दाङ, १ जेठ । दाङ जिल्लामा रगतको अभाव हुन थालेपछि नेकपा एमाले निकट अनेरास्ववियुले शनिबार रक्तदान गरेको छ ।
अनेरास्ववियुको ५६ औं स्थापना दिवसका अवसरमा अनेरास्ववियु दाङले रक्तदान रक्तदान गरेको हो । घोराहीमा रहेको रक्त सञ्चार केन्द्रमा पुगेर युवा विद्यार्थीहरुले रक्तदान गरेका थिए ।
अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले शुभकामना दिनुभएको थियो । रगतको अभावमा कोही पनि मृत्युको मुखमा पुग्न नपरोस भनेर विद्यार्थीले गरेको अभियान सह्राहनिय रहेको धारणा उहाँको थियो ।
रक्तदान कार्यक्रममा नेकपा (एमाले) दाङका सचिवालय सदस्य विवेक श्रेष्ठ लगायत जिल्ला अध्यक्ष सर्जन परियार, दिवस क्षत्री, लक्ष्मण गिरी, प्रकाश परियार, अनुप विएम, सुसन ध्वज वली, विशाल चोैधरी, चन्दन भण्डारी, खुसिराम चोैधरी लगायतले रक्तदान गर्नुभएको थियो । रक्तदान गरेर रगतको अभाव कम गर्नका लागि सहयोग गरेकोमा रक्त सञ्चार केन्द्र दाङले अनेरास्ववियुलाई धन्यवाद दिएको छ ।
यस्तै त्रिभुवननगर जेसिजले पनि सामुहिक रक्तदान गरेको छ । जिल्लामा रगतको अभाव भएको भन्दै जेसिसले बैशाखको ३१ गतेका दिन रक्तदान कार्यक्रम आयोजना गरेको थियो । जेठ २ गते आइतबारका दिन पनि रक्तदान आयोजना गरिएको त्रिभुवननगर जेसिजका अध्यक्ष मुकेश शर्माले जानकारी दिनुभयो । रक्तदान जेसिज सचिवालयमा विहान आयोजना गरिएको छ ।