छबि पुरी/राप्ती पोष्ट
घोराही, असार । दाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना बनेको छ । जिल्लाका १० वटै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरिएपछि बिहीबार जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला बनेको हो ।
जिल्ला खोप समन्वय समिति अध्यक्ष एवम् जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा एक कार्यक्रम गरी खोपको सुनिश्चिततासँगै यसको दिगोपनाका लागि सबै पक्षले काम गर्ने प्रतिवद्धतासहित घोषणा गरिएको हो ।
जिल्लालाई पूर्ण खोेप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै जिल्ला समन्वय समिति प्रमुख शर्माले भन्नुभयो, ‘नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रुपमा स्थापित गरेको छ, त्यसमा बालबालिकालाई अनिवार्य खोप पनि मौलिक अधिकारभित्रकै कुरा हो, नेपाल सरकारको स्वास्थ्य रणनीतिलाई कार्यान्वयनमा ल्याउन स्वास्थ्य क्षेत्रसँगै स्थानीय जनप्रतिनिधिको पनि अहम् भूमिका रहन्छ, खोप लगाएर सुनिश्चित त भयो अब सबैले यसको दिगोपनामा ध्यान दिनुपर्छ ।’
उहाँले नेपाल सरकारले लिएको यो लक्ष्यलाई पूरा गर्न सबै तह र तप्का निरन्तर लाग्नुपर्ने बताउनुभयो । स्वस्थ शरीर नै व्यस्त जनशक्तिको मुख्य आधार भएको भन्दै उहाँले रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनका लागि नेपाल सरकारले ल्याएको अभियानलाई सबैले आत्मसात गर्न पनि आग्रह गर्नुभयो । बालबालिकाहरुलाई खोप गर्भदेखि ‘मौलिक हक’ भएको भन्दै सबैलाई खोपको पहुँचमा पुर्याउन सचेत गराउनुभयो । जिल्ला खोप समन्वय समिति सदस्य सचिव एवम् स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगदबहादुर शाहीले जन्मेदेखि १५ महिनासम्म लगाउने खोप सबैले लगाइसकेको प्रमाणिकरणसमेत भैसकेपछि गरिएको यो अभियानलाई अब दिगोपन बनाउन ध्यान दिनुपर्ने बताउनुभयो ।
‘हामीले दैनिक काम गरे जस्तै खोप अभियानलाई लिनुपर्छ, हाम्रा बच्चा जन्मि रहन्छन्, खोप जारी रहन्छ,’ उहाँले भन्नुभयो, ‘यो अभियान सफल बनाउन स्थानीय तह सहित स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयमसेविकाहरुको अहम् भुमिका रह्यो आगामी दिनमा पनि निरन्तर हुनु जरुरी छ ।’ गत वर्ष ४ पालिका मात्रै पूर्ण खोप सुनिश्चित भएको स्मरण गराउँदै उहाँले कोरोनाले असर गर्दा सम्भव नभएपनि यो पटक ढिलै भएपनि सफल भएको बताउनुभयो ।
‘यो पटक पनि बैशाख, जेठमा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी गरिएको थियो’ उहाँले भन्नुभयो, ‘अब आउने माघदेखि शुरु गरेर बैशाखमा पालिकालाई खोप सुनिश्चि घोषण गरि समय मै काम सक्ने छौँ ।’ स्वास्थ्य कार्यालयले सो उमेर समूहमा लगाउनुपर्ने खोप लगाएको वा छुटेकालाई २३ महिनासम्म पनि सबै खोप लगाएको प्रमाणिकरणसहितको तथ्यांक सार्वजनिक गरेपछि सबै पालिकाहरु पूर्णखोप सुनिश्चित पालिका बनेका थिए ।
यसअघि स्वास्थ्य कार्यालय दाङका प्रमुख तथा स्थानीय पालिकाका प्रमुखहरुले दिएको खोप विवरणको जानकारीका आधारमा जिल्ला समन्वय प्रमुख शर्माले खोप सुनिश्चितताको प्रमाणपत्र दिनुभएको थियो ।
असारको ३ गते राप्ती गाउँपालिकालाई जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरेसँगै शुरु भएको पालिका स्तरीय पूर्ण खोप सुनिश्चित घोषणा अभियान अन्तर्गत असार २६ गते बबईलाई सबैभन्दा पछि पूर्ण खोप सुनिश्चित घोषणा गरिएको थियो । सबै पालिका पूर्ण खोप सुनिश्चित भएसँगै जिल्लालाई घोषणा गरिएको हो । प्रदेश सरकारले खोप सुनिश्चितताका लागि थालेको अभियानले प्रदेशका सबै जिल्लालाई यसरी नै खोप सुनिश्चित गर्न थालिएको छ । कार्यक्रममा स्वास्थ्य निर्देशनालय बुटवलका प्रतिनिधि गणेशप्रसाद सापकोटाले अब खोप संस्था कहाँ छ भन्दै बालबालिकालाई खोप लगाउने गरी उत्प्रेरण जगाउन अभिभावकलाई सचेत बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार, जिल्लालाई पूर्ण खोप सुनिश्चितता भनेको आफैमा प्रतिवद्धता कार्यक्रम रहेकाले आगामी दिनमा यसको निरन्तरतामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
‘खोप संस्था कहाँ छ भन्दै खोज्न आउने गरी अभिभावकलाई अब सचेतना जगाउनु पर्नेछ,’ उहाँले भन्नुभयो, ‘जिल्लालाई पूर्ण खोप सुनिश्चितता भनेको प्रतिवद्धता कार्यक्रम पनि हो । यसको आगामी रणनीतिलाई विशेष ध्यान दिन जरुरी छ ।’
पालिकाहरुमा जन्मेदेखि १५ महिनासम्म लगाउने खोप सबैले लगाइसकेको प्रमाणिकरणसमेत भैसकेको छ । सबै पालिकाहरु पूर्णखोप सुनिश्चित पालिका भएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चित गरिनु आफैमा ठूलो उपलब्धी भएको अन्य वक्ताहरुको भनाई थियो ।
युनिसेफ प्रतिनिधि शिव सुवेदीले खोप अभियानमा छुटेकाहरु सहभागी गराउन सबैले भुमिका खेल्नुपर्ने बताउनुभयो । अहिलेसम्म गरिएको अभ्यासमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुको उल्लेख्य साथ सहयोग मिलेको भन्दै आगामी दिनमा भ्याक्सिन सेन्टरहरु गुणस्तरीय बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भ्याक्सिन सेन्टरहरु गुणस्तरीय बनाउन जरुरी रहेको छ । यसमा स्थानीय सरकारले साथ दिनुपर्छ । त्यसका लागि खोप केन्द्रहरु अब डिजिटल युक्त बनाउन पालिकाले ध्यान दिनुपर्छ । यसले खोपको तथ्यांक विश्वसनीय बनाउन सकिन्छ ।’
उहाँका अनुसार खोप अभियान संचालन गर्दा ग्रामीण भेगमा भन्दा बजार क्षेत्रमा बढी चुनौति रहेको छ । गाउँमा खोप बारे व्यापक जानकारी हुने हुँदा छुटेकाहरुलाई सहभागी गराउन सहज हुने भएपनि बजार क्षेत्रमा भने सूचना र सचेतना पुर्याउन कठिन हुने भएपछि खोप अभियानमा लक्षित समुह छुट्ने गरेको बताउनुभयो । ‘गाउँमा भन्दा बजारमा खोप अभियान सफल बनाउन गाह्रो छ,’ उहाँले भन्नुभयो, ‘कोशिस गर्दा गर्दै पनि बजारका बालबालिका खोप लगाउन छुट्ने रहेछन्, यसमा अब विशेष ध्यान दिनुपर्छ ।’
यस्तै, जिल्लाका सबै पालिकाहरुले नेपाल सरकारले ल्याएका सबै स्वास्थ्य कार्यक्रमहरुलाई पालिकाले पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् । त्यसका लागि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने पनि उनीहरुको अभिव्यक्ति रहेको थियो । समृद्ध पालिका निर्माणका लागि स्वस्थ जनशक्ति आवश्यक हुने आफूले परिकल्पना गरेको पनि स्थानीय पालिकाले जनाएका छन् । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नबाट बच्नु नै उच्चतम विकल्प भएको भन्दै नेपाल सरकारले लागू गरेका स्वास्थ्य रणनीतिलाई पूर्णरुपमा कार्यान्वयन गराउन सबैको साथ र सहयोगको अपेक्षा पनि पालिकाहरुको भनाई थियो ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम रेग्मी, दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीलगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय दाङका शाखा अधिकृत वामदेव शर्माले गर्नुभएको थियो ।