spot_img
spot_img

घोराही–तुलसीपुर सडकमा हिड्न सास्ती

छबि पुरी

घोराही, फागुुन । घोराहीदेखि तुुलसीपुर सम्मको २४ किलोमिटर लामो सडक विस्तार गर्नेभन्दै करीव तीन वर्ष अघि कामको थालनी भयो । यो बीचमा केही कामदारले सडक छेउँमा नाला बनाउने, पर्खाल उठाउने काम पनि गरे । शुुरुवाती चरणमा कामको शुरुवात जसरी भयो, त्यो गति धेरै दिन टिकेन । एकाएक कामदार निर्माणाधीन स्थलबाट हराए । बन्दै गरेका संरचना अलपत्र परे । त्यतिवेला घोराही– तुलसीपुर सडक खण्डका धेरै जसो स्थानमा दायाँ बायाँ किनार काटेर खाडल बनाईयो । जुन यतिवेला धरापमा परिणत भएका छन् ।

हिजो आज तिनै खाडलमा प्रायः सवारी दुर्घटना हुने गरेका छन् । शनिबार राप्ती पोष्टकर्मीसहित पत्रकारको टोली घोराहीदेखि तुलसीपुरसम्मको सडक पछिल्लो अवस्थाका बारेमा स्थलगत अध्ययनका लागि जाँदा काम लथालिङ्ग थियो । बन्दै गरेका केही संरचना पनि अहिले जीर्ण बन्न थालेका छन् । वर्षायाममा हिजोको सास्ती खेपेका यात्रुु र सवारी चालकले अब गर्मीयाम शुरु हुन लागेसँगै पश्चिमी हावाले उडाउने धुलो आन बाध्य छन् ।

शनिबार दिनभर जसो चलेको हावाले यात्रा गर्न निकै कठिन भयो । भताभुुङ्गको अवस्थामा रहेको सडकबाट उडेको धुुलोले निकै सास्ती भोग्नु परेको घोराही १४ का रमेश थापाले बताउनुुभयो । उहाँले तुलसीपुरबाट आउँदै गर्दा धुलोले नराम्ररी प्रभाव पारेको बताउनुुभयो । घोराहीबाट दुधरास जाँदै गर्नुभएका उमेश खड्काले आँखा धुलो पसेपछि बाटो हेर्ने समस्या भएको अनुुभव सुनाउनुुभयो । खासगरी, मोटरसाईकल, साईकलमा यात्रा गर्नेलाईं बढी सास्ती भएको छ । ‘वर्षायाममा हिलोले गर्नु गर्यो, अब धुुलोले यसरी बिजोग बनाउन लाग्यो, कहिले बन्ने होला यो सडक ?’ घोराही तुलसीपुर चोकमा व्यवसाय गर्दै आउनुुभएका मनिष थापाले भन्नुुभयो । कामको जिम्मेवारी लिएको निर्माण कम्पनी र पेटी ठेकेदार अहिले गुमानाम छन् । उनीहरुको अत्तोपत्तो छैन ।

बनेको संरचना पनि लथालिङ्ग पारेर जिल्लाबासीलाई दिनुसास्ती दिएका ठेकेदारले काम अघि नबढाउँदा नागरिकलाई चरम सास्ती भएको छ । यस विषयमा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले केही समयअघि चासो लिए पनि उहाँले पनि हाल कामको बारेमा जानकारी लिन छाड्नुुभएको छ । निर्माण कम्पनीको चरम लापरवाहीले सिंगो प्रंशासनलाई पनि माथ दिएको उहाँको तर्क छ । ‘कानूनभन्दा माथि भएजस्तै निर्माणकर्ताले व्यवहार गर्छन्, नियामक निकायले चाुसो लिँदै काम गर्न निर्देशन दिए पनि अटेर गर्नेका लागि के लाग्दो रहेछ र ?’ उहाँले भन्नुुभयो ।

भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले १४ माघ २०७५ मा सडक निर्माणको काम थालेको थियो । एक करोड २१ लाख लागतमा सो कम्पनीले २०७८ असार साउन २७ गतेसम्म सडक निर्माण गरिसक्ने गरी जिम्मा लिएको थियो । तर, कोभिड–१९ महामारीको बहाना देखाउँदै २७ वैशाख २०७९ सम्म म्याद थप गरिएको छ । यो बीचमा गएको मंसीर १० गते घोराहीमा तामझामका साथ निर्माण कम्पनीले अब काम युद्धस्तरमा हुन्छ भने पनि भालुुलाई पुराण सुनाए जस्तै गरेर जिल्लाबासीलाई जिल्लाई दिएको छ ।

निर्माण कम्पनी तथ्य प्रालिका प्रमुख प्रविन ब्रम्हदेव पाण्डेयले ३ सय ६५ दिनमै वृहत स्तरमा १० वटा चेन बनाएर भव्य रुपमा जनशक्ति र प्रविधि उपकरणसहित काम गर्ने सार्वजनिक वचन दिए पनि भनाई मात्रै भयो । हालसम्म कम्पनीले पेश्की स्वरुप १७ करोड रकम बुझिसकेको छ । आयोजनाका अनुसार बबई नदीदेखि कुटवा खोलासम्म ६.५३ किलोमिटर, सर्रादेखि नारायणपुर बजारसम्म ३ किलोमिटर र खैरादेखि दूधरासम्मको ३.७ किलोमिटर सडक दुई लेन सडक निर्माण हुने बताईएको छ ।

यस्तै घोराहीको डिके पेट्रोल पम्पदेखि सर्राचोकसम्मको ४ किलोमिटर, नारायणपुर बजारदेखि खैरासम्म २ किलोमिटर र दुधरासदेखि तुलसीपुरको हात्तीखौवासम्म ८.३१ किलोमिटर सडक चार लेन बनाउने गरी सम्झौता भएको छ । तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले पुनः तीन कम्पनीलाई पेटी ठेक्का दिएर काम गर्ने बताएपनि पेटी ठेकेदार पनि अहिले सम्पर्कमा छैनन् । आफैं निर्माण गर्ने भनिए पनि तीन निर्माण कम्पनीहरुलाई जिम्मा दिएको कम्पनीका प्रतिनिधि विजय पाठकले बताउनुुभयो । उहाँका अनुसार तीन खण्डमा गरी बेडा बाबा कन्स्ट्रक्सन, विमला निर्माण सेवा र शिवपुरी निर्माण सेवालाई सडक निर्माणको जिम्मा दिईएको छ ।

जिल्लाको विकास र गौरवका रुपमा समेत रहेको चार लेन सडक निर्माण कार्यमा भईरहेको ढिलाई प्रति संचारमाध्यमले बारम्बार चासो लिँदै समाचार प्रकाशन गरिरहे पनि राजनीतिक, सामाजिक क्षेत्रमा यो विषय पेचिलो नबन्दा काममा प्रभाव परेको धेरैले आँकलन गरेका छन् । राजनीतिक दलको आरक्षणमा निर्माण कम्पनीले काममा ढिला सुस्ती गरेको हुँदा सिंगो जिल्लाको विकासमा असर गरेको नागरिकको दुखेसो छ ।

सडक निर्माण कार्यको ढिलाइले घोराही–तुलसीपुर यात्रा सकस र जोखिमपूर्ण मात्रै होईन निर्माण कार्य थालनी गरेको भनिए यता १४ जनाले ज्यान गुमाई सकेका छन् । दुर्घटनका कारण भौतिक क्षति पनि भएको छ । अब गर्मी मौसम शुुरु भएसँगै दैनिक रुपमा बहने हावाका कारण धुलोले नागरिक, व्यवसायीलाई सास्ती दिन थालेको छ । सडकका ठाउँ–ठाउँमा मिटर मिटरमा खाल्डाखुल्डी छन् ।

धुलो उडेर कुइरीमण्डल हुन्छ, बाटो पहिल्याउन पनि कठिन हुुने अवस्थामा पुुगेको यो सडकमा निर्माण काम चाँडो शुरु नगर्ने हो भने यसले आगामी दिनमा नागरिकले अझ सास्ती भोग्नुु पर्ने अवस्था विद्यमान छ । सडकमा ठूला–ठूला खाल्डा हुँदा पनि मर्मत भएका छैनन् । सडकको पाइलैपिच्छे साना–ठूला खाल्डा छन् । धेरैजसो दुर्घटना यिनै खाल्डाखुल्डीका कारण हुने गरेको सवारी चालकको भनाई छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार

spot_img
spot_img
spot_img