spot_img
spot_img

धारापानी धाम’लाई उत्कृष्ट गन्तव्य बनाउन समितिले ल्यायो यस्तो बृहत योजना

राप्ती पोष्ट

दाङ, बैशाख । घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर (धारापानी धाम) लाई धार्मिक तथा पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने गरी योजना सार्वजनिक गरिएको छ । महाभारत तथा रामायणकालीन सभ्यतासँग जोडिएको विश्वास गरिएको यो धामलाई व्यवस्थित पूर्वाधार, प्रचारप्रसार र दीगो व्यवस्थापनमार्फत राष्ट्रियस्तरको आकर्षक स्थलका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

धारापानी धाम व्यवस्थापन समितिको आइतबार आयोजित छैटौँ अधिवेशन तथा १७ औँ वार्षिक साधारणसभामा समितिका तर्फबाट विगतको समीक्षा गर्दै आगामी दिनका लागि गर्ने योजना सार्वजनिक गरिएको थियो । समितिले नेपालको मात्रै होइन अन्तर्राष्ट्रिय रुपमा पर्यटकहरुलाई आकर्षित गर्ने गरी योजना बनाएको छ । समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा सचिव विष्णु आचार्यले धामको वर्तमान अवस्था, विगतका गतिविधि र भावी योजनाबारे विस्तृत समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
मन्दिरका आजीवन ज्येष्ठ सदस्य ९१ वर्षीय पद्मप्रसाद अधिकारीले उद्घाटन गर्नुभएको साधारण सभामा समितिका उपाध्यक्ष शंकर गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा सचिव विष्णुराम आचार्यले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । कोषाध्यक्ष बोधीप्रसाद अधिकारीले करिब ९० लाखभन्दा बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्ययको विवरण सार्वजनिक गर्नुभएको थियो । साधारणसभामा मन्दिर व्यवस्थापन समितिका सचिवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनले मन्दिरको वर्तमान अवस्था, विगतमा भएका गतिविधि तथा भावी योजनाको विस्तृत चित्र प्रस्तुत गरिएको थियो । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको यस धामलाई व्यवस्थित र आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न पूर्वाधार तथा सांस्कृतिक योजनाहरू अघि सारिएका छन् ।
सचिवले प्रस्तुत गरेको प्रतिवेदनमा पाण्डबेश्वर महादेव मन्दिरको भौगोलिक अवस्थिति, ऐतिहासिक महत्व तथा धार्मिक आस्थासँग जोडिएको पृष्ठभूमि उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशको दाङ जिल्लामा अवस्थित यो धाम समुद्री सतहबाट करिब ६३३ मिटर उचाइमा रहेको छ । राजधानी काठमाडौँबाट करिब ४२९ किलोमिटर पश्चिम तथा लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट करिब ४७ किलोमिटर पश्चिममा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । उत्तरमा सरयू नदी, दक्षिणमा सुक्खा पहाड, पूर्वमा रन्का गाउँ र पश्चिममा धारापानी गाउँको बीचमा अवस्थित यस धामले धार्मिक तथा पर्यटकीय सम्भावनालाई एकैसाथ बोकेको छ ।
प्रतिवेदनमा मन्दिरको संस्थागत विकासबारे पनि उल्लेख गरिएको छ । वि.सं. २०६४ साल माघ १४ गते जिल्ला प्रशासन कार्यालय दाङमा विधिवत दर्ता भई संस्थागत स्वरूप प्राप्त गरेको यस मन्दिर व्यवस्थापन समितिले हालसम्म विभिन्न संरचनात्मक तथा धार्मिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । हाल समितिमा चार सय २१ जना आजीवन सदस्य, ९८ जना साधारण सदस्य र एक जना मानार्थ सदस्य रहेको बताइन्छ ।

सचिवका अनुसार पछिल्ला वर्षहरूमा मन्दिर क्षेत्रमा धार्मिक तथा आध्यात्मिक गतिविधिहरूलाई विशेष प्राथमिकता दिइएको छ । २०८० साल साउन महिनादेखि प्रत्येक दिन नियमित आरती र सोमबारका दिन बिशेष कार्यक्रम सञ्चालन हुँदै आएको छ, जसले स्थानीय भक्तजनहरूमा आध्यात्मिक चेतना अभिवृद्धि गर्न सहयोग पुगेको छ । साथै, आर्थिक अभावका बाबजुद पनि मन्दिर परिसरको सरसफाइ, संरचना सुधार, मूर्ति निर्माण तथा अन्य आवश्यक कार्यहरू सम्पन्न गरिएको जानकारी दिइएको छ ।
प्रतिवेदनमा पाण्डबेश्वर धामसँग जोडिएको ऐतिहासिक किंवदन्तीलाई पनि विशेष रूपमा प्रस्तुत गरिएको छ । महाभारतकालीन पाण्डवहरूले वनवासको क्रममा यस क्षेत्रमा आई शिवको आराधना गरेको र सोही आधारमा यस स्थानको नाम ‘पाण्डबेश्वर’ रहन गएको जनविश्वास रहेको छ । साधारणसभामा प्रस्तुत भावी योजनाअनुसार मन्दिर क्षेत्रको समग्र विकासका लागि सडक, पुल तथा खानेपानी व्यवस्थापनमा विशेष ध्यान दिइने भएको छ । घोराही–धारापानी सडकको स्तरोन्नति, जोखिमयुक्त पुलको मर्मत तथा नयाँ संरचना निर्माणका लागि पहल गरिने उल्लेख छ । त्यस्तै, विभिन्न धार्मिक स्थलहरूलाई जोड्ने पर्यटकीय मार्ग निर्माण, पदमार्ग सुधार, विश्रामस्थल तथा शौचालयको व्यवस्था, सुरक्षित खानेपानीको प्रबन्ध लगायतका योजनाहरू अघि सारिएका छन् । मन्दिर परिसरमा हरियाली प्रवद्र्धन, उद्यान निर्माण तथा सरोवर व्यवस्थापन गर्ने योजना पनि प्रतिवेदनमा समेटिएको छ ।
प्रस्तुत प्रतिवेदनअनुसार धारापानी धाम समुद्री सतहबाट करिब ६३३ मिटर उचाइमा अवस्थित छ । प्राकृतिक रूपमा हरियाली, शान्त वातावरण र धार्मिक आस्थाले भरिएको यो क्षेत्र उत्तरतर्फ सरयू नदी, दक्षिणतर्फ पहाडी भू–भाग, पूर्वतर्फ रन्का गाउँ र पश्चिमतर्फ धारापानी गाउँले घेरिएको छ । भौगोलिक अवस्थिति र प्राकृतिक सौन्दर्यले यस क्षेत्रलाई धार्मिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना उच्च रहेको जनाइएको छ ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार पाण्डवहरूले वनवासका क्रममा यस क्षेत्रमा आई शिव आराधना गरेको किम्वदन्ती प्रचलित छ, जसका कारण यस स्थानको नाम ‘पाण्डवेश्वर’ रहन गएको विश्वास गरिन्छ । यही ऐतिहासिक र धार्मिक पृष्ठभूमिले धामको महत्व अझ बढाएको छ । संस्थागत विकासतर्फ समितिले २०६४ सालमा विधिवत दर्ता भई नियमित रूपमा विभिन्न धार्मिक तथा सामाजिक गतिविधि सञ्चालन गर्दै आएको छ । हाल समितिमा आजीवन, साधारण तथा मानार्थ सदस्य गरी उल्लेख्य सहभागिता रहेको छ । समितिले नियमित बैठक, निर्णय प्रक्रिया र कार्यक्रम सञ्चालनमार्फत व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास गर्दै आएको जनाएको छ ।
पछिल्ला वर्षहरूमा धाममा धार्मिक तथा आध्यात्मिक गतिविधि विस्तार गरिएको छ जसले स्थानीय भक्तजनमा आध्यात्मिक चेतना अभिवृद्धि गर्न सहयोग पु¥याएको छ । साथै, मन्दिर परिसरको सरसफाइ, संरचना सुधार, मूर्ति निर्माण तथा अन्य आवश्यक कार्यहरू पनि निरन्तर अघि बढाइएको छ ।
साधारणसभामा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९÷०८० मा मन्दिरको कुल आम्दानी ९० लाख आठ हजार सात सय तीन रुपैयाँ रहेको छ भने सोही बराबर खर्च देखाइएको छ । प्रतिवेदनले आय–व्ययको सन्तुलन कायम गरिएको जनाउँदै पारदर्शिता र उत्तरदायित्वमा जोड दिएको छ । आम्दानीतर्फ दानपेटी, चन्दादान, शिवरात्रि मेला, जग्गा भाडा, बैंक ब्याज, पार्किङ तथा अन्य स्रोतहरूबाट उल्लेख्य रकम संकलन भएको देखिन्छ । त्यस्तै, खर्चतर्फ पुजारी तथा कर्मचारी तलब, निर्माण सामग्री खरिद, विद्युत खर्च, मेला व्यवस्थापन, पूजा सामग्री, मर्मत–सम्भार, सांस्कृतिक कार्यक्रम तथा विभिन्न पूर्वाधार निर्माणमा खर्च गरिएको उल्लेख गरिएको छ । प्रतिवेदनअनुसार मन्दिरले केही रकम बचत गर्न समेत सफल भएको छ, जसले आगामी योजनाहरू कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आर्थिक पारदर्शितालाई समेत प्राथमिकतामा राखिएको समितिले जनाएको छ । आयतर्फ दानपेटी, चन्दादान, मेला, बैंक ब्याज तथा अन्य स्रोतबाट रकम संकलन गरिएको छ भने खर्चतर्फ पूर्वाधार निर्माण, मर्मत–सम्भार, पूजा सामग्री, कर्मचारी तलब तथा अन्य व्यवस्थापनमा खर्च गरिएको विवरण प्रस्तुत गरिएको छ ।
साधारणसभामा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनले धारापानी धाम दाङकै प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्र बन्न सक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले यस धामको ऐतिहासिक महत्व महाभारत र रामायणकालीन सभ्यतासँग जोडिएको उल्लेख गर्दै यसको प्रभावकारी प्रचारप्रसार र योजनाबद्ध विकास भएमा दाङको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो ।
समितिका सल्लाहकार श्रीधर शर्मा पौडेलले विगत एक दशकमा धारापानी धामको विकास उल्लेखनीय रूपमा अघि बढेको बताउँदै यसमा स्थानीय समुदायको सक्रियता र सहकार्य महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले आगामी दिनमा अझ व्यवस्थित योजना र समन्वयमार्फत धामको विकासलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बायालडाँडा चौतारी क्लबका अध्यक्ष नारायण भुसाल, अम्बकेश्वरी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण अधिकारी, शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शरदकुमार आचार्य, समाजसेवी ऋषिराज जंगली, योगप्रशिक्षक प्रेम शाह तथा वडा नम्बर ५ का सदस्य भूमबहादुर गिरीलगायतले धारापानी धामको विकासका लागि साझा दृष्टिकोण र एकता आवश्यक रहेको धारणा राख्नुभयो । वक्ताहरूले धार्मिक पर्यटन प्रवद्र्धनका लागि धारापानी धामलाई घोराही तथा आसपासका अन्य धार्मिक स्थलहरूसँग जोडेर धार्मिक सर्किट निर्माण गर्नुपर्ने सुझाव दिएका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरूलाई प्रशंसापत्र तथा सम्मानपत्र प्रदान गरिएको थियो। साथै, कार्यसमितिका सक्रिय सदस्यहरूलाई सम्मान गर्दै उनीहरूको योगदानको कदर गरिएको थियो । समितिका सदस्य उमा चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव विष्णुराम आचार्यले गर्नुभएको थियो । साधारणसभाले धारापानी धामलाई धार्मिक आस्था, सांस्कृतिक संरक्षण र पर्यटन प्रवद्र्धनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिँदै सबै पक्षको सहकार्य अपरिहार्य रहेको निष्कर्ष निकालेको छ । स्थानीय सरकार, सरोकारवाला निकाय र समुदायबीच समन्वय गर्दै अघि बढेमा धारापानी धाम दाङकै मात्र नभई राष्ट्रियस्तरको प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने विश्वास गरिएको छ ।

नयाँ कार्यसमिति चयन गरिने

यसैबीच पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नयाँ कार्यसमिति चयन गरिने भएको छ । जसका लागि निर्वाचन प्रक्रिया अघि बढेको अधिवक्ता मणिराज आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार मनोनयन दर्ताका लागि आज सोमबारको समय तय गरिएको छ । निर्वाचन भने आगामी शनिबार हुनेछ ।
spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार