spot_img
spot_img

सामाजिक सञ्जालको अराजकता र निरुपणका उपाय

शरद अधिकारी

विश्वमा सामाजिक सञ्जाल नपुगेको कहिं छैन । केही बर्ष अघिसम्म हामीले सिनेमा हल नभएको देश कुन हो भन्दै जवाफ खोज्ने गर्दथ्यौं । रेडियो नभएको देश, टेलिभिजन नभएको देश, पत्रिका नभएको देश भन्दै हामीले खोज्ने गर्दथ्यौं । आज सामाजिक सञ्जाल नपुगेको कुनै देश छैन । केही देशमा केही सामाजिक सञ्जालमाथि प्रतिवन्ध लागेको छ । कतिपय देशले आफ्नो लागि बेग्लै खालको सामाजिक सञ्जाल बनाएका छन् । सामाजिक सञ्जाल भनेको आपसमा विचार आदान प्रदान गर्ने, सूचना आदान प्रदान गर्ने सजिलो माध्यम बनेको छ । हिजोका दिनमा एउटा देशभन्दा बाहिर रहेको व्यक्तिसंग कुरा गर्नु असंभव थियो । चिट्ठी पत्रका माध्यमबाट विचार आदान प्रदान गर्नुपर्ने अवस्था थियो । आज सामाजिक सञ्जालले त्यो सवै दायरा हटाएको छ । मेसेन्जरका माध्यमबाट संसारको जुन कुनामा भएको मानिससंग पनि कुरा हुन सक्छ । विज्ञान र प्रविधिले ल्याएको यो ठूलो फड्को हो । आगामी दिनमा यसमा अझ कस्ता खालका परिवर्तन देख्न पाइने हो त्यो अहिले भन्न सकिदैन ।

सामाजिक सञ्जाल आजको युगको अपरिहार्य उपकरण बनेको छ । यसले विश्वभरिका मानिसहरूलाई जोड्ने, सूचना आदान–प्रदान गर्ने र विचारहरू आदान–प्रदान गर्ने माध्यमको रूपमा महत्वपूर्ण भूमिका खेलेको छ । पछिल्लो समय यसको अत्यधिक प्रयोगले अराजकता, अफवाह, गलत सूचना, व्यक्तिगत गोपनीयताको हनन, साइबर अपराध, घृणा फैलाउने प्रवृत्ति, र सामाजिक अस्थिरताको जस्ता समस्याहरू पनि निम्त्याएको छ । सामाजिक सञ्जालमा देखिने अराजकताका कारणहरू, यसका प्रभावहरू र निरुपणका उपायका बारेमा चर्चा परिचर्चा कम मात्रै हुने गरेको छ । विश्वका कतिपय देशले कतिपय सामाजिक सञ्जालको प्रयोगमा रोक लगाएका छन् । नेपालमा केही समयमा अघिसम्म टिकटक प्रयोगमा प्रतिवन्ध थियो । पछिल्लो केपी ओली नेतृत्वको सरकारले टिकटक खुल्ला गरेको थियो । अहिले सरकारले सामाजिक सञ्जाल विधेयक ल्याएको छ । सामाजिक सञ्जाल विधेयक ल्याएको सन्दर्भमा कतिपयले सरकारले ल्याएको विधेयकको आलोचना गरेका छन् । सरकारले सामाजिक सञ्जाललाई नियन्त्रण गर्न खोजेको कुरा गरिरहेका छन् । अघिल्लो सरकारले टिकटक प्रयोगमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको थियो । पूर्ण रुपमा प्रतिवन्ध लगाएको त्यो अवस्था ठिक कि नियमन गरेर संचालनको अनूमती दिने कुरा ठिक ? नियमन गर्नु जरुरी छ कि छैन ? पक्कै पनि कुनै पनि विषयमा सरकारले नियमन गर्नुपर्छ । नियमन नगरिकनै कुनै विषयलाई अनुमती दिनु हुँदैन ।

