spot_img
spot_img

घोराहीमा ‘पानी बा’ को खोजी

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको साधारण सभा

राप्ती पोष्ट

घोराही, बैशाख । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २५ औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशनमा ‘पानी बा’ को खोजी गरिएको छ । घोराहीका ‘पानी बा’ अर्थात देविवहादुर डिसी (देवि वकील) को खोजी गरियो । २०५२ सालमा स्थापना भएको घोराही खानेपानीको संस्थापक सदस्यका रुपमा जिम्मेवारीमा आउनुभएका ‘पानी बा’ करिव दुई दशक अध्यक्षको भूमिकामा हुनुुहुन्थ्यो । घोराहीमा पानीको चरम अभाव भइरहेको समयमा जिम्मेवारी निर्वाह गर्नुभएका डिसीको गत कात्तिक १५ गते निधन भएको थियो । घोराहीमा पानीको आवश्यकता पूर्तिका लागि दिन रात नभनेर लाग्नुभएका डिसीलाई ‘पानी बा’ उपनाम दिइएको थियो । नवौैं अधिवेशनको सन्दर्भ भनेको नयाँ नेतृत्व चयनको हो । यतिवेला सवैले घोराहीमा अहिलेको भन्दा अझ राम्रो र व्यवस्थित तरिकाले पानीको आपूर्ती गर्न सक्ने नेतृत्वको खोजी गर्दा ‘पानी बा’ को खोजी भएको हो ।
कार्यवाहक अध्यक्ष भरतमणि पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा बोल्नेहरुले घोराहीमा अर्को ‘पानी बा’ चाहिएको चर्चा गरे । पानी हरेकलाई नभई नहुने तत्व हो । पानीको स्रोत कम हुँदै गएको छ । कतिपय आयोजनाहरु सुरुवात भएका छन् । ति आयोजनाहरु सफल पार्नु छ । ति आयोजनालाई निरन्तरता दिनु छ । आयोजना सफल पार्नका लागि विभिन्न निकायबाट लिइएको ऋण तिर्नु छ । यो सवै कामका लागि घोराहीमा अर्को ‘पानी बा’को खोजी गरिएको हो । कुनै बेला निर्वाचन त कुनै बेला सर्वसम्मत रुपमा अध्यक्षको जिम्मेवारीमा रहनुभएका डिसी सात कार्यकाल अध्यक्षको भुमिकामा रहनुभयो । उहाँले नेतृत्व गर्दासम्म कसैले पनि उहाँको विकल्पका रुपमा आफूलाई प्रस्तुत गर्न सकेन । राजनीतिक दलहरुले मिलेर निर्वाचनमा उहाँको विकल्पमा उमेदवार अघि सार्दथे तर निर्वाचन जित्न सक्दैनथे । घोराही खानेपानीमा नयाँ नेतृत्व चयनका लागि आगामी बैशाख २६ गते शनिबारका दिन निर्वाचन हुँदैछ ।
साधारण सभामा बोल्नेहरुले घोराही खानेपानीको अवस्था सुधारका लागि आगामी नेतृत्वले खेल्नुपर्ने भुमिका महत्वपूर्ण रहेको चर्चा गर्दै सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने बारेमा योजना बनाउन पनि बक्ताहरुले सुझाव दिएका थिए । घोराहीमा भएका डिप बोरिङमा पानी कम हुँदै गएको छ । अहिले पनि ३५ हजार जनता घोराही खानेपानीका उपभोक्ता रहेका छन् । बजार क्षेत्र भएकाले बास्तविक उपभोक्ता त्यो भन्दा बढी छन् । यस्तो अवस्थामा नेतृत्वमा आउनका लागि तानातान गर्दा संस्थाको भविश्य नै संकटमा पर्न सक्ने चेतावनी बक्ताहरुको थियो । बक्ताहरुले सवैको कुरा सुन्न सक्ने, सवैलाई समन्वय गर्न सक्ने र स्रोतको खोजी गर्न सक्ने नेतृत्वलाई लिएर संस्थालाई राजनीति भन्दा टाढा राख्नका लागि सुझाव दिएका थिए । राजनीतिक दलका प्रतिनिधीहरुले पनि घोराही खानेपानीमा देविवहादुर डिसीले गरेको योगदानलाई मध्यनजर गर्दै उहाँको सम्मानका लागि पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय खानेपानी तथा सरसफाई अनुसन्धान प्रवद्र्धन तथा क्षमता अभिवृद्धि केन्द्र काठमाडौंका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठले नेपालमा ४४ हजार खानेपानी आयोजनामध्य घोराही खानेपानीले राम्रो काम गरेका कारण गत बर्ष पुरस्कृत भएको स्मरण गर्नुभयो । उहाँले यसका लागि देवि डिसीको योगदान रहेको बताउनुभयो । उहाँले हाल नेपालमा पानीको महसुल महंगो भएको भन्दै यसका लागि विद्युतमा छुट दिने कार्यविधी बनेको जानकारी दिनुभयो । उहाँले यो निकट भविश्यमा लागु हुने जानकारी दिनुभयो । विगतमा लागत सहभागिताको रकम ३० प्रतिशत रहेकोमा आगामी दिनमा १५ प्रतिशत लागत सहभागिता रहने गरी निर्णय गरिएको बताउनुभयो । उहाँले भौतिक संरचना निर्माणका लागि सरकारको पूर्ण रुपमा लगानी हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा क्षेत्रिय आयोजना प्रमुख मनिष राजले बवई लिफ्टिीङ आयोजना अन्तरगत राम्रो प्रगति भएको बताउनुभयो । साढे तीन बर्षमा यति धेरै कार्यप्रगति हुनु भनेको राम्रो कुरा भएको उहाँले बताउनुभयो । घोराही खानेपानीले हासिल गरेको प्रगतिका लागि पानी बा को योगदानलाई उहाँले पनि स्मरण गर्नुभयो । कार्यक्रममा नेपालगञ्ज खानेपानी कार्यालयका प्रमुख देवन्द्र झाले घोराही खानेपानीले विश्व स्वास्थ्य संगठनले निर्धारण गरे अनुसारको पानी वितरण गरिरहेको बताउनुभयो । उहाँले अहिले जसरी काम भइरहेको छ यस हिसावले जाने हो भने घोराहीमा चौविसै घण्टा पानी वितरण गर्न सकिने धारणा राख्नुभयो । उहाँले अव सरसफाईको काममा पनि खानेपानी संस्थाले काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष विनय घिमिरे, नेपाली काँग्रेसका जिल्ला उप सभापती गिरिराज सुवेदी, नेकपा एमालेका सचिवालय सदस्य विवेक श्रेष्ठ, नेपाली काँग्रेसका क्षेत्रिय सभापती भिमप्रकाश खड्का, राष्ट्रिय जनमोर्चाका मणिराज खनाल, सल्लाहकार बमबहादुर डिसी, पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, पत्रकार शरद अधिकारी, नागरिक समाज दाङका सचिव नारायण प्रसाद श्रेष्ठ, राष्ट्रिय साना सहरीकी जानका केसी, दाङ जिल्ला उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष माधव खनाल, इञ्जिनियर विष्णु कुमाई, तुलसीपुर खानेपानीका अध्यक्ष यमकान्त भण्डारी लगायतले बोल्नुभएको थियो ।
महिला उपाध्यक्ष हेमन्ती पुन मगरले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सचिव धर्मेन्द्र श्रेष्ठले गर्नुभएको थियो । उक्त अवसरमा सचिवको प्रतिवेदन श्रेष्ठले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष धु्रव केसीले प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा सबैभन्दा बढी नियमित महसुल बुझाउने उपभोक्ता नारायण प्रसाद पुरी, सबै भन्दा कम तर नियमित रुपमा महसुल बुझाउने मिता जि.सीलाई सम्मान गरिएको थियो । यस्तै इमानदार कर्तव्य निष्ठ कर्मचारीका रुपमा डाटा इन्चार्ज डोमा पाण्डेय, मुखिया शान्ता न्यौपानेलाई पनि पुरस्कृत गरिएको थियो । यस्तै इञ्जिनियहरु बचुलाल श्रेष्ठ, भक्ति प्रसाद काफ्ले र विष्णु कुमाईलाई सम्मान गरिएको थियो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार