spot_img
spot_img

घोडा लादिरहेको अन्तिम पुस्ता

छबि पुरी /राप्ती पोष्ट

घोराही, चैत । दाङमा ढुवानीका लागि पाल्ने गरिएका घोडाको संख्या सिमित बन्दै गएको छ । कुनै समय जताततै घोडा पाईने गरेको दाङमा केही गाउँका मानिसले मात्रै पाल्ने गरेका छन् । केही बर्ष अघिसम्म घोडा लाद्ने चलन थियो । घोडा लादेर कोईलाबास जाने अनि त्यहाँबाट उपभोग्य बस्तु खरीद गरेर ल्याउने चलन थियो । तर, अचेल यो परम्परा हराएको छ । समय, परिवेश फेरिँदै जाँदा घोडा लाद्नेहरु पनि घटेका छन् ।

अव घर घरै गाडी पुग्छन् । घोंडाको प्रयोग सुन्य जस्तै हुँदैछ । हिजो आज घोराही र तुलसीपुरका केही वडामा मात्रै घोडा लाद्ने भेटिन्छन् । घोराहीको १६, १७ वडाका केही व्यक्तिले घोडा लाद्छन् भने तुलसीपुरको १०, ११ नम्बर वडाका केही व्यक्तिले घोडा लाद्ने पेशा अंगाल्दै आएका छन् । ४० को दशक अघिसम्म प्राय घरमा पाईने गरेका घोडा अचेल सिमित व्यक्तिले मात्रै पाल्ने गरेका छन् । मोटरगाडीको सहज उपलब्धता बढेपछि घरमा घोडा पाल्नेको संख्या घटेको हो । कुनै बेला सवारी साधनको रुपमा प्रयोग हुने गरेका घोडाहरु अचेल देख्न पनि छाडेका छन् । गाउँघरमा एकाधले पाल्ने बाहेक खासै देखिँदैन । घोडा पाल्न सौखीनहरुले पाले पनि सामान्य मानिसले ढुवानीमा प्रयोग गर्नु बाहेक अरु प्रयोजनाका लागि पाल्ने गरेको पाईदैन ।

गाउँघरमा उब्जेको अन्नबाली खरीद गरेर, आफुले उब्जाएको अन्नबाली बजारमा लगेर बिक्रि गर्ने पुख्र्यौली पेशालाई उनीहरुले आजसम्म निरन्तरता दिँदै आएका छन् । सायद, उनीहरु पछिको पीढिले यो पेशा अंगाल्ने छैनन् । यो पुस्ता नै घोडा लाद्ने अन्तिम पुस्ता बन्ने धेरैले अनुमान लगाई रहँदा घोडा लाद्नेहरुका परिवारका सदस्य पनि यो पेशामा आउन रुची नदेखाएको बताउँछन् ।

जसले गर्दा ढुवानीमा सहयोग गर्दै आएका घोडाहरू लोप हुन लागेको घोडलद्दी किसान व्यवसायीहरूले पेशा संकटमा पर्न थालेको बताउँछन् । उनीहरूको बढ्दो प्रविधि र पुस्तान्तरणको कारण यो पेशा संकटमा पर्न थालेको छ । दाङमा रहेका घोडापालक किसानहरूले आफुहरूले गर्दै आएको घोडलद्दी पेशा संकटमा पर्न थालेको हो । बढ्दो प्रविधि र पुस्तान्तरणमा समस्या भएको कारण यो पेशा संकटमा पर्न थालेको उनीहरूको अनुभव छ ।

घोराही–१७ का घोडा लाद्दै आएका किसान भरतलाल चौधरीले बाउ बाजेले गर्दै आएको पेशालाई आफुले निरन्तरता दिएपनि अब छोरा नातीले यो पेशा अंगाल्ने अवस्था नरहेको बताउनुहुन्छ । उमेरले ४६ वर्ष हुनुभएका भरतलाललाई यो पेशा ठिकै भएपनि नयाँ पुस्ताले सिको गर्न नचाहेको बताउनुभयो । यातायातका साधनहरूको विकास विस्तार र नयाँ पुस्ता यो अभियानमा आउन नसक्दा घोडलद्दी पेशा लोप हुने अवस्थामा रहेको छ । घोराही १६ का बिजुली प्रसाद चौधरी र बन्धु चौधरी घरको काम सकेर फुर्सद निस्कना साथ घोडा लाद्ने काम गर्नुहुन्छ । गाउँमा धान किनेर चामल बिक्रि गर्दै आउनुभएका उहाँहरुको प्राय दैनिकी घोडा लाद्नेमा बित्ने गरेको छ । गाउँबाट घोडामा चामल लादेर घोराही बजारमा ल्याएर ग्राहकलाई बिक्रि गर्नु उहाँहरुको दिनचर्या हो ।

तुलसीपुर १० वनगाउँका धेरै जसोले व्यक्तिले पनि घोडा लाद्ने काम गर्दैआएका छन् । उनीहरु बर्खामा बाहेक अरु सिजनमा घोडा लादेर आयआर्जन गर्दै आएका छन् । कुन गाउँमा कसको घरमा के फलेको छ ? कति फलेको छ ? सबै कुराको जानकारी उनीहरुसँग हुन्छ । बजारमा उनीहरुको आफ्नै ग्राहक हुन्छन् । धान कुटाएर प्राय चामल बिक्रि गर्ने गरेका घोडा लाद्नेहरु अचेल मसुरोको व्यापारमा लागेका छन् । सिजन अनुसारको व्यापार गर्दै आएका वनगाउँका भुमलाल चौधरी बताउनुहुन्छ ।

तुलसीपुर १६ डोक्रेनीमा मुसुरो खरीद गरेर घोडामा लाद्ने बेला भेटिनु भएका भुमलालले गाउँको उब्जनी बजारसम्म पुर्याउने काम विगतदेखि गर्दै आएको बताउनुभयो । उहाँसँगै भेटिनुभएका अर्का घोडा लाद्ने किसान जागेश्वर चौधरीले पुर्खादेखि गर्दै आएको पेशाबाट आफु सन्तुष्ट रहेको बताउनुभयो । ‘आफुसँग केही थिएन, अहिले यही पेशाबाट इमान्दनरीपूर्वक काम गरेर राम्रो आम्दानी गरेको छु’, उहाँले भन्नुभयो ‘मैले सकुन्जेल त गरुँला तर यसपछि कसले गर्छ भन्ने ठेगान भने छैन । यो पेशा अब अन्तिम हुन्छ की जस्तो छ ।’

बढ्दो शहरीकरणले बजार आउँदा घोडा बाँध्ने ठाउँसमेत नहँुदा समस्या भएको उनीहरूको भनाइ छ । तुलसीपुर क्षेत्रमा उहाँ जस्तै दुई सय घोडलद्दी किसानहरू छन । ढुवानीको साधनको रूपमा विश्वास जितेका घोडा अहिले यस्तै विभिन्न समस्याका कारणले लोप हुन लागेको र त्यसमा लागेका किसानहरू पनि विस्थापित हुने अवस्था आएको भन्दै घोडापालक किसान बलदेव चौधरीले बताउनुभयो । उहाँ पनि नयाँ पुस्ताले यो गर्न इच्छुक नरहेको बताउनुहुन्छ । घोडाको महत्वलाई बचाई राख्न आफूहरू पुख्र्यौली पेशामा लागेको भन्दै राज्यबाट त्यसको बेवास्ता हुँदा समस्या भोग्नुपरेको उनीहरुको गुनासो छ । राम्रो कमाई गर्दै आएको यो व्यवसाय नयाँ पुस्तामा जानेमा शंकासमेत बढिरहेको छ । पहिले गरेकाले छोड्न नमाने पनि नयाँ पुस्ता यसमा आउन चाहनेहरु देखिदैनन् । ढुवानीको विकल्प नहुँदा ढुवानीकर्ताको रुपमा प्रयोगमा आएका घोडाहरु पनि संकटमा पर्ने अवस्थामा पुगेका छन् अर्कोतिर घोडा लाद्ने पेशा संरक्षणको अभावमा संकटमा पर्ने खतरा बढेको छ ।

दाङमा पछिल्लो तथ्यांक अनुसार चार सय १५ जना मात्रै घोडा व्यवसायी छन् । तुलसीपुर क्षेत्रमा २ सय घोडा छन् । घोडा लाद्ने पेशा जोगाउन चुनौति एकातिर छ अर्कोतिर घोडाको सुरक्षामा पनि चुनौति थपिँदै गएको छ । घोडापालक किसानहरुले घोडाको विमा सुविधा हुनुपर्ने आवाज उठाउँदै आएका छन् । तर यो सुविधा अहिले राज्यले दिन सकेको छैन । जसले गर्दा आफुले सकेको जति काम गर्दै आएका घोडापालक किसानले पुख्र्यौली पेशालाई समय र स्वास्थ्यले साथ दिएसम्म गर्दै जाने योजनामा छन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार