दाङ, १ जेठ । जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा कमि आउन नसकेपछि जारी लकडाउनको समय थपिएको छ । दाङमा अव जेठ १५ गतेसम्म लकडाउन हुनेछ ।
जिल्ला प्रशासन कार्यालय दाङले जेठ १५ गतेसम्म लकडाउन थप्ने निर्णय संगै बजार खुल्ने समयमा कटौती गरेको छ । यस अघि हरेक दिन विहान ७ बजेदेखि विहान ८ बजेसम्म एक घण्टा बजार खुल्ने निर्णय गरेको थियो । अव बजार आइतबार र बुधबार विहान एक घण्टा सोही समयमा खुल्नेछ ।
दाङ जिल्लामा कोरोना संक्रमितहरुको संख्यामा कमि आउन नसकेपछि प्रशासनले लकडाउनका समय थप गरेको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र्रको बैठकले आगामी जेठ १५ गते साँझ ६ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।
अति आवश्यकीय सामान खरिव विक्रि एवं ढुवानीका लागि प्रत्येक हप्ताको आइतबार र बुधारबार विहान एक घण्टा खुल्ला हुनेछ । दुध र पानीको हकमा पनि विहान ७ देखि ८ बजेको समयमा खरिव विक्रि गर्न सकिनेछ । अति आवश्यकीय सेवा भित्र खाद्यान्न, खानेपानी, दुध, तरकारी इन्धन, औषधी, विद्युत आपूर्ति, टेलिफोन, फोहरमैला व्यवथपन र पशुपंक्षीको दाना रहेका छन् ।
यसैगरी पूर्व पश्चिम राजमार्ग भएर दाङ जिल्लामा गुड्ने गाडीहरु अव दाङ जिल्लामा रुक्न नपाउने भएका छन् । गाडीले जिल्लामा यात्रु उठाउन र झान निषेध गरिएको छ । औद्योगिक प्रतिष्ठान र विकास निर्माणको काम गर्ने स्थलमा श्रमिकहरुलाई बस्ने खाने र स्वास्थ्य उपचारको व्यवस्था भएमा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी काम गर्न सकिनेछ । निर्माण सामग्री ढुवानीका लागि प्रत्येक दिन बेलुका ६ बजेदेखि ९ बजेसम्मको समय निर्धारण गरिएको छ ।
जिल्ला भित्र रहेका बैंक तथा वित्तिय संस्थाहरु भने आलोपालो गरी दिनको ११ बजेदेखि १ बजेसम्म खुल्ला रहने भएका छन् । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले आइतबार जारी गरेको सूचनामा जिल्लामा संक्रमितको संख्या बढ्नुको साथै मृत्युदर बढीरहेको हुँदा संक्रमणको जोखिम रोक्नका लागि यस्तो निर्णय गरिएको बताइएको छ ।