राप्ती पोष्ट
दाङ, बैशाख । घोराही उपमहानगरपालिका–५ धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिर (धारापानी धाम) लाई धार्मिक तथा पर्यटकीय दृष्टिले उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्ने गरी योजना सार्वजनिक गरिएको छ । महाभारत तथा रामायणकालीन सभ्यतासँग जोडिएको विश्वास गरिएको यो धामलाई व्यवस्थित पूर्वाधार, प्रचारप्रसार र दीगो व्यवस्थापनमार्फत राष्ट्रियस्तरको आकर्षक स्थलका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

धारापानी धाम व्यवस्थापन समितिको आइतबार आयोजित छैटौँ अधिवेशन तथा १७ औँ वार्षिक साधारणसभामा समितिका तर्फबाट विगतको समीक्षा गर्दै आगामी दिनका लागि गर्ने योजना सार्वजनिक गरिएको थियो । समितिले नेपालको मात्रै होइन अन्तर्राष्ट्रिय रुपमा पर्यटकहरुलाई आकर्षित गर्ने गरी योजना बनाएको छ । समितिका अध्यक्ष गणेशकुमार अधिकारीको अध्यक्षतामा भएको साधारण सभामा सचिव विष्णु आचार्यले धामको वर्तमान अवस्था, विगतका गतिविधि र भावी योजनाबारे विस्तृत समीक्षा प्रस्तुत गर्नुभएको थियो ।
मन्दिरका आजीवन ज्येष्ठ सदस्य ९१ वर्षीय पद्मप्रसाद अधिकारीले उद्घाटन गर्नुभएको साधारण सभामा समितिका उपाध्यक्ष शंकर गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अध्यक्ष अधिकारीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभामा सचिव विष्णुराम आचार्यले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । कोषाध्यक्ष बोधीप्रसाद अधिकारीले करिब ९० लाखभन्दा बढीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आय–व्ययको विवरण सार्वजनिक गर्नुभएको थियो । साधारणसभामा मन्दिर व्यवस्थापन समितिका सचिवले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनले मन्दिरको वर्तमान अवस्था, विगतमा भएका गतिविधि तथा भावी योजनाको विस्तृत चित्र प्रस्तुत गरिएको थियो । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको यस धामलाई व्यवस्थित र आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यका साथ विभिन्न पूर्वाधार तथा सांस्कृतिक योजनाहरू अघि सारिएका छन् ।
सचिवले प्रस्तुत गरेको प्रतिवेदनमा पाण्डबेश्वर महादेव मन्दिरको भौगोलिक अवस्थिति, ऐतिहासिक महत्व तथा धार्मिक आस्थासँग जोडिएको पृष्ठभूमि उल्लेख गरिएको छ । लुम्बिनी प्रदेशको दाङ जिल्लामा अवस्थित यो धाम समुद्री सतहबाट करिब ६३३ मिटर उचाइमा रहेको छ । राजधानी काठमाडौँबाट करिब ४२९ किलोमिटर पश्चिम तथा लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट करिब ४७ किलोमिटर पश्चिममा रहेको यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । उत्तरमा सरयू नदी, दक्षिणमा सुक्खा पहाड, पूर्वमा रन्का गाउँ र पश्चिममा धारापानी गाउँको बीचमा अवस्थित यस धामले धार्मिक तथा पर्यटकीय सम्भावनालाई एकैसाथ बोकेको छ ।
प्रतिवेदनमा मन्दिरको संस्थागत विकासबारे पनि उल्लेख गरिएको छ । वि.सं. २०६४ साल माघ १४ गते जिल्ला प्रशासन कार्यालय दाङमा विधिवत दर्ता भई संस्थागत स्वरूप प्राप्त गरेको यस मन्दिर व्यवस्थापन समितिले हालसम्म विभिन्न संरचनात्मक तथा धार्मिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । हाल समितिमा चार सय २१ जना आजीवन सदस्य, ९८ जना साधारण सदस्य र एक जना मानार्थ सदस्य रहेको बताइन्छ ।




