शरद अधिकारी
नेपालमा विकासको कुरा गर्दा हामीले देखिरहेका साधनको मात्रै कुरा गरिरहेका हुन्छौं । स्रोत साधनको कल्पना र ‘स्रोत साधनको उपयोग’ भन्ने कुरा उठ्छ, तब धेरैपटक हामी केवल हिमाल, नदी वा वनमै सीमित रहन्छौं । तर पछिल्लो समय दैलेखको माटोले नयाँ सम्भावनाको ढोका खोलेको छ । त्यो हो, पेट्रोलियम पदार्थ भेटिएको खवर । यो खबरले एकातिर राष्ट्रिय आशा र उत्साह बढाएको छ भने अर्कातिर गहिरो चिन्ताको द्वार पनि खोलेको छ । यति लामो समयको प्रतीक्षापछि अब हामीले सोच्नैपर्नेछ । के हामी स्रोतको मालिक भएर पनि सधैं गरिब बस्न तयार छौं ? कि अब निर्णायक मोडमा ठोस कदम चाल्न चाहन्छौं ? कुनै गरीव मानिसलाई करोडौं रुपैया दिंदा उसको प्रतिक्रिया कस्तो हुन्छ ? कतै हामीले फेला पारेको पेट्रोलियम पदार्थ त्यस्तै हुने त होइन भन्ने खतरा पनि अर्कोतिर रहेको छ । दैलेख जिल्लामा पेट्रोलियम पदार्थ फेला परेको खवर नेपालमा मात्रै होइन विदेशमा पनि फैलिसकिएको छ । नेपाल जस्ता देशका लागि यो सुखीको कुरा हो । नेपाल जस्ता गरीव देशको स्रोत र साधनमाथी आधिपत्य जमाएका विकशित देशको प्रतिक्रिया यसमा कस्तो हुन्छ त्यो पनि हेर्न बाँकी छ । तर मुल कुरा के हो भने हामीले जे कुरा पेला पारेका छौं यसलाई सहि तरिकाले प्रयोग गरौं, हाम्रै पालामा समृद्धि सम्भव हुनेछ ।
तेल फेला, तर त्यो पर्याप्त छैन्
दैलेखको माटोबाट कच्चा तेल फेला परेको खबरले नेपालका सम्भावनाका ढोका खोलिदिएको छ । दशकौँअघिदेखि भूगर्भविद्हरूले यस क्षेत्रमा पेट्रोलियमको उपस्थिति हुनसक्ने आशंका व्यक्त गर्दै आएका थिए । तर आशंका मात्रले केही हुने थिएन, वैज्ञानिक प्रमाण र उत्खननको आवश्यकता थियो । हालै चिनियाँ विज्ञ टोलीको प्राविधिक सहयोगमा सम्पन्न प्रारम्भिक उत्खननले त्यो आशंका यथार्थमा परिणत भएको छ । दैलेखमा पेट्रोलियम पदार्थ फेला परेको खुसी आइरहेको बेला आगामी बर्षको बजेटमा नेपाल सरकारले दाङ जिल्लामा पनि पेट्रोलियम पदार्थ उत्खनन्का लागि बजेट राखेको छ । यसले पक्कै पनि हामीलाई थप उत्साहित बनाउनेछ । दक्षिण एसियाको ठूलो उपत्यकाका रुपमा रहेको दाङ जिल्लाको अर्को परिचय तेलको जिल्लाका रुपमा बन्नेछ भन्ने आशा गरौं । यो विषयमा अहिलेलाई यत्ती मात्रै ।
दैलेखमा जुन स्रोत भेटिएको छ त्यो स्रोत भेट्टाउनु नै पर्याप्त हो ? पक्कै होइन । त्यसलाई उपयोग गर्ने नीति, पूर्वाधार, योजना, प्राविधिक क्षमता र सबैभन्दा महत्वपूर्ण राजनीतिक इच्छाशक्ति नहुँदासम्म त्यो केवल एउटा समाचारमात्र बनिरहन्छ । अहिले सरकारको नेतृत्व गरिरहेको केपी शर्मा ओलीका पालामा विकासका अनेकन सम्भावनाका ढोका खुलेका छन् । यस हिसावले दैलेखमा भेटिएको तेलले नेपाललाई नयाँ उचाईमा पु¥याउनेछ । जसले सम्भावना देखायो उसैले यसलाई टुङ्गोमा पु¥याउन सक्नेछ । अव यसैगरी युरेनियमको खोजि गर्नुपर्छ । फलाम खानी, तामा खानी, सुन खानी जस्ता खानीहरुको उत्खनन गरेर हामी विश्वमै धनी देश बन्नु पर्छ । हाम्रा सन्ततीले समृद्ध नेपालमा विचरण गर्न पाउनुपर्छ ।
चिनियाँ सहयोग र नेपालको परिक्षण
चीनको सहयोगमा भएको यो उत्खनन कार्यले नेपाल–चीन सम्बन्धमा एउटा नयाँ अध्याय थपेको छ । भूगर्भीय अध्ययन, चुम्बकीय परीक्षण र नमुना संकलनजस्ता कार्यमा चिनियाँ टोलीको सहयोगले प्राविधिक क्षमतामा नेपालको कमजोरी उजागर पनि गरेको छ । अब भने त्यस कमजोरीलाई स्वीकार गर्दै आत्मनिर्भर बन्ने दिशामा निस्कनु अपरिहार्य भएको छ । चीनले आफ्नो भूमिका निर्वाह ग¥यो । अब नेपालको पालो आएको छ । नीति बनाउने, जनताको विश्वास जित्ने, पारदर्शी प्रणाली निर्माण गर्ने र वातावरणमैत्री विकासको उदाहरण स्थापित गर्ने ।
आर्थिक आत्मनिर्भरता र सम्भावनाको खाका
नेपालको अर्थतन्त्र आजको मितिमा इन्धन आयातमा अत्यधिक निर्भर छ । भारतबाट वार्षिक झण्डै दुई खर्ब रुपैयाँभन्दा बढीको इन्धन आयात गरिन्छ । यस्तो अवस्थामा दैलेखको तेलले आत्मनिर्भरता तर्फको यात्रा सुरुवात गर्ने संकेत दिएको छ । हामीले विदेशबाट तेल र ग्यास ल्याउन नपर्ने र विद्युतलाई प्रयोग गर्ने हो भने अहिले पूँजीगत बजेट जति विनियोजन गरिएको छ त्यो भन्दा कयौं गुणा बढी खर्च गर्न सकिनेछ । यस हिसावले यो केवल तेल उत्पादनको कुरा होइन, यससँग जोडिएको छ, रोजगारी सिर्जना, बजेट घाटा घटाउने सम्भावना, औद्योगिक विकासको बलियो आधार र विदेशी लगानी भित्र्याउने अवसर। नेपाली अर्थतन्त्रले धेरैपटक संकट झेलेको छ, तर यस्ता अवसर कमै पाएको छ । यदि यो अवसरलाई सही ढंगले व्यवस्थापन गरियो भने, दैलेखको माटोले नेपालको समृद्धिको ढोका खोल्नेछ ।
नीति, योजना र स्थानीय समावेशिताको आवश्यकता
प्राकृतिक स्रोतको खोजले उत्साह त दिन्छ, तर त्यो उत्साह दीर्घकालीन लाभमा परिणत हुन्छ कि विवादमा, त्यसको निर्धारण नीति, योजना र कार्यान्वयनले गर्छ । नेपालमा विगतमा देखिएको अनुभवले देखाउँछ । खनिज शोषण जब जनताको सहभागिता बिना, पारदर्शिताविहीन र केन्द्रिकृत ढंगले हुन्छ, तब त्यसले नतिजा भन्दा बढी समस्याहरू निम्त्याउँछ । दैलेखको तेल उत्खननमा स्थानीय समुदायसँग स्पष्ट संवाद, उचित मुआब्जा, सामाजिक उत्तरदायित्व र समावेशी योजना अनिवार्य छन् । राज्यले आफूलाई मालिक होइन, जिम्मेवार व्यवस्थापकका रूपमा प्रस्तुत गर्न सके मात्र दीर्घकालीन विश्वास र सहयोग सुनिश्चित हुन सक्छ ।
खनिज सम्पदाको नक्शा बनाउने सन्दर्भ
दैलेख मात्र होइन, नेपालका अन्य भूभागमा पनि बहुमूल्य खनिजहरू लुकेर बसेका छन् । खानी तथा भूगर्भ विभागका अनुसार, रोल्पा, भोजपुर, संखुवासभा, ओखलढुंगा र म्याग्दीजस्ता जिल्लामा सुन, तामा, फलाम, जस्ता, कोइला, सिसा, डोलोमाइटजस्ता खनिज पाइन्छन् । तर तीमध्ये अधिकांश खानीहरू अझै पनि व्यवस्थित उत्खननमा जान सकेका छैनन् । यदि दैलेखको तेलको सफल उदाहरण स्थापना भयो भने, यसले देशभरिका अन्य सम्भावनाहरूलाई पनि व्यवहारिक मोड दिन सक्छ । त्यसको लागि चाहिन्छ, राज्यको नेतृत्व, प्रविधिमा लगानी, निजी क्षेत्रसँगको सहकार्य र अनुसन्धानमा निरन्तरता ।
वातावरणीय र सामाजिक संवेदनशीलता
खनिज उत्खनन केवल आर्थिक लाभको कुरा मात्र होइन । यससँग जोडिएको हुन्छ, जैविक विविधता, जलस्रोत, वातावरणीय समन्वय र स्थानीय जीवनशैलीमा असर । दैलेखको भू–आकृति, वनवातावरण, जलस्रोत र वन्यजन्तुमा तेल उत्खननको दीर्घकालीन असर पर्न सक्छ । त्यसैले वातावरणीय प्रभाव मूल्यांकन, जोखिम न्यूनीकरण योजना र वैकल्पिक व्यवस्थाको स्पष्ट खाका बनाउन ढिलाइ गर्नु हुन्न । विकास र विनाशको दूरी सधैं चानचुने मात्र हुन्छ । त्यसैले दैलेखमा हुने हरेक कदम सम्वेदनशीलता, वैज्ञानिक अध्ययन र स्थानीय जनभावनालाई ध्यानमा राखेर चालिनुपर्छ ।
प्राविधिक र मानव संसाधनको गम्भीर अभाव
नेपालमा खानी तथा खनिज उत्खननसम्बन्धी दक्ष जनशक्ति पर्याप्त छैन । खानी इन्जिनियर, पेट्रोलियम विशेषज्ञ, भूगर्भशास्त्री, प्रशोधन प्राविधि जान्ने प्राविधिकहरूको संख्या अत्यन्त न्यून छ । यस्तै, उपकरण, प्रविधि र पूर्वाधार पनि सन्तोषजनक छैन । यस्तो अवस्थामा स्रोतको उपलब्धताले मात्र आत्मनिर्भरता सम्भव छैन । अब सरकार र शिक्षण संस्थाहरूले खानी इन्जिनियरिङ, भूगर्भशास्त्र र पेट्रोलियम प्रविधिमा ठोस लगानी गर्नुपर्छ । सीप विकास, अनुसन्धान, प्राविधिक तालिम र अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकतामा राख्नुपर्छ । यहि सन्दर्भमा एउटा प्रशंग छ, केही बर्ष अघि भारतिय टोली नेपालमा तेल भएको वा नभएको भनेर अध्ययन गर्न आएको थियो, त्यतिवेला नेपालबाट भारततर्फ पेट्रोलियम पदार्थ बगेको भन्ने पत्ता लागेपछि उनिहरुले यहाँ उत्खनन सम्भव छैन भनेर हिडेका थिए रे । त्यो बेलाको कुरा के हो थाहा छैन तर अहिलेको कुरा त्यस्तो होइन । यो भण्डारनकै अवस्थामा छ । यो कतै बगेको छैन । यो रिजर्भ अवस्थामा रहेको छ । यसलाई कसरी सदुपयोग गर्ने भन्ने कुुरा हो ।
राजनीतिक इच्छाशक्तिः समृद्धिको असली चाबी
सबैभन्दा ठूलो प्रश्न भनेको हो, के नेपालको राजनीतिक नेतृत्व यति ठूलो सम्भावनालाई गम्भीरताका साथ लिन तयार छ ? राजनीतिक अस्थिरता, योजनाविहीनता र लाभप्रतिको लोलुपता नेपाली स्रोत व्यवस्थापनका विगतका इतिहास हुन् । दैलेखको तेलमा पनि यदि यिनै रोग दोहोरिए भने, यो अवसर फेरि गुम्न सक्छ । नीति निरन्तरता, पारदर्शिता, सुसंस्कृत सार्वजनिक–निजी साझेदारी र स्थानीय सहभागिता सुनिश्चित गर्ने दायित्व वर्तमान नेतृत्वको हो । समृद्धिको शिलान्यास केवल भाषणले होइन, कर्मले हुन्छ ।
भविष्यको शिलान्यास वर्तमानमा
दैलेखको तेल अब केवल एउटा समाचार होइन । यो इतिहास हो । यो इतिहास लेख्ने कलम अहिले सरकार, नीति निर्माता, जनप्रतिनिधि र हामी नागरिकको हातमा छ । यो कलमले समृद्धिको कथा लेख्छ या पुनः निराशाको, त्यो अबको सोच, दृष्टिकोण र निर्णयमा भर पर्छ । यदि राज्यले स्रोत व्यवस्थापनलाई व्यापार होइन, दीर्घकालीन राष्ट्रिय सम्पत्ति ठानेर नीतिगत सुधार ग¥यो, स्थानीयको विश्वास जित्न सक्ने मोडेल निर्माण ग¥यो र वातावरणीय सन्तुलनमा ख्याल ग¥यो भने, दैलेखको तेल नेपालको समृद्धिको आधार बन्न सक्छ । नभए, यो पनि विगतका सपना झैं भुल्ने र पछुताउने विषय बन्नेछ ।
नेपालको माटोमा सम्भावना लुकेको छ, तर त्यसलाई उजागर गर्ने सीप नेतृत्वसँग हुनैपर्छ । यदि अबको नेतृत्वले साहस, दूरदृष्टि र सन्तुलन देखाउन सकेन भने दैलेखको तेल ‘ग्यास त आयो, घास भने उड्यो’ भन्ने भनाइको अर्को उदाहरण बन्नेछ । तर यदि अब समयमै सतर्क भएर सही निर्णय गरियो भने, नेपालले आफ्नो समृद्धिको गति फेला पार्नेछ, माटोबाट, विवेकबाट र उत्तरदायित्वबाट । नयाँ काम गर्नका लागि चुनौती छ, तर चुनौती झेलेपछि सम्भावनाको ढोका खुल्छ । सम्भावनाको ढोका खोल्नका लागि राजनीतिक नेतृत्व तयार छ । अव अवेर नगरेर समृद्धिको यात्रामा पाइला चाल्नै पर्छ । जुन कारणले हामी गरीव बनिरह्यौं त्यो कारणलाई काँढा जसरी निकालेर फाल्नुपर्छ र यात्रालाई सहज बनाउनुपर्छ ।