राप्ती पोष्ट
घोराही, जेठ । देशभर स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आइरहेको छ । सात सय ५३ वटा पालिकामध्य अधिकांशको नतिजा आइरहदा कयौं पालिकामा पहिले जितेकाले हारेका छन् । कतै पहिले हारेकाले जितेका छन् । निरन्तर जित्नेहरुको संख्या पनि रहेको छ ।
२०५४ सालको निर्वाचनमा जित हासिल गरेका केही प्रतिनिधिहरुले २०७४ र हालैको निर्वाचन पनि जितेका छन् । यद्दपी यो संख्या निकै कम सख्यामा रहेको छ । घोराही उपमहानगरपालिकामा लगातार वडाध्यक्षका रुपमा एकजना मात्रै जित हासिल गर्नुभएको छ । यस्तै दुई जना वडाध्यक्ष पहिलो पटक गाविसको उपाध्यक्ष भएर २०७४ सालको निर्वाचनमा वडाध्यक्ष भएकाहरु हुनुहुुन्छ ।
२०५४ सालको निर्वाचनमा तत्कालिन रामपुर गाविसको अध्यक्षका रुपमा निर्वाचित हुनुभएको थियो नरुलाल चौधरी । २०७४ सालको निर्वाचनमा विपक्षी भन्दा पाँच हजार मतान्तरले जित्नुभएका चौधरीले यसपटकको निर्वाचनमा पनि करिव सोही मतान्तरमा जित हासिल गर्नुभएको छ । देशका ११ वटा उपमहानगरपालिका मध्य धेरैको ध्यान तानेको घोराही उपमहानगरपालिकाको प्रमुखमा नरुलाल चौधरी विजयी भइरहदा उहाँको यो तेस्रो जित हो ।
२०५४ सालको स्थानीय निर्वाचन हुनु अघि उहाँ रेडियो नेपालको सुर्खेत प्रशारण केन्द्रमा थारु भाषाको समाचार बाचकका रुपमा हुनुहुन्थ्यो । विए सम्मको अध्ययन गरेको र राजनीतिक रुपमा नेतृत् वगर्न सक्ने देखेपछि तत्कालिन अवस्थामा स्थानीय नेताहरुले नरुलाललाई गाविसको अध्यक्षका रुपमा अघि सारेका थिए । २०४९ सालको निर्वाचनमा दाङ जिल्लामा नेकपा एमालेले बहिस्कार गर्नुपर्ने अवस्था आएको थियो । तत्कालिन निर्वाचनलाई नेपाली काँग्रेसले एकलौटी रुपमा घोषणा गर्ने सम्मको दुष्प्रयास गरेपछि नेकपा एमालेले मतदान प्रक्रियामा सहभागि नहुने निर्णय गरेको थियो् । २०५४ सालमा भने अवस्था फरक रह्यो । जिल्लामा रहेका ३९ गाविस र दुईवटा नगरपालिकामध्य नेकपा एमाले एक्लैले २८ वटा गाविस र दुईवटा नगरपालिकामा जित हासिल गरेको थियो । त्यहिमध्यको एउटा गाविस रामपुरमा नरुलालले सानदार रुपमा निर्वाचन जित्नुभएको थियो ।
२०५४ सालको निर्वाचनपछि पाँच बर्षमा हुनुपर्ने निर्वाचन भएन । पालिकाहरु जनप्रतिनिधि विहीन भए । २०७२ सालमा संविधान सभाको निर्वाचन भएपनि २०७४ सालमा स्थानीय तहको निर्वाचन हुने भयो । त्यतिवेला घोराहीमा धेरै मानिस आकांक्षीका रुपमा थिए । त्यतिवेला नेकपा एमालेका नेता शंकर पोखरेलले नै नरुलाल चौधरीलाई उमेदवार बनाउनुपर्ने बताउनुभयो । त्यतिवेला पोखरेलले भन्नुभएको थियो ‘नरुलाल जिले इमान्दारिताका साथ काम गर्नुहुन्छ । उहाँले धेरै राम्रो गर्न नसक्नुहोला तर नराम्रो चाँही गर्नुहुन्न ।’ नभन्दै त्यस्तै भयो घोराहीमा नरुलालको कार्यकालमा ठूलै उथल पुथल भएन तर उहाँले विगार्ने काम केही पनि गर्नुभएन । जनताको प्रतिनिधिका रुपमा इमान्दारिताका साथ काम गर्नुभयो । जसको फलस्वरुप उहाँलाई देशकै सवैभन्दा धेरै जनसंख्या भएको उपमहानगरपालिकाका जनताले मतदान गरेर पुनः मेयरमा निर्वाचित गराए ।
२०७४ सालको निर्वाचनमा २२ हजार ३० मत सहित चौधरीले जित हासिल गर्नुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी हुनुहुन्थ्थो नेपाली काँग्रेसका भुपवहादुर डाँगी । डाँगीले १७ हजार चार सय ८४ मत प्राप्त गर्नुभएको थियो । दुवैको बीचमा चार हजार पाँच सय ४६ मतको अन्तर थियो । यो बीचमा घोराहीमा करिव ३५ हजार नयाँ मतदाता थपिए । सवैको ध्यान नयाँ मतदाताको निर्णय तिर थियो । निर्वाचनमा करिव ६७. ६९ प्रतिशत मत खस्यो । एक लाख १२ हजार नौ सय २७ कुल मतदाता रहेकोमा ७६ हजार पाँच सय ५२ मत खसेको थियो । मत संख्याका आधारमा धेरैले ३० देखि ३५ हजार मत ल्याउनेले जित्ने अनुमान गरिसकेका थिए । नभन्दै नरुलालको मत ३० हजार भन्दा धेरै अर्थात ३१ हजार सात सय २८ आयो ।
यसरी नरुलाल पहिलो पटक गाविसको र दुई पटक उपमहानगरपालिकाको प्रमुख बन्नुभयो । घोराहीमा ड्याम बनाएर पानी जम्मा गर्ने, विभिन्न स्थानमा राम्रा सडक बनाउने, शिक्षा, स्वास्थ्य र खेलकुदको क्षेत्रमा गरेको कामको जस दिंदै घोराहीबासीले उहाँलाई पुनः निर्वाचित गरेका छन् । उहाँसंग २०७४ सालको निर्वाचनमा चार हजार पाँच सय ४६ मतले पराजित हुनुभएका नेपाली काँग्रेसका भुपवहादुर डाँगी यसपटक उपप्रमुखमा गठवन्धनका तर्फबाट उमेदवार बन्नुभएको थियो । अघिल्लो पटक भन्दा यसपटक उहाँको मत बढ्यो । ३० हजार तीन सय ५४ मत आएपनि जितका प्रर्याप्त भएन । ४९ मत बढी ल्याएर नेकपा एमालेकी हुमा डिसी विजयी हुनुभयो ।
पाण्डेको तेस्रो जित
रामपुर गाविस हुँदा राममणि पाण्डेयले उपाध्यक्षमा जित्नुभएको थियो । अध्यक्ष नरुलाल चौधरी र उपाध्यक्ष पाण्डेले गाविसको विकासका लागि निकै राम्रो काम गरेको चर्चा अहिले पनि चल्ने गरेको छ । २०७३ सालमा घोराही उपमहानगरपालिका भएपछि रामपुर दुईवटा वडामा विभक्त भयो । वडा नं. १ पाण्डेको क्षेत्र भयो भने चौधरीको क्षेत्र वडा नं. २ भयो । वडा नं. १ मा कसलाई उमेदवार बनाउने भन्ने बारेमा धेरै छलफल गर्नै परेन । पहिले उपाध्यक्ष हुँदा भन्दा अहिले वडाध्यक्ष भएर गर्ने काम धेरै र अधिकार धेरै भएपछि पाण्डेले वडाध्यक्ष हुने योजना बनाउनुभयो । त्यतिवेला पाण्डेले जित्ने करिव निश्चित थियो । मात्रै कति मतान्तरले जित्ने भन्ने थियो । त्यतिवेला पाण्डेले एक हजार नौ मत प्राप्त गर्नुभयो । काँग्रेसका किशोर पाण्डेले तीन सय ३८ र माओवादीका थपबहादुर डाँगीको दुई सय ४२ मत आयो ।
यसपटक पाँच दलिय गठवन्धन हुँदा गठवन्धनका तर्फबाट वडा माओवादीको भागमा प¥यो । अघिल्लो निर्वाचनमा दुवै पार्टीले पाएको मत जोड्दा पाँच सय ८९ हुन्थ्यो । मतदाता संख्या केही बढेको भएपनि गठवन्धनले त्यति हिम्मत गरेर वडा जित्ने कुरा गरेको थिएन । नभन्दै नतिजा त्यस्तै आयो । पाण्डेले एक हजार पाँच सय ९२ मत ल्याउँदा गठवन्धनका तर्फबाट उमेदवार बन्नुभएका माओवादी केन्द्रका मेघबहादुर खड्काको चार सय १४ मत आयो । यसरी पाण्डेले लगातार तेस्रो पटक जित हासिल गर्नुभयो । पटक पटक मत संख्या बढ्दा पाण्डेको लोकपृयता कति रहेछ भनेर अनुमान गर्न सकिन्छ ।
लामिछाने लगातार
२०५४ सालमा भएको स्थानीय निर्वाचनमा कुलबहादुर लामिछाने साविक हापुर गाविसको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो । राज्यको पुनःसंरचना हुँदा पालिकाहरु बढे । हापुर गाविस त्रिपुर नगरपालिका हुँदै घोराही उपमहानगरपालिका आइपुग्यो । त्यतिवेलाको हापुर गाविसको अधिकांश भाग र नारायणपुर गाविसकाको केही भाग घोराही ११ भयो । २०५४ मा उपाध्यक्ष भइसकेको मानिस वडाध्यक्षमा आउने कि नआउने भन्ने थियो । त्यतिवेला र अहिले कामको जिम्मेवारी निकै फरक रहेकाले लामिछानेलाई उठाउने निर्णय पार्टीले ग¥यो । उहाँ २०७४ सालमा उमेदवार बन्नुभयो । विपक्षी भन्दा निकै बढी मतले उहाँले जित्नुभयो ।
२०७४ सालमा भएको निर्वाचनमा लामिछानेले एक्लै एक हजार तीन सय सात मत ल्याउनुभएको थियो । उहाँका प्रतिष्पर्धी नेपाली काँग्रेसका कमल गौतमको आठ सय ३९ मत थियो भने माओवादी केन्द्रका प्रकाशचन्द्र विकको मत दुई सय ७९ थियो । यसपटक गठवन्धन हुँदा पनि कुलबहादुरलाई जित्ने आँट थिएन । निर्वाचनको परिणाम पनि त्यस्तै आयो । लामिछानेले एक हजार आठ सय २२ मत ल्याउनुभयो । गठवन्धनका तर्फबाट उमेदवार बन्नुभएका नेपाली काँग्रेसका नुमाकान्त दाहालले एक हजार दुई सय ७२ मत प्राप्त गर्नुभयो । निर्वाचनमा विपक्षीले जस्तो आफूले खर्च गर्ने सामर्थ नराखेकाले केही अफ्ठेरो अवस्था आएको भएपनि मतदाताले आफूलाई विश्वास गरेको लामिछानेको भनाई छ । उहाँले ल्याएको मतका कारणले नेकपा एमालेलाई प्रमुख र उप प्रमुख जित्नका लागि निकै सहयोग पुगेको बताइन्छ ।
भरतको पुनः कसरत
घोराही नगरपालिकाको वडा नं. ६ बाट २०५४ सालमा भरत अर्याल निर्वाचित हुनुभएको थियो । त्यसपछि निर्वाचन भएन । निर्वाचन नहुँदा र जनप्रतिनिधि विहिन हुँदा अर्याल आफ्नो वडाका नागरिकको समस्या समाधानमा लागिरहनुभयो । कोही विरामी पर्दा लखनउ लग्नुपर्ने हुँदा वा काठमाडौं पुराउँदा होस अर्यालको साथ रह्यो । सदरमुकाममा कुनै काम प¥यो भने वडाबासीले सँझने नाम नै भरत अर्यालको थियो । जनप्रतिनिधीका रुपमा नहुँदा पनि उहाँलाई फुर्सद भएन । काममा लागिरहनुभयो ।
२०७३ सालमा साविक घोराहीको वडा नं. ५ र ६ लाई जोडेर वडा नं. १८ बनाइयो । २०७४ सालको निर्वाचनमा घोराही उपमहानगरपालिको मेयरमा उहाँको दावी थियो । वडाध्यक्ष पुनः नउठ्ने बरु मेयर हुने उहाँको चाहना पुरा भएन । पछि नेकपा एमालेका नेता शंकर पोखरेलले नै अर्याललाई वडा छोडन् नहुने सुझाव दिनुभयो । पार्टीको सल्लाह अनुसार नै अर्याल निर्वाचनमा होमिनुभयो । निर्वाचनमा घरदैलोमा हिड्दा वडा नं. ५ मा केही मेहनत गर्नुपरेको थियो । तर उहाँले निर्वाचन जित्नुभयो । एक हजार दुई सय ८९ मत सहित अर्यालले जित्दा माओवादी केन्द्रका सतबहादुर रोकाले आठ सय ९४ र नेपाली काँग्रेसका दिनेश अधिकारीले आठ सय ५४ मत प्राप्त गर्नुभयो ।
यस पटकको निर्वाचनमा गठवन्धन हुँदा धेरैलाई वडा नं. १८ गठवन्धनले लग्छ कि भन्ने लागेको थियो । अघिल्लो निर्वाचनमा काँग्रेस र माओवादीले पाएको मत एक हजार सात सय ४८ थियो जवकी अर्यालले पाएको मत चार सय ५९ कम थियो । निर्वाचनमा गठवन्धनसंग भिड्नका लागि अर्याल तयार हुनुभयो । बस्ती बस्तीमा निर्वाचन अभियान चल्यो । घर घरमा गएर उहाँले मत दिनुहोस मलाई जिताउनुहोस भन्नुभएन । आपूmले गरेको काम जनताका बीचमा छर्लङ्ग रहेको र चिनजान गर्नुपर्ने अवस्था पनि नरहेकाले मतदाताका घरका ढोकामा गएर नमस्कार भन्दै मत नमागेको अर्यालको प्रतिक्रिया थियो । ‘सवैले चिन्नुभएको छ थाहा पाउनुभएको छ, के मत मागिरहनुप¥यो र ?’ नभन्दै उहाँले गठवन्धनलाई चुनौती दिंदै एक हजार छ सय ६७ मतले जित्नुभयो । गठवन्धनका तर्फबाट मधुसूदन अधिकारीले एक हजार पाँच सय ५७ मत प्राप्त गर्नुभयो । अर्यालले व्यक्तिगत रुपमा पनि मत पाएको देखिन्छ । यसरी घोराही उपमहानगरपालिकाको वडा नं. १८ मा अर्याल पुनः निर्वाचित हुनुभयो । घोराही उपमहानगरपालिकामा निर्वाचित हुनेमध्य लगातार तेस्रो पटक निर्वाचित हुनेहरुमा चौधरी, पाण्डेय, लामिछाने र अर्याल हुनुहुुन्छ । १९ वडा रहेको घोराहीमा ९७ सदस्यीय नगर सभामा नेकपा एमालेको अत्यधिक बहुमत रहेको छ ।