नेपालमा सामाजिक सञ्जालको दुईवटा पाटो रहेको छ । एउटा पाटो भनेको सामाजिक सञ्जाल संचालकहरुको र अर्को उपयोग गर्नेहरुको । नेपालमा पनि सामाजिक सञ्जालका प्लेटफर्महरु उत्पादन गरिएका छन् । नेपालबाट संचालनमा रहेका सामाजिक सञ्जालका प्लेटफर्महरुलाई कसरी नियमन गर्ने भन्ने एउटा पाटो रहेको छ । यस्तै नेपालमा संचालनमा रहेका तर अनेत्रैबाट संचालनमा रहेकाहरुको कुरा छ । नेपालमा सामाजिक सञ्जाल जसरी अनियन्त्रित रुपमा चलिरहेको छ यसको नियमन अत्यन्तै आवश्यक देखिएको छ । समाजिक सञ्जाल नियमनका लागि ल्याइएको विधेयकका विषयमा छलफल गर्न सकिन्छ । नियमन गर्ने भनेको राम्रो गरिरहेकाहरुलाई पनि सहि बाटोमा हिडाउनका लागि हो । नियन्त्रण गर्ने भनेको बन्द गर्ने कुरा हो । नियममा चलाउनका लागि नेपाल सरकारले ल्याएको विधेयकमा रहेका विषयका बारेमा आम रुपमा बहस छलफल गर्न सकिन्छ तर नियमन गर्नु नै हुँदैन भनेर देशको सार्वभौमताको विषय, देशको सुरक्षाको विषय, देशको नेतृत्व गर्नेहरुलाई खुइल्याउने विषय स्विकार्य बन्न सक्दैन । नेपाल भन्दा एक छिन बाहिर निस्कौं विश्वका कयौं देशले सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाएका छन्, जसको कारण अरु केही होइन, मुलुकको राजनीतिक विषय, सांस्कृतिक र सुरक्षासँग सम्बन्धित विषयहरु हुन्छन् ।

चीनः विश्वमा सवैभन्दा धेरै जनसंख्या भएको देश चिन हो । अहिले भारतको जनसंख्या केही लाखले बढी भएपनि प्रविधिको प्रयोगका हिसावले चीन निकै अघि छ । चीनमा विश्वमा चर्चामा रहेका कतिपय सामाजिक सञ्जाल प्रतिवन्धित छन । बरु उसले आफ्नै एप्सहरु बनाएको छ । ति विश्वव्यापी पनि छन् । चीनमा फेसबुक, ट्विटर, इन्स्टाग्राम, र युट्युबजस्ता पश्चिमी सामाजिक सञ्जालहरू प्रतिबन्धित छन् । यसको सट्टामा, चीनमा वीच्याट, वीबो, र डोउयिन (टिकटोकको चिनियाँ संस्करण) जस्ता आफ्नै प्लेटफर्महरू प्रचलित छन् । चीनमा इन्टरनेटको पहुँच व्यापक रहेको छ ।
उत्तर कोरियाः यो समाजवादी व्यवस्था रहेको मुलुक हो । तर यहाँ इन्टरनेट पहुँच अत्यन्त सीमित छ, र बाह्य सामाजिक सञ्जालहरूको पहुँच सर्वसाधारणका लागि उपलब्ध छैन । उत्तर कोरियामा के कस्ता गतिविधिहरु भइरहेका छन भन्ने बारेमा बाहिरको संसारलाई थाहा हुँदैन ।
इरानः विकासका हिसावले इरान विकास भएको मुलुक मानिन्छ । इरान कट्टर मुस्लीमहरुको देश हो । यहाँ फेसबुक, ट्विटर, र टेलिग्रामजस्ता सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाइएको छ, तर केही प्रयोगकर्ताहरू भर्चुअल प्राइभेट नेटवर्क (भिपिएन) मार्फत यी प्लेटफर्महरूमा पहुँच राख्ने गरेका छन् ।
टर्कीः विकासका हिसावले टर्की अघि छ तर कहिलेकाहीं राजनीतिक अस्थिरताका समयमा ट्विटर र फेसबुकमा अस्थायी प्रतिबन्ध लगाउने गरिएको छ । राजनीतिक रुपमा भएको अस्थिरतालाई सामाजिक सञ्जालले मलजल गरेको आरोप लगाएर टर्कीले यस्तो कदम चाल्ने गरेको छ ।
पाकिस्तानः नेपालको छिमेकी पाकिस्तानमा टिकटक र युट्युबजस्ता प्लेटफर्महरूमा समय–समयमा प्रतिबन्ध लगाउने गरिउको छ । पाकिस्तानमा अनैतिक सामग्रीको कारण यस्तो प्रतिवन्ध लगाउने गरिन्छ ।

