छबि पुरी/राप्ती पोष्ट
घोराही, असार । उच्च शिक्षा अध्ययनसँगै छात्राबास सुविधाका लागि बजेट कतौटी गरिएको भन्दै मुक्त कमलरीहरुले छात्रवृत्तिको माग गरेका छन् । मुक्त कमलरी विकास मञ्चको आयोजनामा बुधबार घोराहीमा पत्रकार सम्मेलन गर्दै मुक्त कमलरीहरुले शिक्षा र छात्राबास व्यवस्थाको लागि राज्यले आफुहरुको सेवा सुविधा कटौतीसँगै अन्य सेवाबाट पनि वन्चित गर्दै गएको हुँदा अबिलम्ब सेवा दिन माग गरेका हुन् ।
मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय सचिव निर्मला चौधरीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा संघ र प्रदेश सरकारले विनियोजन गरिएको बजेटमा पनि कमलरी शब्द समेत हटाईएको प्रति गुनासो गरेका छन् । समाजकी संस्थापक अध्यक्ष मन्जिता चौधरीले राज्यले उपेक्षा गरेकै कारण विगत दुई वर्षयता मुक्त कमलरीहरुका नाममा बजेट आउन नसकेको बताउनुभयो ।
उहाँले विगतमा सरकारसँगै गरिएको १० बुँदे सहमति मध्ये ३ बुँदा मात्रै कार्यान्वयनमा आएको जानकारी गराउँदै अरु काम पनि चाँडो कार्यान्वयनको माग गर्नुभयो । उहाँका अनुसार, हालसम्म ४ हजार ९३४ जना मुक्त कमलरीले परिचय पत्र पाएपनि ७ हजार ८३५ जना परिचय पत्र पाउनबाट वन्चित हुँदा अनेकन समस्या भोग्न बाध्य भएको बताउनुभयो ।
यस्तै, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ जिनुवा गाउँकी मुक्त कमलरी आशा चौधरीले आफुले पाउदै आएको छात्रवृत्ति रकम नआउँदा पटठनपाठनमा समस्या भएको बताउनुभयो । पढाइ छाड्ने कि कहाँ जाने भन्ने समस्या भएको बताउँदै उच्च शिक्षाका लागि कसरी आर्थिक श्रोत जुटाउने भन्ने अन्यौल रहेको उल्लेख गर्नुभयो ।
आशा अहिले स्नातक तहको दोस्रो बर्षमा अध्ययन गर्नुहुन्छ । देउखुरी बहुमुखी क्याम्पस लमहीमा उहाँले व्यवस्थापन विषय लिएर अध्ययन गर्दै आइरहनुभएको छ । तर पैसाको अभाव हुँदा पढाई छुट्ने होकि भन्ने चिन्तामा आशालाई लागेको छ । पैसा नहुँदा उहाँले पुस्तक किन्न सक्नुभएको छैन । परीक्षा हुने समय आउन लागिसकेको छ । उहाँको परीक्षा अबको एक महिाा पछि हुने भएको छ । यस्तो अवस्थामा उहाँलाई शारीरिक भन्दा मानसिक तनाव बढेको छ । कक्षा १२ सम्म सरकारले मुक्त कमलरी छात्राहरुलाई छात्राबृत्ति दिने गर्छ ।
आशा पनि सोहि छात्राबृत्तिले १२ कक्षासम्मको अध्ययन सहज रुपमा गर्नुभयो । बस्ने, खानेदेखि पढाई खर्च सबै सरकारले नै बोहो¥यो । लमही १ नर्तीमा रहेको ‘लावाजुनी छात्राबास’मै बसेर उहाँले १२ कक्षासम्म अध्ययन पूरा गरेर हाल स्नातक तहको अध्ययनमा जुट्नु भएको छ । तर १२ कक्षा पास भइसकेपछि उहाँलाई बस्नेदेखि पढाई गर्नसम्म निकै समस्या भएको छ । सरकारले १२ कक्षा पास भएपछि छात्राबृत्ति दिदैन । जसले गर्दा उनलाई समस्या भएको हो । ‘घरमा कमाउने कोहि छैन । छात्राबृत्ति आउन छाडेपछि समस्यामा छौँ,’ आशाले भन्नुभयो, ‘अरु भन्दा पनि पढाई रोकिने होकि भन्ने चिन्तामा छौँ ।’
यस्तै, घोराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीकी अंगिता चौधरीले हिजोको दासताबाट माथि उठेर अघि बढ्न संघर्ष गरिरहे पनि राज्यले आफुहरुको घाँटी निमोठ्ने काम गरिरहेको आरोप लगाउनुभयो । उहाँले उच्च शिक्षा अध्ययनका लागि राज्यले की रोजगारी दिनुपर्ने कि छात्रवृत्ति दिनुपर्ने माग गर्नुभयो ।
लावाजुनी छात्रावासमा बसेर बढ्दै गरेका १७ जनालाई विशेष गरी पढ्न समस्या भइरहेको छ । ३६ जना बस्दै आएको छात्राबासमा १९ जनालेको छात्रवृत्तिबाट आफ्नो खर्च धान्न बाध्य भएका छन् । अंगिताले भन्नुभयो, ‘हामीले जीवनभर सेवा दिनुस् भनेका होईनौँ, पढाई लेखाई देउ, नभए रोजगारी गरेर आत्मननिर्भर बनाई देऊ मात्रै भनेका हौँ, यो पनि नगर्ने त्यो पनि नगर्ने अनि हामी कहाँ जाने ?’
पत्रकार सम्मेलनमा सहभागी मुक्त कमलरीहरुले आफुको. माग सम्बोधन नभए सडक संघर्ष गर्ने चेतावनी पनि दिएका छन् । दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुरमा गरी २७७ जना मुक्त कमलरीहरुलाई उच्च शिक्षामा समस्या भईरहेको छ । त्यसमध्ये अधिकांशका अभिभावक नहुँदा उनीहरु मानसिक रुपमा पनि प्रताडित भएका छन् ।
‘घरमा पठाउने कहाँ पठाउने, घर छैन । कमैया बसेका, बुवाआमा नभएकालाई लिएर यहाँ राखिएको छ,’ मुक्त कमलरी विकास मञ्च दाङकी केन्द्रीय सचिव निर्मला चौधरीले भन्नुभयो । उहाँका अनुसार मुक्त कमलरीकहरुका लागि अब सीपसहितको पुनस्र्थापनाका लागि सरकारले योजना बनाउनुपर्ने हुन्छ ।
शिक्षालाई पहिलो प्राथमिकतामा राख्दै आत्म निर्भरको बाटोमा अग्रसर गराउन सकेमा सिमित मुक्त कमलरीहरुले हरेक वर्ष उही माग पूरा गरिदेऊ भन्दै संघर्ष गर्नुपर्ने बताउनुभयो । मुक्त कमलरी विकास मञ्चका अनुसार १२ हजार ६ सय ६९ जना मुक्त कमलरी सदस्य संख्या रहेको छ । जसमा सबैभन्दा धेरै दाङका रहेका छन् ।