छबि पुरी/राप्ती पोष्ट
घोराही, असार । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङको आयोजनामा भुमे पर्व सुरु भएको छ । पाँच दिनसम्म मनाइने पर्वको पूर्व सभामुख ओनसरी घर्तीले बुधबार उद्घाटन गर्नुभयो । पर्व उद्घाटन गर्दै घर्तीले नेपालको लोकतान्त्रिक संविधान जारी भएको लामो समय भईसक्दा पनि पूर्ण कार्यान्वयनमा आउन नसक्नु दुखद रहेको बताउनुभयो ।
नेपालको बहुल जाति, भाषा, धर्म संस्कृतिको जगमा स्थापित संविधानको उपभोगका लागि नेपाली जनताले गरेको त्याग तपस्या र बलिदानीको सम्मानका लागि पनि संविधान पूर्ण कार्यान्वयन हुनुपर्ने भएपनि त्यसो हुन नसक्नु्मा देशीविदेशी तत्वहरुको हस्तक्षेप भएको दावी गर्नुभएको छ । नेपाल मगर संघ जिल्ला समन्वय समिति दाङले भूमे पर्वको अवसरमा बुधबार घोराहीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै घर्तीले नेपाली जनताले चाहेको नेपाल बनाउने अभियान स्वरुप स्थापित संविधान पूर्ण कार्यान्वय नहोस् भन्ने अदृश्य शक्तिकै कारण नेपालमा बारम्बार विभिन्न खालका चलखेल भईरहेकाले सबै चनाखो बन्नु पर्ने बताउनुभयो । ‘हामीले लामो संघर्षपछि संविधान सभाबाट अग्रगामी संविधान जारी गर्न सफल भएका छौँ,’ उहाँले भन्नुभयो, ‘तर, कार्यान्वयमा अझै अनेकन चुनौति देखा परेको छ, यसमा देशीविदेशी अदृश्य शक्ति केन्द्रहरु लागि परेका छन् ।’
उहाँले भूमे पर्व मगर जातिको पहिचान भएकाले यसको महत्वलाई आगामी पुस्तासम्म जोड्न सबै लाग्नुपर्ने बताउनुभयो । मगर जातिको पहिचान र अस्तित्वका रुपमा रहेको भूमे पर्व आफैमा विशाल महत्व बोकेको हुँदा राज्यले पनि यसलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । ‘पहिले पहिले हामीले लगाउने गादो भांग्रोको निकै उपेक्षा गर्दथे, अहिले यसकै महत्व बढेर गएको छ । गादो भांग्रो लगाएको देखे गवाँर भन्ने गर्दथे’ उहाँले भन्नुभयो, ‘अहिले यसको महत्व कति रहेछ भन्ने सबैले बुझ्दै गएका छन् । वास्तवमा मगर जातिको पहिचान पनि यही नै हो, अहिले हरेक गतिविधिमा यही पोशाकको प्रयोग बढेको छ ।’
जेठ महिनाको मसान्तको अन्तिम दिन बुकी फुल्ने लेकमा गएर विधि बन्धनका साथ टिपेको बुकी फुल र भेडाको बली दिइ पुजा गरेपछि मात्र नाचगान सुरु गर्ने गरेको भन्दै उहाँले आफ्नो बाल्यकाल पनि स्मरण गर्नुभयो । रोल्पाको थवाङ भूमे पर्वको विशेष थलो भएको बताउँदै उहाँले आफ्नो विगतका अनुभव पनि सुनाउनुभयो ।
भूमे नाचमा दमाह, सहनाइ, ट्याम्की, छिल्लर र नरसिंहा बाजा बजाउँदै स्यामुनाको लयमा गीत गाउँदै नाच्ने गरेकोमा आफु पनि त्यसमा हिस्सा लिएको बताउनुभयो । यस्तै, संगठनात्मक रुपमा २०६५ सालदेखि यसको बिस्तारमा आफु लागेको अवगत गराउनुभयो । कार्यक्रममा विभिन्न जिल्लाबाट पनि मगर समुदायका व्यक्तिहरु भूमे पर्व मनाउन दाङ आउनुभएको छ । औपचारिक कार्यक्रममा उहाँहले आआफ्नो भनाई राख्नुभएको थियो ।
यसैबीच, दाङमा पाँच दिनसम्म भव्यताका साथ भूमे पर्व मनाइदैछ । बुधबारदेखि पाँच गतेसम्म यो पर्व मनाउने गरी योजना बनेको नेपाल मगर संघ दाङका अध्यक्ष खलु पुन मगरले जानकारी दिनुभयो । कोरोनाका कारण २ वर्ष यता मनाउन नपाइएको भूमे पर्व यसबर्ष भव्य कार्यक्रम गरेर मनाईएको छ । अब पर्वको असार पाँच गते लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले समापन गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै, नेपाल मगर संघ दाङले भुमे पर्वको अवसरमा आज भूमे नाच प्रतियोगिताको आयोजना गरेको छ । चार समुहमा बिभाजन गरेर आयोजना गरिने भएको छ । १४ वर्ष भन्दा कम उमेर समूहको एउटा, १५ देखि २५ वर्ष उमेरका समुह, २६ देखि ६० वर्ष उमेर समुहका र ६१ देखि माथिका उमेर समूह बनाएर प्रतियोगिता गरिएको हो । मगर संघका जिल्ला उपाध्यक्ष डिल्ली घर्तीको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सञ्चालन सचिव मुक्त बुढाले गर्नुभएको थियो ।