शरद अधिकारी
AI संक्षेपिकरण
प्यानलभन्दा एजेन्डा र क्षमतामा आधारित नेतृत्व आवश्यक
व्यवसायीका वास्तविक समस्या समाधान गर्ने संस्था बन्नुपर्छ
समावेशी र जिल्लाव्यापी आर्थिक दृष्टिकोण आवश्यक
निर्वाचनपछि तीन वर्षको स्पष्ट रोडम्याप चाहिन्छ .
दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै गर्दा जिल्लाको व्यावसायिक क्षेत्र फेरि चुनावी बहसमा प्रवेश गरेको छ । संघको निर्वाचन असोज ११ गते हुने गरी मिति तय भएको छ । यससँगै नेतृत्वका आकांक्षीहरू, व्यवसायीका समूह र विभिन्न प्यानलहरू आ–आफ्ना तयारीमा जुटेका छन् । उद्योग वाणिज्य संघको निर्वाचनलाई सामान्य अर्थमा हेर्ने हो भने यो एउटा संस्थाको नेतृत्व चयन गर्ने प्रक्रिया हो । तर यसको प्रभाव त्योभन्दा निकै ठूलो हुन्छ । दाङमा हजारौँ व्यवसायी आबद्ध रहेको संघ केवल एउटा व्यवसायिक संस्था होइन, जिल्लाको आर्थिक गतिविधि, उद्योग–व्यापारको वातावरण र निजी क्षेत्रको आवाजसँग प्रत्यक्ष जोडिएको संस्था हो । नेपाल उद्योग वाणिज्य महासंघको विवरणअनुसार दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना २०२७ सालमा भएको हो र संघमा सात हजारभन्दा बढी सदस्य रहेका भएपनि निर्वाचनका लागि करिव चार हजारको हाराहारीमा मतदाता हुनेछन् । नयाँ नेतृत्व चयनका लागि प्रक्रिया अघि बढेको अवस्थामा अहिले उठ्नुपर्ने मूल प्रश्न भनेको को अध्यक्ष बन्ने ? भन्ने मात्र होइन, दाङको उद्योग–व्यवसायलाई कुन दिशामा लैजान सक्ने नेतृत्व आवश्यक छ ? भन्ने हो ।
हरेक निर्वाचनमा उम्मेदवारको चर्चा हुन्छ । कसको प्यानल बलियो छ, कसको राजनीतिक समर्थन छ, कसको सामाजिक प्रभाव बढी छ, कसले कति मत ल्याउन सक्छ भन्ने हिसाबकिताब सुरु हुन्छ । तर व्यवसायीका लागि चुनावको वास्तविक अर्थ त्यसपछि सुरु हुन्छ, जब नयाँ नेतृत्वले जिम्मेवारी सम्हाल्छ । पछिल्लो निर्वाचनमा पनि दाङ उवासंघमा प्यानलगत प्रतिस्पर्धा भएको थियो । वसन्त जोशी अध्यक्षमा निर्वाचित हुँदा उहाँले जित हासिल गर्नुभयो भने निकटतम प्रतिस्पर्धी रामप्रसाद पोख्रेलले नौ सय १० मत प्राप्त गर्नुभएको थियो यो विगतको परिणाम हो । तर आगामी निर्वाचनमा विगतको अंकगणित दोहोरिन्छ भन्ने छैन । व्यवसायीको प्राथमिकता बदलिएको छ । बजारको अवस्था बदलिएको छ । उपभोक्ताको व्यवहार बदलिएको छ । कर प्रणाली, डिजिटल व्यापार, बैंकिङ प्रणाली, अनलाइन बजार, बढ्दो प्रतिस्पर्धा र आर्थिक मन्दीले व्यवसाय गर्ने परम्परागत शैलीलाई चुनौती दिइरहेको छ । पहिले जुन तरिकाले निर्वाचन जितियो त्यहि तरिकाले निर्वाचन जित्ने कुरा सम्भव हुँदैन । व्यवसायीक क्षेत्रमा नयाँ विषयहरुले प्रवेश पाएका छन् । प्रविधिको कुरा कसरी उपयोग गर्ने भन्ने कुरा छ । त्यसैले अब नेतृत्व चयन गर्दा प्यानलभन्दा एजेन्डा, व्यक्तिभन्दा क्षमता र नाराभन्दा कार्ययोजना हेर्नुपर्ने समय आएको छ ।
अहिले व्यवसायीको वास्तविक समस्या के हो ?
दाङका उद्योगी–व्यवसायीका समस्या धेरै छन् । बजारमा माग घटेको छ । लगानीको वातावरण अपेक्षाअनुसार बन्न सकेको छैन । बैंकको ब्याज, कर, घरभाडा, कर्मचारी खर्च, विद्युत् तथा अन्य सञ्चालन खर्चले व्यवसायीलाई दबाबमा राखेको छ । कतिपय व्यवसाय बन्द भएका छन् भने नयाँ व्यवसाय सुरु गर्ने उत्साह पनि कमजोर देखिन्छ । यसका अतिरिक्त व्यवसायीले स्थानीय तहसँग जोडिएका अनेकौँ समस्या भोगिरहेका छन् । कर तथा राजस्वका विषयमा स्पष्टता, बजार व्यवस्थापन, पार्किङ, सडक, फुटपाथ, फोहोर व्यवस्थापन, सुरक्षा, अनुगमन, व्यवसाय दर्ता तथा नवीकरणजस्ता विषय प्रत्यक्ष रूपमा व्यवसायसँग जोडिएका छन् । यस्तो अवस्थामा उवासंघको नेतृत्वले केवल कार्यक्रम आयोजना गरेर वा शुभकामना आदानप्रदान गरेर पुग्दैन । व्यवसायीक संस्थाको एउटा काम भनेको मन्त्रीहरुको स्वागत गर्ने, जनप्रतिनिधिको स्वागत गर्ने, कर्मचारी संयन्त्रको स्वागत गर्ने, नयाँ व्यवसाय खुल्दा रिवन काट्ने जस्तो मात्रै भएको छ । व्यवसायीको समस्या पहिचान गर्ने, त्यसको तथ्यांक संकलन गर्ने, सम्बन्धित निकायसँग वार्ता गर्ने र समाधान नभएसम्म निरन्तर दबाब दिने संस्थागत क्षमता आवश्यक छ । व्यवसायिक हक हितका लागि आवाज बुलन्द गर्न सक्ने नेतृत्व आवश्यक छ । यस्तो बेलामा कस्तो नेतृत्व आवश्यक पर्दछ भन्ने बारेमा मतदाता व्यवसायीहरु जानकार हुनुहुन्छ । व्यवसायलाई कसरी अघि बढाउने, उद्यमीहरुलाई कसरी उत्साहित गर्ने, समस्या कसरी समाधान गर्ने, गुनासो सुनुवाई गर्ने लगायत विकासका विषयलाई पनि नेतृत्वले अघि बढाउन सक्नुपर्छ ।
उद्योग वाणिज्य संघको चुनाव आउँदा राजनीतिक दलहरूको रुचि बढ्नु नयाँ कुरा होइन । विगतका निर्वाचनमा विभिन्न राजनीतिक निकटताका व्यवसायी समूहबीच गठबन्धन र प्यानल बनेका उदाहरण छन् । २०८० को निर्वाचनमा समेत विभिन्न राजनीतिक पृष्ठभूमिका व्यवसायिक संगठनहरूबीच गठबन्धन र सहकार्यको अभ्यास भएको थियो । राजनीतिक विचार राख्नु व्यवसायीको अधिकार हो । व्यवसायी पनि नागरिक हुन् । तर उद्योग वाणिज्य संघ स्वयंलाई दलगत राजनीतिको अखडा बनाउनु भने दीर्घकालीन रूपमा संस्थाका लागि हितकर हुँदैन । उवासंघको नेतृत्वले सरकारसँग सहकार्य गर्नुपर्छ, राजनीतिक दलसँग संवाद गर्नुपर्छ, जनप्रतिनिधिसँग सम्बन्ध राख्नुपर्छ । तर कुनै दलको निर्देशनमा चल्ने अवस्था बन्नु हुँदैन । सरकार जुन दलको होस्, उवासंघको आवाज व्यवसायीको हितका लागि हुनुपर्छ । व्यवसायीको समस्या लिएर मुख्यमन्त्रीदेखि मन्त्रीसम्म पुग्न सक्ने, स्थानीय तहदेखि संघीय सरकारसम्म संवाद गर्न सक्ने तर आफ्नो संस्थागत निर्णयमा स्वतन्त्र रहन सक्ने नेतृत्व आजको आवश्यकता हो । अर्को महत्वपूर्ण कुरा के हो भने घोराहीभन्दा बाहिर पनि दाङ छ । त्यहाँँ पनि व्यवसायीहरु छन् । त्यहाँका व्यवसायीहरु पनि समस्यामा छन् । ति क्षेत्रका व्यवसायीको गुनासो सुन्नका लागि उद्योग बाणिज्य संघको टिम गएको मलाई सँझना छैन । घोराही बाहेकका साना बजारहरुमा जाने, अन्य पालिकामा जाने, त्यहाँ पुगेर समस्या सुन्ने, समस्या सम्वन्धित निकायमा लैजाने काम गर्नुपर्दछ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघको अर्को महत्वपूर्ण चुनौती भनेको जिल्लाको भौगोलिक र व्यावसायिक विविधतालाई प्रतिनिधित्व गर्नु हो । घोराही दाङको ठूलो व्यापारिक केन्द्र हो । तर दाङको अर्थतन्त्र घोराहीमा मात्र सीमित छैन । तुलसीपुर, लमही, नारायणपुर, बिजौरी, हापुरे, गढवा, राजपुर, भालुवाङ, राप्ती, देउखुरीका विभिन्न बजार तथा ग्रामीण क्षेत्रमा पनि हजारौँ व्यवसायी छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले जिल्लाको साझा आर्थिक आवाज बन्ने हो भने यसले सबै क्षेत्रका व्यवसायीलाई जोड्न सक्नुपर्छ । दाङको दक्षिणी क्षेत्रमा कृषि र सीमावर्ती व्यापारको सम्भावना छ । देउखुरीमा प्रदेश राजधानीसँग जोडिएको नयाँ आर्थिक गतिविधिको अवसर छ । घोराही र तुलसीपुरमा सेवा, शिक्षा, स्वास्थ्य, निर्माण तथा व्यापार क्षेत्र विस्तार भइरहेको छ । पहाडी क्षेत्रमा पर्यटन, जडीबुटी, कृषि तथा वनजन्य उद्यमको सम्भावना छ । दाङ जिल्लाको आफ्नै पहिचान अहिलेसम्म बन्न सकेको छैन । यो आवास क्षेत्रका रुपमा मात्रै विकास गर्ने हो कि ? यहाँ उद्योगहरु मात्रै स्थापना गर्ने हो कि ? कृषिको कुरा पनि गर्ने हो कि ? अथवा पशुपालन, फलफूल खेती जस्ता काम गरेर दाङ जिल्लाको बेग्लै पहिचान बनाउने हो ? यो बारेमा दाङ जिल्लामा समग्र छलफल हुन सकेको छैन । यो छलफललाई दाङ जिल्ला उद्योग बाणिज्य संघले अघि बढाउन सक्छ । यसका साथै यी सबैलाई एउटै आर्थिक सञ्जालमा जोड्ने दृष्टिकोण नेतृत्वमा हुनुपर्छ ।
अब ‘उद्योग’ शब्दलाई व्यवहारमा उतार्ने कि ? नाममा उद्योग वाणिज्य संघ छ । तर हाम्रो बहसमा उद्योगको विषय तुलनात्मक रूपमा ओझेलमा परेको देखिन्छ । दाङमा कृषि उत्पादन प्रशस्त छ। तर कृषि र उद्योगबीचको सम्बन्ध कमजोर छ । किसानले उत्पादन गर्छन्, तर प्रशोधन गर्ने उद्योग सीमित छन् । स्थानीय उत्पादन बजारमा आउँछ, तर ब्रान्डिङ, प्याकेजिङ र बजार विस्तारको समस्या छ । अब उवासंघले दाङमा कृषिमा आधारित उद्योगको नक्सा बनाउनुपर्छ । कुन क्षेत्रमा के उत्पादन हुन्छ ? त्यसको बजार कहाँ छ ? कुन उत्पादन प्रशोधन गर्न सकिन्छ ? कुन उद्योगमा निजी क्षेत्र लगानी गर्न सक्छ ? स्थानीय तहले कहाँ सहयोग गर्न सक्छ ? बैंक तथा वित्तीय संस्थाबाट कस्तो सहुलियत ल्याउन सकिन्छ ? यी प्रश्नको उत्तर खोज्ने नेतृत्व चाहिएको छ । दाङमा सिमेन्ट, कृषि, जडीबुटी, पर्यटन, शिक्षा, स्वास्थ्य, निर्माण सामग्री, खाद्य प्रशोधनलगायतका क्षेत्रमा सम्भावना छन् । प्रदेश राजधानीको उपस्थितिले सेवा क्षेत्रको विस्तारको अवसरसमेत थपेको छ । दाङ उवासंघ स्वयंले कृषि, जडीबुटी, सिमेन्ट उद्योग र पर्यटनलाई जिल्लाका सम्भावनाका रूपमा औँल्याउँदै आएको छ । त्यसैले अब संघले केवल व्यवसायीका गुनासा सुन्ने संस्था होइन, नयाँ लगानी खोज्ने संस्था बन्नुपर्छ । युवा व्यवसायीलाई केन्द्रमा राख्नुपर्छ । सामुहिक रुपमा लगानीका लागि बातावरण बनाउनुपर्दछ । दाङको व्यापारमा नयाँ पुस्ता प्रवेश गरिरहेको छ । डिजिटल प्रविधि प्रयोग गर्ने, अनलाइन कारोबार गर्ने, नयाँ व्यवसायिक मोडल अपनाउने युवा उद्यमी बढिरहेका छन् । तर उद्योग वाणिज्य संघको नेतृत्व र निर्णय प्रक्रियामा उनीहरूको भूमिका कति प्रभावकारी छ भन्ने प्रश्न उठ्छ । अब युवा व्यवसायीलाई केवल चुनावको समयमा मतदाताका रूपमा होइन, नीति निर्माणको साझेदारका रूपमा हेर्नुपर्छ । डिजिटल व्यापार, ई–कमर्स, डिजिटल भुक्तानी, सामाजिक सञ्जालमार्फत बजार विस्तार, स्टार्टअप, नवप्रवर्तन र सीपमा आधारित उद्यम अहिलेको अर्थतन्त्रका महत्वपूर्ण विषय हुन् । उवासंघले युवालाई व्यवसाय गर्न सिकाउने, लगानीसँग जोड्ने, अनुभवी व्यवसायीसँग मेन्टरिङ गराउने र नयाँ उद्यमलाई बजार उपलब्ध गराउने कार्यक्रम ल्याउन सक्छ ।
अव अलिकती कुरा गरौं महिला सहभागिताको । कुल कार्यसमिति २१ सदस्यीय हुँदा महिलाको संख्या नगन्य रहेको छ । अव कम्तिमा पनि ३३ प्रतिशत महिला सहभागिताको सुनिश्चितता गर्नुपर्दछ । अहिले पहिलाको जस्तो अवस्था रहेको छैन । व्यवसायमा महिलाहरुको संख्या र सहभागिता बढ्दो छ । अव महिला व्यवसायीको आवाज पनि नेतृत्वमा सुनिनुपर्छ । दाङको व्यापारमा महिलाको सहभागिता बढिरहेको छ । घरेलु उद्योगदेखि सेवा, शिक्षा, होटल, कृषि, सौन्दर्य, कपडा, खाद्य तथा अन्य व्यवसायमा महिलाहरू सक्रिय छन् । तर महिलाको व्यवसायिक सहभागितालाई संस्थागत नेतृत्वसँग जोड्ने काम अझै पर्याप्त भएको छैन । आगामी नेतृत्वले महिला उद्यमीका लागि छुट्टै कार्यक्रम, सीप विकास, वित्तीय पहुँच, बजार विस्तार र नेतृत्व विकासका अवसर सिर्जना गर्नुपर्छ । उद्योग वाणिज्य संघ समावेशी संस्था हो भन्ने कुरा निर्वाचनका नारामा मात्र होइन, निर्णय प्रक्रियामा पनि देखिनुपर्छ ।
विपद्, आगलागी, महामारी, आर्थिक संकट वा अन्य आकस्मिक परिस्थितिमा व्यवसायी सबैभन्दा बढी प्रभावित हुन्छन् । विगतमा दाङ उवासंघमा व्यवसायिक सुरक्षा कोष निर्माणजस्ता अभ्यास भएका थिए । यसबाट संकटमा परेका व्यवसायीलाई राहत दिने अवधारणा अघि बढाइएको थियो । यस्ता सकारात्मक अभ्यासलाई अझ व्यवस्थित गर्न सकिन्छ । अब संघले व्यवसायीका लागि आपत्कालीन राहत तथा सुरक्षा प्रणाली निर्माण गर्नुपर्छ । बीमा कम्पनी, बैंक, स्थानीय सरकार र व्यवसायीको साझेदारीमा यस्तो कोषलाई थप प्रभावकारी बनाउन सकिन्छ । व्यवसायी संकटमा पर्दा फोन उठाउने मात्र होइन, संस्थागत रूपमा साथ दिने नेतृत्व आवश्यक छ । स्थानीय सरकारसँग सम्बन्ध विस्तार गरेर व्यवसायीक हितका लागि काम गर्ने नेतृत्व आवश्यक परेको छ । गत बर्ष घोराही उपमहानगरपालिकाले करमा अत्यधिक बृद्धि गर्दा उद्योग बाणिज्य संघ नवोलेको आरोप रहेको छ । स्थानीय तह र व्यवसायीबीचको सम्बन्ध कहिलेकाहीँ कर, अनुगमन, सडक, फुटपाथ, पार्किङ, बजार व्यवस्थापनलगायतका विषयमा तनावपूर्ण बन्ने गरेको छ । यो स्वभाविक कुरा छ । तर उवासंघले हरेक विषयमा आन्दोलन गर्ने वा हरेक विषयमा स्थानीय सरकारको बचाउ गर्ने दुवै अतिवादबाट बच्नुपर्छ । गलत कर छ भने विरोध गर्नुपर्छ । अन्यायपूर्ण अनुगमन छ भने प्रश्न गर्नुपर्छ । तर व्यवसायीले उपभोक्ताप्रति पूरा गर्नुपर्ने दायित्वमा पनि संघले स्पष्ट धारणा राख्नुपर्छ । व्यवसायीको अधिकारसँगै व्यवसायिक अनुशासन र उपभोक्ताको अधिकारको संरक्षण पनि उवासंघको एजेन्डा बन्नुपर्छ ।
नेतृत्वको कुरा गर्दा अध्यक्ष र त्यसको टिमको कुरा आउँछ । यहाँ कस्तो अध्यक्ष वा कस्तो महासचिव भनेर रौं चिरा गर्न खोजिएको छैन । तर सबैभन्दा महत्वपूर्ण प्रश्नमा दाङ उवासंघलाई कस्तो नेतृत्व चाहिन्छ ? भन्ने नै हो । उद्योग बाणिज्य संघमा उद्योगी ठूलो लगानीको हुन सक्छ । सानो लगानीको हुन सक्छ । ठूलो लगानी हुँदैमा ठूलो व्यवसायी होइन । सानो लगानी हुँदैमा केही पनि होइन भन्ने होइन । नेतृत्व गर्ने व्यक्ति सानो व्यवसायबाट उठेको व्यक्ति पनि हुन सक्छ । पुरानो व्यवसायी हुन सक्छ । ना नयाँ पुस्ताबाट आउन सक्छ । तर नेतृत्वमा केही आधारभूत गुण आवश्यक छन् । नेतृत्वले सवै व्यवसायीको कुरा सुन्न सक्नुपर्छ । आफ्नै समूहभन्दा फरक मत राख्ने व्यवसायीलाई पनि सम्मान गर्न सक्नुपर्छ । सरकार र राजनीतिक दलसँग संवाद गर्न सक्नुपर्छ । निर्णय गर्न सक्ने क्षमता हुनुपर्छ । संस्थाको आर्थिक र प्रशासनिक पारदर्शिता कायम गर्न सक्नुपर्छ । आफ्नो व्यक्तिगत व्यवसाय र संस्थागत जिम्मेवारीबीच स्पष्ट सीमा राख्न सक्नुपर्छ । सबैभन्दा महत्वपूर्ण पद अध्यक्ष हो नै । अध्यक्ष पदलाई व्यक्तिगत प्रतिष्ठाको विषय होइन, संस्थागत जिम्मेवारीका रूपमा बुझ्न सक्नुपर्छ । प्यानल जितेपछि विरोधी पनि आफ्नै हुन् । निर्वाचनमा प्यानल हुन्छन्। प्रतिस्पर्धा हुन्छ । मत मागिन्छ । आरोप–प्रत्यारोप पनि हुन सक्छ । तर मतगणना सकिएपछि चुनाव सकिनुपर्छ । जितेको प्यानलले पराजित व्यवसायीलाई पनि आफ्नो प्रतिनिधि ठान्नुपर्छ । पराजित उम्मेदवारले पनि निर्वाचित नेतृत्वलाई सहयोग गर्नुपर्छ । उवासंघमा एउटा प्यानलको विजय हुनु भनेको अर्को प्यानलको पराजय मात्र होइन । त्यो समग्र व्यवसायिक समुदायको साझा जिम्मेवारी हो । नयाँ नेतृत्वले निर्वाचनमा पाएको मतलाई विजयको अहंकार होइन, जिम्मेवारीको जनादेशका रूपमा बुझ्नुपर्छ ।
अब घोषणा होइन, तीन बर्षको वर्षको रोडम्याप चाहिन्छ । निर्वाचन जितेपछि बहुबर्षिय जोना चाहिन्छ । अर्थात आगामी निर्वाचनमा उम्मेदवारहरूले एउटा कुरा स्पष्ट गर्नुपर्छ, निर्वाचित भएपछि के गर्ने ? केवल ‘व्यवसायीको हकहितमा काम गर्छु’ भन्ने परम्परागत घोषणा पर्याप्त छैन । उद्योगमा लगानी कसरी बढाउने ? स्थानीय उत्पादनको बजार कसरी विस्तार गर्ने ? करसम्बन्धी समस्या कसरी समाधान गर्ने ? बैंक तथा वित्तीय संस्थासँग कसरी सहकार्य गर्ने ? युवा उद्यमीलाई कसरी जोड्ने ? महिला व्यवसायीलाई कसरी नेतृत्वमा ल्याउने ? संकटमा व्यवसायीलाई कसरी सहयोग गर्ने ? जिल्लाका सबै बजारलाई कसरी एउटै नेटवर्कमा जोड्ने ? यी प्रश्नको लिखित जवाफ उम्मेदवारसँग हुनुपर्छ । उवासंघको नेतृत्व अब भाषणबाट होइन, रोडम्यापबाट परीक्षण हुनुपर्छ । निर्वाचनमा उम्मेदवारले मत माग्नेछन् । प्यानलले समर्थन माग्नेछ । शुभेच्छुकले प्रचार गर्नेछन् । विभिन्न राजनीतिक तथा व्यवसायिक समूहले आ–आफ्ना समीकरण बनाउनेछन् । तर अन्तिम निर्णय व्यवसायीको हो । त्यसैले व्यवसायीले पनि आफैँलाई एउटा प्रश्न सोध्नुपर्छ । ‘मैले कसलाई भोट दिँदैछु ? व्यक्तिलाई कि दृष्टिकोणलाई ?’ दाङ जिल्ला उद्योग वाणिज्य संघलाई अब केवल चुनाव जित्ने अध्यक्ष होइन, व्यवसायीलाई जिताउन नेतृत्व र टिम चाहिएको छ । राजनीतिक पहुँच भएको मात्र होइन, व्यवसायिक समस्या बुझ्ने नेतृत्व चाहिएको छ । भाषण गर्न सक्ने मात्र होइन, सरकारसँग वार्ता गरेर परिणाम निकाल्न सक्ने नेतृत्व चाहिएको छ । आफ्नो समूह बनाउन सक्ने मात्र होइन, सबै व्यवसायीलाई एउटै संस्थामा अटाउन सक्ने नेतृत्व चाहिएको छ । दाङको अर्थतन्त्र चुनौतीपूर्ण मोडमा छ । बजारमा उत्साह फर्काउनुपर्ने छ । नयाँ लगानी भित्र्याउनुपर्ने छ । युवालाई उद्यमसँग जोड्नुपर्ने छ । स्थानीय उत्पादनलाई बजार दिनुपर्ने छ । उद्योग स्थापना गर्नुपर्ने छ । व्यवसायीको आत्मविश्वास बढाउनुपर्ने छ । यस्तो अवस्थामा दाङ उवासंघको नेतृत्व सामान्य नेतृत्व हुन सक्दैन । अब दाङ उवासंघमा ‘कसको नेतृत्व ?’ भन्दा पहिला ‘कस्तो नेतृत्व ?’ भन्ने प्रश्नको उत्तर खोजिनुपर्छ । किनकि अध्यक्ष एउटा व्यक्ति हुनेछ, तर उसको निर्णयको प्रभाव हजारौँ व्यवसायी र समग्र दाङको अर्थतन्त्रमा पर्नेछ । त्यसैले यसपटकको निर्वाचनलाई केवल पदको प्रतिस्पर्धा नबनाऔँ। यसलाई दाङको आर्थिक भविष्यको दिशानिर्धारण गर्ने अवसर बनाऔँ । व्यवसायीले पनि मत दिँदा एउटा कुरा नबिर्सिऊँ । प्यानल तीन बर्ष वर्ष चल्दैन, नेतृत्वले तीन वर्ष चलाउँछ । र राम्रो नेतृत्वले तीन वर्ष मात्र होइन, त्यसपछिका धेरै वर्षसम्म संस्थाको संस्कार र जिल्लाको आर्थिक बाटो प्रभावित गर्छ ।