राप्ती पोष्ट
दाङ, वैशाख । पछिल्ला महिनाहरूमा दाङ जिल्लामा लागुऔषधको कारोबार र प्रयोगसँग सम्बन्धित घटनाहरू निरन्तर रूपमा बढ्दै गएको पाइएको छ । प्रहरीले दैनिकजसो साना–ठूला परिमाणमा लागुऔषध बरामद गर्ने र संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रम बढे पनि यसको जालो भने अझै फैलँदो अवस्थामै रहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार प्रहरीको सक्रियताले घटनामा संलग्न रहेकाहरु पक्राउ परिरहेका छन् ।
तुलसीपुर उपमहानगरपालिका–५ बसपार्क क्षेत्र, जुन यात्रुहरूको चहलपहल हुने मुख्य केन्द्र हो, त्यही स्थान लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै गएको संकेत घटनाक्रमले दिन्छ । वैशाख ७ गते दिउँसो करिब साढे ४ बजे शान्तीनगर गाउँपालिका–५ का २९ वर्षीय उद्धव शाहलाई प्रहरीले शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको थियो । उनको शरीर खानतलासी गर्दा कालो रङका ९ वटा पुडियामा लुकाइछिपाइ राखिएको १ ग्राम ३५० मिलिग्राम ‘ब्राउन सुगर’ जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानले उनी खुद्रा वितरणमा संलग्न रहेको आशंका गरिएको छ ।
सोही दिन, करिब २० मिनेट अगाडि, सोही बसपार्क क्षेत्रबाट अर्को टोलीले दुई जनालाई नियन्त्रणमा लियो । अर्घाखाँचीको शितगंगा नगरपालिका–८ का २८ वर्षीय शुक्रबहादुर कुमाल र जाजरकोट छेडागाड नगरपालिका–१२ का २५ वर्षीय विजय सिंहलाई नियन्त्रणमा लिँदा उनीहरूको साथबाट करिब ८९५ ग्राम ‘चरेश’ बरामद भएको थियो। हरियो प्लास्टिकको झोलाभित्र लुकाइएको उक्त पदार्थको परिमाणले उनीहरू साना वितरक मात्र नभई ठूलो सञ्जालसँग जोडिएको हुन सक्ने संकेत गर्छ ।
यसैबीच, वैशाख ६ गते राति घोराही उपमहानगरपालिका–१८ खर्कट्टी टोलमा गोप्य सूचनाका आधारमा प्रहरीले एक घरमा छापा मार्दा ब्राउन सुगरको ठूलो परिमाण फेला पारेको हो । अनिता रोका मगरको घरबाट सुरु भएको अनुसन्धानले त्यहाँ रहेका चार जनालाई नियन्त्रणमा लियो । जसमा अनिता रोका मगर, उनका श्रीमान नविन कुमार रोका मगर, खड्कबहादुर पुन र कविता घर्ती थिए ।
घरको सुत्ने कोठादेखि बाहिर पार्किङ गरिएको मोटरसाइकलसम्म लुकाइएका विभिन्न पुडियाबाट जम्मा ५६ ग्राम ८०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । यो परिमाणले उक्त स्थान केवल प्रयोगकर्ताको थलो नभई संगठित भण्डारण र वितरण केन्द्रकै रूपमा प्रयोग भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीले सोही क्रममा प्रयोग गरिएको मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
यी घटनाहरूले दाङमा लागुऔषध कारोबारको स्वरूप बहुआयामिक हुँदै गएको स्पष्ट पार्छ । बसपार्कजस्तो सार्वजनिक स्थलदेखि बस्तीभित्रका निजी घरसम्म यसको पहुँच फैलिएको छ । विशेषगरी ब्राउन सुगर र चरेशजस्ता लागुऔषधको कारोबारमा युवाहरू संलग्न हुने प्रवृत्ति बढ्दो देखिएको छ, जसले समाजमा गम्भीर सामाजिक तथा स्वास्थ्य चुनौती निम्त्याइरहेको छ ।
प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार, “लागुऔषध नियन्त्रणका लागि नियमित गस्ती, विशेष अपरेशन र सूचनाको आधारमा कारबाही तीव्र पारिएको छ । तर, यसको जालो पूर्ण रूपमा तोड्न समाजको सहकार्य अपरिहार्य छ ।” उनले अभिभावक, स्थानीय समुदाय र सरोकारवाला निकायहरूलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेका छन् ।
विश्लेषकहरूका अनुसार दाङको भौगोलिक अवस्थिति, पश्चिम नेपालका विभिन्न जिल्लासँगको सहज पहुँच ले यसलाई लागुऔषध ओसारपसारको ‘रुट’ बनाएको हुन सक्छ । त्यसैगरी बेरोजगारी, युवामा बढ्दो निराशा, र छिटो पैसा कमाउने लालसाले पनि यस्तो अपराधमा आकर्षण बढाइरहेको देखिन्छ ।
लागुऔषधको असर केवल कानुनी मुद्दामा सीमित हुँदैन; यसले परिवार विखण्डन, स्वास्थ्य समस्या, अपराध वृद्धि र सामाजिक अस्थिरता निम्त्याउँछ । त्यसैले यसको नियन्त्रण केवल प्रहरीको जिम्मेवारी नभई समग्र समाजको साझा दायित्व भएको प्रहरी उपरिक्षक श्रेष्ठको भनाई छ ।