छबि पुरी /राप्ती पोष्ट
घोराही, कात्तिक । गढवा गाउँपालिका वडा नम्बर ७ मोतीपुरका महिलाहरु तरकारी उत्पादन गरेर आर्थिक रूपमा आत्मनिर्भर हुँदै गएका छन् । महिलाहरुले मेहनत र दृढसंकल्पका साथ कृषि क्षेत्रलाई आफ्नो मुख्य आयस्रोत बनाएपछि उनीहरुको जीवनमा धेरै परिवर्तन हुँदै गएको छ ।
गढवा गाउँपालिका वडा नम्बर ७ मोतीपुरकी अनिता चौधरी हरेक दिन गढवा बजारमा तरकारी बिक्रि गर्न आउनुहुन्छ । उहाँले बाह्रै महिना तरकारी उत्पादन गर्नेदेखि बिक्रि गर्ने काममा व्यस्त हुने गर्नुभएको छ । घरको काम सकाएर यत्तिकै बस्नु भन्दा आफुसँग भएको जमीनको कृषि उत्पादनमा लगाउन सके आफुलाई पनि हुने अनि उपभोक्तालाई बिक्रि गरेर राम्रो आम्दानी लिन सकिने भएपछि केही वर्षदेखि उहाँ कृषिजन्य बस्तु उत्पादनदेखि बजारीकरणमा व्यस्त हुने गर्नुभएको छ । यो पटक उहाँले बारीमा रोप्नुभएको बदामले राम्रो आम्दानी दिएको छ । बारीबाट खनेर बजारमा लगेर सय रुपैयाँ प्रति किलाको दरले बिक्रि गर्नुभयो । यो वर्ष ५० हजार रुपैयाँको बदाम बिक्रि गर्नुभएको छ । बदामसँगै तोरीको हरियो साग पनि उहाँले उत्पादन गरेर बिक्रि गर्दै आउनुभएको छ ।
मोतीपुरको उब्जाउ जमिन र उपयुक्त जलवायुको फाइदा उठाउँदै उनीहरूले काउली, बन्दा, गोलभेंडा, भिन्डी, करेला, घिरौंला, सागलगायत विभिन्न तरकारीहरू उत्पादन गर्दै स्थानीय बजारमा विक्री गर्ने गरेका छन् । कृषि क्षेत्रबाट मात्र सीमित आम्दानी गरिरहेको अवस्थामा यी महिलाहरुले उत्पादन बढाएर थप आर्थिक समृद्धि हासिल गर्न थालेका छन् । सोही ठाउँकी शान्ति कुमारी चौधरीले पनि अनिताले जस्तै देनिक रुपमा आफुले उत्पादन गरेको तरकारी गढवा बजारमा लगेर बेच्नुहुन्छ । जसबाट उहाँलाई आम्दानी हुने गरेको छ । तरकारी उत्पादनका लागि आधुनिक प्रविधिको प्रयोग र जैविक खेती विधिलाई प्राथमिकता दिएपछि उत्पादनसँगै आम्दानी पनि बढेको शान्तिको भनाई छ ।
‘आधुनिक प्रविधिको प्रयोग र जैविक खेती विधिलाई प्राथमिकता दिएपछि उत्पादनको गुणस्तरमा वृद्धि ल्याएको छ । बाली संरक्षण, मलको उचित प्रयोग र सिँचाइ व्यवस्थापनले धेरै फाईदा पुगेको छ’, शान्तिले भन्नुभयो । मौसमी मात्रै होईन, यहाँका अधिकांश महिलाहरुले बेमौसमी तरकारी पनि फलाउँछन् । खेतबारीमा काम गर्न पुरुषले साथ दिन्छन् । उत्पादन भएको तरकारी बिक्रिका लागि महिलाहरु नै अघि सर्छन् । यसले उनीलाई व्यापार व्यवसायसँगै आम्दानी खर्चको लेखाजोखा गर्न सक्ने पनि बनाएको छ ।
तारादेवी चौधरीले तरकारी बिक्रि गरेर कमाउनु भएको पैसाले घर व्यवहार धानेको छ । छोराछोरी पढाउनेदेखि तरकारी फलाउँदा लागेको खर्च कटाएर बचत गर्ने काम पनि गर्दै आउनुभएको छ । तारादेवीले गाउँका अरु साथीहरुसँगै गढवा बजार पुगेर तरकारी बिक्रि गर्ने काम गर्नुहुन्छ । उनीहरुलाई तरकारी उत्पादन गर्नेदेखि बिक्रिको सफलता प्राप्तिका लागि कृषि प्राविधिकको सहयोग हुने गरेको छ । सहयोगी संस्था तथा गढवा गाउँपालिकाले पनि उनीहरुलाई बेलाबेला कृषि सम्बन्धी तालिमहरूमा सहभागी गराएर ज्ञान सीपदेखि आम्दानी खर्चको बारेमा ज्ञान दिएर वित्तीय साक्षरता प्रदान गर्ने गरेको छ । यसबाट उनीहरूको उत्पादन क्षमता वृद्धि भएको छ । वित्तीय व्यवस्थापन सबल बन्दै गएको भने परिवारको आर्थिक स्थिति पनि मजबूत हुँदै गएको छ ।
सोही ठाउँकी अर्का किसान हिरा चौधरीले अचेल साग, बोडी, भिन्डी, बदाम फलाउनु भएको छ । उत्पादन भएका ती सबै तरकारी गढवा बजारमा लगेर बेच्ने गर्नुहुन्छ । यसबाट उहाँलाई राम्रो आम्दानी भईरहेको छ । यो पटक उहाँले सबैभन्दा धेरै तोरीको हरियो साग बेचेर फाईदा भएको छ । तरकारी बिक्रीबाट हुने आम्दानीले उनीहरूले घर खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार तथा अन्य आवश्यकताहरू पूरा हुने गरेको अर्का किसान संगीता चौधरीले बताउनुभयो । कृषि क्षेत्रमा अग्रसरता देखाउँदा यसले आत्मविश्वास र सामाजिक प्रतिष्ठा पनि वृद्धि गरेको संगीता बताउनुहुन्छ । तरकारी उत्पादन गर्दै आर्थिक रुपमा आत्मनिर्भरता हासिल गर्न थालेपछि जीवनमा धेरै सकारात्मक परिवर्तन हुँदै गएको उहाँले बताउनुभयो ।
‘निरन्तरको मेहनत, इच्छाशक्ति र दृढ संकल्पले तरकारी उत्पादनबाट राम्रो आम्दानी गर्न सक्षम बनाएको छ । जसले गाउँको कृषि क्षेत्रमा समेत एक सकारात्मक परिवर्तन ल्याएको छ’ संगीताले भन्नुभयो । महिला सशक्तीकरण र आर्थिक उन्नतिको बाटोमा लाग्न मोतीपुरमा महिलाहरु समुहमा आवद्ध भएर आयआर्जनका आधार बारे जानकारी लिने मात्रै नभई वित्त व्यवस्थापनका बारेमा सुसूचित हुने अवसर पाउने गरेका छन् । ‘हामीले तरकारी रोप्ने बेलादेखि फलाएर बिक्रि गरेर आम्दानी गर्दासम्मको सबै खर्च र आम्दानी गरेपछिको नाफाका बारेमा हिसावकिताव राख्छौँ । कति नाफा भयो, कति खर्च भयो सबै कुराको बारेमा हामीले यकिन गर्ने गरेका छौँ । यसले हामीलाई आफुले गरिरहेको हरेक कामको वास्तवकि अवस्था बारे जानकारी हुने गरेको छ’ संगीताले भन्नुभयो ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै समग्र गाउँपालिकाको विकासमा योगदान पुर्याईरहेको उनीहरुको विश्वास छ । स्थानीय उत्पादनलाई स्थानीय बजारबाट बिक्रि व्यवस्थापन गर्न गढवा गाउँपालिकाले अहिले हाट बजारको पनि व्यवस्था गरेको छ । गढवा तरकारी उत्पादक किसानलाई तरकारी बिक्रीका लागि बजार खोज्दै धाउनुपर्ने बाध्यतालाई ध्यानमा राखेर अहिले कृषि उपज संकलन केन्द्रबाट बिक्री गर्ने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो । तरकारीको बजार खोज्न भौतारिनुपर्ने स्थानीय किसानलाई अहिले सामुहिक बजारीकरण र संकलन केन्द्रले सुविधा थपेको उहाँले बताउनुभयो ।
गढवा गाउँपालिकामा तरकारी तथा पशुपंक्षी उत्पादक किसानलाई लक्षित गरेर सामूहिक बजारीकरण र कृषि उपज संकलन केन्द्र स्थापना गरिएपछि कृषक अझ उत्साहित भएका छन् । गढवा गाउँपालिका र हेफर इन्टरनेशनलको संयुक्त लगानीमा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ । जुन संकलन केन्द्र किसानहरुको बजार केन्द्रको रुपमा विकास गर्ने योजना अनुसार सामूहिक बजारीकरण अभियान थालिएको गाउँपालिका अध्यक्ष पोख्रेलले बताउनुभयो । गढवा गाउँपालिकाको १५ लाख र हेफर इन्टरनेशनलको पाँच लाख गरी २० लाखको लागतमा कृषि उपज संकलन केन्द्र निर्माण गरिएको छ ।