spot_img
spot_img

पश्चिम दाङले गुमायो होनहार पत्रकार 

स्व. लक्ष्मण बस्नेत

राप्ती पोष्ट

दाङ, ३ जेठ । एक महिना पनि नपुग्दै दाङले अर्को पत्रकार गुमाएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य समेत रहेका लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण ज्यान गएको छ । केही दिन अघि कोरोना संक्रमण देखिएपछि उहाँलाई उपचारका लागि भैरहवा पुराइएको थियो ।

पश्चिम दाङमा रहेर पत्रकारितालाई अघि बढाउनुभएका बस्नेतले रेडियो हापुरे स्थापनाका लागि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । संस्थापक स्टेशन म्यानेजरका रुपमा बस्नेतले रेडियो संचालनमा पुराएको योगदान स्मरणिय रहेको छ ।

पत्रकारित ागर्नका लागि बजार क्षेत्रमै बस्नुपर्छ भन्ने मान्यतालाई बस्नेतले तोड्नुभएको थियो । दाङ जिल्लामा खुलेका रेडियो मध्य सवैभन्दा ग्रामिण क्षेत्रमा खुलेको रेडियोको रुपमा रहेको रेडियो हापुरेलाई उचाईमा पुराउनका लागि बस्नेतले निकै संघर्ष गर्नुभएको थियो ।

बस्नेतको निधनमा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेलले पनि दुःख व्यक्त गर्नुभएको छ । पश्चिम दाङका विषयलाई संचारमा ल्याउनकालागि बस्नेतले खेलेको भूमिकाको पालिका अध्यक्ष पौडेलले संझना गर्नुभएको छ ।

यस्तै रेडियो हापुरेका स्टेशन म्यानेजर प्रेमबहादुर राम्जाले लक्ष्मण बस्नेतलाई बचाउन सकिएन भन्दै दुःख व्यक्त गर्नुभएको छ । पश्चिम दाङका लक्ष्मण बस्नेतलाई जोगाउनका लागि सहयोग संकलन अभियान चलाइएको थियो । बस्नेतको निधनप्रति नेपाल पत्रकार महासंघ दाङ शाखा, महासंघ केन्द्र लगायत विभिन्न संघ संस्था र व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् ।

बस्नेत विरामी भएर भैरहवामा उपचारमा रहेको समयमा हिजो अर्थात आइतबार मात्रै उहाँको बुवाको पनि निधन भएको थियो । बुवाको निधन भएको भोलिपल्ट बस्नेतको निधन भएको छ । दुःख पनि यसरी आएको छ कि त्यसको क्षतिपूर्ति कसैगरी हुन नसक्ने भएको छ । बस्नेतका श्रीमति, एक छोरा र छोरी रहेका छन् ।

३३ बर्ष अघि तत्कालिन पुरन्धारा गाविस हाल बवई गाउँपालिका वडा नं. ४ हापुरमा बस्नेतको जन्म भएको थियो । बस्नेतको निधनमा नेपाल पत्रकार महासंघ दाङले सोमबार शोक विज्ञप्ती जारी गरेको छ । अध्यक्ष दुर्गालाल केसी र सचिव आर के शितलले जारी गरेको विज्ञपतीमा नेपाल पत्रकार महासंघ दाङ शाखाका साधारण सदस्य बबई गाँउपालिका वडा नम्बर ४ हापुरे निवासी लक्ष्मण बस्नेतको ३३ वर्षको उमेरमा कोभिड– १९ संक्रमणका कारण भैरहवामा उपचारको क्रममा मिति २०७८ जेठ ३ गतेका दिन भएको असामयिक निधनले हामी स्तब्ध एवं मर्माहत भएको उल्लेख गरिएको छ । दुःखको यस घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौ । महासंघले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

दाङको पश्चिम क्षेत्रमा रेडियो हापुरे स्थापना गरि संस्थापक स्टेशन म्यानेजर रहेर ग्रामीण क्षेत्रमा पनि सञ्चारमाध्यम स्थापित गर्नका लागि भूमिका खेलेको भन्दै महासंघ दाङले स्व. बस्नेतले जिल्लाको पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको उच्च पं्रशसा व्यक्त गर्दछौ भनिएको छ । बस्नेतको शोकमा नेपाल पत्रकार महासंघ दाङको घोराहीस्थित कार्यालयमा मंगलवारदेखी शोक पुस्तिका राख्ने भएको छ ।

महासंघले कोरोना भाईरसको संक्रमण बढ्दै गएको यस समयमा महासंघका दुई जना सदस्यहरुलाई गुमाएको उल्लेख गर्दै महामारीको समयमा सम्पूर्ण सञ्चारकर्मीहरुलाई साबधानी अपनाएर काम गर्न अनुरोध गरेको छ । कोरोना जोखीमको यो समयमा पत्रकारहरुलाई सुरक्षीत तरिकाले काम गर्ने वातावरण मिलाउन र आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु व्यवस्था गर्न सम्पूर्ण सञ्चारमाध्यमहरुलाई पनि अपिल गरिएको छ । यसका साथै पत्रकारहरुको सहजरुपमा स्वास्थ्य जाँच, उपचार र खोपको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको छ ।

उता नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले पनि शोक विज्ञप्ति जारी  गरेर बस्नेतको निधनमा दुःख व्यक्त गरेको छ । नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको कोरोना संक्रमणका कारण ३३ वर्षको अल्पायुमै भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको उल्ललेख गरेको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ती जारी गरेर बस्नेतको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको बताउनुभको छ ।

कोरोनाकै कारण हालसम्म १४ जना पत्रकारको निधन भएको छ भने आठ सयभन्दा बढी पत्रकार संक्रमित भएका छन् । गत बैशाखमा दाङमै पत्रकार दामोदर अधिकारीको कोरोना संक्रमणका  कारण निधन भएको थियो ।

कोरोना संक्रमणका कारण ज्यान गुमाउनुभएका पत्रकार लक्ष्मण बस्नेतप्रति राप्ती पोष्ट दैनिक परिवार पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । यसका साथै बस्नेतको परिवारमा एक पछि अर्को बज्रपात गरेको भन्दै सहन गर्ने शक्ति प्राप्त होस भन्ने कामनाका साथ राप्ती पोष्ट दैनिक परिवारमा समवेदना प्रकट गर्दछ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार