छबि पुरी/राप्ती पोष्ट
घोराही, फागुन । स्थानीय किसानहरूले उत्पादन गरेको कृषिजन्य बस्तु बजारीकरण गर्न राप्ती गाउँपालिकाले करिब २ महिना अघि संचालनमा ल्याएको कृषि हाट बजार प्रभावकारी बन्दै गएको छ । गाउँपालिकाले वडा नम्वर–३ सिरिचौर मैदानमा पहिलो पटक कृषि हाट बजार सञ्चालनमा ल्याएपछि स्थानीय कृषिजन्य उत्पादनमा बजार पाएको छ भने उपभोक्ताले ताजा बस्तु खरी दगर्न पाएका छन् । गत पुस १९ गतेदेखि हाट बजार सञ्चालनमा ल्याएको पालिकाले हरेक शुक्रबार हाट बजार लगाउने गरेको छ ।
राप्ती २ लालमटियाकी भीमकुमारी थापाले शुक्रबार लाग्ने हाट बजार संचालनमा आएपछि तरकारी किन्न निकै सजिलो भएको बताउनुहुन्छ । साताभरलाई चाहिने तरकारी किनेर अहिले लैजाने गरेको उहाँले बताउनुभयो । ‘यो काम त पहिले नै गर्नु पथ्र्यौ । ढिलै भएपनि शुरु भएको छ । अहिले त शुक्रबार आयो हप्ता भरी चाहिने सामान किनेर लग्यो । निकै सजिलो भएको छ । सस्तो पनि ताजा पनि हुने भएपछि हामीलाई निकै राम्रो भएको छ’ भीमकुमारीले भन्नुभयो ।
कृषि हाट बजार सञ्चालनमा आएसँगै किसानहरूमा पनि उत्साह देखिएको छ । स्थानीय कृषकहरूले आफ्नो उत्पादन आफैंले बिक्री गर्न पाउने अवसर पाउँदा अत्यन्त खुसी भएका छन् । हाट बजार संचालनमा आएपछि कृषकहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने अवसर पाएका छन् । यसअघि उत्पादन बेच्न टाढा जानुपर्ने बाध्यता थियो, तर अब आफ्नै गाउँपालिकामा बजार उपलब्ध भएपछि आफुहरु उत्साहित भएको राप्ती गाउँपालिका वडा नम्बर ७ का रणप्रसाद सुवेदीको भनाई छ ।
व्यावसायिक रुपमा मालभोग केरा खेतीसमेत गर्दै आउनुभएका सुवेदीले पालिकाले कृषि हाट बजारको अवधारणालाई कार्यान्वयनमा ल्याएर किसानका लागि राम्रो काम गरेको बताउनुहुन्छ । कृषि पकेट क्षेत्रका रुपमा राप्ती गाउँपालिकाका धेरै वडा रहेको बेला स्थानीय उत्पादन कहाँ लगेर बिक्रि गर्ने चिन्तामा रहेको किसानलाई अहिले निकै सजिलो भएको बताउनुभयो । उत्पादित वस्तुलाई बजारसम्म पुर्याउने झन्झटबाट मुक्ति पाएपछि कृषकहरु हर्षित भएका छन् । हाट बजारले उपभोक्ताहरूलाई पनि लाभान्वित बनाएको ताजा र स्थानीय उत्पादन उपलब्ध हुने भएकाले उपभोक्ताहरू ताजा तरकारी, फलफूल, दूधजन्य पदार्थजस्ता सामग्री किन्नका लागि उत्साहित देखिन्छन् ।
हाटबजारबाट कृषकहरुको आर्थिक स्थिति सुधार्न सहयोग पुग्ने विश्वास गाउँपालिकाले गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टले उपभोक्ता र कृषकलाई जोड्न हाटबजार सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । स्थानीय उत्पादनको उपभोगले उपभोक्ताहरूलाई गुणस्तरीय र स्वस्थ्यकर सामग्रीको उपभोग गर्नसक्ने वातावरण मिलाएको अध्यक्ष बिष्टले बताउनुभयो ।
कृषि हाट बजारको व्यवस्थापनको जिम्मा गाउँपालिकाले लिएको जनाउँदै पालिका अध्यक्ष बिष्टले कृषकहरूको हित संरक्षण गर्नु र उनीहरूको उत्पादनलाई उचित मूल्यमा बजारसम्म पुर्याउनु हाट बजारको उद्देश्य रहेको बताउनुहुन्छ । ‘स्थानीय कृषि उपजको बजारीकरणलाई व्यवस्थित र सहज बनाउन हामीले यो हाट बजार सञ्चालनमा ल्याएका हौँ’, अध्यक्ष बिष्टले भन्नुभयो ‘किसानसँग हामीले गरेका वाचा पूरा गर्ने क्रममा यो कार्यक्रमलाई कार्यान्वयन गरेका छौँ ।
थोरै बस्तु कहाँ लगेर बिक्रि गर्ने समस्या भोग्दै आएका किसानलाई पनि हाट बजार राम्रो थलो बनेको उहाँले बताउनुभयो । ‘हामीले स्थानीय उत्पादनको बजारीकरणलाई जनतामाझ पुर्याउन सफल भएको ठानेका छौँ’ उहाँले भन्नुभयो ‘हिजोका दिनमा स्थानीय उत्पादनले मूल्य नपाउने समस्या भोगेका कृषकहरुले आफ्नो उत्पादन अहिले आफै बेच्न पाउँदा बिचौलियाको चलखेल कम भएको छ । किसान खुशी छन् । उपभोक्ताले पनि सहज रुपमा ताजा बस्तु खरीद गर्न पाएका छन् ।’
अध्यक्ष बिष्टले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने र आयातमा निर्भरता घटाउने उद्देश्यमा पनि सहयोग पुग्ने बताउनुभयो । पालिकाले हाट बजारलाई व्यवस्थित र दीर्घकालीन बनाउनका लागि केही विशेष योजना अघि सारेको अध्यक्ष बिष्टको भनाई छ । पालिकाले स्थानीय स्तरमा उत्पादित सामग्रीको माग र आपूर्तिलाई मिलाउन विशेष ध्यान दिने योजना बनाएको उहाँको भनाइ छ । हाट बजारमा सहभागी किसानहरूलाई कृषि सम्बन्धि तालिम, प्राविधिक सहयोग र उचित बजार मूल्य निर्धारणमा सहयोग गर्ने योजना पनि पालिकाले अघि सारेको छ ।
बजारले स्थानीय क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको अध्यक्ष बिष्टले बताउनुभयो । ‘स्थानीय उत्पादनको खपत बढाउने, कृषकहरूको आम्दानी वृद्धि गर्ने र आयात प्रतिस्थापनमार्फत् आर्थिक सन्तुलन कायम गर्न हाट बजारले सहयोग पुर्याउनेछ’ अध्यक्ष बिष्टले भन्नुभयो ‘यसले मात्र नभई स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई सबल बनाउनेमा पनि टेवा पुर्याउनेछ भन्नेमा हामी विश्वस्त छौँ ।’
कृषि हाट बजारले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने अपेक्षा गाउँपालिकाले गरेको उपाध्यक्ष कमलापति चौधरीले बताउनुभयो । उपाध्यक्ष चौधरीले हाटबजारले किसानहरूलाई उत्पादनमा थप लगानी गर्न हौसला दिने बताउनुहुन्छ । उपभोक्ताहरूलाई पनि सस्तो र गुणस्तरीय सामग्री प्राप्त गर्न मद्दत गर्ने भन्दै उहाँले हाट बजारले कृषक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क गराउँदै दुवै पक्षलाई लाभान्वित गर्ने विश्वास गरिएको बताउनुभयो ।
साताको शुक्रबार लाग्ने हाट बजारले उपभोक्ताहरूलाई पनि लाभान्वित बनाएको ताजा र स्थानीय उत्पादन उपलब्ध हुने भएकाले उपभोक्ताहरू ताजा तरकारी, फलफूल, दूधजन्य पदार्थजस्ता सामग्री किन्नका लागि उत्साहित देखिन्छन् ।
राप्ती गाउँपालिकाले कृषक र उपभोक्ताबीच सिधा सम्पर्क स्थापित गरी स्थानीय उत्पादनको खपत वृद्धि गर्न हाट बजार संचालनमा ल्याएको हो । यसले स्थानीय स्तरमै कृषिजन्य उत्पादनको व्यापार प्रवद्र्धन गर्न मद्दत पु¥याउने अपेक्षा गरिएको कृषि शाखाकी निर्मला गिरी बताउनुहुन्छ ।