spot_img
spot_img

प्रेस स्वतन्त्रतामाथि सरकारको निर्णयप्रति चिन्ता

सत्यापन र न्यू मिडिया ह्याण्डलिङ तालिम घोराहीमा सुरु

राप्ती पोष्ट

घोराही, २८ दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा ‘सत्यापन तथा न्यू मिडिया ह्याण्डलिङ’ सम्बन्धी दुई दिने तालिम शनिबारदेखि घोराहीमा सुरु भएको छ । बदलिँदो सञ्चार प्रविधि, सूचना प्रवाहको तीव्रता र सामाजिक सञ्जालको प्रभावका बीच पत्रकारितालाई विश्वसनीय, तथ्यपरक र जिम्मेवार बनाउन उद्देश्यले तालिम आयोजना गरिएको हो ।
नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले तालिमको उद्घाटन गर्नुभयो । उद्घाटन सत्रमा बोल्दै झाले अहिले पत्रकारितामा देखिएका विविध चुनौतीहरूले पत्रकारितालाई कमजोर बनाउने नभई अझ बलियो बनाउने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रविधिको विकाससँगै सूचना उत्पादन र प्रसारणमा आएको सहजताले पत्रकारितामा नयाँ अवसर सिर्जना गरेको भए पनि सत्यापनको अभावले गलत सूचना फैलिने जोखिम बढेको उल्लेख गर्नुभयो ।

उहाँले विशेषगरी पछिल्लो समय सरकारले निजी सञ्चारमाध्यमलाई विज्ञापन नदिने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै यस्तो निर्णयले लोकतन्त्रको मूल मर्ममाथि नै प्रहार गर्ने बताउनुभयो । “विज्ञापन केवल आर्थिक सहयोग मात्र होइन, यो सार्वजनिक सरोकारसँग जोडिएको विषय हो,” उहाँले भन्नुभयो, “स्थानीय तहदेखि केन्द्रीय सरकारसम्मका सूचना नागरिकसम्म पु¥याउने माध्यम सञ्चारमाध्यम हुन् । त्यसैले विज्ञापनको वितरणलाई सीमित गर्नु नागरिकको सूचनाको हकलाई कुण्ठित गर्नु हो ।”

झाले हरेक नागरिकलाई सूचना प्राप्त गर्ने अधिकार रहेको उल्लेख गर्दै सरकारले लिएको निर्णय पुनर्विचार गर्नुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार लोकतन्त्र र संघीयताको सुदृढीकरणका लागि स्वतन्त्र प्रेस अपरिहार्य आधारस्तम्भ हो, त्यसैले सञ्चारमाध्यमलाई कमजोर पार्ने कुनै पनि कदम अन्ततः लोकतान्त्रिक व्यवस्थाकै विरोधमा जानेछ ।

कार्यक्रममा महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पनि सरकारको निर्णयप्रति कडा टिप्पणी गर्नुभयो । उहाँले स्वतन्त्र प्रेसप्रति सरकारको दृष्टिकोण स्पष्ट हुनुपर्ने भन्दै सरकार जवाफदेही बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “सरकार अहिले गोयबल्स शैलीमा अघि बढिरहेको देखिन्छ,” उहाँले भन्नुभयो, “यदि पत्रकारितालाई नै समाप्त गर्ने उद्देश्यले निर्णय गरिएको हो भने पनि पत्रकारिता मर्दैन, बरु अझ सशक्त रूपमा अगाडि बढ्छ ।”

पोखरेलले वर्तमान परिस्थितिमा सत्य र तथ्यमा आधारित पत्रकारिताको महत्व अझ बढेको बताउँदै पत्रकारहरूले आफ्नो पेशागत निष्ठा कायम राख्दै चुनौतीहरूको सामना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले डिजिटल युगमा सूचना प्रवाहको गति अत्यन्त तीव्र भएकोले गलत सूचना, अफवाह र प्रचारबाजीको जोखिम पनि बढेको उल्लेख गर्दै तथ्य जाँच (फ्याक्ट चेकिङ) पत्रकारिताको मूल आधार हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, पूर्व केन्द्रीय उपाध्यक्ष उदय जिएम, प्रेस काउन्सिल नेपालका पूर्व बोर्ड सदस्य शरद अधिकारी लगायतले पनि आफ्ना धारणा राख्नुभएको थियो । वक्ताहरूले पत्रकारितामा विश्वसनीयता कायम राख्न सत्यापनको भूमिका महत्वपूर्ण हुने बताउँदै नयाँ मिडिया प्लेटफर्महरूको सही प्रयोगबारे पत्रकारहरू दक्ष हुनुपर्ने आवश्यकता औंल्याए ।

दाङ शाखाका उपाध्यक्ष ओपेन्द्र बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव जे.एन. सागरले गर्नुभएको थियो । कार्यक्रममा सहभागी पत्रकारहरूलाई लक्षित गर्दै तालिमको उद्देश्य र महत्वबारे पनि जानकारी गराइएको थियो । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको उक्त तालिममा ३० जना पत्रकारहरूको सहभागिता रहेको छ । तालिममा वरिष्ठ पत्रकार धर्मेन्द्र झा तथा एआई विज्ञ अजय शर्माले प्रशिक्षण दिइरहनुभएको छ । तालिममा समाचारको सत्यापन प्रक्रिया, डिजिटल प्लेटफर्ममा सामग्री व्यवस्थापन, सामाजिक सञ्जालको जिम्मेवार प्रयोग, तथा न्यू मिडियाको प्रभावकारी ह्याण्डलिङ सम्बन्धी विषयहरू समेटिएका छन् ।

आयोजकका अनुसार तालिमले सहभागी पत्रकारहरूलाई बदलिँदो सञ्चार परिवेशअनुसार आफूलाई अद्यावधिक गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ । विशेषगरी सामाजिक सञ्जालमा फैलिने अपुष्ट तथा भ्रामक सूचनाको नियन्त्रण, तथ्यमा आधारित रिपोर्टिङ र डिजिटल प्लेटफर्मको प्रभावकारी प्रयोगमार्फत पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्न तालिम उपयोगी हुने अपेक्षा गरिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार