राप्ती पोष्ट
घोराही, २२ साउन । सामुदायिक प्रहरी सेवा केन्द्र दाङको २४ औँ स्थापना विहीबार घोराहीमा सम्पन्न भयो । केन्द्रका अध्यक्ष कैलाश रोकाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले सामुदायिक प्रहरीले खेलेको भूमिका प्रशंसनिय रहेको बताएका थिए ।
स्थापना दिवसको अवसरमा केन्द्रको विकास र सामाजिक अभियानमा महत्वपूर्ण योगदान पु¥याएका आजीवन सदस्यहरूलाई खादा ओढाई सम्मानपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक दीपक श्रेष्ठले समुदाय र प्रहरीबीचको विश्वास, सहकार्य र साझेदारी नै शान्ति सुरक्षा तथा अपराध नियन्त्रणको आधार भएको बताउनुभयो । लागूऔषध दुव्र्यसन, घरेलु हिंसा, साइबर अपराध तथा सामाजिक विकृतिविरुद्ध प्रभावकारी अभियान सञ्चालन गर्न समुदायको सक्रिय साथ आवश्यक रहेको उल्लेख गर्दै उहाँले सामुदायिक प्रहरी सेवा केन्द्रले विगत २४ वर्षदेखि निर्वाह गरेको भूमिका उदाहरणीय रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सबिन प्रियासनले सुरक्षित र सभ्य समाज निर्माणका लागि प्रहरी, सञ्चारमाध्यम र नागरिक समाजबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राख्नुभयो । लागूऔषधविरुद्धको अभियान, जनचेतनामूलक कार्यक्रम तथा युवालाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने गतिविधिलाई अझ प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष रोकाले स्थापना कालदेखि नै केन्द्रले सामुदायिक सुरक्षा, लागूऔषध नियन्त्रण, सडक सुरक्षा, महिला तथा बालबालिकाको संरक्षण र जनचेतनामूलक अभियानलाई निरन्तरता दिँदै आएको जानकारी दिनुभयो । आगामी दिनमा विद्यालय, टोल विकास संस्था तथा विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाइने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले पनि अपराध न्यूनीकरण, सामाजिक सद्भाव कायम राख्न तथा नागरिकमा सुरक्षा सचेतना अभिवृद्धि गर्न सामुदायिक प्रहरी सेवा केन्द्रले खेलेको भूमिका उल्लेखनीय रहेको बताएका थिए । उनीहरूले दिगो शान्ति र सुरक्षित समाज निर्माणका लागि समुदायको सहभागिता अपरिहार्य रहेको उल्लेख गर्दै केन्द्रका गतिविधिलाई अझ व्यापक बनाउन सुझाव दिएका थिए ।
सामुदायिक प्रहरी सेवा केन्द्रले पछिल्ला वर्षहरूमा लागूऔषधविरुद्धको अभियान, विद्यालयस्तरीय सचेतना कार्यक्रम, महिला तथा युवामुखी अभिमुखीकरण, ट्राफिक सचेतना तथा सामाजिक विकृतिविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। स्थापना दिवसका अवसरमा विगतका उपलब्धिको समीक्षा गर्दै आगामी दिनमा समुदायसँगको सहकार्यलाई अझ सशक्त बनाउने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, दाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वसन्त जोशी, नागरिक समाज दाङका सचिव नारायण श्रेष्ठ, केन्द्रका पूर्वअध्यक्ष भुपेन्द्र सुवेदी, संस्थापक सचिव राजेन्द्र श्रेष्ठ, सल्लाहकार खड्ग बुढाथोकी र बलदेव योगी, नेपाल मगर संघ दाङका अध्यक्ष मुक्त बुढा, पूर्व प्रहरी संगठनका अध्यक्ष रोहबरबहादुर बस्नेत, लायन्स क्लब अफ घोराहीका उपाध्यक्ष एकनारायण अधिकारी, घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष धुर्ब केसी, समाज कल्याण दाङकी अध्यक्ष निर्मला शर्मा लगायतले बोल्नुभएको थियो । केन्द्रकी उपाध्यक्ष माया पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सचिव केबी घर्तीले सञ्चालन गर्नुभएको थियो ।