spot_img
spot_img

जिल्ला समन्वय समितिको आयोजना समीक्षा कार्यक्रम

तीन तहका सरकारबीच आपसी समन्वय बढाउनुपर्नेमा जोड

छवि पुरी /राप्ती पोष्ट

घोराही, भदौ । दाङका १० वटै पालिका र जिल्लामा रहेको सरकारी कार्यालयहरुको वार्षिक समीक्षा गोष्ठी शुरु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा बिहीबारदेखि घोराहीमा वार्षिक समीक्षा गोष्ठी शुरु भएको हो । दुई दिनसम्म चल्ने समीक्षा कार्यक्रममा जिल्लाका दशवटै पालिका र सरकारी कार्यालयका तर्फबाट गत बर्षका प्रगति समीक्षा गरिनेछ ।
समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको समीक्षाको उद्घाटन लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले गर्नुभएको थियो । गएको आर्थिक बर्ष २०८०÷०८१ को वार्षिक समिक्षा गोष्ठीमा जिल्लामा रहेका १० वटा स्थानीय तहसहित २८ वटा सरकारी कार्यालय समेत ३८ वटा निकायको वार्षिक प्रगति विवरणको जिल्ला स्तरीय समिक्षा गरिनेछ । समीक्षा कार्यक्रम अन्तरगत पहिलो दिनको १० वटै स्थानीय तह र १२ वटा सरकारी कार्यालयको समिक्षा गरिएको छ । बाँकी कार्यालयको समीक्षा आज शुक्रबार हुनेछ ।

सो अवसरमा स्थानीय तहले वार्षिक रुपमा सम्पन्न गरेका योजना तथा पूँजीगत खर्चको अवस्था बारेमा जानकारी गराएका थिए । यसैगरी, राजश्व संकलनको अवस्था, देखा परेका चुनौतिका बारेमा पनि जानकारी गराएका थिए । सो अवसरमा स्थानीय तहले स्थानीय तहसँग सम्बन्धित कानुन र मापदण्डहरुको निर्माण यथाशिघ्र हुन नसक्दा विभिन्न खालका नीतिगत समस्या भइरहेको बताएका छन् ।

सशर्त अनुदान भन्दा निर्शत अनुदानमा वृद्धि गर्न, स्थानीय तह कर्मचारीसँग सम्बन्धित स्थानीय कानुन जारी गर्नुपर्ने, नगरपालिका सरहको राजश्व गाउँपालिकाले पनि लिने भएकोले अनुदान र कार्यक्रमहरु नगरपालिका सरह प्रदान गर्नुपर्ने, मिल्दो विषयहरुमा साझा अवधारणा बनाई सघन अनुगमन तथा मुल प्रवाहिकरण गर्नुपर्नेलगायत तीन तहका सरकारबीच आपसी समन्वय र सहकार्यमा चाँडो अवलम्बन गर्न ध्यान दिनुपर्नेलगायत सुझाव स्थानीय तहले दिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री न्यौपानेले तीन तहका सरकार बीच आपसी समन्वय र सहकार्यबाट देश विकास र नागरिक हीत हुने कार्यक्रम र योजना कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । हालसम्म भए गरेका काम र अभ्यासको गम्भीर समीक्षा गर्दै उत्पादन र रोजगारमुलक क्षेत्रमा सरकारको लगानी हुनुपर्ने बताउनुभयो । यसका लागि जिल्ला स्तरीय समिक्षाबाट निचोड निकाल्दै आगामी योजनामा समावेश गर्न आग्रह गर्नुभयो । उहाँले वार्षिक समीक्षालाई छ÷छ महिनामा गर्न सके अझ प्रभावकारी हुने बताउनुभयो ।

युवाहरुको बढ्दो विदेश पलायन रोक्ने स्पष्ट नीति ल्याउनुपर्नेमा उहाँको जोड थियो । युवा बिनाको देशमा उत्पादन भएका बस्तुको सही खपत हुन नसक्ने भन्दै युवाहरुको सिर्जनशीलता पनि विदेशमा जाँदा राष्ट्रलाई थप घाटा लाग्ने बताउनुभयो । ‘युवालाई स्वरोजगार बनाएर यहीँ रोक्नुपर्छ, सीपमुलक तालिम दिएर मात्रै पुग्दैन’ उहाँले भन्नुभयो ‘आत्मनिर्भर हुने र देशलाई माथि उकास्ने सीप दिने अभियानमा तीन तहका सरकारको ध्यान जानुपर्छ । यसका लागि जसको जे कुराको भूमिका हुनुपर्ने हो त्यो हुनुपर्छ ।’

यसैगरी उहाँले स्थानीय तहले आफुले पाएको संवैधानिक अधिकारको स्पष्ट पहिचान गरेर कार्यान्वयनमा लाग्नुपर्ने बताउनुभयो । स्थानीय तहको एकल अधिकारभित्र रहेका कुरालाई कार्यान्वयन गरेर जनजीविका माथि उकास्न लाग्नुपर्ने बताउनुभयो । ‘सडक सञ्जाल पुगेका ठाउँमा विकासका आयामलाई जोड्नुपर्छ । ग्रामीण क्षेत्रका उत्पादित बस्तुलाई बजारसँग सहज रुपमा जोडेर आयआर्जनको बलियो माध्यमको विकास गर्नुपर्छ । जनतालाई विकाससँगै उत्पादनमा जोडेर लैजानु आजको आवश्यकता हो’ उहाँले भन्नुभयो ।

कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले समीक्षा कार्यक्रमको औपचारिकतामा मात्रै अलमल गर्न नहुने बताउनुभयो । उहाँले जिल्लाका पालिकाहरु मध्य राम्रो गर्नेलाई पुरस्कृत गर्ने सम्मको योजना ल्याउन सुझाव दिनुभयो । दाङ जिल्लाको विकासका लागि एकिकृत रुपमा अघि बढ्नुपर्ने भन्दै जिल्लाको विकासका लागि गुरुयोजना आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले लुम्विनी प्रदेशको राजधानी दाङ जिल्लामै रहेको सन्दर्भमा विकासको स्पष्ट खाका आवश्यक रहेको बताउनुभयो । उहाँले कर्मचारी संयन्त्रले विकास निर्माणका बारेमा ध्यान दिनु पर्ने बताउनुभयो । दाङ जिल्लाबाट पनि मन्त्रीहरु बनेको भन्दै मन्त्रीहरुलाई परिभाषित काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा उपस्थित उद्योग मन्त्री न्यौपानेलाई लुम्विनी प्रदेशमा उद्योगको विकासका लागि काम गर्न सुझाव दिनुभयो । उहाँले बुटवलमा रहेको धागो कारखाना देखि अन्य जिल्लामा रहेका उद्योग हरुको विकासका लागि ध्यान दिन आग्रह गर्नुभयो । सरकारले एकै खालको नीति नल्याउदा आफूहरुले दुःख पाइरहेको उहाँले सुनाउनुभयो । अहिले विकासमा बेथिती देखिएको भन्दै दैनिक दुईचारवटा सवारीका साधन चल्ने सडकमा पिच गर्न खोज्ने प्रवृत्ति बढेको भन्दै यस्तोमा सरकारले स्पष्ट रुपमा कानुन बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जिल्लाको विकासका लागि जिल्ला समन्वय समितिको भूमिका बढाउनु सुझाव दिनुभयो । दाङ जिल्लामा रहेका दशवटै पालिकालाई जिल्लाको विकासका लागि एकिकृत रुपमा अघि बढ्नुपर्ने उहाँको सुझाव थियो । सोही अवसरमा राजपुर गाउँपालिका उपाध्यक्ष धनपतिदेवी यादवले माथिल्लो सरकारले सवै पालिकालाई एकै नगरले नहेरेको गुनासो गर्नुभयो । उहाँले पछि परेका पालिकालाई विकासमा अघि बढाउन सोही अनुसार योजना बनाउनुपर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । कार्यक्रममा नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष सन्तोष सुवेदी लगायत बोल्नुभएको थियो ।

जिल्ला समन्वय समिति उपप्रमुख चेतना चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको जिल्ला समिक्षा गोष्ठीको सञ्चालन कार्यालयकी नायब सुब्बा विमला पाण्डेले गर्नुभएको थियो । जिल्ला समन्वय समितिले आयोजना गरेको समीक्षा कार्यक्रममा समीक्षा कम र प्रस्तुती राख्ने काम मात्रै भएको गुनासो कतिपय सहभागीको थियो । पालिका र कार्यालयले आफूले गरेका कामहरुको प्रस्तुती राख्ने काम मात्रै भएको भन्दै सहभागी पालिकाका प्रतिनिधिहरुले जिल्ला समन्वय समितिले गम्भिर रुपमा समीक्षाको बातावरण बनाउनुपर्ने बताएका थिए ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार