spot_img
spot_img

घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणाका लागि अनुगमन

राप्ती पोष्ट

घोराही, फागुन । घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्नकालागि तयारी स्वरुप विभिन्न क्षेत्रको अनुगमन गरिएको छ । घोराही उपमहानगरपालिकाका मेयर उपमेयर लगायतको टोलीले विभिन्न क्षेत्रमा पुगेर अनुगमन गरेको थियो ।

आइतबार टोली वडा नं. १४ को कार्यालयमा पुगेको थियो । वडा नं. १४ ले बालमैत्री घोषणाका लागि गरेका तयारी र प्रयासका बारेमा जानकारी लिइएको थियो । जसमा बालमैत्री फोकल पर्सन निरु डिसीले वडामा बालमैत्री घोषणाका लागि गरिएका कामका बारेमा जानकारी दिनुभयो । उहाँले विभिन्न टोल विकास संस्थाहरु, आमा समुहहरु, युवा र किशोरी समुहहरुका बीचमा छलफल गरिएको जानकारी दिनुभयो ।

यस्तै वडाध्यक्ष शक्तिराम डाँगीले टोल विकास संस्थालाई परिचालन गरेर बालमैत्री घोषणाको कामलाई अघि बढाइएको जानकारी दिनुभयो । उहाँले टोल विकास संस्थाहरु उत्साहका साथ बालमैत्री घोषणामा लागिरहेको भन्दै बालमैत्री घोषणामा सवैको सहभागिता र सक्रियता रहेको बताउनुभयो ।

अनुगमन टोलीले वडा नं. १४ मा रहेको स्वास्थ्य केन्द्रमा पुगेर स्वास्थ्यका क्षेत्रमा भएका कामको जानकारी लिएको थियो । बालवालिकाहरुले खोप पाएको वा नपाएको, आमाहरुले खोप लगाएको वा नलगाएको, आयोडिन युक्त नुनको प्रयोग भएको वा नभएको भन्ने बारेमा जानकारी लिएको थियो ।

यस्तै घोराही उपमहानगरपालिका वडा नं. १४ मा रहेका दुईवटा टोलको पनि अनुगमन गरिएको थियो । जसमा सरस्वती टोल विकास संस्थाले केही दिन अघि बालमैत्री घोषणा गरेकोमा सुचक पुरा भए÷नभएको बारेमा अनुगमन गरेको थियो । टोल विकास संस्थाकी सचिव भिमकुमारी पुन मगरले टोल विकास संस्थामा बालमैत्रीका अधिकांश सुचक पुरा भएको र केही अपुरा भए त्यसलाई केही दिनमा पुरा गर्ने जानकारी दिनुभयो । उहाँले सवै टोल बासीले बालमैत्री घोषणा कार्यान्वयनका लागि प्रतिवद्धता जनाएको पनि बताउनुभयो ।

यसैगरी घोराही–१४ कै गौतम नगर टोल विकास संस्थामा पुगेर पनि अवस्थाको जानकारी लिइएको थियो । गौतम नगर टोल विकास संस्थामा रहेको सर्वोदय बालक्लवले गरेका कामहरुका बारेमा बालक्लवका सल्लाहकार नविन श्रेष्ठले जानकारी दिनुभएको थियो । बालमैत्री घोषणाका लागि बालक्लले भूमिका खेलिरहेको भन्दै सरसफाईका कार्यक्रमहरु, जन्मदर्ताका अभियानहरु, बालविवाह रोक्नका लागि अभियान संचालन गरिरहेको बताउनुभयो ।

यस्तै घोराही उपमहानगरपालिकाको वडा नं. १४ मा रहेको बाल विकास मावि र वडा नं. १८ मा रहेको मावि रझेनामा पुगेर विद्यालयको अवस्थाका बारेमा अनुगमन गरिएको थियो । विद्यालयको भौतिक संरचना बालमैत्री रहे÷नरहेको, विद्यालयमा शौचालयको अवस्था, विद्यालयमा पानीको व्यवस्था, यातना रहे÷ नरहेको भन्ने बारेमा जानकारी लिएको थियो ।

अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली, नगरप्रमुख नरुलाल चौधरी, उप प्रमुख सिता सिग्देल न्यौपाने, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुकुन्द रिजाल, बालअधिकारकर्मी विकिरण गौतम लगायतले विभिन्न सुझावहरु दिनुभएको थियो ।

घोराही उपमहानगरपालिकालाई यहि फागुन मसान्त भित्र बालमैत्री घोषणा गर्नका लागि अभियान संचालन गरिरहेको छ । वडा घोषणाका लागि नगरपालिकाले अनुगमन गर्नुपर्ने व्यवस्था अनुसार अनुगमन थालिएको घोराही उपमहानगरपालिका महिला विकास शाखाकी प्रमुख मोती विश्वकर्माले जानकारी दिनुभयो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img