spot_img
spot_img

द्वन्द्वमा बेपत्ता भएका आफन्त वर्षौदेखि सत्यतथ्यको खोजीमा

बलपूर्वक बेपत्ता विरुद्धको दिवस

छबि पुरी/राप्ती पोष्ट

घोराही, भदौ । तत्कालीन १० वर्षे सशस्त्र द्वन्द्वका बेला आफन्त गुमाएका तथा बेपत्ता भएकाहरुको परिवारले लामो समयसम्म न्याय पाउन नसकेको दुखेसो पोखेका छन् । बलपूर्वक बेपत्ता विरुद्धको दिवसका अवसरमा शुक्रबार दाङको घोराहीमा आयोजित कार्यक्रममा सहभागी द्वन्द्वपीडितहरुले आफन्त बेपत्ता भएको लामो समयसम्म पनि लास वा सास केही पनि पत्तो पाउन नसकेको पीडा सुनाउनुभयो । यसैगरी बलपूर्वक बेपत्तासँगै ज्यान गुमाएका आफन्तहरुले हरेक दिन विगतको पीडा सहेर बाँच्नु परेको दुख सुनाएका छन् ।

नेपाल महिला सामुदायीक सेवा केन्द्रकी अध्यक्ष कल्पना न्यौपानेको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका संयोजक नित्यानन्द शर्माको उपस्थितिमा कार्यक्रम भएको थियो । द्वन्द्व पीडित सन्जाल दाङ, द्वन्द्व पीडित राष्ट्रिय सन्जाल, नेपाल महिला सामुदायीक सेवा केन्द्र र औपचारिक सेवा केन्द्र (इन्सेक) को संयुक्त आयोजनामा बलपूर्वक बेपत्ता पार्ने विरुद्धको २४औँ अन्तराष्ट्रिय दिवसका अवसरमा सहभागी बेपत्ता नागरिकका आफन्तले चाँडो सत्यतथ्य पत्ता लगाउन सरकारसँग माग गरेका हुन् ।

घोराही उपमहानगरपालिका १७ पचुर्खाका विरजु चौधरी २०५९ साल चैत १९ गते घोराही बजार आउनुभयो । उहाँलाई घोराही १४ मा रहेको दुरसञ्चार कार्यालयको नजिकैबाट तत्कालीन शाही सेनाले गिरफ्तार गरेको खबर उहाँको घरपरिवारमा पुग्यो । उहाँकी श्रीमती कृष्णा चौधरी अर्कोदिन आर्मी क्याम्पमा श्रीमानको खोजीका पुग्नुभयो । तर, आजका दिनसम्म उहाँले श्रीमानको अवस्था बारे थाहा पाउन सक्नुभएको छैन ।

श्रीमान आउने प्रतिक्षा गर्दागर्दै आज २२ वर्ष बितिसकेको छ । त्यो बेला ३ र १ वर्षका छोराछोरी ठूला भैसके । छोरीको विहे भैसकेको छ । छोरा कमाउन भारत जानुभएको छ । कमाउने घरका मुली नै बेपत्ता भएपछि घरमा आर्थिक समस्या भएपछि छोरालाई मुग्लान पठाउनु परेको छ । श्रीमानको मृत्यु भएको प्रमाण ल्याए राहत रकम दिने सरकारले घोषणा गरेपछि उहाँले न्यायीक मृत्यु घोषणा गरेर राहत रकम त लिनुभयो तर मनको पीडा आजसम्म सेलाएको छैन ।
‘घरको मूलि बेपत्ता भएपछि आर्थिक जोहो गर्ने मानिसको अभाव भयो छोराछोरी पढाउन सजिलो होला भनेर मृत्यु दर्ता गरेपनि मनले स्वीकार्न छैन’ कृष्णा भन्नुभयो ‘अझैपनि आउनुहुन्छ की भन्ने आश लागेको छ सरकारलाई खोजबिन गर्न आग्रह छ ।’

घोराही उपमहानगरपालिका– १७ गैरागाँउकी चुमा आचार्यको पीडा पनि कम छैन । उहाँ २८ वर्षको छँदा उहाँको श्रीमान बेपत्ता हुनुभएको हो । अहिले उहाँ ५० काटी सक्नुभयो । ‘श्रीमान् बेपत्ता भएको २२ वर्ष भयो न चुरा सिन्दूर फाल्न सक्छु न त खुसीले लाउन पाउँछु । एकल महिला भत्ता पाउन श्रीमानको मृत्यु दर्ता गराउन भन्छ । लास नदेख्दै कसरी मृत्यु स्वीकार गरूँ खै ?’ चुमाले भन्नुभयो ‘ससुराको अंश आफ्नो नाममा गराउन पाएको छैन । मेरो कारण अंश पाउन नसक्दा जेठाजुहरू रिसाउन थाल्नु भएको छ । आजका दिनसम्म बालबच्चा के गरी पालेको हुँला, के गरी घरव्यवहार धानेको हुँला ।’

उहाँ जस्तै बेपत्ता परिवारकी मसुरी चौधरी २०५९ सालमा श्रीमान् बेपत्ता हुँदा ३ महिनाकी गर्भवती हुनुहुन्थ्यो । ३ वर्षको छोरा र ७ महिनापछि जन्मिएकी छोरीलाई ज्याला मजदुरी गरेर पढाउनुभयो । ‘श्रीमानको नाममा आउने अंश आफ्नो नाममा ल्याउन अन्तिम विकल्पका रुपमा श्रीमानको न्यायिक मृत्यु दर्ता गरेर काम गर्नुपर्यो । लास नदेखे पनि मृत्यु दर्ता गर्न बाध्य भएँ । ‘ श्रीमान हराएको २२ वर्षसम्म मेरो जीवन कसरी चल्यो म आफै भन्न सक्ने अवस्थामा छैन’, उहाँले भन्नुभयो ।
द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जाल दाङकी लक्ष्मी चौधरीले बेपत्ता परिवारका पीडा सबैको आ–आफ्नै रहेको बताउनुहुन्छ । उहाँले आफन्त गुमाउनुको पीडाबोध गर्न निकै गाह्रो हुने भन्दै बेपत्ताको अवस्था अज्ञात हुँदा यसले पारेको असर अझ गम्भीर रहेको बताउनुभयो । ‘सबै भन्दा गाह्रो पर्खाई रहेछ । युद्धले परिवर्तन त भयो होला तर पीडितका पीडा कम भएनन् । अब स्थानीय तहले पनि द्वन्द्वपीडितका समस्याका बारेमा ध्यान दिन पहल गर्नुपर्छ ।’

नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ, द्वन्द्वपीडित सञ्जाल, ईन्सेक र द्वन्द्वपीडित राष्ट्रिय महिला सञ्जालको संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले बेपत्ता परिवारलाई न्याय दिन टीआसी विधेयक कानून बनाएर अबिलम्ब कार्यान्वयनमा ल्याउनु पर्ने बताउनुभयो । शान्ति प्रकृया अघि बढेको यतिका वर्षसम्म पनि पीडितले न्याय पाउन नसकेको भन्दै यो पीडाको यात्रा अब नलम्ब्याउन आग्रह गर्नुभयो ।
दाङमा एक सय २६ जना बेपत्ता भएको तथ्यांक छ । यसैगरी तीन सय ४५ जनाको द्वन्द्वका क्रममा मृत्यु भएको थियो भने एक हजार बढीको अंगभंग भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठलगायत बोल्नुभएको थियो । इन्सेक प्रतिनिधि जेएन सागरको स्वागत मन्तव्यबाट शुुरु भएको कार्यक्रमको सहजीकरण द्वन्द्वपीडित सञ्जाल दाङका अध्यक्ष प्रकाश चौधरीले गर्नुभएको थियो ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार