spot_img
spot_img

एमाले महासचिवको जिल्लामा भएको भनिएको ‘विद्रोह’ के हो ?

राप्ती पोष्ट टिम

दाङ, ३१ जेठ । विहीबार साँभ तिर दाङमा मात्रै होइन देशभर एउटा समाचारले चर्चा पायो । त्यो थियो, ‘नेकपा एमालेका महासचिव शंकर पोख्रेलको जिल्ला दाङमा ८७ जनाले पार्टी परित्यागको घोषणा गरेको’ भन्ने । पार्टी परित्याग गर्नेहरुले जारी गरेको विज्ञप्ती सुरुमा समाचारका रुपमा आएको थिएन । माओवादी निकट पत्रकारहरुको फेस बुक पेजबाट यो सार्वजनिक भएको थियो । यो कुरा सार्वजनिक भएपछि बल्ल केहीले समाचार बनाएका थिए । महासचिवको जिल्लामा एमालेमा ठूलै पहिरो गएको भन्ने समाचार आएपछि त्यसको बास्तविकता खोज्ने प्रयास गर्नु भन्दा त्यहि विषयलाई चर्चामा ल्याउने काम नै बढ्दा भएको देखियो । के हो विद्रोहको बास्तविकता ? भन्ने बारेमा राप्ती पोष्टले केही तथ्य खोज गरेको छ ।

विद्रोहको नेतृत्व गिरिराज केसीले गर्नुभएको देखिन्छ । जारी विज्ञप्तीको शुरु र पुछारमा समेत उहाँको हस्ताक्षर देखिन्छ । गिरिराज केसी दाङ जिल्लामा पुरानो कम्युनिष्ट नेता मानिनुहुन्छ । तर उहाँको छवि अस्थिर नेताका रुपमा रहेको छ । पंचायती व्यवस्थाको समयमा नै नेकपा मालेमा आवद्ध हुनुभएका केसी कहिले एमाले, कहिले माले, कहिले एमाले अनि कहिले माओवादी हुँदै एमालेमा प्रवेश गरेर अहिले एमाले छोडेको घोषणा गर्नुभएको छ । २०५१ सालमा भएको संसदीय निर्वाचनमा दाङको क्षेत्र नं. ४ मा खुमबहादुर खड्कासंग प्रतिष्पर्धा गरेपछि उहाँलाई धेरैले सहासी नेताका रुपमा चिन्ने गरेका थिए । त्यो निर्वाचनमा उहाँ पराजित हुनुभयो । त्यसपछि २०५४ सालमा नेकपा एमाले विभाजन हुँदा माले तिर लाग्नुभयो । मालेतिर लागेको समयमा २०५६ सालमा उहाँ उमेदवार बन्नुभएको थियो । मालेबाट क्षेत्र नं. ३ मा उमेदवार बन्नु भएका केसीका कारणले गर्दा नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन हार्नुभएको थियो । त्यतिवेला काँग्रेसका तर्फबाट उमेदवार बन्नु भएका कृष्ण किशोर घिमिरेले निर्वाचन जित्नुभएको थियो ।

उहाँ माले र एमालेको मिलन पछि एमालेमा फर्कनुभयो । तर केही समयपछि उहाँ माओवादीमा आवद्ध हुनुभयो । माओवादीमा आवद्ध रहनुभएका केसी गएको संसदीय निर्वाचन भन्दा केही पहिले एमालेमा फर्कनुभयो । त्यतिवेला शंकर पोखरेल क्षेत्र नं. २ मा उमेदवार बन्दा केसीलाई क्षेत्र नं. २ को ‘ख’ मा उमेदवार बनाउनुभयो । केसीले निर्वाचन हार्नुभयो । महासचिवले पनि निर्वाचन हार्नुभयो । त्यतिवेला एमालेका नेता कार्यकर्ताले अस्थिर चरित्रका केसीलाई उमेदवार बनाउनु हुँदैन भनेर अर्को उमेदवारको खोजी गरेका थिए । अर्को पार्टीबाट आएकालाई पनि स्थान दिनुपर्छ र केसी पुरानो नेता भएको भन्दै पोखरेलले नै उमेदवार बनाउनुभयो । उहाँको जिम्मेवारी प्रदेश कमिटीमा थियो । २०८० सालमा भएको प्रदेश अधिवेशनपछि उहाँ कुनै भूमिकामा हुनुहुन्न । उमेर अवस्था र स्वास्थका कारणले जिम्मेवारीमा आउन नचाहेको बताउने केसीले विहीबार जारी गर्नुभएको विज्ञप्ती पछि पुनः चर्चामा आउनुभएको छ ।

