spot_img
spot_img

घोराहीमा खेलकुद

सम्पादकीय

खेलकुद हाम्रो अभिन्न अंग भइसकेको छ । हरेक व्यक्ति खेलकुदसंग परिचित छ । खेलकुद भनेको प्रतिष्पर्धा मात्रै होइन । खेलकुद आफ्नो लागि नै हो । खेल्दै जाँदा प्रतिष्पर्धा हुन्छ, जित हार हुन्छ । समग्रमा खेलकुद भनेको व्यक्तिगत स्वास्थ्यका लागि काम लाग्ने विषय हो । खेलकुदले शारीरिक मात्र नभई मानसिक रूपमा पनि मानिसलाई सबल बनाउँछ । खेलकुदले समाजमा अनुशासन, सहकार्य, र प्रतिस्पर्धात्मक भावना विकास गराउँछ । नेपालमा पछिल्ला वर्षहरूमा खेलकुदको क्षेत्रमा उल्लेखनीय सुधार देखिएको छ । यसै क्रममा, घोराही उपमहानगरपालिकाले पनि विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको छ, जसले स्थानीय खेलाडीहरूलाई अवसर प्रदान गरिरहेको छ । हालै सम्पन्न महिला फुटबल प्रतियोगिता यसको एउटा उदाहरण हो । पहिलो पटक आयोजित यस प्रतियोगिताले घोराहीमा खेलकुद विकासका लागि नयाँ आशा जगाएको छ । घोराही उपमहानगरपालिका भएपछि आएका जनप्रतिनिधिहरुले खेलकुदलाई महत्व दिएका थिए । त्यसयता घोराही उपमहानगरपालिकाले क्रिकेट, भलिबल, फुटबल लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरू सञ्चालन गर्दै आइरहेको छ । यस्ता प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको छ भने खेलप्रति युवाहरूको रुचि बढाएको छ । नेपालमा थोरै स्थानीय तहले खेलकुदलाई महत्व दिएका छन् त्यसमा घोराही पनि एक हो । घोराहीले खेल मैदानहरूको निर्माण तथा आवश्यक पूर्वाधार विकासमा ध्यान दिइरहेको देखिन्छ, जसले गर्दा खेलाडीहरूको प्रशिक्षण र विकासका लागि राम्रो वातावरण सिर्जना भएको छ ।

खेलकुदको विकासलाई अझ प्रभावकारी बनाउन केही चुनौतीहरू समाधान गर्न आवश्यक देखिन्छ । खेल पूर्वाधारको अभाव, पर्याप्त लगानीको कमी, दक्ष प्रशिक्षकहरूको अभाव तथा खेल प्रशासनमा देखिने समन्वयको कमजोरी जस्ता समस्याहरू अझै पनि विद्यमान छन् । यस्ता समस्याहरू समाधान नगरेसम्म खेलकुदको दिगो विकास सम्भव छैन । दाङ जिल्ला प्राकृतिक रूपमा खेलकुदका लागि अनुकूल क्षेत्र हो भन्न सकिन्छ । दाङका १० पालिकामध्य पूर्वाधारका हिसावले घोराहीमा एउटा राम्रो फुटवल मैदान छ । एउटा क्रिकेट मैदान छ । अन्य खेलका लागि पनि अवसर बढ्दै गएका छन् । खेलकुद बाहेक यहाँ ट्रेकिङ, दौड, साइक्लिङ, प्याराग्लाइडिङ जस्ता साहसिक खेलहरू सञ्चालन गर्न सकिन्छ । साथै, स्थानीय युवा खेलाडीहरूको प्रतिभा उजागर गर्न विभिन्न स्तरका प्रतियोगिताहरू आयोजना गर्नु आवश्यक छ । विद्यालय तथा क्याम्पसहरूमा खेलकुदलाई पाठ्यक्रमकै एक हिस्सा बनाइयो भने विद्यार्थीहरू खेलप्रति अझ बढी आकर्षित हुनेछन् । स्थानीय स्तरमा खेल प्रशिक्षण केन्द्रहरू स्थापना गरेर योग्य खेलाडीहरू उत्पादन गर्ने वातावरण बनाउनु आवश्यक छ । नेपालमा खेलकुदको विकासको सम्भावना अपार छ । फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स जस्ता खेलहरू राष्ट्रियस्तरमा निकै लोकप्रिय छन् । यदी सरकार र स्थानीय तहले आवश्यक पूर्वाधार निर्माण, खेलाडीहरूको उचित प्रशिक्षण तथा सुविधामा ध्यान दिने हो भने नेपालले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्न सक्छ । विशेषगरी, घोराही जस्ता नगरपालिकाहरूले खेल पर्यटन प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यदि यहाँ अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरू आयोजना गरिएमा खेलकुदसँगै पर्यटन क्षेत्रसमेत फस्टाउनेछ । यस्तै, निजी क्षेत्रको सहभागिता बढाएर खेलकुद क्षेत्रलाई अझ व्यवस्थित बनाउन सकिन्छ ।

खेलकुदका लागि पहिलो ध्यान त खेलाडीकै जानुपर्छ । त्यसपछि खेलप्रेमीले ध्यान दिनुपर्छ । राज्य संचालनमा रहेकाहरुलाई सवैकुरा थाहा नहुन सक्छ । कुन खेलकुदलाई महत्व दिने, कुन खेलका लागि मैदानको व्यवस्थ ागर्ने भन्ने बारेमा थाहा नहुन सक्छ । यस्तोमा जानकारहरुको सल्लाह लिएर काम गर्नुपर्छ । घोराहीले पटक पटक आयोजन ागर्ने प्रतियोगिताले खेलाडीहरूलाई व्यावहारिक अनुभव प्रदान गर्छन् । उनीहरूले आफ्नो क्षमता परीक्षण गर्न पाउँछन् र सुधार गर्ने अवसर प्राप्त गर्छन् । पहिलेको कुरा गर्ने हो भने खेल भनेको पुरुषका लागि जस्तो मात्रै थियो । विस्तारै महिलाहरु पनि खेलकुदमा सक्रिय हुन थालेका छन् । सोही क्रममा महिला खेलाडीहरूको लागि आयोजित फुटबल प्रतियोगिता निकै सकारात्मक पहल हो । महिलाहरूलाई खेल क्षेत्रमा अगाडि बढ्नका लागि अझ बढी अवसर दिन आवश्यक छ । खेलाडीहरूको लागि विशेष अनुदान, छात्रवृत्ति तथा प्रशिक्षण सुविधाहरू उपलब्ध गराइयो भने उनीहरू अझ उत्कृष्ट प्रदर्शन गर्न सक्छन् । खेलकुदको विकासलाई अझ दिगो बनाउनका लागि केही महत्वपूर्ण सुधार आवश्यक छन् । खेलाडीहरूलाई उच्चस्तरीय प्रशिक्षण दिनका लागि खेल मैदान, प्रशिक्षण केन्द्र तथा खेल एकेडेमीहरूको स्थापना गर्नु आवश्यक छ । विद्यालय तथा क्याम्पसमा खेलकुदलाई अनिवार्य रूपमा समावेश गरेमा विद्यार्थीहरू खेलप्रति आकर्षित हुनेछन् । घोराही उपमहानगरपालिकाले खेलकुद प्रवद्र्धनका लागि थालेका प्रयासहरू निकै प्रशंसनीय छन् । यस्ता प्रतियोगिताले खेलाडीहरूलाई अगाडि बढ्न मात्र होइन, समाजमा खेलकुदको महत्वबारे सचेतना फैलाउन पनि मद्दत गर्छ । नेपालमा खेलकुदको विकासका लागि सरकारी, निजी तथा स्थानीय तहबीच बीच पनि समन्वय आवश्यक छ ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार