शरद अधिकारी
जेठको ६ गते दङालीहरुले भूल्नै नसक्ने दिन हो । नेत्रलाल पौडेल अभागीले सहादत प्राप्त गरेको दिनका रुपमा हामी यो दिनलाई लिने गर्दछौं । दङाली कम्युनिष्ट आन्दोलनका सतिसालका रुपमा अभागीको नाम सुनौलो अक्षरमा लेखिएको छ । आगामी जेठ ६ गतेका दिन हुने नेकपा एमाले दाङको चौधौं अधिवेशनबाट आउने नेतृत्वले गर्नुपर्ने केही महत्वपूर्ण कार्यभार रहेका छन् । दाङ जिल्लालाई कम्युनिष्टको किल्ला बनाउने हो भने पुनः एकपटक साझा संकल्प सहित जाने प्रतिवद्धता गर्नुपर्ने अवस्था आएको छ । तर दाङ जिल्लामा कस्तो प्रवृत्ति छ ? भन्ने बारेमा चर्चा गरिदैन । नेतृत्वमा रहेको मानसिकताका कारणले गर्दा नै समस्या भएको हो भन्ने कुरा खुलेर भन्न सकिदैन । अहिले पनि समस्या मुलमा छ । मुल सफा भयो भने तल सफा हुन्छ भन्ने सार्वमौम सत्य कुरा हो । मुलको समस्यालाई नजरअन्दाज गरेर बहावमा समाधान खोजिरहेका छौं । दाङ जिल्लामा नेकपा एमालेले कुनै बेला राम्रो नतिजा निकालेको थियो । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा १० पालिकामध्य दुईवटा पालिकामा मात्रै प्रमुख र उपप्रमुख जित्ने कुरालाई परिणाम मान्न सकिन्न । नेकपा एमालेको आगामी नेतृत्वमा को व्यक्ति ल्याउने वा को व्यक्ति आउने भन्ने बारेमा चर्चा ज्यादा हुने गरेको छ । को व्यक्तिले विगतमा के काम गरेको थियो ? आगामी दिनमा त्यसले के काम गर्न सक्छ ? भन्ने बारेमा धेरै चर्चा हुने गरेको छैन । गणेश प्रवृत्ति बोकेकाहरुले आन्दोलनलाई सफल हुन दिएका छैनन् । संसदीय प्रणालीमा निर्वाचन आफैमा आन्दोलनको मोर्चा हो । पाँच बर्षमा चार बर्ष तीन सय ६५ दिनसम्म नेकपा एमाले बनेर वा एमाले भनेर हिड्ने तर मतदान गर्ने दिन एमालेको निर्वाचन चिन्ह भन्दा अनेत्र छाप लगाउने प्रमुख कारणले एमालेले हार्ने गरेको छ ।
समीक्षाको अभाव
दाङ जिल्लाको कुरा गर्दा सवैभन्दा पहिले एउटा कुरा आउँछ कि दाङ जिल्लामा समीक्षा राम्रोसंग हुँदैन । समीक्षा गर्ने भनेको जित्दा वा हार्दा दुवै परिवेशमा हुनुपर्छ । नेकपा एमाले दाङमा न जित्दा समीक्षा हुन्छ । न हार्दा समीक्षा हुन्छ । २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा पार्टीको नतिजा राम्रो नआएपछि तत्कालिन सचिव शोभाराम बस्नेतले नैतिकताका आधारमा राजीनामा दिनुभएको थियो । त्यसपछि पार्टी सचिवका रुपमा भागवत विश्वासी आउनुभएको थियो । त्यो भन्दा पछि जति निर्वाचन भए ति निर्वाचनमा समीक्षा गरिएन । २०६६ देखि २०७८ सालसम्म जिल्ला कमिटीको सदस्यका रुपमा रहदा कुनै दिन पनि गम्भिर तरिकाले निर्वाचनको समीक्षा भएको सुन्न पाइएन । २०७० सालमा भएको संविधान सभाको दोस्रो निर्वाचनमा तत्कालिन अवस्थामा पार्टी सचिवको भूमिकामा रहनुभएका शंकर पोखरेलले निर्वाचन हार्नुभयो । २०६५ सालमा बुटवलमा भएको महाधिवेशनबाट सचिवको भूमिकामा आउनुभएका पोखरेलले दाङ क्षेत्र नं. ४ मा कमजोर मानिनुभएका बुद्धिराम भण्डारीसंग निर्वाचन हार्दा समेत जिल्ला नेतृत्वले समीक्षा गरेको थिएन । यसपछि २०७४ सालमा स्थानीय तहको निर्वाचन भयो । यो निर्वाचनमा जिल्लाका १० पालिकामध्य ६ वटा पालिकामा प्रमुख र चारवटा पालिकामा प्रमुख तथा उपप्रमुख जितियो । छ वटै पालिकामा प्रमुख जित्दा उपप्रमुख जितेको भए त्यतिवेला जिल्ला समन्वय समिति एकल रुपमा बन्ने थियो । पालिका छ वटा जित्नु आफैमा उपलव्धि थियो । त्यसपछि भएको निर्वाचन अर्थात २०७९ मा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको अवस्था नाजुक भयो । पहिलेको तुलनामा वडा धेरै जितियो भनेर छाती पिट्नेहरुलाई भन्नु केही छैन तर पहिले जितेका पालिकाहरुलाई किन गुमाइयो । त्यसका बारेमा समीक्षा गर्नु अनिवार्य थियो । जसको समीक्षा गरिएन । कसका कारणले हारियो ? कसले कस्तो भूमिका खेले ? जवसम्म निर्वाचनको समीक्षा गरिदैन, कसले के भूमिका खेलेको थियो भन्ने मूल्याङ्कन गरिदैन, पुरस्कार र दण्डको व्यवस्था गरिदैन तवसम्म पार्टीले जित हासिल गर्न सक्दैन । निर्वाचनमा हराउन भूमिका खेल्ने व्यक्तिलाई नै रातो कार्पेटमा पार्टीमा भित्राउने परिपाठीको अन्त्य हुन सकेको छैन । राम्राहरुको पहिचान गर्न नसक्ने, नराम्रालाई छोडन् नसक्ने प्रवृत्ति अन्त्य नभएसम्म पार्टीको साख उठ्न गाह्रो हुनेछ ।
भातृ संगठनको परिचालन
केही बर्ष भयो नेकपा एमाले दाङका भातृसंगठनहरुको परिचालन व्यवस्थित रुपमा हुन सकेको छैन । भातृसंगठन भनेका पार्टीका जरा जस्ता हुन । जरा जोगाउन सकियो भने विरुवाले फैलने मौका पाउँछ । जरारुपी भातृसंगठनहरुको अवस्था छन या छैनन् भन्नेमा पुगेको छ । कुनै बेला अखिलको जिल्ला कमिटीको सदस्य भन्दा गर्व लाग्ने अवस्था थियो । युवा संघ, महिला संघ, किसान संघ लगायत अन्य विभिन्न जनवर्गिय संगठनमा आवद्ध रहेकाहरुको पहिचान बेग्लै हुन्थ्यो । यस्ता संगठनमा आवद्ध रहनेहरुको राजनीतिक व्यक्तित्व निर्माण भएको हुन्थ्यो । अहिले कुन कमिटीमा बस्ने, कुन कमिटीमा नवस्ने त्यसको कुनै स्पष्ट मान्यता छैन । जो जहाँ पनि बस्न सक्छ । आज आउन सक्छ । भोली निस्कन सक्छ । एक हिसावले भन्ने हो कमिटी प्रणाली नै ध्वस्त भएको अवस्था छ । २०७४ सालमा भएको निर्वाचन अघि भातृसंगठनको परिचालन यति व्यवस्थित तरिकाले गरिएको थियो त्यहि कारणले परिणाम हासिल भएको थियो । आज भातृसंगठन कहाँ छन भनेर खोज्दा भेटिदैनन् । पार्टीका लागि उद्योगका रुपमा भातृसंगठनको जनशक्ति हुन्छ । पार्टीमा आउने शक्ति कहाँबाट आउँछ भन्दा भातृसंगठनबाट आउँछ । अझ भन्ने हो भने युवासंघ र विद्यार्थी संगठन नै प्रमुख रुपमा हुन । यि संगठनको परिचालन पार्टीले ठिक तरिकाले गर्न सकेको छैन । जवसम्म यि संगठनको परिचालन ठिक तरिकाले गर्न सकिदैन तवसम्म परिणाम निकाल्न सकिदैन । यो कुरामा नेतृत्वले बुझ्ुपर्ने हो ।
नेताको नजिक हुने चाहना
हामी सवैलाई के कुरा थाहा छ भने ‘सहि विचार पराजित हुँदा गलत विचारले विजय हासिल गर्दछ ।’ आज नेताको नजिक हुने लालसाले गर्दा पार्टीका गतिविधिहरु ओझेलमा परेका छन् । नेताको नजरमा देखिए पुग्छ भन्ने प्रवृत्ति बढेको छ । हामीले दाङ जिल्लाका १० पालिकाका प्रमुखहरुलाई एउटा सुत्रमा राखेर हरेक दिन उहाँले के काम गर्नुभयो भन्ने रेकर्ड राखेका छौं ? एक सय वडा वडाका प्रमुखहरुले हरेक दिन के गरे ? कहाँ गएर को संग भेट गरे ? पार्टी काम के गरे ? सामाजिक काम के गरे ? पार्टीको पक्षमा के कस्ता काम गरे भनेर रेकर्ड राख्ने गरेका छौं । प्रविधीको जमानमा यस्ता काम हरेक साता हुनुपर्ने हो । नभए १५ दिनमा एक पटक रिपोर्टिङ गर्नुपर्ने हो । हामीले परिभाषित काममा मानिसलाई खटाउन सकेका छैनौं । परिभाषित काममा खटाउन नसकेपछि अपेक्षा भने ठूलै गर्दछौं । मानिसलाई काम दिनुप¥यो । कामको जिम्मेवारी दिनुप¥यो । के गर्ने ? के नगर्ने भन्नु प¥यो । तर यस्तो काम गर्न सकेका छैनौं । नेताको नजिक भएपछि पद पाइहालिन्छ भन्ने प्रवृत्ति हावी हुँदै गएको छ । तहगत रुपमा कमिटीमा काम गर्ने बानी हराइसकेको छ । कतिसम्म भने वडा कमिटीमा भएको व्यक्ति एकै पटक जिल्ला कमिटीमा वा त्यो भन्दा पनि माथिल्लो कमिटीमा पुगेका घटना कति छन कति । कर्मचारीतन्त्रमा यस्तो भन्ने गरिन्छ कि, सचिवसंग निकट रहेको सुव्वा छ भने उसले सह सचिव भएको भएपनि सिडियोलाई टेर्दैन ।’ राजनीतिमा यस्तै भइरहेको छ । माथिल्लो पदमा रहेको व्यक्तिसंग चिनजान, हिचमिच वा नाता पर्ने छ भने अरुको योगदानको कदर हुँदैन । भनिन्छ ‘सामुहिक नेतृत्व र व्यक्तित्व उत्तरदायित्व पार्टी संचालनको मान्यता हो ।’ तर दाङ जिल्लामा यो कुरामा व्यापक कमी देखिन्छ । नेताको नजिक भएपछि पुग्यो भन्ने भाष्य स्थापित भएको छ । पार्टीको काम गर्ने भनेको के हो ? पार्टीको काम गर्ने भनेको जनताको दैनिक आवश्यकताका विषयमा चासो राख्ने कुरा हो कि होइन ? पानीको कुरा, सडकको कुरा, प्रहरीसंगको समन्वय, प्रशासनमा पर्ने समस्या, बनको कुरा, शिक्षाको कुरा, स्वास्थ्यको कुरा यस्ता धेरै विषयमा राजनीति गर्नेहरुको चासो जानु पर्दछ कि पर्दैन ? अवश्य पनि जानुपर्छ । तर यहाँ गणेश प्रवृत्ति हावी भइरहेको हुन्छ । नेताको वरीपरी घुमेर सकृयता देखाउने कुराको अन्त्य जवसम्म गरिदैन तवसम्म एमाले दाङमा सुधार हुनै सक्दैन ।
योजना र कार्यान्यनको कमी
नेतृत्वको काम भनको योजना ल्याउने र कार्यान्वयन गराउने हो । केन्द्र वा प्रदेशले ल्याएका योजना वा अभियानमा सहभागिता जनाउने तर जिल्ला आफैले योजना वा अभियान संचालन गरेको देखिदैन । जिल्लागत रुपमा कार्यउक्रम बनाएर जाने हो भने स्थानीय रुपमा सकृयता बढछ । बार्षिक रुपमा बनाइएको क्यालेण्डर किन लागु हुँदैन ? बार्षिक रुपमा बनाइएका क्यालेण्डर लागु हुँदैन भने अरु काम कसरी भइरहेको होला ? यस बाहेक विभिन्न रचनात्मक कृयाकलाप गर्न सकिन्छ । श्रमका काम गर्न सकिन्छ । योगदानका काम गर्न सकिन्छ । प्रशिक्षणका कार्यक्रमहरु गर्न सकिन्छ । अहिले हरेक नेता कार्यकर्ताहरु उत्पादनबाट टाढा भइरहेको अवस्था छ । हामी आर्थिक क्रान्तिको कुरा गर्दछौं । आर्थिक रुपमा समृद्धिको कुरा गर्दछौं । ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा जिल्ला कमिटीका लागि हो कि होइन ? जिल्ला कमिटीले योजना बनाएर यो काम गर्न सक्छ कि सक्दैन ? पक्कै पनि नेपालमा रहेका अन्य राजनीतिक दल भन्दा नेकपा एमाले फरक रहेको भनेर चर्चा गर्ने गरिन्छ । कार्यकर्ताका आधारित पार्टी नेकपा एमाले हो भनिन्छ । तर कार्यकर्ताहरु कहाँ काम गरिरहेका छन् ? के काम गरिरहेका छन् ? नेकपा एमालेका कार्यकर्ताहरु एमालेको पहुँच वा नियन्त्रणमा छन कि छैनन् ? यो महत्वपूर्ण कुरा हो । नेकपा एमालेका कार्यकर्ताहरुलाई पूर्ण रुपमा काममा खटाउने हो भने योजना ल्याउनुपर्छ र ति योजना कार्यान्यनमा ल्याउनुपर्छ ।
पदिय गरिमा जोगाउने क्षमता अभाव
पदमा जाँदैमा कोही क्षमताबान भइहाल्दैन । कोही व्यक्ति पदमा पुगेको छैन भने त्यो व्यक्तिमा क्षमता छैन भनेर दावी गर्न सकिन्न । पद पाउनेले पद धानेर खानुपर्छ । नेपाली विषय पढेको शिक्षकले नेपाली विषयमा जति राम्रोसंग पढाउन सक्नुहोला अँग्रेजी पढेकाले नेपाली पढाउन सक्नुहुन्न । अँग्रेजी पढेको व्यक्तिलाई सोही अनुसारको विषयका बारेमा जानकारी हुन्छ । जसको जे कुरामा क्षमता हुन्छ त्यहि बिषयमा काम दिनुपर्छ । जानकारी नभएको विषयमा विज्ञता छाँट्नु हुँदैन । पद पाउने सवैले नेतृत्वगर्न सक्दैनन् । हरेकसंग फरक क्षमता रहेको छ । कोही कुनै विषयमा जानकार होला त्यो अर्को विषयमा जानकार नहुन सक्छ । यसर्थ व्यक्तिलाई पदिय जिम्मेवारी दिंदा निकै ख्याल गर्नुपर्छ । हामीकहाँ वडाकमिटीमा बसेको व्यक्तिलाई मनोनित गरेर एकै पटक जिल्ला कमिटीमा वा त्यो भन्दा पनि माथिल्लो कमिटीमा लैजाने प्रवृत्ति यहाँ देखिएको छ । निर्वाचनको बेलामा वा अधिवेशनको समयमा प्रतिष्पर्धा गरेर आउने कुरा एउटा हो । तर व्यक्तिलाई टपक्कै टिपेर स्थापित गर्ने चाहनाले पार्टी बलियो हुँदैन । पदिय गरिमा जोगाउन नसक्नेहरुलाई सोही अनुसार भूमिका दिनुपर्छ ।
अध्ययन र अन्तरक्रियाको अभाव
अहिलेको अवस्थामा अध्ययन महत्वपूर्ण पाटो हो । विगत अध्ययन गर्नुप¥यो । बर्तमान अध्ययन गर्नुप¥यो । पार्टीका दस्तावेजमा लेखिएका कुराहरु अध्ययन गर्नुप¥यो । पार्टीले लिइरहेको बाटो के हो ? पार्टी कसरी अघि बढीरहेको छ त्यो कुरा थाहा पाउनुप¥यो । संचारमा आएका विषयलाई विचार बनाएर यो वा त्यो भनेर टिका टिप्पणि गर्ने कारणले पार्टी खुइलिने मात्रै हुन्छ । थाहा नपाएको कुरामा चुप लाग्ने, अध्ययन गर्ने, नेताहरुले के भनिरहेकाा छन् सोका बारेमा जानकारी लिने गर्नुपर्छ । पछिल्लो समय अध्ययन गर्ने संस्कृतिको अभाव हुँदै गएको छ । पार्टीले आयोजनागर्ने प्रशिक्षण र भेलाहरुमा पनि सहभागि नहुने, सहभागि भइहालेमा सक्रियताका साथ नवस्ने, छलफलमा सहभागी नहुने परिपाठी रहेको छ । जिल्लाका सवै तहले आफ्नो अस्तित्व स्थापित गर्न सकेका छैनन् । सवै तहले बेग्ला बेग्लै कार्यक्रम बनाउने, त्यसका लागि जिल्ला कमिटीे सहजिकरण गर्ने हो भने धेरै काम हुन सक्छ ।
पैसाको मोह र उत्पादनबाट टाढा
पैसा सवैलाई चाहिन्छ । यो कुरा सवैलाई थाहा भएको कुरा हो । पूँजीवादी दुनियामा पैसा नभएर केही पनि हुँदैन । खानेकुरा खानका लागि पैसा चाहिन्छ । लगाउनका लागि पैसा चाहिन्छ । केटा केटी पढाउनुप¥यो त्यहा पनि पैसा नै चाहिन्छ । पैसा चाहिन्छ भनेर पैसाको पछि मात्रै दगुर्ने हो कि ? पैसालाई साधनका रुपमा लिने हो ? अहिले जसरी हुन्छ पैसा आर्जन गर्ने मोहमा उत्पादनबाट नेता कार्यकर्ता सवै टाढा भएको अवस्था छ । पैसा हुनेलाई नेताले काखी च्याप्ने, जसको गाडी छ । जो संग सुविधा छ । जो संग सम्पन्नता छ त्यस्तालाई विश्वास गर्ने परिपाठी बढीरहेको छ । कम्युनिष्ट पार्टी गरीवको पार्टी हो भनेर भन्न नसक्ने अवस्था आइसकेको छ । श्रमजिवी बर्ग कहाँ छ ? मजदुर कहाँ छन् ? किसान कहाँ छन् ? जसको बलले कम्युनिष्ट पार्टीको यात्रा यहाँसम्म आइपुगेको छ त्यहि पार्टीमा शोषित पीडित र उत्पीडितहरुका लागि स्थान छैन भने कम्युनिष्ट पार्टीले संसदीय राजनीतिमा आफूलाई अव्वल कसरी सावित गर्न सक्छ र ? नेकपा एमालेले दाङ जिल्लामा आफूलाई स्थापित गर्ने हो भने नेतृत्व गरिरहेकाहरुले सोच्नुपर्छ । जसका कारणले गर्दा परिणाम निस्किएको छैन उसले बाटो छोडिदिनुपर्छ । अर्कोलाई सहयोग गर्नुपर्छ । यस्तो भयो भने मात्रै राम्रो हुन्छ ।
एक्लै हिड््ने चाहना
जव नेतृत्वमा एक्लै हिड्ने चाहना हुन्छ तव कुनै संघ संस्था वा पार्टी सफल हुन सक्दैन । यतिवेला नेकपा एमाले दाङका कार्यकर्ताहरुले इलाममा एमालेले जित्यो रे, बझाङमा जित्यो रे भनेर खुसी हुनुपर्ने अवस्था आएको छ । नेकपा एमाले दाङकमा आम कार्यकर्ताहरु कहिले खुसी हुन पाउँछन् । नेतृत्वगर्ने मानिसमा सवैलाई समेट्ने चाहना हुनुपर्छ । एकजना विद्वानले भनेको कुरा सँझन्छु ‘जो एक्लै हिड्छ त्यो टाढा पुग्छ ।’ हामीलाई टाढा पुग्ने नेतृत्व चाहिएको छ । धेरै परसम्मको विषय अनुमान गर्न सक्ने, समाजको समस्या पर्गेल्न सक्ने नेतृत्व चाहिएको छ । तर एक्लै हिड्ने नेतृत्व चाहिएको छैन । नेतृत्व गर्नेले सवैलाई विश्वास गर्न सक्नुपर्छ । कसैलाई पनि विश्वास नगर्ने, आफू मात्रै कुद्ने बानी हुने व्यक्तिले आफूले त जित्दैन अरुलाई जिताउन सक्दैन ।
नेकपा एमालेमा आस्थावान रहेका र दाङ जिल्लामा रहेका नेता कार्यकर्ताहरुले बुझ्नुपर्ने कुरा के हो भने यतिवेला नेकपा एमालेमा विचारको कुनै लडाइ छैन । गुटको लडाइ छैन । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेल रहेको नेकपा एमाले छ । तर यहाँ अनेकन धु्रव खडा गर्ने कोशिस भइरहेको छ । नेपालको सवैभन्दा ठूलो राजनीतिक दल, सवैभन्दा ठूलो कम्युनिष्ट पार्टी, समानुपातिकमा धेरै मत ल्याउने पार्टी तर निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नसकिरहेको अवस्था छ । नेकपा एमालेले देशभर जित्दा पनि दाङ जिल्लामा किन जित्न सक्दैन । एउटा पनि क्षेत्र जित्न नसक्नु के हो ? भन्दा नेकपा एमालेका महासचिव शंकर पोखरेलेको जिल्ला भन्ने । तर महासचिवलाई जिताउन नसक्ने भनेर बाहिर मुख देखाउन गाह्रो हुने अवस्था रहेको छ । महासचिवको जिल्लाका एमालेका नेता कार्यकर्ताहरुलाई गएको निर्वाचनले पछिसम्म झस्काउने छ । हातमा आएको माछो फुत्काएर दुलोमा हात हाल्नुको कुनै अर्थ हुँदैन रे । दाङ जिल्लामा त्यहि भइरहेको छ । २०७० सालमा संविधान सभाको निर्वाचन भइरहेको समयमा भावि अर्थमन्त्री भनेर तत्कालिन सचिव शंकर पोखरेललाई पराजित गरेका थिए । गएको निर्वाचनमा भावि प्रधानमन्त्री भनेर प्रचार गरियो । भावि प्रधानमन्त्री हो भने सोही अनुसार तयारी गनुपर्छ । कार्यकर्ताको परिचालन सोही अनुसार गर्नुपर्छ । तुलनात्मक रुपमा कमजोर मानिएका उमेदवारसंग भिड्दा पनि हार व्यहार्ने भनेको सामान्य विषय होइन । यो विषयमा गम्भिरताका साथ समीक्षा गरिएन भन्ने कुरा मैले माथि उल्लेख गरिसकेको छु । हारको गम्भिर समीक्षा गर्न छोडेर पराजयका सारथीहरुलाई पुरस्कृत गर्ने काम कदापी गर्नु हुँदैन । गम्भिर रुपमा समीक्षा गरिएको भए कमजोरीको तथ्य पत्ता लाग्ने थियो । अहिले म होइन उ, म होइन उ भन्दै दोषारोपण गर्ने भएको छ । स्थानीय तहको निर्वाचनमा जुन गठवन्धन थियो त्यहि गठवन्धन संसदीय निर्वाचनको समयमा थियो । केही महिनाको मात्रै फरक थियो । एमालेले जितेका वडाहरु नै धेरै थिए तर किन निर्वाचन हारियो । यो प्रश्नको जवाफ नआउने हो भने आगामी दिन सहज हुने छैनन् भन्ने बुझ्नुपर्छ । (बाँकी आगामी सोमवार)