spot_img
spot_img

दाङका वनमा डढेलो लाग्न शुरु

छबि पुरी/राप्ती पोष्ट

घोराही, चैत । दाङमा वनमा डढेलो लाग्न शुरु भएको छ । जिल्लामा शुन्य वन डढेलो अभियान चलाएर सामुदायिक वन उपभोक्ता समुहलाई सक्रिय बनाईए पनि विगत वर्ष जस्तै यो वर्ष पनि राष्ट्रिय तथा सामुदायिक वनमा आगलागीका घटना शुरु भएको छ । लामो खडेरीले पातपतिंगर सुक्दा तथा हावाहुरीका कारण वन क्षेत्रमा अहिले आगलागीका घटना बढ्न थालेका छन् । गर्मी बढेसँगै दैनिक आगलागी र डढेलोका घटना बढ्न थालेको हो । अहिले घोराही उपमहानगरपालिकाको वडा नम्बर ३ र ५ का वन क्षेत्र तथा लमही नगरपालिकाको वडा नम्बर ६ को वन क्षेत्रमा डढेलो लागेको छ । वनमा लागेको आगो फैलिँदै गएको छ । शुक्रबार साँझ सो क्षेत्रमा ठूलो डढेलो फैलिईसकेको छ ।

डिभिजन वन कार्यालय  दाङले चैतको पहिलो साता वन डढेलो सप्ताह मनाएको थियो । वनमा आगलागीका घटना हुन नदिन यदि भई हालेमा डढेलो नियन्त्रणका उपाय सिकाउँदै वन समुहलाई अग्नि नियन्त्रक सामग्री पनि वितरण गरेको छ । डिभिजन वन कार्यालयका अनुसार यस वर्षको वसन्त ऋतुमा अत्यधिक गर्मी र सुख्खा मौसमका कारण वन डढेलोका घटना तीव्र रूपमा वृद्धि भएका छन् । विशेष गरी जिल्लाको दंगीशरण, बबई, तुलसीपुर, घोराही, गढवा, राप्ती तथा लमही क्षेत्रका सामुदायिक वनहरूमा आगलागी भएका घटनाहरू बढ्न थालेका निमित्त डिभिजनल वन अधिकृत मदनप्रसाद ढुंगानाले बताउनुभयो ।

वन डढेलोको उच्च जोखिम रहेका क्षेत्रमा जिल्लाको बबई, दंगीशरण,  तुलसीपुर उपमहानगरपालिका अन्तर्गत पर्ने जंगल क्षेत्र, घोराहीको २, ३, ५ का वडाहरु, बंगलाचुलीको ८ नम्बर वडा रहेका छन् । यसैगरी, राप्ती नदी आसपासका वन, गढवा गाउँपालिकाको साल र सखुवा वनमा समेत वन डढेलोको जोखिम रहेको उहाँले बताउनुभयो । वन डढेलो नियन्त्रणका लागि स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह, सुरक्षा निकाय तथा स्वयंसेवकहरू सक्रिय रहे पनि लापरवाहीका कारण वनमा आगलागी बढेको उहाँले बताउनुभयो ।

स्थानीयवासी  तथा वन समुहलाई आगलागी नियन्त्रणका लागि बारम्बार सचेतनाका कार्यक्रम गर्दै आएको भएपनि लापरवाही हुने गरेको बताउनुभयो । उहाँका अनुसार अत्यधिक गर्मी, सुख्खा हावा, मानवीय लापरवाही, वनभित्र फालिएको जथाभावी प्लास्टिक तथा सुक्खा घाँसका कारण डढेलोको सम्भावना बढी हुने गरेको छ । लामो खडेरीका कारण वनमा रुखपात सुकेको तथा जोखिम उच्च रहेकाले यस वर्षको वन डढेलोबाट ठूलो मात्रामा वनस्पति, वन्यजन्तु र पर्यावरणमा असर पर्न सक्ने अनुमान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय, सामुदायिक वन समुह, उपभोक्ता समुह, वन डढेलो नियन्त्रण दस्ता लगायतसँग वन डढेलो रोकथामका लागि समन्वयात्मक योजना पनि बनाउने गरिएको छ । तर, वनमा आगलागी भई हालेमा नियन्त्रणका लायि पर्याप्त सामग्री नहुँदा समस्या हुने गरेको छ । दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालय दाङले जनाएको छ । पछिल्ला वर्षहरुमा दाङको विभिन्न ठाउँमा डढेलो लाग्दा वन क्षेत्रमा ठूलो क्षति पुगेको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।

वन डढेलो नियन्त्रणका लागि प्रचारप्रसारका कार्यक्रम, जोखिम क्षेत्रका विद्यालयमा पुगेर स्कूल शिक्षा, अग्निरेखा निर्माण र मर्मतलगायतका कार्यक्रम नियमित जसो भईरहे पनि वन डढेलो नियन्त्रणमा सँधै चुनौति हुने गरेको छ । वन डढेलोले हुने क्षतिका बारेमा चेतनामूलक कार्यक्रम आवश्यक रहेको भन्दै वनमा च्याउ, जडीबुटी र अन्य पालुवा उमार्नुपर्ने र वनमा डढेलो लगाउनेको पहिचान गरी कारवाही गर्नुपर्ने डिभिजन वन कार्यालय दाङका वन अधिकृत टेकन आचार्यले बताउनुभयो ।

मानवीय गल्तीका कारण वर्षेनी ठूलो धनजनको क्षति हुने गरेको हुँदा वनमा लाग्ने आगोका बारेमा मानिस समयमा सचेत हुनुपर्ने र जथाभावी लाग्ने आगोलाई समयमा निभाउनु ध्यान दिनुपर्ने उहाँको जोड छ । वन क्षेत्रमा आगो लगाउदा घाँसपातको पालुवा चाँडै पलाउने र वर्षायाममा जंगली च्याउ उत्पादनमा वृद्धि हुने गलत सोचाइ राखेर स्थानीयले वनमा डढेलो लगाउने गर्दा यो समस्या धेरै जसो हुने गरेको डिभिजन वन कार्यालयको भनाई छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार