माटो बिग्रिएर उर्वराशक्ति कमजोर बन्दै
छबि पुरी/राप्ती पोष्ट
घोराही, असार । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरियाका मस्तबहादुर रानाको खेतबारीको माटो परिक्षण गरियो । माटोको नमूना परिक्षण गर्दा माटोमा पिएच मान ६ दशमलव ८ देखियो । बाँकी नाईट्रेजन, फस्फोरस, पोटासको मात्रा माटोमा निकै कम देखियो । घोराही उपमहानगरपालिका वडा नम्बर ४ सुनपुरका रामेश्वर आचार्यको खेतबारीको माटोको नमूना परिक्षण गर्दा पिएच ६ दशमलव २ मात्रै देखियो ।
घोराहीस्थित कृषि ज्ञान केन्द्रको मिनि प्रयोगशालामा गरिएको माटो परिक्षणमा माटोमा नाईट्रेजनको मात्रा अधिक देखियो भने फस्फोरस, पोटासको मात्रा निकै कम देखियो । तुलसीपुर ७ का जगदीश भण्डारीले खेतको माटो परिक्षण गराउँदा पिएच ७ दशमलव १ देखिँदा नाईट्रेजनको मात्रा मध्यम आयो भने फस्फोरस, पोटासको मात्रा निकै कम भएको पाईयो ।
दंगीशरण गाउँपालिका वडा नम्बर ४ का दुबीलाल चौधरीले खेतको माटो परिक्षण गराउँदा पिएचको मात्रा ८ दशमलव ४ आयो । नाईट्रेजनको मात्रा मध्यम आउँदा फस्फोरस, पोटासको मात्रा निकै कम प्रमाणित भयो । जिल्लाको लमही नगरपालिका वडा नम्बर १ नर्तीका ईन्द्र पौडेलले बारीको माटो परिक्षण गर्दा पनि अवस्था राम्रो देखिएन । उहाँले परिक्षण गराएको माटोमा पिएचको मान ८ दशमलव ४ आयो । नाईट्रेजनको मात्रा मध्यम देखिए पनि फस्फोरस, पोटासको मात्रा निकै कम रहेको पाईयो ।
सामान्यता माटोमा पिएचको मात्रा ६ दशमलव ५ देखि ७ दशमलव ५ सम्मलाई उपयुक्त मान्ने गरिएको छ । यसमा उल्लेखित मात्राभन्दा तल भए अम्लीयपन देखिन्छ भने बढी भए क्षारीयपन हुन्छ । यसैगरी जिल्लामा अधिकांश खेतबारीमा अस्वाभाविक रुपमा रासायनिक मलको प्रयोगले माटोमा नाईट्रोजन अर्थात युरियाको असर नराम्ररी पर्दै गएको पाईएको छ । युरियाको सही उपयोग हुन नसक्दा माटोको उर्वराशक्ति कमजोर हुनुका साथै माटोमा क्षति हुँदै गएको छ । जिल्लाका अधिकांश ठाउँको माटो परिक्षण गर्दा जमिनमा अम्लीयपन बढ्दै गएको छ । उत्पादनका लागि चाहिने प्राङ्गारिक पदार्थ घट्दै जाँदा अम्लीयपन बढ्दै गएको कृषि ज्ञान केन्द्र घोराहीकी कृषि अधिकृत देवा महराले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न बालीका लागि चाहिने तत्वहरु नाइट्रोजन, फस्फोरस, पोटास लगायतको मात्रा पनि घट्दो छ ।
दाङमा चालु आर्थिक वर्षको हालसम्म एक सय ५२ वटा माटोको परिक्षण भएको छ । माटोको परिक्षण गर्दा अम्लीयपन भएको ३३ वटा, क्षारीयपन भएको ४३ वटा र तटस्थ अवस्थामा रहेको ७६ वटा भेटिएको छ । यो निकै बढी भएको कृषि अधिकृत महराले बताउनुभयो । उहाँले माटो परिक्षण गर्दा नाईट्रोजनको मात्रा कम भएका ४२ वटा, मध्यम अवस्थामा रहेका ५९ वटा, अधिक भएका ५१ वटा भेटिएको बताउनुभयो । यसैगरी, सोही माटोको नमूना परिक्षणमा फस्फोरसको मात्रा ९८ वटामा कम, ४८ वटामा मध्यम र ६ वटामा अधिक भेटिएको थियो । माटोमा पोटासको मात्रा ९९ वटामा निकै कम, ५१ वटामा मध्यम र २ वटामा अधिक भेटिएको जानकारी दिनुभयो ।
परीक्षणपछि माटो बिग्रिँदै गएकाले कृषिजन्य उत्पादनमा कमी आउन थालेको कृषकहरु बताउँछन् । यति मात्र होइन, प्रयोगशालाको रिपोर्टले जिल्लाको माटोमा प्राङ्गारिक पदार्थ पनि घट्दै गएको देखाएको छ । जसले गर्दा माटोको उर्वराशक्ति पनि घट्दै गई उत्पादकत्व पनि कम हुँदै गएको माटो विज्ञहरु बताउँछन् । माटो विज्ञहरुका अनुसार बाली नै पिच्छे कति अम्लीयपना उपयुक्त हुने भन्ने फरक–फरक हुन्छ । दाङमा अरु अन्नबालीभन्दा धान बाली सबैभन्दा बढी उत्पादन हुने गरेको छ ।
जिल्लाको ६९ हजार ९ सय ५० हेक्टर खेती योग्य जमिन मध्ये ६५ हजार ९ सय ८० हेक्टर जमिनमा खेती हुने गरेको छ । जसमध्ये ३९ हजार चार सय हेक्टर जमिनमा धान खेती हुँदै आएको छ । तर, अहिलेकै हिसाबमा माटोमा अम्लीयपना बढ्दै जाने हो भने धान उत्पादन राम्रो हुने दाङमा उत्पादनमै कमी आउन सक्ने अवस्था रहेको कृषि विज्ञ बताउँछन् । कृषि अधिकृत महराका अनुसार, खेती गर्न जमिन ५ दशमलव ५ देखि ६ दशमलव ५ पीएचसम्म हुँदा धान खेती गर्न सकिन्छ । तर, ५ दशमलव ५ देखि तल भएपछि क्रमशः उत्पादन घट्दै जान्छ । यसका लागि माटोको उपचार अनिवार्य हुन्छ । वा, त्यो माटोमा अन्य किसिमका उपयुक्त बाली पनि लगाउन सकिने उहाँ बताउनुहुन्छ ।
कृषि ज्ञान केन्द्र घोराहीकी कृषि अधिकृत महराले माटो बिग्रिँदै जानुको प्रमुख कारण कृषकबाट अन्धाधुन्ध रासायनिक पदार्थको प्रयोग कारक रहेको टिप्पणी गर्नुहुन्छ । ‘घरेलु मलको प्रयोग गर्ने चलनै हराइसक्यो,’ उहाँले भन्नुभयो, ‘विषादीको प्रयोग अत्यधिक छ । यसले पनि माटोलाई बिगार्न भूमिका खेल्दै आएको छ ।’ चक्रीय प्रणाली अनुरुप विभिन्नखाले बाली लगाउनु पर्ने उहाँको सुझाव छ । मुख्य सिजनमा धान, गहुँ रोपेपछि कोषे बाली लगाउन सुझाउनुहुन्छ । दाङमा रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याउने काम गरी रहेको छ । माटोको परीक्षण बिना खेती गर्ने र असन्तुलित रुपमा रासायनिक मलको प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास हुँदै गएको कृषि विज्ञ बताउँछन् ।
मलको असन्तुलित प्रयोगले नाइट्रोजन, फस्फोरस र पोटासको मात्रा माटोमा कम देखिने र उत्पादनमा ह्रास ल्याउने काम गरी रहेको कृषि ज्ञान केन्द्र घोराहीका कृषि अधिकृत देवा महराले बताइन् । कृषि उत्पादन बढाउने उद्देश्यले किसानहरुले युरिया, डिएपी लगायतको रासायनिक मलको अत्यधिक प्रयोग गर्ने र यसले वर्षेनी माटोको उर्वरा शक्तिमा कमी ल्याउने काम गरी रहेको उनको भनाइ रहेको छ । जिल्लामा कृषकले धान, मकै, तोरी, मसुरो, गहुँलगायतका तरकारी बालीको उत्पादन बढाउन भन्दै बिना मापदण्ड युरिया, डिएपीलगायतको मलसँगै किटनाशक औषधी बढी प्रयोग गर्ने गरेको पाईएको छ । प्राङ्गारिक मलका रुपमा गाई वस्तुको गोबरसँगै केही उद्योगहरुले उत्पादन गरेको प्राङ्गारिक मलको प्रयोग गर्ने गरेपनि अधिकांश कृषकको रोजाई रासायनिक मल हुने गरेको छ । जसले गर्दा माटोलाई चाहिने आवश्यक पर्ने तत्व परिपूर्ति हुन नसक्दा माटोको उर्वराशक्ति कमजोर बन्दै गएको कृषि अधिकृत महराले बताउनुभयो ।
तत्कालीन जिल्ला कृषि विकास कार्यालय हुँदा २०५७ सालमा दाङमा माटो परीक्षणका लागि मिनी ल्याव स्थापना भएयता जिल्लामा माटो परिक्षण हुने गरेको छ । ल्याव स्थापनासँगै कार्यालयमा माटो विज्ञको दरबन्दी रहेको थियो । तर, संघीयता लागूसँगै कर्मचारी समायोजनका क्रममा माटो विज्ञको दरबन्दी कटौती गरेपछि कृषि ज्ञान केन्द्र माटो विज्ञ विहीनसँगै वर्षेनी हुने माटो परीक्षणमा समेत कमी आएको अधिकृत महराले बताउनुभयो । उहाँले नै माटो परिक्षण गर्दै आउनुभएको छ ।
कुनै समय वार्षिक रुपमा करिब १ हजार बढी माटो परीक्षण हुने गरेपनि कार्यालयमा माटो विज्ञको व्यवस्था नहुँदा अहिले वार्षिक रुपमा करीव १ सय ५० कृषकले ल्याएको माटो परीक्षण हुने गरेको छ । कृषि व्यवसायमा समस्या देखिएपछि मात्रै परीक्षणका लागि आउनेहरु गरेका उहाँले बताउनुभयो । २–२ वर्षमा कम्तिमा माटो परिक्षण गराउनु पर्ने हो । तर, यसबारेमा कृषक अनभिज्ञ छन् ।
माटोमा हुनुपर्ने १८ वटा तत्व भएमात्रै उर्वराशक्तिमा सन्तुलन आउने हुन्छ । तर, दाङको माटोमा पोटासको मात्रा निकै कम छ । पोटासको कमीले फल र दाना पुस्ट नहुने, फल रसिलो भरिलो नहुने अवस्था रहने विज्ञको भनाई छ । देउखुरीको नदी किनारको माटोमा क्षारीयपन देखिएको छ भने घोराहीको धर्ना क्षेत्र, दंगीशरणका केही स्थानलगायत अरु ठाउँमा पनि माटोमा समस्या बढ्दै गएको छ ।
बिग्रिँदै गएको माटोमा सुधार गर्न अम्लीयपन भएको ठाउँमा जाँचको आधारमा २१ दिनअघि कृषि चुन प्रयोग गर्न सकिने उहाँले बताउनुभयो । क्षारीय भएकोमा जिब्सम प्रयोग गर्ने नभए प्राङ्गारिक मलका रुपमा तोरीको पिना, धैचा, असुरो, तितेपाती प्रयोग गर्ने र कोषेबाली लगाउन सकिने उहाँको सुझाव छ । खासमा भन्ने हो भने प्राङ्गारिक मलको प्रयोगलाई बढाएर माटोलाई बिग्रिनबाट जोगाउन सकिन्छ । तर, यसतर्फ कृषकको ध्यान जान सकेको छैन ।