शरद अधिकारी
नेपालको राजनीतिक इतिहासलाई गहिरिएर हेर्ने हो भने कम्युनिष्ट आन्दोलन केवल एउटा दलगत अभ्यास मात्र होइन, सामाजिक रूपान्तरणको एउटा दीर्घकालीन परियोजना जस्तो देखिन्छ । नागरिकलाई बैचारिक रुपमा सक्षम बनाउँदै समाज रुपान्तरणको अभियानमा हिडाउनका लागि कम्युनिष्टहरुको भूमिका संझिनै पर्ने खालको रहेको छ । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीले २०१५ सालको पहिलो संसदीय निर्वाचनमै आफ्नो उपस्थिति जनाउनु केवल एउटा चुनावी सफलता थिएन, त्यो वैचारिक चेतनाको प्रारम्भिक सार्वजनिक अभिव्यक्ति थियो । त्यसयता कम्युनिष्ट आन्दोलनले अनेक उतार–चढाव पार गर्दै, कहिले प्रतिबन्ध, कहिले विभाजन, कहिले सत्तारोहण त कहिले सडक संघर्षको यात्रा तय गरेको छ । यही यात्राले नेपाली समाजको राजनीतिक चेतनामा गहिरो प्रभाव छोडेको छ । पुष्पलालले राणा विरोधी अभियान संचालन गर्नका लागि गठन गरेको कम्युनिष्ट शक्ति गणतन्त्र स्थापनाको दौडसम्म आइपुग्दा अनेकन उतार चढाव व्यहोरेको छ । विरोधीलाई हत्यासम्म गर्न पछि नपर्ने राणाहरुको सत्तालाई चुनौति दिने ति व्यक्तिहरुको सहासलाई शिरोपर गर्दै कम्युनिष्ट पार्टी स्थापना गरिएको थियो । राणाहरुले दवाउन नसकेको कम्युनिष्ट शक्ति पंचायती व्यवस्थाको दमनमा झनै बढी शक्तिशाली भएर आएको इतिहास साक्षी छ । पञ्चायती व्यवस्थाको लामो कालखण्डमा कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा दमनमा परे पनि समाप्त भने भएन । बरु, त्यो कालखण्डले कम्युनिष्टहरूको संघर्षशील चरित्रलाई अझ धारिलो बनायो । प्रतिबन्धित अवस्थामा पनि उनीहरूले जनतासँगको सम्बन्धलाई निरन्तरता दिए । कहिले स्वतन्त्र उम्मेदवारको रूपमा, कहिले सांस्कृतिक अभियानमार्फत, त कहिले भूमिगत आन्दोलनको माध्यमबाट उनीहरूले आफ्नो उपस्थिति कायम राखे । संसदमा पुगेपछि सत्ताको मात्र आलोचना गर्ने होइन, व्यवस्थाकै आधारभूत चरित्रमाथि प्रश्न उठाउने साहस कम्युनिष्टहरूमा थियो । यही कारणले उनीहरू केवल राजनीतिक दल नभएर परिवर्तनको प्रतीक बने । चाहे त्यो पद्मरत्न तुलाधरले काठमाडौंबाट निर्वाचन जितेर पंचायती व्यवस्थाको विरुद्धमा शंखनाद गरेको विषय होस या रुपचन्द्र विष्टले थाहा अभियान चलाएर नागरिकलाई थाहा चाहियो भन्दै राज्यसत्तालाई खवरदारी गरेको विषय नै किन नहोस । सवै नागरिकका पक्षमा गरिएका वकालत थिए ।
२०४६ सालको जनआन्दोलनपछि बहुदलीय व्यवस्था पुनःस्थापित हुँदा कम्युनिष्टहरू सशक्त रूपमा उदाए । विपी कोइराला जो कम्युनिष्ट भएर पछि काँग्रेस स्थापना गर्ने अवस्था आउनुभयो उहाँ कम्युनिष्टहरु मिल्न नचाहने तर पुष्पलालको विचार बोकेका मदन भण्डारी लगायत प्रधानशत्रुलाई परास्त गर्नका लागि अरुसंग मिलेर जानुपर्छ भन्ने । तत्कालिन बाममोर्चा र नेपाली काँग्रेसका बीचमा सहकार्य भएपछि नै २०४६ सालमा प्रजातन्त्र आयो । पंचायती व्यवस्थाको अन्त्यपछि बनेको अन्तरिम सरकार हुँदै २०४८ सालको निर्वाचनमा आउँदा कम्युनिष्ट सत्ताबाट प्रमुख प्रतिपक्षमा पुगेका थिए । कम्युनिष्टका रुपमा नेकपा एमाले र तत्कालिन संयुक्त जनमोर्चाले संसदमा खेलेको खवरदारीपूर्ण भूमिका इतिहासमा सुनौलो गरी लेखिसकिएको छ । त्यतिवेला कम्युनिष्टहरुले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरे । त्यसपछि क्रमशः उनीहरू सत्ताको केन्द्रतर्फ उन्मुख भए । २०५१ सालमा भएको मध्यावधी निर्वाचनबाट अल्पमत सरकार गठन गर्दै उनीहरूले शासन सञ्चालनको अनुभव पनि हासिल गरे । यस अवधिमा कम्युनिष्टहरू केवल आन्दोलनकारी शक्ति मात्र नभएर शासन सञ्चालन गर्न सक्ने वैकल्पिक शक्ति पनि हुन् भन्ने सन्देश जनतामा स्थापित भयो । २०५१ सालमा मनमोहन अधिकारीले नेतृत्व गरेको सानो र छरितो आकारको मन्त्रिमण्डलले नेपालको इतिहासमै सुधार र आमुल परिवर्तनका कार्यक्रम संचालन गरेको थियो । त्यसपछि एमालेको सरकार ढलाउन काँग्रेसले पंचायती व्यवस्थाका सारथीहरुलाई सत्ताको बुइमा चढायो । काँग्रेसलाई ढलाउन एमालेले राप्रपालाई विभाजन गरेर सत्तामा पुग्यो । जसका विरुद्ध लडिएको हो त्यहि शक्तिको भक्तिगान गाउँदा नै कम्युनिष्टहरुको अवस्था विग्रदै गएको थियो । आफ्नो पहिचानलाई भुलेर सत्तामा जाने मात्रै होइन जसरी पनि जाने सिद्धान्त अवलम्वन गर्दा कम्युनिष्टको अवस्था क्षयिकरण तर्फ गएको हो ।
राजनीतिक यात्राको सबैभन्दा चुनौतीपूर्ण मोड २०६३ सालपछि सुरु भयो । जनआन्दोलन, शान्ति प्रक्रिया र २०६४ सालको संविधानसभा निर्वाचनले नेपालको राजनीतिक संरचनामा आमूल परिवर्तन ल्यायो । यस परिवर्तनमा कम्युनिष्ट शक्तिहरू अग्रपंक्तिमा थिए । विशेषतः माओवादी धाराको उदयले कम्युनिष्ट आन्दोलनलाई अभूतपूर्व उचाइमा पु¥यायो । त्यो समय यस्तो देखिन्थ्यो, अब नेपालमा कम्युनिष्ट आन्दोलन स्थायी रूपमा स्थापित हुनेछ । १० बर्ष सशस्त्र युद्ध गरेको माओवादीले पाएको अभूतपूर्व सफलताले नेपाललाई नयाँ उचाईमा पु¥याउने विश्वास गरिएको थियो । आफ्नो खास धरातल नवुझेर आकासतर्फ कुद्दा माओवादीको सत्ता त ढल्यो नै संगै नयाँ भएर आएको शक्तिप्रतिको विश्वास स्खलित हुँदै गयो । अर्को विडम्बना के भयो भने, भनिन्छ ‘जहाँबाट उत्कर्ष सुरु हुन्छ त्यहि बिन्दुबाट पतनको बीउ उम्रिन थाल्छ’ । २०६४ पछिका वर्षहरूमा यही दृश्य देखियो । सत्ता समीकरणको खेलमा वैचारिक स्पष्टता क्रमशः कमजोर हुँदै गयो । सिद्धान्तभन्दा सत्ताको गणित महत्वपूर्ण बन्न थाल्यो। परिणामस्वरूप, कम्युनिष्ट आन्दोलनको आत्मा नै क्षीण हुन थाल्यो । कम्युनिष्ट आन्दोलनको मूल शक्ति यसको विचार र आचरणमा निहित हुन्छ । तर जब विचार केवल नारामा सीमित हुन्छ र आचरण व्यवहारमा देखिँदैन, तब त्यो आन्दोलनको विश्वसनीयता घट्न थाल्छ । नेपालमा यही भयो । जसले आफूलाई परिवर्तनको संवाहक ठानेका थिए, उनीहरू नै पुरानै शैलीको सत्ताकेन्द्रित राजनीतिमा रमाउन थाले । यसले जनतामा गहिरो निराशा पैदा ग¥यो । संविधान निर्माणका लागि भनेर जनमत पाएको शक्ति सत्ताका लागि जे पनि गर्ने अवस्थामा पुग्यो । एउटा हदसम्म जनताले विश्वास गरे । तर जव हद पार ग¥यो तव जनताको विश्वासको पारो तल झ¥यो ।
आजको अवस्थामा आइपुग्दा एउटा गम्भीर प्रश्न उठेको छ कि कम्युनिष्ट र तथाकथित बुर्जुवा शक्तिबीच के फरक बाँकी छ ? जब नीति, कार्यक्रम, नेतृत्वको जीवनशैली र व्यवहारमा समानता देखिन्छ, तब जनताले फरक छुट्याउन सक्दैनन् । यही कारणले कम्युनिष्टहरूको वैचारिक पहिचान धमिलिँदै गएको छ । पछिल्ला निर्वाचनहरूमा देखिएको परिणाम पनि यही संकेत गर्छ । कम्युनिष्ट शक्तिहरू एक समय जसरी जनताको पहिलो रोजाइ थिए, आज त्यस्तो अवस्था छैन । उनीहरू विभाजित छन्, आन्तरिक द्वन्द्वमा छन् र जनताबाट क्रमशः टाढिँदै गएका छन् । यसको ठाउँमा नयाँ प्रकारका राजनीतिक शक्तिहरू उदाउँदै छन्, जसले आफूलाई वैकल्पिक शक्तिका रूपमा प्रस्तुत गरिरहेका छन् । जव सारा सिद्धान्त भुलेर बैचारिक रुपमा विपरित अवस्थामा रहेका शक्तिहरु पालै पालो सत्ताको सिंढीमा चढ्न थाले तव देखि समस्या गहिरिदै गयो । समस्या अग्लो हुँदै गयो । खासगरी २०७४ सालको निर्वाचनमा ठूला कम्युनिष्ट शक्तिका रुपमा रहेका एमाले र माओवादी मिलेर निर्वाचनमा गए । त्यतिवेला काँगे्रसको अवस्था सिला खोल्नुपर्ने थस्तो भएको थियो । एउटै पार्टी बनाउने भनेर निर्वाचनमा लडेका एमाले र माओवादी एक त भए तर त्यो एकता कृतिम भयो । जसले गर्दा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर नयाँ म्याण्डेडका लागि जानुपर्ने अवस्था आयो । अदालतले निर्वाचनमा जान नदिएपछि संसदमै रहेका दलहरु जोडजाड गरेर सरकार गठन गर्ने काममा लागे । दिन गरेर सत्तामा बस्ने कार्यले बैचारिक रुपमा सवैलाई स्खलित गरायो । २०७९ सालमा भएको नियमित निर्वाचनसंगै विश्व राजनीतिमा देखिएको लोकप्रियतावादको प्रभाव नेपालमा पनि देखियो । जनताको असन्तुष्टि, बेरोजगारी, भ्रष्टाचार र सुशासनको अभावजस्ता मुद्दालाई उठाउने मात्रै होइन पुराना शक्तिहरूलाई गाली गर्ने शक्तिले समर्थन पाउने थाल्यो । जसले गर्दा बैचारिक पाटो कमजोर हुँदै गयो ।
यतिवेला निर्वाचनको जुन परिणाम आयो त्यसले एउटा गहिरो प्रश्न उठाएको छ त्यो के भने अव कम्युनिष्ट आन्दोलन वास्तवमै समाप्त हुँदैछ ? कि यो केवल रूपान्तरणको प्रक्रियामा छ ? समाजवाद हुँदै साम्यवादको विचार बोकेर हिडेका कम्युनिष्टहरु इतिहासमै संकटको अवस्थामा पुगेका त होइनन ? इतिहासले देखाउँछ कि कुनै पनि विचारधारा पूर्ण रूपमा समाप्त हुँदैन । त्यो समयअनुसार परिवर्तन हुन्छ, रूपान्तरित हुन्छ । नेपालमा कम्युनिष्ट आन्दोलनको भविष्य पनि यही सन्दर्भमा बुझ्नुपर्छ । यदि यसले आफ्ना कमजोरीहरूको इमान्दार समीक्षा गर्न सक्यो भने, पुनर्जागरण सम्भव छ । तर यदि आत्मसमीक्षाबाट टाढा रह्यो भने, पतनको गति तीव्र हुन सक्छ । सबैभन्दा पहिलो आवश्यकता वैचारिक पुनर्निर्माणको हो । आजको विश्व २० औँ शताब्दीको विश्व होइन । प्रविधिको तीव्र विकास, डिजिटल अर्थतन्त्र, विश्वव्यापीकरण, जलवायु संकट, युवा पुस्ताको बदलिँदो आकांक्षा जस्ता विषयले नयाँ राजनीतिक भाष्यको माग गरेका छन् । कम्युनिष्ट आन्दोलनले यी विषयलाई आफ्ना सिद्धान्तसँग जोड्न सकेको छैन । पुराना नाराले नयाँ पुस्तालाई आकर्षित गर्न सक्दैन । अर्को महत्वपूर्ण कुरा भनेको संगठनात्मक संस्कृति हो । अव पुरानो तरिकाको संगठनात्मक संस्कृतिले होइन कि यसमा आमूल परिवर्तन आवश्यक छ । कम्युनिष्ट दलहरूभित्र देखिएको गुटबन्दी, व्यक्तिवाद र नेतृत्वकेन्द्रित राजनीति आन्दोलनको सबैभन्दा ठूलो कमजोरी बनेको छ । जब संगठनभित्र नै लोकतन्त्र हुँदैन, तब बाहिर लोकतन्त्रको कुरा गर्नु अर्थहीन हुन्छ । त्यसैले आन्तरिक लोकतन्त्र, पारदर्शिता र उत्तरदायित्वलाई व्यवहारमा लागू गर्नुपर्छ । नेतृत्वलाई केन्द्रिकृत गर्ने कम्युनिष्टहरु बहुपदमा जाँदा सांगठनिक रुपमा अराजकता मौलाउँदै गएको हो कि भन्ने देखिएको छ ।
यसका लागि कम्युनिष्टहरुले जनतासँगको सम्बन्ध पुनःस्थापित गर्नु अपरिहार्य छ । कम्युनिष्ट आन्दोलनको आधार सधैं श्रमिक, किसान र निम्नवर्गीय जनता थिए । तर आज ती वर्गहरूसँगको सम्बन्ध कमजोर हुँदै गएको छ । नेता र कार्यकर्ता सहरकेन्द्रित भएका छन्, जनजीवनबाट टाढिएका छन्। यस्तो अवस्थामा आन्दोलनको जरा नै कमजोर हुन्छ । हिजोका दिनमा कम्युनिष्टका नेताको जीवनशैली हेरेर मानिसले यो हाम्रो पक्षमा काम गर्ने नेता हो भन्ने लाग्थ्यो । आज त्यो पूर्ण रुपमा बदलिएको छ । बरु सम्पन्न मानिसले पो आफ्नो पक्षमा काम गर्ला कि भनेर आशा गर्नुपर्ने अवस्था आएको छ । यो पूँजीवादी व्यवस्था हो । पूँजीवादी व्यवस्थामा सर्वहारावर्गलाई यस्तो लाग्नु स्वभाविक कुरा हो । त्यसो भए अव के के गर्ने त ? यतिवेला नैतिकता र आचरणको प्रश्न अत्यन्त गम्भीर बनेर आएको छ । कम्युनिष्ट आन्दोलनको शक्ति केवल विचारमा मात्र होइन, त्यसको नैतिक आधारमा पनि हुन्छ । जब नेतृत्व नै भ्रष्टाचार, अवसरवाद र सुविधाभोगी प्रवृत्तिमा लिप्त हुन्छ, तब आन्दोलनको नैतिक आधार कमजोर हुन्छ । त्यसैले व्यवहारमा सुधार बिना कुनै पनि वैचारिक पुनर्जागरण सम्भव छैन ।
कम्युनिष्ट आन्दोलन जोगाउने हो भने मौलिकताको खोज अत्यावश्यक छ । नेपालले न त सोभियत मोडेललाई जस्ताको तस्तै अपनाउन सक्छ, न त चिनियाँ मोडेललाई अंगिकार गर्न सक्छ । नेपालको आफ्नै सामाजिक संरचना, सांस्कृतिक विविधता र ऐतिहासिक अनुभव छ । त्यसैका आधारमा नयाँ राजनीतिक विचार विकास गर्नुपर्छ। यही मौलिकता नै भविष्यको आधार बन्न सक्छ । नेपालमा कम्युनिष्ट आन्दोलनको अर्को चुनौती भनेको वैचारिक स्पष्टताको अभाव हो । समाजवाद भनेको के हो भन्ने विषयमै स्पष्टता छैन । कतिपयले यसलाई समान वितरणको सिद्धान्तका रूपमा बुझ्छन् भने कतिपयले सामाजिक न्यायको अवधारणासँग जोड्छन् । यस्तो अस्पष्टताले आन्दोलनलाई कमजोर बनाउँछ । संविधानमा समाजवादतर्फ जाने कुरा गरिएको छ । समाजवाद कसरी आउँछ भन्ने बारेमा जनतालाई बुझाउँदै त्यो दिशामा अघि बढ्नुपर्ने थियो जुन हुन सकेन । एउटा व्यक्ति बर्षौसम्म नेतृत्वमा बस्दा नेतृत्व जाम भएको अवस्था रह्यो । यसकारणले गर्दा नेतृत्वको प्रश्न उत्तिकै महत्वपूर्ण छ । नयाँ पुस्ताको नेतृत्व तयार गर्न नसक्नु कम्युनिष्ट आन्दोलनको ठूलो कमजोरी हो । पुरानै नेतृत्वले लामो समयसम्म संगठन नियन्त्रण गर्दा नयाँ सोच र ऊर्जा प्रवेश गर्न सकेको छैन । यसले आन्दोलनलाई जड बनाएको छ ।
नेपालको वर्तमान राजनीतिक सन्दर्भमा हेर्ने हो भने कम्युनिष्ट आन्दोलन पूर्ण रूपमा समाप्त भएको छैन । अझै पनि यसको संगठनात्मक संरचना बलियो छ, जनाधार पूर्ण रूपमा हराएको छैन । तर चुनौती गम्भीर छ । यदि समयमै सुधार गर्न सकिएन भने, यो क्रमशः कमजोर हुँदै जानेछ । कम्युनिष्ट आन्दोलनको भविष्य केवल उनीहरूको हातमा मात्र छैन, जनताको अपेक्षासँग पनि जोडिएको छ । आजको जनता सचेत छ, प्रश्न गर्छ, उत्तर खोज्छ । केवल नाराले सन्तुष्ट हुँदैन । त्यसैले कम्युनिष्टहरूले पनि आफ्नो भाषा, शैली र दृष्टिकोण परिवर्तन गर्नुपर्छ । नेपालमा कम्युनिष्टहरूको भविष्य एउटा मोडमा उभिएको छ । एकातिर विगतको गौरवशाली इतिहास छ, अर्कोतिर वर्तमानको चुनौतीपूर्ण यथार्थ । यी दुईबीच सन्तुलन कायम गर्दै नयाँ मार्ग खोज्नु नै आजको आवश्यकता हो । यदि कम्युनिष्टहरूले आफ्नो मौलिकता पुनःस्थापित गर्न सके, जनतासँगको सम्बन्ध पुनः निर्माण गर्न सके, र विचारलाई व्यवहारमा उतार्न सके भने उनीहरूको भविष्य अझै पनि उज्यालो हुन सक्छ । तर यदि उनीहरू आत्मसमीक्षाबाट टाढा रहे, पुरानै शैलीको राजनीतिमा रमाइरहे भने इतिहासले उनीहरूलाई क्रमशः किनारामा धकेल्नेछ । हार्दा पराजयको कारण अनेकन खोज्ने तर जरोमा पुग्न नसक्ने । जित्दा जितको दम्भ पलाउने कारणले गर्दा नेपालका कम्युनिष्टहरुलाई प्रश्न गर्दा पनि जवाफ आउँदैन । तर समयले फेरि प्रश्न सोधिरहेको छ, के नेपालका कम्युनिष्टहरू आफूलाई पुनःपरिभाषित गर्न तयार छन् ? यदि छन् भने भविष्य उनीहरूको पक्षमा हुन सक्छ । यदि छैनन् भने, उनीहरू केवल इतिहासको एउटा अध्याय बनेर सीमित हुनेछन् । कम्युनिष्ट आन्दोलनको वास्तविक परीक्षा यतिवेला सुरु भएको छ । सत्ता प्राप्त गर्नु सजिलो थियो, तर विश्वास पुनःप्राप्त गर्नु कठिन छ । यही चुनौती स्वीकार गर्न सक्ने हो भने मात्र कम्युनिष्टहरूको भविष्य सुनिश्चित हुन सक्छ । sharadreetu@gmail.com