यि त केही उदारहण रहे । नेपालको छिमकी देश भारतमा टिकटक प्रतिवन्ध रहेको छ । अमेरिकामा टिकटक प्रयोग गर्न पाइदैन । कतै एक्सलाई प्रतिवन्ध गरिएको छ । विश्वका देशमा प्रविधिको लडाई चलिरहेको छ । प्रविधिमा को कसरी अघि हुने भन्ने बारेमा प्रतिष्पर्धा चलिरहेको छ । प्रविधिको दुरुपयोग रोक्ने चुनौती पनि संगै थपिएको छ । विश्वमा रहेको सात अरव भन्दा बढी जनसंख्यामध्य ४० प्रतिशतले सामाजिक सञ्जालको प्रयोग गर्ने गरेको पाइएको छ । केटाकेटी र जेष्ठ नागरिकहरु प्रयोगकर्ताको सूचीमा कम रहेका छन् । ‘हुटसुइट’ र ‘वि आर सोसल’ले संयुक्त रुपमा तयार पारेको ‘दि नेक्स्ट् वेभ’ नामक अनलाइनले प्रकाशित गरेको सो रिपोर्टले हालको विश्व जनसंख्या सात अरव (आँकलन गरिएको) मध्ये तीन अरवले सामाजिक सञ्जालहरुको प्रयोग गर्ने जनाएको छ । यी मध्ये ३७ प्रतिशत अर्थात २.७८० बिलियन प्रयोगकर्ताले सामाजिक सञ्जाल चलाउन मोबाइलको प्रयोग गर्ने गर्छन् । कुल जनसंख्याको ५१ प्रतिशत अर्थात ३.८१९ बिलियन मानिस इन्टनेटको पहुँचमा छन् ।

त्यस्तै, सामाजिक सञ्जालहरुमा सबैभन्दा धेरै सक्रिय मासिक प्रयोगकर्ता हुनेमा फेसबुकको करिब २.०४७ बिलियन, युटुबको १.५० बिलियन, ह्वाट्स्यापको र फेसबुक म्यसेन्जरको १.२० बिलियन संख्या रहेको छ । सामाजिक सञ्जालको प्रयोग बृद्धिसंगै विकृति बढीरहेको छ । यस कारणले गर्दा नियमनको कुरा आएको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि सरकारले ढीलो कदम चाल्दैछ भन्ने मेरो ठम्म्याइ रहेको छ । अहिले आर्टिफिसियल इन्टेलिजेण्ट (एआइ)का बारेमा छलफल चलिरहेको छ । अन्य सामाजिक सञ्जालको तुलनामा यो नियमनको काम अलि छिटो हुन थालेको हो कि भन्ने आभाष भएको छ । अन्य सामाजिक सञ्जालको प्रयोग ठिक तरिकाले मात्रै भएको छैन । सामाजिक सञ्जाल अहिले अराजक बन्दै गएको छ । सामाजिक सञ्जालको अराजकताका पछाडि विभिन्न कारणहरू छन् । जसलाई मसिनोसंग नियाल्नु जरुरी छ । सामाजिक सञ्जाल भनेको सकारात्मकता भन्दा नकारात्मकता छिटो फैलने माध्यम बनेको छ । सामाजिक सञ्जालमा कुनै पनि समाचार छिट्टै फैलिन्छ । तर, तथ्य जाँचबिना नै गलत सूचना भाइरल हुने समस्या व्यापक छ । अफवाह फैलाउने प्रवृत्तिले समाजमा भय, भ्रम र तनाव सिर्जना गर्न सक्छ । सामाजिक सञ्जालको अर्को घातक विषय भनेको घृणा फैलाउने प्रवृत्ति हो । जातीय, धार्मिक वा राजनीतिक विषयहरूमा उत्तेजक सामग्री प्रसारण गर्ने कार्य सामाजिक सञ्जालमा बढ्दै गएको छ । यस्ता गतिविधिहरूले समाजमा द्वन्द्व र वैमनस्यता बढाइरहेको छ । सामाजिक संजालका कारणले गोपनीयता हनन र साइबर अपराध बढीरहेको छ । सामाजिक सञ्जालमा व्यक्तिहरूको व्यक्तिगत विवरणहरू सजिलै उपलब्ध हुन्छन् । यसले ह्याकरहरूलाई साइबर अपराध गर्न सजिलो बनाएको छ । आइडी ह्याकिङ, डाटा चोरी, ब्ल्याकमेलिङ जस्ता समस्याहरू सामान्य भइरहेका छन् । यस्तै नक्कली खाता खोल्ने अनि अरुलाई गाली गर्ने प्रवृत्ती मौलाएको छ । धेरैजसो सामाजिक सञ्जाल प्रयोगकर्ताहरू नक्कली खाताहरू बनाएर अरूलाई गालीगलौज गर्ने, अपमान गर्ने वा हतोत्साहित गर्ने काम गर्छन् । यसले स्वस्थ बहसको वातावरणलाई नष्ट गर्छ । सामाजिक सञ्जालले राम्रो गरेको छ भन्ने तथ्यमा विमती छैन । तर यसको नकारात्मक प्रवृत्तिले मानसिक स्वास्थ्यमा प्रभाव पारिरहेको छ । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसहरूलाई तनाव, डिप्रेशन, र आत्मग्लानीको शिकार बनाइरहेको छ । कृत्रिम सौन्दर्य र जीवनशैली प्रदर्शन गर्ने प्रवृत्तिले विशेषगरी युवामा आत्मविश्वासको कमी ल्याएको छ ।

सामाजिक सञ्जालमा देखिएको अराजकताका प्रभावहरू बेला मौकामा देखिने गरेका छन् । जुन असर समाजमा गहिरोसंग देखिने गरेको छ । सामाजिक अस्थिरता फैलाउने काम भएको कुरालाई नियमन गर्नु जरुरी छ । अफवाह, घृणा फैलाउने पोस्टहरू र गलत सूचनाका कारण समाजमा हिंसा र अस्थिरता बढ्न सक्छ । सामाजिक सञ्जाललाई राजनीति प्रभावित गर्न पनि प्रयोग गरिन्छ, जसले जनमतलाई गलत दिशामा लैजान सक्छ । खासगरी निर्वाचनको समयमा यसले बढी काम गर्दछ । विश्वका ठूला राष्ट्रहरु समेत यो समस्याबाट अछुतो छैनन् । धेरै राष्ट्रहरुले निर्वाचनको क्रममा सामाजिक सञ्जाललाई नियन्त्रण गर्नका लागि आचार संहिता बनाएका हुन्छन् । नेपालमा पछिल्ला निर्वाचनमा सामाजिक सञ्जालको नियमनका लागि बेग्लै व्यवस्था गरिएको थियो । सामाजिक सञ्जालमा कसैका पक्ष÷विपक्षमा लेखिएका विषयहरुलाई निर्वाचन आयोगले मसिनोसंग नियालेको थियो । सामाजिक सञ्जालका कारणले गर्दा मानसिक स्वास्थ्य समस्याहरू भएका घटना बढीरहेका छन् । अहिले हरेक घरमा यहि समस्या छ । केटाकेटीहरु मोवाइल नहरेर खाना खान सक्दैनन् । मोवाइलमा सामाजिक सञ्जालका एप्समार्फत आउने ट्रोलिङ, हेट स्पिच, र तुलना गर्ने प्रवृत्तिले मानसिक स्वास्थ्यमा गम्भीर असर पारिररहेको छ । अनैतिक सामग्रीको बढ्दो प्रचारप्रसारले समाजमा नैतिक मूल्यहरूको ह्रास गरिरहेको छ । जसका बारेमा सचेत तप्काले गम्भिरता देखाउन आवश्यक छ ।

सामाजिक सञ्चालको अराजकताबाट कसरी बच्ने ? भन्ने विषय नै आजका दिनमा सवैभन्दा महत्वपूर्ण सवाल हो । सामाजिक सञ्जाललाई सही रुपमा अघि बढाउने हो भने व्यक्तिगत, सामाजिक र कानुनी उपायहरू अवलम्बन गर्न आवश्यक छ । यसमा कसैको विरोध वा समर्थन हुने वा नहुने भन्ने कुरामा ध्यान दिनु हुँदैन । सामाजिक सञ्जाल विधेयकमा सामाजिक सञ्जालले गम्भिर गल्ती गरेको अवस्थामा नगद जरिवाना गर्ने विषय उठान गरिएको छ । कतिपय गम्भिर गल्तीको सजाय जति दिएपनि कम हुन्छ तर एउटा मापदण्ड राख्नु पर्दछ । कुनै पनि देशको कानुनमा मान्छे मार्न पाइने कुरा लेखेको हुँदैन । यो भनेर कसैले कसैलाई मार्न पाइन्छ भन्ने अर्थ लगाउन मिल्छ र ? मानिसले मानिसलाई मा¥यो भने अत्यधिक सजाय २० बर्ष जेल हुन्छ । मानिसको ज्यान फर्किएर आउँदैन तर सजाय किन त्यति गरिन्छ ? एउटा मानिसका लागि २० बर्ष भनेको एउटा पुस्ता हो । यस कारणले गर्दा २० बर्षको सजाय तोकिएको हुन्छ । सामाजिक सञ्चालमा लेखेको कारणले कसैले ज्यान फाल्यो भने त्यस्तोमा २० बर्ष सजाय दिने कि नदिने भन्ने बहस गर्नु पर्ने कि नपर्ने ? आजका दिनमा यो सवाल महत्पूर्ण रहेको छ । यसर्थ अव के गर्ने त ? यसका लागि अव मिडिया साक्षरता बढाउने काम गर्नुपर्छ । प्रयोगकर्ताहरूलाई सही सूचना पहिचान गर्ने, स्रोतको विश्वसनीयता जाँच गर्ने र अफवाह नफैलाउने बानी बसाल्नु आवश्यक छ । कडा कानुनी प्रावधानहरू लागू गर्नुपर्छ । सरकार र सामाजिक सञ्जाल कम्पनीहरूले गलत सूचना फैलाउने, साइबर अपराध गर्ने, वा घृणा फैलाउने कार्यलाई रोक्न कडा नियम लागू गर्नुपर्छ । दोषीलाई दण्ड दिन सकिने व्यवस्था प्रभावकारी रूपमा लागू गर्नुपर्छ । निजी जानकारीको सुरक्षामा ध्यान दिनुपर्छ । प्रयोगकर्ताहरूले व्यक्तिगत जानकारी सार्वजनिक गर्दा सचेत रहनु आवश्यक छ । गोपनीयता सेटिङहरू राम्रोसँग मिलाउने र अविश्वसनीय स्रोतहरूसँग व्यक्तिगत जानकारी साझेदार नगर्ने बानी बसाल्नुपर्छ । सकारात्मक सामग्री प्रवद्र्धन गर्नुपर्छ । सामाजिक सञ्जालमा सकारात्मक सोच, प्रेरणादायी सामग्री, र शिक्षाप्रद पोस्टहरू बढावा दिनुपर्छ ।

सामाजिक सञ्जाल कम्पनीहरूको उत्तरदायित्व बढाउने गरि नियम बनाउनुपर्छ । फेसबुक, ट्विटर, युट्युब, टिकटक जस्ता प्लेटफर्महरूले गलत सूचना नियन्त्रण गर्न, हेट स्पिच हटाउन, र स्वस्थ बहसको वातावरण सिर्जना गर्न कडा उपायहरू अवलम्बन गर्नुपर्छ । हरेक देशमा सम्पर्क कार्यालय राख्ने र त्यहाँबाट नियन्त्रणका लागि उपाय अवलम्वन गर्नुपर्छ । व्यक्तिगत अनुशासन कायम राख्नुपर्छ र सीमित प्रयोग गर्नुपर्छ । विहान उठेदेखि राती सुत्नुअघिसम्म मोवाइल चेक गर्ने हो भने १० घण्टा भन्दा बढी चलाएको देखिन्छ । केही बर्ष अघिसम्म मोवाइल फोन कुरा गर्नका लागि मात्रै प्रयोगमा आउँथ्यो । अहिले अनेकन काम गर्दछ । सवैभन्दा बढी काम सामाजिक सञ्जालको प्रयोगमा समय कटाउने जस्तो भएको छ । यसकारणले गर्दा सामाजिक सञ्जालको अनावश्यक प्रयोग कम गरेर, सीमित समयमा मात्र उपयोग गरेर यसको नकारात्मक प्रभावबाट बच्न सकिन्छ । यसर्थ कुरा के हो भने सामाजिक सञ्जाल हाम्रो जीवनको अभिन्न अंग बनेको छ, तर यसको अराजक प्रयोगले विभिन्न सामाजिक समस्याहरू जन्माइरहेको छ । गलत सूचना, घृणा फैलाउने प्रवृत्ति, साइबर अपराध, मानसिक स्वास्थ्य समस्या जस्ता चुनौतीहरूको सामना गर्नका लागि व्यक्तिगत सचेतना, कानुनी उपाय, र सामाजिक सञ्जाल कम्पनीहरूको उत्तरदायित्व आवश्यक छ । यसका लागि हरेक व्यक्तिले आफ्नो तर्फबाट सचेत भएर सामाजिक सञ्जालको प्रयोग गर्नु जरुरी छ, जसले गर्दा डिजिटल वातावरणलाई सुरक्षित, स्वस्थ र सकारात्मक बनाउन सकिन्छ ।

[email protected]

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार