शरद अधिकारी
यतिबेला नेपालमा राजतन्त्रको चर्चा चलेको छ । यद्यपि, यो चर्चालाई दिनुपर्नेभन्दा बढी स्थान दिने काम भइरहेको छ । राजतन्त्र आफैं आफ्नै कारणले सकिएको थियो । आफैं षड्यन्त्रको चंगुलमा फसेको, अनेकन जालझेलको परिचय बनाएको थियो नेपालको राजतन्त्रले । नेपालमा राजतन्त्रको मात्रै कुरा गर्ने हो भने नेपालमा राजतन्त्रको इतिहास निकै पुरानो छ । विभिन्न युगहरूमा फरक–फरक राजवंशहरूले शासन गरेका भए पनि नेपालको एकीकरणपछि मात्रै आधुनिक राजतन्त्रको जग बस्न थाल्यो । नेपालमा राजतन्त्र कसरी उत्पन्न भयो, कसरी विकसित भयो, र अन्ततः कसरी पतन भयो भन्ने बारेमा हामी सबै जानकार छौं । नेपालमा राजतन्त्रको इतिहास हजारौं वर्षको छ । हजारौं वर्षको इतिहास बोकेको राजतन्त्र नेपालमा रहेको भए पनि शाहवंशको इतिहास त्यसको तुलनामा निकै छोटो रहेको छ । राजतन्त्रको उत्पत्ति बलका आधारमा भएको छ । अरू माथि बल प्रयोग गरेर आफ्नो शक्ति बढाएर राजतन्त्र स्थापित भएको देखिन्छ । कसैले कसैलाई टपक्कै टिपेर राजा बनाएको इतिहास विश्वमा कहीं कतै छैन । जहाँ हटाइएको राजतन्त्र पुनःस्थापित गरिएको थियो, ती देशमा स्थापनाको प्रक्रिया बेग्लै थियो । नेपालमा अहिले राजतन्त्र चाहिन्छ भन्नेहरूले जसरी वकालत गरिरहेका छन्, यसरी कुनै पनि अर्थमा राजतन्त्र आउने देखिंदैन । जुन बेला राजाले शासन सत्ता हातमा लिएका थिए, त्यतिबेला नै यो कुरा सोच्नुपर्ने थियो । जतिबेला सेना थियो, प्रहरी थियो, कर्मचारी संयन्त्र थियो, त्यस्तो बेलामा टिक्न नसकेको राजतन्त्र अब फर्किएर आउने कुरा कल्पना बाहिरको कुरा हो ।
नेपालमा राजतन्त्रको उत्पत्ति
नेपालमा राजतन्त्र वैदिक कालदेखि नै रहेको पाइन्छ । हिन्दू धर्मशास्त्रहरूमा वर्णन गरिएअनुसार नेपालमा राजा मनु, जनक वंशका राजा, किरात राजा, लिच्छवि वंश, र मल्ल राजाहरूले शासन गरेका थिए । यसले के देखाउँछ भने नेपालमा हजारौं वर्षदेखि राजतन्त्र रहेको थियो। राजतन्त्र समग्रमा थिएन । साना–साना क्षेत्रमा शासन गर्ने धेरै राजाहरू थिए । पछिल्लो समय बाइसे, चौविसे राजाहरू थिए । २०१७ सालमा महेन्द्रले शासन सत्ता हातमा लिनु अघिसम्म विभिन्न स्थानमा पूर्वराजाका सन्तानले मासिक रूपमा भत्ता बुझ्ने गरेको इतिहास रहेको छ ।
किरातकाल (ईसा पूर्व ७०० – ईसा ३००)
नेपालमा लिखित इतिहास अनुसार सबैभन्दा पुरानो ज्ञात राजवंश किरातवंश हो । किरातकालमा २९ जना किरात राजाहरूले शासन गरेको उल्लेख पाइन्छ । किरातहरूले नेपालमा खेती, व्यापार, र धार्मिक–सांस्कृतिक गतिविधिहरूको विकास गरेका थिए ।
लिच्छवि वंश (३२० – ८५० ई.)
लिच्छवि राजाहरू भारतको वैशालीबाट नेपाल आएका थिए । लिच्छवि कालमा नेपालको प्रशासनिक, सांस्कृतिक, र धार्मिक विकास व्यापक रूपमा भयो। मानदेव, अंशुवर्मा, र नारायणदेवजस्ता राजाहरूले शासन गरेका थिए ।
मल्लकाल (१२०० – १७६८ ई.)
मल्ल राजाहरूको शासनकाल नेपालका लागि स्वर्णयुग मानिन्छ । यस समयमा कलात्मक, साहित्यिक, धार्मिक, र सांस्कृतिक विकास व्यापक रूपमा भयो । तर, मल्लकालको अन्त्यतिर राज्यहरू विभाजित भएर कमजोर बन्दै गए । अहिले काठमाडौं उपत्यकाका तीन सहरमा जुन कलाकृति र सांस्कृतिक पर्वहरू हामीले देखिरहेका छौं, ती सबै मल्लकालका उपजका रूपमा रहेका छन् । यसै कारण, मल्लकाल नेपालका लागि मात्रै होइन, दक्षिण एसियामै प्रख्यात थियो। त्यतिबेलाका एउटा राजाको चर्चा अहिले पनि चल्छ— ‘राजा महेन्द्र मल्लले काठमाडौं उपत्यकामा आफ्ना नागरिकको घरको धुरीबाट धुँवा आयो भने मात्रै आफूले खाना खान्थे रे ।’ त्यस्ता राजा पनि थिए भनिन्छ । पछि नेपालमा ज्ञानेन्द्रजस्ता राजा आए, जसले नागरिकको बोली थुनेर शासन सत्ता चलाउन खोजे ।
नेपालमा आधुनिक राजतन्त्रको विकास
पृथ्वीनारायण शाह विक्रम संवत १७९९ असार २५ गते गोरखाको राजा बनेका थिए । उनी वि.सं. १८२५ माघ १ गते काठमाडौं विजय गरी, काठमाडौँ उपत्यकाबाट शासन गर्न थाले । त्यसपछि उनले उपत्यकाका अन्य राज्य (पाटन, भक्तपुर) पनि जितेर नेपाल एकीकरणको प्रक्रिया पूरा गरेका थिए । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि आधुनिक राजतन्त्रको सुरुवात भयो भन्ने गरिन्छ । शाहवंशले झण्डै २३९ वर्ष शासन गर्यो। गोर्खाका राजा नरभुपाल शाहका छोरामध्ये जेठा पृथ्वीनारायण शाहले गोर्खाको राज्यलाई एकीकृत गर्दै बढाएर विशाल नेपाल बनाएका थिए । पछि उनको कामलाई अरूले त्यसरी अघि बढाउन सकेनन् । जसको फलस्वरूप नेपालको सीमा खुम्चियो ।
शाहवंशको शासन
पृथ्वीनारायण शाहले नेपाललाई एकीकृत गरी शाहवंशको शासन सुरु गरेका थिए । उनले ‘नेपाल चार जात, ३६ वर्णको साझा फूलबारी’ भनेका थिए । पृथ्वीनारायण शाहपछि उनका उत्तराधिकारीहरूले मुलुकको रक्षा गर्न प्रयास गरे तर कमजोर शासन व्यवस्थाका कारण देशभित्र र बाहिरबाट चुनौतीहरू बढ्दै गए । नेपालमा शाहवंशका ११ वटा राजाहरूले शासन गरेका थिए । जति दृढताका साथ पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे, नेपालको सीमा बढाए, देशको भूगोल रक्षाका लागि सेना बनाएर अघि बढे, त्यसपछि आउने राजाहरूले शासन बचाउन सकेनन्। मोजमस्तीमा लागे । षड्यन्त्रमा लागे । जनताको चाहनाअनुसार शासन गर्नेभन्दा पनि हामीलाई मान्नुपर्छ भन्ने ढोंगी भावनाका साथ अघि बढे। जसका कारण नेपालमा शाहवंशमा आएर राजतन्त्र समाप्त भयो ।
राणा शासनको उदय
विक्रम सम्वत १९०३ मा कोत पर्वको घटनापछि जंगबहादुर राणाले शाह वंशका राजाहरूलाई निष्क्रिय बनाउँदै राणा शासनको स्थापना गरेका थिए । राणाहरुले झण्डै १०४ वर्षसम्म नेपालमा शासन गरे । राणाहरूले निरंकुश रूपमा शासन गरेका थिए । यद्यपि, २००७ सालमा प्रजातान्त्रिक आन्दोलनपछि राणा शासनको अन्त्य भयो र शाह वंशले पुनः सत्ता पायो । त्यतिवेला भागेर भारतमा गइसकेको राजसंस्थालाई सत्तामा राख्ने काम राजनीतिक नेतृत्वले नै गरेको थियो । त्यतिवेला नेपालमा प्रजा परिषद, नेपाली काँग्रेस र कम्युनिष्ट पार्टी थिए । राणाहरुसंग भएको सँझौता अनुसार राणालाई नै प्रधानमन्त्री बनाएर त्रिभुवनले आफूलाई सत्तामा राखेका थिए । त्यतिवेला मन्त्रिपरिषदको बैठकमा भारतका राजदुत समेत बस्दथे भनिन्थ्यो । त्यो काम त राजाले नै गरेका थिए । त्यतिवेला त्रिभुवनले संविधान सभाको निर्वाचन गर्ने कुरा गरेका थिए । त्यो पुरा हुन झण्डै ७० बर्ष लागेको थियो । संविधान सभाको निर्वाचन हुँदा नेपालमा गणतन्त्र आइसकेको थियो ।
राजसंस्थाको पुनर्स्थापना र संवैधानिक राजतन्त्र
राणा शासनको अन्त्यसँगै त्रिभुवनले नेपालको शासनभार लिए । २०१५ मा पहिलोपटक संसदीय निर्वाचन सम्पन्न भए तापनि २०१७ मा राजा महेन्द्रले कु गर्दै प्रजातन्त्रको अन्त्य गरे र निर्दलीय पञ्चायती शासन लागू गरे । २०४६ सालमा भएको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र पुनःस्थापित भयो र संवैधानिक राजतन्त्रको अवधारणा अघि बढ्यो । त्यतिवेला संविधानमा राजालाई केही अधिकार दिइएको थियो । विरेन्द्रका भाई ज्ञानेन्द्र नेपाली नागरिकलाई अधिकार दिन चाहदैनथे । जतिवेला विरेन्द्रले नेपालका राजनीतिक दलसंग सहमती गरेर संवैधानिक रुपमा बस्ने सहमती गरेका थिए त्यहि रुपमा राजतन्त्रका गतिविधिहरु अघि बढीरहेका थिए । जतिवेला ज्ञानेन्द्रले २०६१ माघ १९ गतेका दिन व्यवस्था हरण गर्ने काम गरे ।
नेपालमा राजतन्त्रको पतन
नेपालमा राजसंस्था चाहिन्छ कि चाहिदैन भन्ने आजको बहसको विषय होइन । आज जो मानिसहरु राजसंस्थाको होइन राजतन्त्रको वकालत गरिरहेका छन् । जनताले लडेर ल्याएको गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन । नेपालमा राजसंस्था रहन सक्थ्यो होला । यदी राजसंस्थाको मुख्य पात्रका रुपमा रहेका ज्ञानेन्द्रले राजतन्त्र संचालन गर्न नखोजेको भए । जतिवेला उनले नागरिकका मुख थुन्ने काम गरे त्यसपछि राजतन्त्रको लोकप्रियता विस्तारै खस्कँदै गयो । विशेष गरी, २०५८ साल जेठ १९ गतेका दिन दरबार हत्याकान्डपछि स्थिति झनै जटिल बनेको कुरा छिपेको छैन । राजा वीरेन्द्रको हत्या भएपछि ज्ञानेन्द्र शाह राजा बने । उनले २०६१ मा पुनः सत्ता आफ्नो हातमा लिएर प्रत्यक्ष शासन गर्न खोजे । यसले जनस्तरमा असन्तुष्टि बढायो । २०६२/०६३ को जनआन्दोलनले राजसंस्थालाई पूर्णरूपमा समाप्त बनायो । जनआन्दोलनपछि त्यसको दुई बर्षपछि अर्थात २०६५ सालमा नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरियो र राजसंस्था समाप्त भयो ।
नेपालमा राजतन्त्रको यात्रा निकै लामो र उतार–चढावपूर्ण रह्यो । किरात, लिच्छवि, मल्ल हुँदै शाह वंशसम्म आइपुग्दा नेपालको राजनीतिक स्वरूप समय अनुसार परिवर्तन हुँदै गयो । तर, जनताको चेतनास्तर बढ्दै जाँदा निरंकुश शासन अस्वीकार्य हुँदै गयो । नेपाल गणान्त्रिक मुलुक बनेपछि राजसंस्था औपचारिक रूपमा समाप्त भयो । नेपालमा शाहवंशीय राजतन्त्रको शासनकालमा विभिन्न सकारात्मक कामहरु पनि भएका थिए । सकारात्मक कामको तुलनामा नकारात्मक कुराहरु धेरै भएका कारणले नै शाहवंशीय राजतन्त्र अन्त्य भएको हो । नेपालमा शाहबंशीय राजतन्त्रले के कस्ता काम गर्यो भनेर मनन गर्ने हो भने धेरै कुरा पाउन सकिन्छ । निरंकुश शासन संचालन गर्ने र प्रजातान्त्रिक आन्दोलनमाथि दमन गर्ने काम राजतन्त्रले गरेको थियो । शाहवंशीय राजाहरूले लामो समयसम्म निरंकुश शासन चलाएका थिए । राणा शासनको सुरुवात शाहवंशकै आडमा भएको थियो, जसका कारण जनताले करिब १०४ वर्षसम्म निरंकुश जहानिया राणाहरूको शासन सहनु परेको थियो । त्यो समयमा नेपाल जति अघि बढ्नुपर्ने थियो त्यति अघि बढ्न सकेको थिएन । शिक्षाका हिसावले, स्वास्थ्यका हिसावले, भौतिक पूर्वाधारका हिसावले नेपाल अघि बढ्न सकेन ।
भ्रष्टाचार र राजाको सम्पत्ति दोहन गर्ने सवालमा नेपालको राजतन्त्र सधै अघि रह्यो । राजा महेन्द्रदेखि राजा ज्ञानेन्द्रसम्म धेरै भ्रष्टाचारका आरोपहरू लागेका छन् । घुस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन भन्ने पृथ्वी नारायणका सन्तानहरु पछि कसरी पतन भए, मूर्ति विदेशमा लगेर बेच्ने, सुन तस्करी गर्ने, गाँजा र चरेशको कारोवार गर्ने जस्ता काम गरे । महेन्द्रले पञ्चायती व्यवस्थामा नेपालको आर्थिक स्रोतहरू आफ्नो नियन्त्रणमा राखेका थिए । राजा वीरेन्द्रले केही सुधार प्रयास गरे पनि, राजा ज्ञानेन्द्रले आफ्नो शासनकालमा व्यापक भ्रष्टाचार गरेको आरोप लाग्यो । २०५८ सालमा दरबार हत्याकाण्डपछि राजा ज्ञानेन्द्रले शक्तिको दुरुपयोग गर्दै राज्यकोष लुट्ने काम गरेका थिए । त्यो भन्दा थप कुरा गर्ने हो भने जनताको मौलिक हक हनन गर्ने काममा नेपालको शाहवंशीय राजतन्त्र जहिल्यै लाग्यो । निरंकुश राजतन्त्रमा पत्रकारहरू, राजनीतिक दलका नेता, बुद्धिजीवी तथा सचेत नागरिकहरूलाई गिरफ्तार गर्ने, यातना दिने, हत्या गर्ने काम भएको थियो । विश्वमा एक दलिय व्यवस्थालाई निरकुंश व्यवस्था भनिन्छ । २०१७ सालमा राजा महेन्द्रले संविधानमाथि हस्तक्षेप गरी बहुदलीय व्यवस्था खारेज गरेका थिए जुन निरंकुश व्यवस्था थियो ।
२०४६ सालअघि राजनीतिक स्वतन्त्रता थिएन, जनता स्वतन्त्र रूपमा बोल्न डराउँथे । जनतामाथिको शोषण र उच्च कर थियो । जनतालाई थोरै पैसामा काम लगाउने तर आफूले लाखौं रुपैया खर्च गर्ने काम गर्दथे । नेपालमा विरेन्द्र राजा रहेको अवस्थासम्म शाहवंशीय राजसंस्थाप्रति धेरै सम्मान थियो । दरबार हत्याकाण्ड र असंवैधानिक कदमहरूका कारण जनतामा राजतन्त्रप्रति वितृष्णा बढ्यो । २०६२/६३ को जनआन्दोलनपछि २०६५ सालमा नेपाललाई गणतन्त्र घोषणा गर्दै राजतन्त्र समाप्त गरियो । अहिले राजतन्त्रका नाममा जुन पिङ् मच्चाउन खोजिएको छ यसको डोरी चुडिनेवाला छ । यसर्थ राजतन्त्रको प्रेत आउला भन्ने चिन्ता राख्नु भन्दा अव गणतन्त्रलाई कसरी संस्थागत गर्ने भन्ने बारेमा गणतन्त्रबादीले सोच्नुपर्छ । जनताले समाप्त गरेको राजसंस्थालाई पुनःर्जीवन दिनका लागि केही सँभ्रान्त बर्ग लागेर हुनेवाला छैन । हिजो जसको सत्ता खोसियो तिनीहरु आफ्नो सत्ता प्राप्तीका लागि लाग्नु अनौठो होइन तर गणतन्त्रको विकल्पमा राजतन्त्र देख्नु भनेको साउनमा आँखा फुटेको गोरुले सधै हरियो देख्नु जस्तै मात्रै हो । कजबचबमचभभतग२नmबष्।िअयm