spot_img
spot_img

कांग्रेस कमजोर हुनु भनेको राष्ट्रियता कमजोर हुनु हो – महासचिव पोखरेल

राप्ती पोष्ट

घोराही, माघ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली कांग्रेसभित्र देखिएको विभाजनलाई दुखद र चिन्ताजनक भएको टिप्पणी गर्नुभएको छ । राजनीतिक दलहरू कमजोर हुँदा त्यसको प्रत्यक्ष असर राष्ट्रियतामै पर्ने उल्लेख गर्दै उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि सबै दलहरू बलियो र जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

नेकपा एमालेको हालै भएको ११ औं केन्द्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेताहरूलाई सम्मान गर्न प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले राजनीतिक दलहरूको सुदृढतामै देशको स्थायित्व र सफलताका आधार टेकेको बताउनुभयो । “दल कमजोर हुनु भनेको राष्ट्रियता कमजोर हुनु हो। राजनीतिक दलहरू सुदृढ भए मात्र देश बलियो हुन्छ,” उहाँले भन्नुभयो। नेपाली कांग्रेसतर्फ संकेत गर्दै उहाँले आन्तरिक अन्तरसंघर्ष र विभाजनको राजनीतिबाट बाहिर निस्केर एकताको मार्ग रोज्न आग्रह गर्नुभयो ।

लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न सबै दल जिम्मेवार बन्नुपर्ने बताउँदै महासचिव पोखरेलले दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक भए पनि अस्थिरता निम्त्याउने गतिविधि लोकतन्त्रका लागि घातक हुने धारणा राख्नुभयो । उहाँले अहिलेको राजनीतिक वातावरण संवेदनशील रहेको उल्लेख गर्दै देश आम निर्वाचनको सङ्घारमा उभिएको अवस्थामा गैरजिम्मेवार गतिविधिले कानूनी शासनलाई कमजोर बनाउने चेतावनी दिनुभयो ।

कार्यक्रममा बोल्दै उहाँले रवी लामिछानेसँग सम्बन्धित मुद्दा फिर्ता लिने विषयमा चलिरहेको चर्चाप्रति गम्भीर आपत्ति जनाउनुभयो । यदि यस्तो चर्चा सत्य हो भने त्यसले कानूनी शासनमाथि गम्भीर प्रहार गर्ने बताउँदै उहाँले “कानूनभन्दा माथि कोही पनि हुन सक्दैन, कानूनी राज कमजोर बनाउने कुनै पनि कार्य स्वीकार्य हुँदैन,” भन्ने स्पष्ट सन्देश दिनुभयो ।

त्यसैगरी भदौ २३ र २४ गते भएका घटनाबारे थप तथ्यहरू सार्वजनिक हुँदै गएको उल्लेख गर्दै महासचिव पोखरेलले नयाँ शक्तिका रूपमा स्थापित हुन चाहने दलहरूले यस्ता गतिविधिको स्पष्ट र निडर रूपमा विरोध गर्नुपर्ने धारणा राख्नुभयो। पार्टीभित्रका अन्य नेताहरूले पनि गलत कार्यको बचाउ गर्नु नहुने भन्दै उहाँले जिम्मेवार र नैतिक राजनीतिक व्यवहार अपरिहार्य रहेको बताउनुभयो ।

महासचिव पोखरेलले वर्तमान अवस्थामा निर्वाचनको वातावरण अनुकूल नरहेको पनि उल्लेख गर्नुभयो। राज्य र नागरिकबीचको सम्बन्ध ‘आस र त्रास’ दुवैमा आधारित हुनुपर्ने तर्क गर्दै उहाँले भन्नुभयो, “राज्यले नागरिकलाई आशा पनि दिनुपर्छ र अराजकता मच्याउने तत्वलाई त्रास पनि देखाउनुपर्छ। दुवै नहुँदा अराजकता फैलिन्छ।” उहाँका अनुसार अहिलेको सरकारले न त नागरिकलाई भरोसा दिलाउन सकेको छ न त अराजक तत्वलाई नियन्त्रण गर्न सफल भएको छ।

नेपाल प्रहरीको मनोबल अत्यन्त कमजोर भएको टिप्पणी गर्दै महासचिव पोखरेलले सुरक्षाकर्मीको मनोबल उच्च बनाउनेतर्फ राज्यले तत्काल ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। हतियार फिर्ता गराउने, फरार अभियुक्त पक्राउ गर्ने र कानून कार्यान्वयन गर्ने सवालमा राज्य कमजोर देखिएको उहाँको भनाइ थियो। “इतिहासमै राज्य यति कमजोर र निष्क्रिय अवस्थामा पुगेको देखिएको छ,” उहाँले भन्नुभयो।

महासचिव पोखरेलले नेपालको सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि राष्ट्रवादी शक्तिहरू एक ठाउँमा उभिन जरुरी रहेको धारणा व्यक्त गर्नुभयो। संविधान ‘घाइते’ बनाइएको अवस्थामा प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्नेमा नेकपा एमाले दृढ रहेको उल्लेख गर्दै उहाँले निर्वाचनका लागि पार्टी पूर्ण रूपमा तयार रहेको स्पष्ट पार्नुभयो। “निर्वाचनका लागि हामी तयार छौँ, दलहरूको सान्दर्भिकता सकिएको छैन,” उहाँको भनाइ थियो।

नेकपा एमाले पुरानो पार्टी नभई नयाँ ऊर्जा, विचार र संरचनासहित पुनर्जीवित पार्टी भएको दाबी गर्दै महासचिव पोखरेलले हालै सम्पन्न महाधिवेशनपछि पार्टी थप सशक्त बनेको बताउनुभयो। उम्मेदवार छनोटका सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति टिप्पणी गर्दै उहाँले एमालेले ‘खल्तीबाट नाम निकाल्ने’ प्रवृत्ति नअपनाई विधि र प्रक्रियामार्फत उम्मेदवार चयन गर्दै आएको स्पष्ट गर्नुभयो।

पुरानो पुस्ता र नयाँ पुस्ताको नाममा समाजलाई विभाजन गर्ने प्रयासप्रति असहमति जनाउँदै उहाँले यस्तो प्रवृत्ति समाज र लोकतन्त्रका लागि घातक हुने चेतावनी दिनुभयो। अन्तर्राष्ट्रिय सन्दर्भ उल्लेख गर्दै उहाँले अमेरिकाले अपनाएको प्रणाली जस्ताको तस्तै नेपालमा लागू गर्न खोज्नु उपयुक्त नहुने धारणा राख्नुभयो। “नेपाली समाजको आफ्नै विशेषता, संस्कार र सभ्यता छन्,” उहाँले भन्नुभयो।

प्रेस चौतारी नेपाल दाङ शाखाका अध्यक्ष सुधासुमन ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बिमल योगीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन प्रेस चौतारी दाङका सचिव निमु संगम घर्तीले गर्नुभएको थियो।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार