शरद देवकोटा
हरेक समुदायले पर्वहरु मनाउने विषयमा एकरुपता छैन । सबैले भन्छन् पर्वहरु भड्किलो ढंगले मनाउनुहुँदैन । तर व्यवहारमा झन झन भड्किलोपन देखा पर्दैछ । यसमा सबैको एकमत भएर भड्किलोपन आउन नदिनेतर्फ सचेत हुन जरुरी छ । हुन त सामाजिक र राजनीतिक हिसावमा पुरातन समयको परिवेश र अहिलेको लोकगणतन्त्रको परिवेशमा धेरै भिन्नता आएको छ । जागरण,चेतना र शिक्षाका हिसावले दृष्टिकोणमा भिन्नता आए झै नारीलाई हेर्ने पुरातन सोचमा थोरै भए पनि परिवर्तन आएको छ । तर पनि नारीमाथि हुने घरेलु हिंसा अझै रोकिएको छैन । नारीलाई विभिन्न आरोप लगाएर कुटपिट गर्ने र कतिपय सन्दर्भमा नारीको हत्या समेत हुने क्रम हटेको छैन । कतै बोक्सीको आरोपमा । कतै दाइजो नल्याएको निहुँमा अनि कतै छोरा नजन्माएको दोषमा नारीमाथि अपमान,अमानवीय र असभ्य व्यवहार हुँदै आइरहेको छ ।
नारीमाथि अनेक निहुँ बनाएर अन्याय गर्ने दोषीहरुलाई कतिपय सन्दर्भमा हदैसम्मको कारवाही हुन सकिरहेको छैन । यस्तो विडम्बनापूर्ण व्यवहार हाम्रो समाजमा अहिले पनि देखापरिरहेको छ । पीडक उम्कने । पीडितले न्याय नपाउने परिवेशलाई राज्यका उच्च पदमा बस्ने कतिपय पहुँचवालाहरुले हुर्काउने,संरक्षण गर्ने र मलजल गर्ने काममा अग्रसर भइरहेको देख्न पाइन्छ । यो अत्यन्त दण्डनीय विषय हो । यस्तो परिवेशको अन्त नगरी मुलुकको समृद्धिको यात्रा अधुरो रहने निश्चित छ ।
संसारमा नारीको महत्व कति हो कति धेरै छ । जीवनमा नारीको महिमा कति हो कति बढ्ता छ र सृष्टिको चक्र सन्चालनको लागि नारीको महत्व कति हो कति धेरै छ । डाक्टर जन्माउने नारी । पाइलट इन्जिनियर जन्माउने नारी । वकिल,पत्रकार,बैज्ञानिक,इतिहासकार, राजनीतिज्ञ,कलाकार,साहित्यकार सबै सबैलाई जन्माउने पनि नारी । सृष्टिको मूल नारी । सिर्जनाको मुहान नारी । नारी विश्व । नारी ब्रम्हाण्ड । नारी सबै थोक । नारी सबै लोक । यस्ता अनेकथरि छन् नारीका विशेषतामा जोडिएका विशेषणहरु । विडम्बना नै भन्नुपर्छ तिनै नारीहरु अहिले पनि दबिएकै छन् । शास्त्र पुराणले पनि नारी वर्गको हक अधिकारलाई स्थापित गरको छैन । धर्म र कर्मकाण्डले पनि नारी हकलाई सुनिश्चित गरेको छैन । बरु नारी हकलाई विस्थापित गरेको छ । कतिपय परंपराका नाउँ र कतिपय संस्कार जोगाउने नाउँमा अनि कतिपय धार्मिक अन्धविश्वासमा परेर अहिले पनि नारीहरु शोषण उत्पीडनमा परेकै छन् ।
नारी हक अधिकारको उपभोग गर्नबाट वन्चित उनीहरु अहिले पनि पुरुषप्रधान समाजबाट कैदी जस्तै जीवन जिउन बाध्य पारिएका छन् । यो अति नै दुखलाग्दो पक्ष हो र विचारणीय पाटो हो । ऋाजका मितिसम्म आउँदा नारी जागरणका विषय नउठेका होइनन् । नारीहरु सचेत र वैचारिक रुपमा सबल नभएका पनि होइनन् र नारीहरु आफ्ना हक अधिकार उपभोग गर्नमा कमजोर पनि होइनन् । तर पनि नारीहरु पुरुषको तुलनामा पछि पारिने गरेका छन् । अबला,कमजोर र अज्ञानीको पदवि बेहोर्न बाध्य भइरहेका छन् । नारीहरु हाँसेको सुहाउँदैन । नारी हाँसे बेश्या हुन्छन् । इतिहासको कुनै कालखण्डमा यस्तो भन्ने समाज र परिवेशबाट अनेक चुनौतीको सामना गर्दै नारीहरु आजको अवस्थामा आइपुगेका छन् ।
हिजो भन्दा आज समाजमा परिवर्तन आएको छ । भोलिका दिनमा यो भन्दा बढी जागरण र चेतना अवश्य आउनेछ । तर पनि वर्तमान समयमा नारीहरुलाई हेर्ने उही पुरातन सोच हट्न सकेको छैन । अबका दिनमा नारीहरु आफै नजागी नारीले हक अधिकार प्राप्त गर्न सक्ने छैनन् । अबका दिनमा नारीहरु आफै नजुर्मुराइ नारी स्वतन्त्रतालाई अनुभूत गर्न पाउने छैनन् । यति मात्र होइन,नारी अधिकारका बारेमा अझ बढी अध्ययनशील,अझ धेरै विचारशील, अझ बढ्ता विवेकशील र अझ बलियोगरी संगठित नबन्ने हो भने कठै भनेर यो पुरुषप्रधान समाजले नारीलाई अधिकार कदापि दिने छैन ।
कुनै समय सन्दर्भमा बज्ने बाजा अर्काे कुनै सन्दर्भमा असान्दर्भिक पनि हुन जान्छ । चैतमा भैलो खेलेको के अर्थ ! असारमा मालसिरीको धुन गाएको के महत्व ! रोपाइँ गर्दा जुत्ता मोजाको के प्रयोजन ! नुहाउँदा चस्माको के महत्व ! भोक लाग्दा पानी र प्यास लाग्दा भोजनको के तात्पर्य ! सिद्धान्त विनाको व्यवहार र व्यवहार विनाको सिद्धान्तको के महिमा ! जाडोमा छाताको महत्व हुन्न । वर्षामा छाताको सबै भन्दा बढी महत्व हुन्छ । समय,परिस्थिति र परिवेशले नै हरेक वस्तुको सान्दर्भिकताको मापदण्ड निर्धारण गरेको हुन्छ । वर्षको तीनसय चौसठ्ठी दिनमा नारीमाथि हुकुम,हैकम र यातना वर्षाउने । बाँकी एक दिनमा मन्चमा उक्लिएर नारी स्वतन्त्रता र नारी हक अधिकारका लागि आफू अहोरात्र खटिने गरेको भाषण सुनाएर कसरी नारीले स्वतन्त्रता प्राप्त गर्लान् ? हाम्रो समाजमा अहिले पनि यस्तो परिपाटीको अन्त हुन सकेको छैन । भाषण प्रशिक्षणमा नारी पुरुष बराबर हुन् भन्ने । व्यवहारमा नारी पुरुष बाराबारको परिवेश निम्त्याउने अहिले पनि यस्तो रुपरंगको चालामाला हाम्रै समाज वरिपरि नाचिरहेको देख्न सकिन्छ ।
आजको एक्काइसौं शताब्दीमा पनि अन्धविश्वासलाई मन पराएको देखियो । भीडको कुरा पत्याउने जमाना बाँकी रहेको देखियो । भीडको पछि लाग्ने समय नसिद्धिएको पनि देखियो र भीडको अघिल्तिर बोल्ती बन्द हुने परिवेश पनि सुनियो । भीडले फैसला गर्ने समय पनि देखियो । धामी झाँक्रीको अन्ध विश्वासले अरु मान्छेको ज्यानमाथि खेलवाड गरेको समाचार पनि पढियो । भीडमा हराउने,भीडमा बिलाउने र भीडमा विश्वास गर्नेहरुको अहंकारी स्वभावलाई पनि श्रव्य समाचार र दृश्य चित्रका माध्यमबाट अनुभूत गरियो । कानुनको परिभाषा गर्दा अन्याय गर्नेहरुलाई मात्र होइन,अन्याय सहनेहरुलाई पनि दण्डित गर्नुपर्छ भन्ने मान्यता रहिआएको छ । केही वर्ष पहिले कैलालीमा भएको बोक्सी आरोपमा किशोरीलाई दिइएको शारीरिक तथा मानसिक यातनाले धेरैको मनलाई स्तब्ध बनाएको थियो ।
मुलुकका विभिन्न ठाउँमा श्रमिक महिला दिवस मनाइरहँदा केही वर्ष अघि कैलालीमा भोले बाबा नामको व्यक्तिको अगुवाइमा किशोरीमाथि बोक्सीको आरोपमा केही व्यक्तिहरुले निर्घातरुपमा यातना दिइरहँदा त्यहाँ उपस्थित सयौं मान्छे रमिते बने । भीड मध्ये कसैले पनि यी किशोरीलाई किन यातना दिएको भनेर प्रश्न उठाउन सकेनन् । कति दुखलाग्दो पक्ष ! हाम्रो समाजमा अहिले पनि यस्तो अपराधपूर्ण कार्यलाई चुपचाप राम हेरेर बस्ने मान्छेहरु पनि हुँदारहेछन् । यति ठूलो अपराधपूर्ण कार्यको विरोधका साथसाथै दोषीमाथि कारवाहीको माग राखेर महिलाअधिकारकर्मीहरुको अगुवाइमा कतै जुलुस निस्किएन । कतै भाषण भएनन् र कतै नारा लागेनन् । यति मात्र होइन,महिला अधिकारवादीहरुले आआफ्ना भावनालाई लेखको रुपमा अखबारहरुमा जसरी व्यापकरुपमा ल्याउनुपथ्र्याे ल्याउन सकेनन् । महिलामाथि ज्यादती हुँदा महिलाहरुले मौनता साँध्ने परिस्थितिको सिर्जना किन हुन्छ ? यो निकै सोचनीय विषय हो भन्ने मेरो बुझाइ रहेको छ ।



