spot_img
spot_img

७७ वर्षमा कम्युनिष्ट यात्राः अब कता ?

शरद अधिकारी

नेपालको राजनीतिक इतिहासमा २००६ साल एउटा युगान्तकारी वर्षका रूपमा स्थापित छ । यही वर्ष भारतको भूमिमा पाँच जना नेपाली युवाहरूले एउटा यस्तो बीउ रोपे, जसले पछि नेपालका राजनीतिक आन्दोलनहरूलाई गहिरो प्रभाव पा¥यो त्यो हो, कम्युनिष्ट आन्दोलन । नेपालमा यस अघि कम्युनिष्टको बारेमा सुनेका भएपनि पुष्पलालको यो कदमले नेपालीका लागि आशाको दियो बाल्यो । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको व्यक्तिगत जीवन नै संघर्ष, विद्रोह र बलिदानको प्रतीक थियो । राणा शासनविरुद्धको आन्दोलनमा आफ्नै दाजु गुमाएको पीडाले उहाँलाई केवल राजनीतिक कार्यकर्ता मात्र होइन, एउटा वैचारिक योद्धा बनायो । पुष्पलाल श्रेष्ठ नेपालका कम्युनिष्टहरुका लागि कहिल्यै विर्सन नमिल्ने नामका रुपमा रहेको छ । ७७ वर्षको यो यात्रालाई फर्केर हेर्दा, नेपालमा कम्युनिष्ट आन्दोलनले गौरवशाली उपलब्धिहरू पनि हासिल गरेको छ र गम्भीर आत्मसमिक्षा गर्नुपर्ने अवस्थाहरू पनि सिर्जना गरेको छ । यो केवल पार्टीहरूको इतिहास होइन, यो एउटा विचारको उतारचढाव, एउटा आन्दोलनको उकालो–ओरालो र एउटा समाजको परिवर्तनको कथा हो ।
पुष्पलालले परिकल्पना गरेको कम्युनिष्ट आन्दोलन के थियो ? विगतमा कहाँ पुग्यो ? अहिले कहाँ छ ? यो कता जाँदैछ ? यस्ता धेरै विषयहरु पेचिलो प्रश्नका रुपमा आइरहेका छन् । बास्तविक कुरा के हो भने पुष्पलालको त्यो कदम जनताको मुक्तिका लागि थियो । शोषणरहित समाज निर्माणको सपनालाई विपना बनाउनका लागि थियो । तर समयक्रममा यो आन्दोलनले अनेकौं विभाजन, पुनर्गठन र वैचारिक विचलनको सामना गर्नुप¥यो । नेपालमा कम्युनिष्ट पार्टीहरू स्थापना हुने, फुट्ने र फेरि जुट्ने क्रम लगभग परम्पराजस्तै बन्यो । यो केवल संगठनात्मक कमजोरीको परिणाम थिएन, यो वैचारिक अस्पष्टता, नेतृत्वको अहंकार र सत्ताप्रतिको मोहको मिश्रण पनि थियो ।

२००७ सालमा भएको परिवर्तनका लागि बैचारिक रुपमा नेपालका कम्युनिष्टहरुको अहं भूमिका थियो । यद्दपी संस्थागत रुपमा कम्युनिष्ट पार्टीको निर्णायक भूमिका देखिन्न । २०१५ सालमा भएको निर्वाचनमा चारजना कम्युनिष्ट योद्धाहरुले निर्वाचन जितेका थिए । औपचारिक रुपमा जनताका बीचमा गएर अनुमोदन भएको समय त्यहि थियो । २०१७ सालपछि कम्युनिष्टहरुलाई मात्रै होइन नेपाली काँग्रेसलाई पनि प्रतिवन्ध लगाइयो । खुलाल राजनीतिमा आउनका लागि ३० बर्ष कुर्नुपर्ने अवस्था आयो । २०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्थाको पुनःस्थापनासँगै कम्युनिष्ट शक्तिहरू खुला राजनीतिमा आए । त्यसपछि २०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्धले कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दियो । माओवादी आन्दोलनले राज्यसत्तालाई नै चुनौती दियो र अन्ततः २०६२÷६३ को जनआन्दोलनमार्फत राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना सम्भव बनायो । यो कम्युनिष्ट आन्दोलनको ऐतिहासिक उपलब्धि थियो, जसले नेपालको राजनीतिक संरचना नै परिवर्तन गरिदियो । तर प्रश्न यहाँबाट सुरु हुन्छ, इतिहास बनाउने आन्दोलन आज किन रक्षात्मक अवस्थामा पुगेको छ ?

