राप्ती पोष्ट
लमही, ८ कात्तिक । देउखुरीस्थित राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ । लमही नगरपालिका वडा नम्बर २ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, सोही ठाउँकै १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका वडा नम्बर ४ खडकपुर घर भई लमही नगरपालिका वडा नम्बर ५ मा बस्दै आएकी १२ वर्षीया कृष्टी चौधरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले बिहीबार अपराह्न सवा ३ बजे राप्ती नदीमा नुहाउन भनेर गएका तीन बालिकाको मृत्यु भएको खबर आएपछि प्रहरी पुगेको जानकारी दिनुभयो । तीन जना बालिका बिहान खाना खाएर ११ बजेतिर नुहाउन भनेर राप्ती नदीमा गएका थिए ।
नुहाउने क्रममा उनीहरू गहिरोमा पसेको अनुमान छ । तीनै जना बालिकाको शव पोष्टमर्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीको भनाइ छ ।