राप्ती पोष्ट
दाङ, ४ जेठ । भारतमा भयावह भएपछि नेपालमा पनि कोरोना भाइरसको संक्रमण भयावह बनिरहेको समयमा भारतमा भेटिएको जस्तै थप प्रकारका भाइरस भेटिएका छन् । नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो ।
भारतमा भेटिएका ’डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा फेला परेको हो । भारतमा यी नामले चिनिएका यी भाइरसलाई भेरियन्ट B.1.617.2 रB.1.617.1 नामाकरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिनुभयो । थप भेटिएका दुई नयाँसहित नेपालमा तीन किसिमका नयाँ भेरियन्ट पुष्टि भएको उहाँको बताउनुभयो । ‘३५ वटा नमूनामा ९७ प्रतिशतमा B.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 भेरियन्ट पुष्टि भएको छ,’ उहाँले भन्नुभयो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले मे १० मा विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरेको थियो । हाल पत्ता लागेका नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनले देखाएको छ ।
थपिए आठ हजार बढी संक्रमित
यसैगरी पछिलो २४ घण्टामा देशभर आठ हजार दुई सय तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार दुई ८६ जनाको पिसिआर र छ सय ९३ जनाको एन्टीजेन परीक्षणमा आठ हजार दुई सय तीन जनालाई संक्रमण पुष्टि भएको छ ।
पिसिआर विधिबाट आठ हजार एक सय ३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १४ हजार पाँच सय २९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप एक सय ९६ जना संक्रमितको मृत्यु भएको छ ।
हालसम्म नेपालमा पाँच हजार चार सय ११ जना संक्रमितको मृत्यु भएको छ । देशभर छ हजार आठ सय ९१ जना संक्रमित निको भएका छन् । देशभर सात सय ५२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।