जनसभामा ५० हजार सहभागीता गराउने संकल्प
राप्ती पोष्ट
दाङ, माघ । नेकपा एमाले दाङले फागुन ५ गते पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आउने कार्यक्रममा कम्तीमा ५० हजार जन सहभागीता जुटाउने संकल्प गरेको छ । नेकपा एमाले जिल्ला कमिटी दाङको वैठकले फागुन ५ गतेका दिन प्रधानमन्त्री आउने कार्यक्रममा भव्य जनसहभागिता जुटाउने तयारी गरेको प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिनुभयो ।
बुधबार घोराहीमा बसेको बैठकले वैठकले घोराहीमा हुने विशाल जनसभालाई ब्यबस्थित बनाउन जिल्ला अध्यक्ष शिव कुमार आचार्यको संयोजकत्वमा १७६ सदस्यीय मूल व्यबस्थापन समिति गठन गरेको छ । त्यस्तै जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकीको संयोजकत्वमा जनपरिचालन उपसमिति, जिल्ला सचिव श्याम डाँगीको संयोजकत्वमा मञ्च ब्यबस्थापन उपसमिति, सचिवालय सदस्य सुदन केसीको संयोजकत्वमा स्वयमसेवक परिचालन उपसमिति, प्रचार विभाग प्रमुख संगित बस्यालको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ ।
जिल्ला अध्यक्ष शिवकुमार आचार्यको अध्यक्षतामा बसेको बैठकले जनसभामा दाङका १० वटै पालिका र सयवटै वडा कमिटीले जनपरिचालन गर्ने निर्णय गरेको छ । यसका साथै विभिन्न जनवर्गिय संगठनले पनि जन परिचालनका लागि तयारी गर्नेछन् । जसमा अखिल नेपाल महिला संघ, अखिल नेपाल किसान महासंघ, अनेरास्ववियु, राष्ट्रिय अपांग महासंघ, लोकतान्त्रिक मगर संघ, लोकतान्त्रीक थारु संघ, नेपाल जातिय मुक्ति समाज, नेपाल राष्ट्रिय ब्यबसायी महासंघ, नेपाल राष्ट्रिय खेलकुद महासंघ, बुद्धिजिवि परिषद, भुमि तथा सुकुम्वासी महासंघ, पेशागत महासंघ, प्रेस चौतारी, प्रगितिशिल, मानव अधिकार एलायन्स, नेपाल मुस्लिम इत्तेहाद संगठन, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल पिछडाबर्ग, राष्ट्रिय शिक्षक संगठन लगायतका जनवर्गिय संगठनले व्यानर सहित जुलुस निकाल्ने निर्णय गरिएको छ ।
वैठकले माघ २५ गते १० वटै पालिका कमिटीको वैठक बस्ने, २६ गते क्षेत्रीय निर्वाचन समन्वय कमिटीको वैठक बस्ने र २७ गते प्रदेश सभा समन्यव कमिटीको वैठक बसेर फागुन ५ गतेको जनसभालाई थप ब्यबस्थित र योजना बनाउने निर्णय समेत गरेको छ । वैठकमा दाङका १० वटै पालिका कमिटीका अध्यक्षहरुले रिपोर्टिङ गर्नुभएको छ ।
वैठकले भुमि समस्या समाधान आयोग दाङको अध्यक्षमा जिल्ला कमिटिका पूर्व अध्यक्ष हुकुम बस्नेत मन्त्री परिषद वैठकबाट मनोनित हुनुभएकोमा बधाई ज्ञापन गरेको छ । त्यस्तै २०७९ को निर्वाचनमा नेकपा एमालेका तर्फवाट निर्वाचित घोराही उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष जितेन्द्र शाहलाई साधारण सदस्य समेत नरहने गरि कारवाही गर्ने निर्णय गरिएको नेकपा एमाले दाङका प्रचार विभाग प्रमुख बस्यालले जानकारी दिनुभयो । जिल्ला कमिटीको वैठकलाई सम्वोधन गर्दै पोलिट्ब्युरो सदस्य नरुलाल चौधरीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा वली दाङ आउने अबसरलाई उत्सवका रुपमा लिन आग्रह गर्नुभयो । प्रधानमन्त्री दाङ आएर सम्वोधन गर्ने कुराले यहाँको विकास र समृद्धिका लागि ठूलो टेवा पुग्ने विश्वास रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री आउने कार्यक्रमलाई भव्य बनाउनका लागि व्यापक रुपमा परिचालिन हुन जिल्ला कमिटी र मातहतका अन्य कमिटीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, ‘पार्टीले दिएको जिम्मेवारीलाई महत्व दिएर आफ्नो जिम्मेवारी पुरा गर्नुस् ।’ दाङले विकासको लय पकडेको भन्दै घोराही उपमहानगरपालिकाका प्रमुख समेत रहनभएका चौधरीले अनावस्यक राजनीति गरेर विकासको लयलाई अवरोध नगर्न सम्बन्धित राजनीतिक दलहरुलाई अनुरोध समेत गर्नुभयो ।
वैठकमा जिल्ला अध्यक्ष आचार्यले अहिलेसम्म सम्पादन भएका कामहरु र आगामी योजनाहरु प्रस्तुत गर्नुभएको थियो । तत्काललाई फागुन ५ र त्यसपछि मिसन ०८४ लाई ध्यानमा राखेर काममा केन्द्रित हुन निर्देशन दिनुभयो । वैठकमा केन्द्रिय सदस्यहरु जिवन गौतम, घनश्याम पाण्डे, भागवत विश्वासी, कोमल वली, सिता सिग्देल, साजिदा सिद्धिकीको उपस्थिति थियो ।