पछिल्लो निर्वाचन परिणामहरूले देखाएका छन् कि कम्युनिष्ट शक्तिहरू पहिलेको जस्तो जनविश्वासमा उभिन सकेका छैनन् । यसको मुख्य कारणहरू गहिराइमा गएर विश्लेषण गर्नुपर्ने हुन्छ । पहिलो, विचार र व्यवहारबीचको अन्तर अत्यधिक बढ्नु हो । कम्युनिष्ट पार्टीहरूले समाजवादको कुरा गरे, समानताको नारा लगाए, तर व्यवहारमा सत्ताको खेलमा रमाए । नेतृत्व तहमा देखिएको विलासिता, भ्रष्टाचारप्रतिको सहनशीलता र जनतासँगको दूरीले आन्दोलनको नैतिक धरातल कमजोर बनायो । पुष्पलालले जे कामका लागि कम्युनिष्ट आन्दोलनको जगेर्ना गरेर आउनुभयो आज त्यो धरातल कहिं कतै देखिदैन । नेपालका कम्युनिष्टहरुमा एकता भन्दा विभाजनको संस्कृतिले आन्दोलनलाई कमजोर बनायो । इतिहास हेर्दा नेपालका कम्युनिष्ट पार्टीहरू सधैं फुटको राजनीतिमा अल्झिएका छन् । साना–साना असहमति, नेतृत्वको प्रतिस्पर्धा र व्यक्तिगत स्वार्थका कारण पार्टीहरू टुक्रिँदै गए । यसले जनतामा भ्रम सिर्जना ग¥यो, कुन कम्युनिष्ट साँचो ? कुन नक्कली ? यही अन्योलले जनमतलाई पनि विचलित बनायो । नेपालमा कम्युनिष्टहरु अनेकन बहानामा फुटेका छन् । नेतालाई हेर्ने दृष्टिकोण नमिलेर विभाजन, नेताको श्रीमतीलाई हेर्ने दृष्टिकोण नमिलेर विभाजन, अनुहार मन नपरेर विभाजन यस्ता यस्ता धेरै विषयहरुमा विभाजित भएका उदाहरण छन् ।

नेपालका कम्युनिष्टहरु सत्तामा पटक पटक पुगे तर सफल हुन सकेन्न । कहिले एकल त कहिले बहुमतको जनमतलाई लिएर सत्तामा पुगेपनि सहि तरिकाले सत्ताको नेतृत्व गर्न नसक्नुको परिणाम आजको अवस्था आएको छ । विगत नै नेपाली कम्युनिष्ट आन्दोलनको असफलता पनि महत्वपूर्ण कारण हो । जब कम्युनिष्ट पार्टीहरूले सरकार सञ्चालनको अवसर पाए, उनीहरूले अपेक्षाअनुसार परिणाम दिन सकेनन् । विकास, सुशासन र सामाजिक न्यायका क्षेत्रमा ठोस उपलब्धि देखाउन नसक्दा जनताको भरोसा कमजोर भयो । जनताले परिवर्तनको आशा गरेका थिए, तर धेरै हदसम्म निराशा हात लाग्यो ।
अब प्रश्न उठ्छ, अबको बाटो के हो ? यो विषयमा धेरै त प्रवेश गर्न चाहदैनन् ? हाल नेपालमा रहेका कम्युनष्टि शक्तिमध्य नेपाल कम्युनिष्ट पार्टी (एमाले) अहिलेको अवस्थामा प्रमुख कम्युनिष्ट शक्ति हो । यसले आफ्नो भूमिका पुनःपरिभाषित गर्न आवश्यक छ । केवल चुनावी राजनीति र सत्ता समीकरणमा सीमित भएर होइन, विचार र कार्यक्रममार्फत जनतासँग पुनः जोडिनु आवश्यक छ । एमालेले आफ्नो वैचारिक स्पष्टता पुनस्र्थापित गर्नुपर्छ, के उसले समाजवादतर्फ उन्मुख अर्थतन्त्रलाई प्राथमिकता दिन्छ ? के उसले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न सक्छ ? के उसले युवाहरूलाई आकर्षित गर्ने नयाँ दृष्टिकोण दिन सक्छ ? यी प्रश्नहरूको जवाफ व्यवहारमै दिनुपर्छ । त्यस्तै, माओवादी पृष्ठभूमिबाट आएको कम्युनिष्ट शक्ति, जसले जनयुद्धमार्फत ठूलो राजनीतिक परिवर्तन ल्यायो । माओवादी हाल नेपाली कम्युनिष्ट पार्टीमा बदलिएको छ, अव उसले पनि आत्मसमिक्षा गर्नुपर्ने अवस्था आएको छ । जनयुद्धको उपलब्धिलाई केवल इतिहासमा सीमित नगरी वर्तमानमा रुपान्तरण गर्नुपर्ने चुनौती छ । नेतृत्व तहमा देखिएको विचलन, संगठनात्मक कमजोरी र जनतासँगको दूरीलाई सच्याउन सके मात्र यसको पुनर्जागरण सम्भव छ । यहाँ साना साना दुकान पनि छन । जो परिवर्तनका लागि भूमिका खेल्ने हैसियत राख्दैनन् । क्रान्तिका कुरा गर्न पनि छोड्दैनन् । यो भनेर साना कम्युनिष्ट पार्टीहरूको भूमिका कम महत्वपूर्ण छ भन्ने होइन । उनीहरूले वैचारिक बहसलाई जीवित राख्ने, वैकल्पिक सोच प्रस्तुत गर्ने र मुख्यधारका पार्टीहरूलाई सचेत गराउने काम गर्न सक्छन् । तर, यदि उनीहरू पनि केवल अस्तित्व जोगाउने राजनीतिमा सीमित भए भने आन्दोलनमा उनीहरूको योगदान सीमित हुनेछ ।

सबैभन्दा पहिले, विचारमा स्पष्टता आवश्यक छ । माक्र्सवाद, लेनिनवाद वा माओवादको नाम लिएर मात्र हुँदैन, त्यसलाई नेपाली समाजको यथार्थसँग जोड्नुपर्छ । यस्तै नेतृत्वमा नैतिकता र पारदर्शिता अनिवार्य छ । जनताले अब भाषण होइन, व्यवहार हेर्छन् । अर्को महत्वपूर्ण कुरा संगठनलाई जनतामुखी बनाउनु आवश्यक छ । पार्टी कार्यालयमा होइन, गाउँ–बस्तीमा पुग्नुपर्छ । अव सवैले युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्छ । आजको युवा केवल नारामा होइन, अवसर र परिणाममा विश्वास गर्छ । ७७ वर्षको यो यात्राले धेरै पाठहरू दिएको हुनुपर्छ । यो आन्दोलनले राजतन्त्र ढाल्यो, गणतन्त्र स्थापना ग¥यो, संविधान निर्माणमा नेतृत्व ग¥यो । तर अहिले यो आन्दोलन एउटा मोडमा उभिएको छ, जहाँबाट या त पुनर्जागरण सम्भव छ, या अवरोह अझ गहिरिनेछ । इतिहासले देखाएको एउटै सत्य के हो भने विचार कहिल्यै मर्दैन, तर विचार बोकेका संगठनहरू कमजोर हुन सक्छन् । नेपालको कम्युनिष्ट आन्दोलन पनि त्यही दोधारमा छ । यदि यसले आफ्नो मूल आदर्श, जनताको मुक्ति, समानता र न्यायलाई पुनः आत्मसात् गर्न सक्छ भने यसको भविष्य अझै उज्यालो छ । नत्र, यो केवल इतिहासका पानामा सीमित हुने जोखिम पनि उत्तिकै छ ।

प्रश्न कम्युनिष्ट पार्टीहरूको मात्र होइन, यो नेपालको राजनीतिक संस्कृतिको पनि हो । जबसम्म राजनीति सेवाभन्दा सत्ता केन्द्रित रहन्छ, कुनै पनि विचार सफल हुन सक्दैन । त्यसैले ७७ वर्षको यात्राको सार एउटै हुन सक्छ, आत्मसमिक्षा, सुधार र पुनर्निर्माण । यही बाटोबाट मात्र कम्युनिष्ट आन्दोलनले आफ्नो हराएको विश्वास पुनः प्राप्त गर्न सक्छ । जुन उद्देश्यले कम्युनिष्ट पार्टी स्थापना भएको थियो त्यसलाई पूर्ति गर्ने काम अरुले गर्न सक्दछ भन्ने लाग्छ भने पार्टी विघटन गरेर तिनै शक्तिको पछि लाग्नु उपयुक्त हुन्छ । होइन भने कम्युनिष्ट शक्तिले गर्ने परिवर्तन अरुबाट हुन सक्दैन भन्ने निश्कर्ष हो भने सोही अनुसार जनताको बीचमा जानुपर्छ । सोही अनुसार कार्यक्रम बनाउनुपर्छ । नेतृत्व व्यक्ति केन्द्रित होइन कि सामूहिक रुपमा अघि बढाउनुपर्छ । कम्युनिष्ट पार्टी स्थापना भएको ७७ बर्षको यो समयलाई सवैले कठोर समीक्षा गर्नुपर्छ । कठोर परीक्षा पास गर्नुपर्छ । जनताको सेवा गर्ने कुरा भन्दा सत्तामा जाने कुरा प्रमुख बन्यो । जनताको सेवा गर्नका लागि सत्तामा जानु पर्दैन भन्ने मान्यताका साथ व्यवहार गर्ने हो भने एक पटक पराजय हुँदैमा केही फरक पर्दैन जनताले अर्को पटक सत्तामा पु¥याउँछन् । मुख्य विषय सिद्धान्त र व्यवहारबीचको मेल हो । sharadreetu@gmail.com

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार