरमै आएर किन्नेहरुका लागि तीन सय ५० रुपैया केजीमा दिने गरेको उहाँले बताउनुभयो । कसैले बजारमा माग गरेको खण्डमा चार सय रुपैया केजीका हिसावले उपलव्ध गराउने गरेको पनि डाँगीले बताउनुभयो । ड्रागन खेतीमा लाग्नु भएका डाँगीको सिंगो परिवार यहि खेतीमा लागेको छ । श्रीमती राजकुमारी डाँगीको साथ नभएको भए आफूले एक्लै काम गर्न नसक्ने उहाँको धारणा छ । ‘सवै मिलेर काम गर्र्दछौं, रोगजार भएन भन्नु परेको छैन, दैनिक खर्च चलाउनका लागि कसरी कमाउने भन्नु परेको छैन, यसैबाट पुगेको छ ।’ डाँगीले भन्नुभयो ।
राजनीतिमा खासै नलाग्दा पनि समाजसेवामा लाग्नु भएका डाँगी वडाध्यक्ष भएपछि घरको काममा लाग्न पाउनुभएको थिएन । अहिले घरको काम गर्ने फुर्सद पनि मिलेको छ । आम्दानीको बाटो पनि खुलेको छ । आफूले गरेको काममा १२ कक्षा पढ्दै गरेको छोरा र बावुको पनि साथ रहेको डाँगीले बताउनुभयो । सवै मिलेर काम गरिरहेको उहाँले सुनाउनुभयो ।
पछिल्लो समय ड्रागन खेती गर्नेहरु बढेको छन् भने खाने बानीको पनि विकास भएको छ । असार देखि उत्पादन दिन थालेको ड्रागनले आगामी मंसिर पुससम्म उत्पादन दिने गरेको छ । एउटा विरुवामा तीन लटसम्म फल्ने गरेकाले लामो समय आम्दानी भइरहन्छ । यो खाँदा अत्यन्त फाइदाजनक रहेको छ । ड्रागन फ्रुट प्राकृतिक रूपमै एउटा यस्तो फल हो, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमतामा सकारात्मक प्रभाव पार्छ । यसमा पाइने प्रचुर मात्रामा भिटामिन सि, एन्टिअक्सिडेन्ट र अन्य सूक्ष्म पोषक तत्वहरूले शरीरमा प्रवेश गर्ने भाइरस र ब्याक्टेरियाविरुद्ध लड्न सहयोग पु¥याउँछन् । रोग लाग्नुभन्दा पहिला नै त्यसको सामना गर्न सक्ने शरीर तयार पार्नु स्वास्थ्यको मूल मन्त्र हो, र यस दृष्टिले ड्रागन फ्रुटको सेवन गर्नु अत्यन्तै लाभदायक मानिन्छ ।
चिकित्सकहरुका अनुसार पाचन प्रणालीलाई व्यवस्थित राख्नका लागि ड्रागन फ्रुटको भूमिका महत्त्वपूर्ण हुन्छ । यो फल फाइबरले भरिएको हुन्छ, जसले पेटमा भएका विषाक्त तत्वहरूलाई बाहिर निकाल्न सघाउँछ । फाइबरयुक्त भोजनले खाना सजिलै पच्न मद्दत गर्छ, आन्द्राको गतिविधि नियमित बनाउँछ, र कब्जियतको समस्या हटाउँछ । विशेष गरी आधुनिक खानपानमा फाइबरको अभाव हुने भएकाले ड्रागन फ्रुटको उपस्थिति एक किसिमको औषधीय महत्व राख्दछ भनिन्छ । ड्रागन फ्रुटले मुटुको स्वास्थ्यमा पनि उल्लेखनीय योगदान दिन्छ । यसमा भएको फाइबर, एन्टिअक्सिडेन्ट र लाभदायक बोसोले शरीरमा जम्मा हुने खराब कोलेस्ट्रोलको मात्रा घटाउँछ । यसले रक्तनलीलाई सफा राख्न सहयोग गर्छ, जसले गर्दा रक्तसञ्चार सहज हुन्छ र मुटुमा अनावश्यक दबाब पर्दैन । हृदयाघात, उच्च रक्तचाप वा मुटु सम्बन्धी दीर्घरोगहरूको जोखिम घटाउन यो फल उपयोगी हुन सक्छ ।
मधुमेह अर्थात् डायबिटिजका रोगीहरूका लागि पनि ड्रागन फ्रुट एक राम्रो विकल्प रहेको मानिन्छ । यसको ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले यसले चिनीको मात्रा एक्कासी बढाउँदैन । यसमा रहेको फाइबरले रगतमा चिनीको स्तरलाई सन्तुलित राख्न मद्दत गर्छ । आधुनिक जीवनशैलीसँगै मधुमेहको जोखिम बढिरहेको अवस्थामा यस्तो फलको सेवन गर्नु स्वास्थ्यको दृष्टिले बुद्धिमानी हुन्छ । यसले केवल भित्री अंगहरूमात्र होइन, ड्रागन फ्रुटले छालामा पनि प्रत्यक्ष असर पु¥याउन सक्छ । यो खाँदा छालामा चमक ल्याउने, डण्डीफोर हटाउने र समयअगावै आउने चाउरीपनलाई टाढा राख्ने काममा यो फल उपयोगी मानिन्छ । कतिपय सौन्दर्य प्रेमीहरूले ड्रागन फ्रुटको गुदीलाई घरेलु फेस मास्कको रूपमा प्रयोग पनि गर्छन् । ड्रागन फ्रुट एक अत्यन्त पोषिलो, स्वादिलो र सजिलो फल भएकाले प्रयोग गर्नेहरु बढ्दै गएका छन् । केही बर्ष यता दाङमा पनि यसको खेती व्यापक रुपमा हुने गरेको छ । जहाँ यसको खेती भइरहेको छ त्यहाँ बजारको अभाव रहेको छैन ।