 

उहाँलाई साथ दिनेहरु अहिले कमिटीमा रहेकाहरुको तुलनामा विगतमा कमिटीमा बसेका र हाल निस्कृय रहेकाहरुको संख्या धेरै रहेको छ । केसीको अगुवाईमा पार्टी छोडेको घोषणा भएपछि कतिपयले आफ्नो नाम नसोधेर राखेको बताइरहेका छन् । कतिपयले नक्कली हस्ताक्षर गरेको बताइरहेका छन् । कतिपयले सामाजिक सञ्जालमा नै आफूले पार्टी नछोडेको बताइरहेका छन् । एउटा पुरानो कम्युनिष्ट नेताले पार्टीबाट विद्रोह गर्दा किन यति कच्चा काम गर्नुभयो भन्ने बारेमा केसीलाई जिज्ञासा राख्दा कतिपय साथिहरुको नाम अरुले दिएकाले यस्तो भएको भन्ने प्रतिक्रिया दिनुभयो । केसीको यो भनाईले पनि हस्ताक्षरहरु नक्कली हुन भन्ने प्रमाणित गर्दछ ।

केसीले तयार गर्नुभएको नाममा एउटा नाम त पहिले दिवंगत भइसकेका व्यक्तिको पनि रहेको भन्दै आलोचना भइरहेको छ । नेकपा एमाले जिल्ला कमिटीमा लामो समय बस्नुभएका अमर वलीले सामाजिक सञ्जालबाटै आफूले कुनै विद्रोह नगरेको बताउनुभएको छ । राप्ती पोष्टका तर्फबाट सम्पर्क गर्दा वलीले केसी पटक पटक आफूसंग भेट गर्न आएको भएपनि आफूले विद्रोह गर्ने बारेमा सहमती नजनाएको दावी गर्नुभयो । उहाँले सामाजिक सञ्जालमा विद्रोह गरेको विज्ञप्ती आएको भनेपछि अनभिज्ञता जनाउनुभयो । उहाँले भन्नुभयो, ‘मलाई यसका बारेमा केही थाहा छैन, उहाँ दुई महिना भन्दा पहिले आउनुभएको थियो, तर मैले म जिन्दगीभर एमालेमा बसें, अहिले आएर विद्रोह गर्न तयार छैन, मर्ने बेलामा पार्टी किन छोड्ने ?’ भनेर फर्काइदिएको बताउनुभयो । आफूसंग भेटनका लागि पहिले समाजवादीका नेताहरु पनि आएको भएपनि आफूले कतै नजाने जवाफ दिएको बताउनुभयो । केसीको योजना भिम रावलको पार्टीमा जाने हो कि जस्तो बुझेको पनि उहाँले बताउनुभयो ।

विहीबार साँझ विज्ञप्तीलाई माओवादी निकट पत्रकारले खुशी हुँदै सार्वजनिक गरेका थिए । मानौं विद्रोह गरेका भनिएकाहरु माओवादीमा आइसके भन्ने गरी सामाजिक सञ्चालमा हालेका थिए । तर केसी माओवादीमा जानु भएको छैन । उहाँले माओवादीमा जानका लागि यो विद्रोह नगरेको बताउनुभएको छ । यो थाहा पाएपछि भने माओवादी हिस्स परेका छन् । सुरुमा जसरी विषयलाई उचाल्न खोजिएको थियो, पछि फेसबुकमा केसीको विज्ञप्ती हाल्नेहरुले प्रतिक्रिया व्यक्त गरेका छैनन । केसी माओवादीबाट आएकाले माओवादीमा जाने उनिहरुको अनुमान त थियो तर केसीले मरेका मानिसको नाम राखेको कुरा आएपछि माओवादी निकट पत्रकारहरु मौन बसे ।

 

यता केसीको विद्रोहले एमालेमा कुनै पहिरो नजाने दावी एमालेको छ । नेकपा एमाले दाङका अध्यक्ष शिवकुमार आचार्यले गिरिराज केसीले ०७९ सालमा पार्टीबाट उम्मेदवार बनेर निर्वाचन हारेपछि अहिलेसम्म सदस्यता नवीकरण नगरेको र सँगै गणेश लम्सालको पनि नाम सुनेपनि अन्य धेरैको फेक नाम चर्चा गरिएको बताउनुभयो । ‘पार्टीमा आउने जानेहरु भल छोपुवा हुन्, केसीको ०७९ निर्वाचनपछि सदस्यता नवीकरण नै थिएन, अवसरवादीहरु यताउता गरिरहन्छन्, त्यसैगरी आएका हुन्, अरु धेरैको फेक नाम राखिएको छ, केही दिवंगत भएका नेताहरुको पनि नाम समावेश भएको अरु पार्टीमा आवद्धहरुले नै बोल्नुभएको छ, हामी बोल्नुपर्ने छैन’ उहाँले भन्नुभयो ।

उहाँले केसी अस्थिर रहेको र पटक पटक पार्टी छोडेर हिडेको चर्चा गर्नुभयो । उहाँले केसीलाई भल आएको बेलामा भल छोप्न आएको सज्ञा दिनुभयो । केसी अवसरवादी भएको दावी पनि आचार्यको थियो । यसैबीच गढवाबाट विद्रोह गरेको भनिएका शिवराज पन्थीले सामाजिक सञ्जालमा आफू नेकपा एमाले गढवाको सचिवको जिम्मेवारीमा रहेर काम गरिसकेको व्यक्ति रहेको बताउनुभएको छ । उहाँले पार्टीबाट कुनै विद्रोह नगरेको बताउनुभयो । उहाँ प्रेस चौतारी र पार्टीको प्रचार विभागको जिम्मेवारीमा हुनुहुन्छ । यसैगरी ९३ बर्षका खिमानन्द खनालले पनि आफूले विद्रोहका बारेमा कुनै नसोचेको बताउनुभएको छ । उहाँले आफू एमालेकै रुपमा मर्न चाहेको बताउनुभएको छ । नेकपा एमाले दाङ जिल्ला कमिटीको सदस्य र सल्लाहकार रुपमा लामो समय काम गर्नुभएका खनालले विद्रोह गरेको भनेर विज्ञप्ती जारी गरेकोमा आपत्ती जनाउनुभयो ।

८७ जनाको नाम रहेको भएपनि एउटा नाम काटिएको छ । यसरी हेर्दा ८६ जनाको नाम देखिन्छ । तर कतिपयले आफू नेकपा एमालेमै रहेको बताइसकेका छन् । कतिपयका नाम फेक नाम जस्ता पनि देखिन्छन । एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकीको भनाई छ । नेकपा एमालेबाट विद्रोह गरेको भनिएकाहरुको हस्ताक्षर त नक्कली रहेछ भन्ने राप्ती पोेष्टको जिज्ञासामा केसीले आफूले दुई महिना भन्दा लामो समय देखि होमवर्क गरेको बताउनुभयो । कतिपय नाम साथिहरुको विश्वासले राखेको बताउनुभयो । नेकपा एमाले दाङले भने केसीले गरेको विद्रोहले कुनै फरक नपार्ने बताएको छ । कतिपय एमालेका नेताहरुले गएको निर्वाचनमा शंकर पोखरेलले केसीलाई टिकट नदिएर अरु कुनै युवालाई टिकट दिएको भए एमालेले सजिलरी निर्वाचन जित्ने दावी गर्दै आएका छन् ।

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार