spot_img
spot_img

निर्वाचनको समीक्षाः सच्चिने होइन सक्किने

शरद अधिकारी

आम निर्वाचन सकियो । परिणाम पनि आयो । अव प्रतिक्षा नयाँ सरकारको छ । नयाँ सरकारलाई लिएर अनेकन अड्कलवाजी चलिरहेका छन् । नयाँ सरकार कस्तो होला ? को को व्यक्तिहरु मन्त्रि होलान ? ति मन्त्रीहरुले कस्तो काम गर्लान ? यस्तै धेरै विषयहरु अनुत्तरित रुपमा रहेका छन् । निर्वाचनमा पुराना भनिएका दलहरुको अवस्था अत्यन्त नाजुक भयो । विक्रम सम्वत २००० को सुरुवातमा खुलेका र निरन्तरतामा रहेका दलहरु इतिहासमै संकटको अवस्थामा पुगेका छन् । नेपाली काँग्रेस राणा शासनको अन्त्यका लागि गठन भएको थियो । हालको नेकपा एमाले नेकपाको निरन्तरता हो, जुन विक्रम सम्वत २००० को सुरुवातकै क्रममा अर्थात २००६ सालमा स्थापना भएको थियो । अहिलेको नेकपाको उदय पनि त्यहि नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता हो । यस्तै पंचायती व्यवस्थाको अवशेषका रुपमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी पुनः शक्तिशाली हुन नसक्ने गरी खुम्चिएको छ । यस्तै हर्क साम्पाङको पार्टी यति छोटो समयमा राष्ट्रिय मान्यता प्राप्त द लबनेर उदाएको छ । यहि सेरोफेरोमा सवैभन्दा ठूलो बहसको विषय बनेको के छ भने जेनजी विद्रोह पछि पुराना भनेका दलहरु पुनः उठ्न सक्छन कि सक्दैनन् ? जेनजी विद्रोहपछि पुराना दलहरुले विद्रोहलाई सहज तरिकाले लिएको भए । विद्रोहका लागि उठेका आवाजलाई सम्वोधन गर्न सकेको भए, स्थिती अर्को स्थानमा पुग्ने थियो होला । तर जे भयो त्यो सवै ढीला भयो । जे भयो त्यो सवै असान्दर्भिक भयो । पछिल्लो पटक बंगलादेशको निर्वाचनमा नयाँ भनिएको शक्तिले पराजय भोगेपछि नेपालमा पनि यस्तै हुन्छ भनेर पर्खिएर बस्ने काम समेत भयो । जुन विषय भुत भइसक्यो त्यो फर्किएर आउँदैन । प्रजातन्त्र आएपछि त्यसमा रजगज गरेका राजनीतिक दलहरुले आन्दोलनको स्प्रिड बुझ्न नसकेका कारणले नै आजको अवस्था आयो । हिजोका दिनमा राजनीति गर्ने कुरा, निर्वाचन उठ्ने कुरा अनुभवका आधारमा हुन्थ्यो । कतिसम्म भने केन्द्रिय सदस्य बन्नका लागि मात्रै होइन जिल्ला कमिटीमा जानका लागि अनेकन तघारा पार गर्नुपर्ने हुन्थ्यो । नयाँ दलमा त्यो बार बन्धन केही रहेन । न निर्वाचनमा उठ्नका लागि राजनीतिमा लागेको अनुभव चाहिएन । कमिटीमा बस्नु परेन । पुराना भनिएका दलहरुले अनेकन नियम कानुन बनाएर नयाँलाई रोक्न खोजे । पहिलो पटक कमिटीमा गएको मानिस पहिलो पटक स्थायी कमिटी बन्न सकेन । पहिलो पटक कमिटीमा गएको व्यक्ति पोलिटव्युरो बन्न सकेन । पदाधिकारी बन्न सकेन । दलहरु यसैगरी चलेका कारणले गर्दा आजको नतिजा आयो भन्ने निश्कर्ष निकाल्ने हो भने त्यो अन्यथा हुँदैन ।

निर्वाचनको समीक्षा कसरी गर्ने ? जितेकाहरुलाई सरकारी यसरी चल्नुपर्छ । उसरी चल्नुपर्छ । यस्तो गर्नुपर्छ । उस्तो गर्नुपर्छ । भन्दै अर्ति दिने काम शुरु भएको छ । यसरी अर्ति दिने काम कम्तीमा पनि एक बर्षका लागि बन्द गरे हुन्छ । आफूले काम गर्न नसक्नेहरुले अरुलाई अर्ति बुद्धि खुवै दिन खोज्छन् । आफूले काम गर्न नसक्दा अरुको आलोचना गर्न सकिन्छ । मिडियाको कुरा गर्ने हो भने पहिलो दिन देखि नै खवरदारी गर्न सक्छ । सहिलाई सहि र गलतलाई गलत भन्न सक्छ । राजनीतिक दलहरु जो विसौं बर्ष देखि सत्ताको चास्नीमा थिए तिनले अर्ति बुद्धि दिनुको अर्थ रहदैन । निर्वाचनमा राजनीति दलले पाएको मतका बारेमा टिका टिप्पणि पनि भइरहेका छन् । अल्गोदिमले गर्दा परिणाम यस्तो आयो, भनेर परिणामलाई गलत सावित गर्ने कोशिस भइरहेको छ । निर्वाचन जसरी पनि जित्ने कला राजनीतिक दलमा हुनुपर्छ । निर्वाचन भनेको जित्नका लागि लड्ने हो । मतदातालाई प्रभावित गरेर हुन्छ कि ? मतदातालाई आश्वासन दिएर हुन्छ कि ? विकासको कुरा गरेर हुन्छ कि ? अन्य नीतिगत कुरा गरेर हुन्छ कि ? निर्वाचन भनेको जसरी पनि जित्नुपर्छ । निर्वाचन जितेपछि पहिले दिएका आश्वासन पुरा गर्नुपर्छ । पहिले गरेका बाचाहरु पुरा गर्नुपर्छ । निर्वाचन हो भनेर अनावश्यक आश्वासन दिने काम गर्नु हुँदैन । निर्वाचन कसरी जितिन्छ भन्ने बारेमा नेपालमा सवै राजनीतिक दलहरु जानकार छन् । आफूले हार्दा धाँधली भयोे भनेर आरोप लगाउने काम त अमेरिकाको चुनावमा पनि देखिन्छ । नेपालमा त झन यो कुरा नआउने कुरै छैन । प्राविधिक रुपमा विद्युतिय मेसिनको प्रयोग गरेर हुने निर्वाचनलाई धाँधलीरहित बनाउन सकिएन भन्ने आरोप लाग्छ भने हाम्रो जस्तो देशमा यो आरोप स्वभाविक हुन्छ । निर्वाचनमा कुनै बेला मरिसकेकाहरुले पनि मतदान गर्ने गरेको मुलुक हो । बुथ कव्जा गरेर एकतर्फी रुपमा मतदान गर्ने मुलुक हाम्रो हो । मतदान भइसकेपछि गणना नगरिकनै घोषणा हुने मुलुक हाम्रो हो । यसरी हेर्दा अनेकनथरीका निर्वाचन भएका छन् । अनेकन थरिका निर्वाचन हुने क्रममा अहिले भएको निर्वाचनलाई एल्गोरिदमले प्रभावित गरेको भनेर उम्कने भन्दा अरु उपाय छैन ।

निर्वाचनपछि कोही जितुवा हुन्छन् । कोही हरुवा हुन्छन् । यसपटक अलि फरक देखिएको छ । आफ्ना सांसदलाई एकैथलोमा राखेर रास्वपाले प्रशिक्षण दियो । पहिले अरु दलले पनि प्रशिक्षण दिने गरेका थिए । अहिले सानो संख्यामा झर्दा ति दलको चर्चा नभएको मात्रै होला । यसपालीको प्रशिक्षणमा नेतृत्वकर्ता फरक सुनिय । विनम्र देखिए । आफ्ना सांसदहरुका लागि अलि कडा भाषा प्रयोग गरेको देखियो । यसले नयाँका लागि केही सुविधा दिएको छ । छिटो छिटो परिवर्तन चाहने नेपाली नागरिकका लागि अहिलेको परिवर्तनले कतिसम्म थेग्छ वा कहिलेसम्म नेपाली नागरिकले पर्खन्छन त्यो अहिल्यै भन्न सकिदैन । ठूलो दलका रुपमा रहेको दलले विनम्रता प्रकट ग¥यो र अरु दललाई पनि सम्मान गर्दै अघि बढ्यो भने अवको एक दशक यो दलको विकल्प खोज्नुपर्नेछैन । नेपालीहरुको विशेषता भनेको एक दशक पर्खने त्यसपछि परिवर्तन गर्ने हो । एक दशकको अवधिमा राम्रो गर्न सकेको अवस्थामा मुलुकले विकासमा फड्को मार्नेछ । एक दशकको कुरा त टाढाको कुरा भयो, पाँच बर्षमा सहि तरिकाले चल्न सकेनन् भने पाँच बर्षपछि नागरिकले विकल्प खोज्नेछन् । जहाँसम्म पुराना राजनीतिक दलहरुको कुरा छ ति दलले आफूलाई सच्चाउन प्रयत्न नगरेका कारणले नै आजको अवस्था आएको हो भन्ने बुझ्नुपर्ने हो । पहिलेका राजनीतिक दलले सत्ता ठिक तरिकाले चलाएको भए, युवाहरुमा यति धेरै वितृष्णा आउने थिएन । सुशासनका कामहरु गरेको भए, सवैलाई एउटै खालको नियम लगाइदिएको भए । रोजगारीका अनेकन अवसरहरु सिर्जना गरेको भए आजको अवस्था आउने थिएन ।

निर्वाचनको विषयलाई लिएर कतिपयले जनताले गल्ती गरेको भनिरहेका छन् । हिजो यिनै जनताले मत दिंदा ठिक, अहिले मत नदिंदा बेठिक भन्ने हुँदैन । जनतासंग रहेको विकल्प भनेको एउटा दलबाट भएन भने अर्को दल खोज्ने हो । बहुदलिय व्यवस्थामा दलको विकल्प भनेको अर्को दल हो । कहिले काँग्रेस, कहिले एमाले, कहिले माओवादी, कहिले नेकपा हुँदै यतिवेला रास्वपालाई मत दिएका छन् । चुनावको मुद्दा एउटैले सधै धान्दैन । एमालेले बृद्ध भत्ताको कुरा धेरै बर्ष चलायो । त्यो चल्यो । अहिले औषत नेपालीको एक परिवारबाट एकजना विदेश गएको अवस्था छ । विदेश गएकाहरुले दुःख गरेर रकम कमाएका छन् । परिवारका सदस्यतले त्यो पैसा देखेका छन् । व्यक्तिको स्तर बढेको छ तर त्यसको साटो देशको स्तर उठ्न सकेको छैन । नागरिकलाई प्राथमिकतामा राखेर काम हुने गरेको छैन । नागरिकमा रहेको यहि गुनासो सम्वोधन गर्नबाट पुराना दलहरु चुकेका हुन । अहिले कुनै कारणले बहुमत पाएको दलले सहि तरिकाले काम गर्न सकेन भने विकल्पमा अर्को आउँछ । यसरी आउने विकल्प भनेको काँग्रेस, एमाले वा माओवादी नभएर नयाँ कोही हुन सक्छ । अहिले आएको हर्क साम्पाङको दल देशव्यापी हुन सक्छ । फरक तरिकाले उसप्रति विश्वास बढ्न सक्छ । अवसर पाएको समयमा काम गर्न सकिएन भने अर्को पटक अवसर आउँछ वा आउँदैन यसै भन्न सकिदैन । आज यिनै पार्टीमा लागेर कतिले जवानी सकेका छन् । यहि पार्टीमा पालो आउला र केही योगदान गरौंला भनेर बसिरहेका छन् । तर पालो आउने होइन कि पार्टी नै सक्किने हो कि भन्ने अवस्थामा पुग्न थालेको आभाष भइरहेको छ । यस्तो अवस्थामा पुराना दलसंग सच्चिने होइन कि सक्किने भन्दा अर्को विकल्प छैन । अहिले जिम्मेवारी पाएकोले राम्रो नगरोस र आफ्नो पालो आउला भनेर कुरेर बस्ने हो भने त्यो अवस्था आउने छैन । एक पटक धुलो भएर पुनः आकार ग्रहण गर्ने गरी समीक्षा गर्न तयार हुनुपर्ने अवस्था छ । अहिलेको आकार, आकृति र स्वभावले धान्नेवाला छैन भन्ने कुरा कम्तिमा पनि बुझनु पर्ने हुन्छ ।

निर्वाचनपछि नयाँ सरकार बन्ने तयारीमा छ । यतिवेला नयाँ सरकार नवन्दै अनेकन टिका टिप्पणि थालिएका छन् । यो सरकार नवन्दै विवाद उत्पन्न भएको भन्ने कुरा आइरहेको छ । ठूलो दल हुँदा बाद विवाद हुने कुरा स्वभाविक हो । तर यहि विषयलाई रौं चिरा पार्ने गरी पहिलेका दलहरु नलाग्दा हुन्छ । काँग्रेस, एमाले र माओवादीले सिद्धान्तलाई पोलेर खाइसकेका छन् । एउटाले अर्कोको चिन्हमा मतदान गर्न लगाएका छन् । यि तीन पार्टी होइन कि एउटै पार्टी तीनवटा गुट जस्तो भएका छन् । कहिले एउटा अर्काेसंग मिलेर सरकार बनाउँछ । कहिले एउटाले अर्कोलाई गाली गर्दछ । राजनीतिक संस्कार समेत बाँकी नराखेर गाली गलौचमा उत्रनेहरु पनि यिनै हुन । पार्टी भित्र फरक मत राख्दा त्यसलाई भित्तामै पु¥याएर समाप्त पार्नेहरु यिनै हुन । पराजयको सिस्नोले पोलेपछि झसंग भएकाहरुले अहिले आत्म समीक्षा गरेर विगतका गतिविधीप्रति पश्चाताप गर्छन कि गर्दैनन् ? जे दिन्छौं भनेर जनतासंग मत मागे र पाए त्यो पुरा गर्न सके कि सकेनन् ? समीक्षाको कसीमा आफै उत्रिन सके भने मात्रै मतप्रति न्याय हुने थियो । निर्वापछिको समीक्षामा जे भनिएपनि अव सक्किनका लागि तयार हुनुको विकल्प छैन । २०७९को निर्वाचनमा घण्टी बजिसकेको थियो । सच्चिने कि सक्किने भन्ने विकल्प त्यतिवेला थियो । अहिले भनेको सच्चिन्छु भनेर भन्न पनि नसक्ने गरी खाडलमा खसिसकेको अवस्था छ । यो खाडलबाट चिच्चाएर कराउँदा पनि कसैले सुन्नेवाला छैन ।
sharadreetu@gmail.com

 

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार