spot_img
spot_img

महिला सहकारीमा गरिएको सहयोग उपलव्धिमुलक

छवि पुरी /राप्ती पोष्ट

घोराही, असार । दाङमा सञ्चालित सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले गरिरहेका काम र उनीहरुले गरिरहेका अभ्यास बारे बिहीबार जिल्ला स्तरीय अनुगमन गरिएको छ । सामाजिक उद्यमी महिला सहकारीले संस्थाको उद्देश्य अनुसार गरिरहेका कामबाट प्राप्त गरेका उपलब्धि र आगामी योजना बारे जानकारी लिने काम भएको हो ।
ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित तरकारीको मुल्य श्रृंखलामा नवप्रर्वद्धनमार्फत ग्रामीण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता विकास परियोजना आईएएलभिसीले सामाजिक उद्यमी महिला सहकारीहरुमा गरिएको सहयोगले निकै राम्रो प्रगति गरेको पाईएको छ ।

लमही नगरपालिका ७ कप्तानगञ्जमा रहेको दिपन सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष पुनम घर्ती मगरले आफ्नो सहकारी २५ जनाबाट शुरु भएर अहिले करिव १२ सय शेयर सदस्य संख्या पुर्याउँदै सहकारीको कुल पूँजी ६ करोड ७६ लाख २१ लाख जोड्न सफल भएको बताउनुभयो । सहकारीमा आवद्ध महिलाहरुले तरकारी खेती, पशुपालनलाई व्यावसायिक बनाउँदै आत्मनिर्भर बन्न सफल भएको बताउनुभयो । अहिले सहकारीमा आवद्ध सदस्यहरुले दैनिक सयौँ किलो तरकारी उत्पादन गर्ने गरेको बताउनुभयो । उत्पादित तरकारी सहज बजारीकरणका लागि व्यवस्थित सङ्कलन केन्द्र निर्माण गरेर बजारीकरण गर्न पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
सो सहकारीमा आवद्ध राप्ती कृषक सहयोगी समूहकी अध्यक्ष रुविया चौधरीले ग्रामीण महिला उत्थान केन्द्र र हेफरले व्यावसायिक तरकारी खेती बारे ज्ञान दिएपछि तरकारी खेतीबाट वार्षिक १६ लाख बढी आम्दानी गर्न सफल भएको बताउनुभयो ।

यस्तै, उहाँले तरकारी खेती गर्दा विषादीको प्रयोग कम गर्न आफै घरेलु रुपमा तयार पारेको वायुजन्य विषादी, ट्राईकोडर्मा झोल, गोबर मलको प्रयोगमा जोड दिएको बताउनुभयो । उहाँले घरमै गड्यौला मल बनाउन थाल्नु भएको छ । लमही नगरपालिका वडा नम्बर २ केरुनियास्थित समुन्नति सामाजिक उद्यमी महिला सहकारीकी अञ्जु चौधरीले महिलाहरुले सञ्चालन गरेको सहकारीलाई विश्वास गरेर काम गर्ने वातावरण बनाई दिँदा अहिले करोडौँको कारोबार गर्न सक्ने भएको बताउनुभयो । सहकारीमा आवद्ध कृषक महिलाहरुले व्यावसायिक तरकारी खेती बारे ज्ञान लिएपछि दैनिक २ टन तरकारी उत्पादन गर्न सफल भएको बताउनुभयो ।

उहाँले निकट भविष्यमा समुन्नति सामाजिक उद्यमी महिला सहकारीले तरकारी प्रशोधन केन्द्र सञ्चालन गर्न थालेको हुँदा यसबाट धेरै लाभान्वित हुने बताउनुभयो । तरकारी प्रशोधन केन्द्रको भवन निर्माणका लागि १ करोड संघ सरकारले बजेट विनियोजन गरेर पूर्वाधार निर्माणका काम भईरहेकोे छ । उक्त प्रशोधन केन्द्र सञ्चालन गर्न उपकरण खरिद गर्न १ करोड रुपैयाँ आईएएलभिसी परियोजनाले सहयोग गर्ने भएको छ । प्रशोधन केन्द्र सञ्चालनमा आएमा जिल्लास्थित सामाजिक उद्यमी महिला सहकारीहरुका सदस्यले उत्पादन गर्ने तरकारी प्रशोधनसँगै बजारीकरणमा नयाँ आयाम थपिने विश्वास गरिएको छ ।

अहिले पनि संस्थाबाट प्राविधिक सहयोग, सामग्री सहयोग गर्दै आएको हुँदा आफुहरुमा काम गर्न आत्मविश्वास जागेको बताउनुभयो । लमही १ सुन्डबरीस्थित निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष सीता पौडेलले एक दशकअघि ५१ जनाबाट शुरु गरेको सहकारीमा करिव १५ सय बढी शेयर सदस्य पुगेको बताउनुभयो । सहकारीले वचत तथा ऋण, पशुपालन, दूध सङ्कलन, बजारीकरणलगायत काम गर्दै आएको बताउनुभयो । दैनिक २ हजार लिटर दूध सङ्कलन गरेर बजारीकरण गर्नुका साथै दुग्धजन्य बस्तु दही, घिउ, पनिर, कुल्फी, खुवालगायत उत्पादन गरेर बिक्री गर्दै आएको बताउनुभयो ।

अनुगमनमा सहभागी जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले महिलालाई उद्यमी बनाउँदै आत्मनिर्भर बनाउन गरिएको प्रयासले सार्थकता पाएको बताउनुभयो । उहाँले महिलाहरूमा आत्मविश्वास जगाउने कामले छोटो समयमा पनि करोडौँको कारोबार गरेर आर्थिक तथा सामाजिक विकासमा योगदान दिएको देख्दा निकै खुशी लागेको बताउनुभयो ।
कार्यक्रममा हेफरका वरिष्ठ कार्यक्रम अधिकृत महेशकुमार आचार्यले तरकारीको मुल्य श्रृंखलामा नवप्रर्वद्धनमार्फत ग्रामीण महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता विकास परियोजना आईएएलभिसीले महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्यमशीलतालाई प्राथमिकता दिएको बताउनुभयो ।

विषादी घटाउँदै हरित उत्पादनमा जोड दिएको र गुणस्तरीय तरकारी फलाउन प्राङगारिक तरकारी विशेष प्राथमिकतामा राखेर काम गरिरहेको हुँदा हाल तीन कट्ठामा तरकारी फलाउने किसान परियोजना समापन हुने बेलासम्म छ कट्ठामा तरकारी फलाउन सक्ने बनाउने लक्ष्यका साथ काम भईरहेको बताउनुभयो । ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीले महिला उद्यमी सहकारीको समग्र उत्पादनलाई एकद्वार प्रणालीमार्फत उत्पादन र बजारीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको परियोजनाबाट सहकारीमा आवद्ध किसानले अपेक्षा गरिए अनुसार काम गरिरहेको बताउनुभयो । उहाँका अनुसार, तरकारी उत्पादनको क्षेत्रमा नेपालमै पहिलो पटक ग्रामीण महिला उत्थान केन्द्र दाङ र हेफर ईन्टरनेशनल नेपालको पहलमा दाङमा प्रशोधन केन्द्र स्थापना गरि कार्यान्वयन गर्न थालिएको हुँदा यसले भोलिका दिनमा कृषि क्षेत्रमा ठूलो सम्भावना तयार पार्ने बताउनुभयो ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार