डाँगीले किन छोडे गहतराजको प्यानल र नेकपा ?
राप्ती पोष्ट
घोराही, २० असोज । दाङ जिल्ला उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा ध्रुवकुमार गहतराज नेतृत्वको प्यानलबाट उम्मेदवारी दिनुभएका खिमबहादुर डाँगीले उक्त प्यानलबाट अलग भएको घोषणा गर्नुभएको छ । उहाँले नेपाली कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट स्वतन्त्र भएको घोषणा गर्दै अब स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा सहभागी हुने बताउनुभएको हो ।
डाँगीले मंगलबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमार्फत आफूले विगतदेखि नै व्यवसायीको हित र कल्याणलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै संघको निर्वाचनमा आफूले उठाउँदै आएका विषयविपरीतका गतिविधिप्रति असहमति जनाउँदै प्यानलबाट अलग भएको जानकारी गराउनुभएको छ ।
उहाँ यसअघि नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीसम्बद्ध प्यानलबाट ध्रुवकुमार गहतराज नेतृत्वको समूहमा उम्मेदवार बन्नुभएको थियो । अब भने सो प्यानलमा नरही स्वतन्त्र खुला सदस्य पदमा उम्मेदवारी कायम राख्ने उहाँले घोषणा गर्नुभएको छ ।
प्रेस विज्ञप्तिमा डाँगीले दाङ जिल्ला उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको सन्दर्भमा आफूले सुरुदेखि नै विधानविपरीतका गतिविधि हुन नहुने, विधिको सम्मान गर्नुपर्ने तथा व्यवसायीको हित र कल्याणलाई ध्यान दिनुपर्ने विषय उठाउँदै आएको उल्लेख गर्नुभएको छ ।
उहाँले व्यवसायीको हित, कल्याण र समृद्धिमा राजनीतिक प्रभाव तथा हस्तक्षेप प्रवेश गराउन नहुने आफ्नो धारणा रहेको बताउनुभएको छ । तर संघको वर्तमान कार्यसमिति, आफ्नो पार्टी नेतृत्व, अन्य राजनीतिक दल तथा संघका पूर्व अध्यक्षदेखि वर्तमान अध्यक्षसम्मले विधानविपरीतका कार्य र प्रक्रियालाई समर्थन गरेको आरोप उहाँले लगाउनुभएको छ ।

डाँगीले गत असोज ११ गते तोकिएको निर्वाचनविरुद्ध आफूले जिल्ला प्रशासन कार्यालय हुँदै उच्च अदालत तुलसीपुरसम्म कानुनी प्रक्रिया अघि बढाएको र निर्वाचनसम्बन्धी विवादमा अदालतबाट भएको आदेशको समेत प्रसंग उल्लेख गर्नुभएको छ । उहाँले आफूले उठाउँदै आएको न्यायिक, वैधानिक, व्यावहारिक तथा व्यवसायीको हितसम्बन्धी आवाजलाई पार्टी नेतृत्वले सकारात्मक रूपमा लिनुपर्नेमा त्यसको विपरीत विधानविपरीतका गतिविधिलाई पक्षपोषण गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
त्यसै कारण आफूले मंगलबारदेखि नेपाली कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी स्वतन्त्र भएको उहाँले घोषणा गर्नुभएको छ । डाँगीले आफूले कुनै राजनीतिक दलको सदस्यका रूपमा नभई स्वतन्त्र उम्मेदवारका रूपमा दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमा प्रतिस्पर्धा गर्ने स्पष्ट पार्नुभएको छ ।
उहाँले उच्च अदालत तुलसीपुरमा विचाराधीन मुद्दालाई जारी राख्ने सन्दर्भमा पनि आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ । अदालतमा विचाराधीन विषय तथा संघको निर्वाचन प्रक्रियासँग सम्बन्धित विवादलाई आफूले व्यवसायीको हित र संघको विधि तथा विधानको विषयका रूपमा उठाउँदै आएको उहाँको भनाइ छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन यही असोज २४ गते हुने कार्यतालिका रहेको छ । यसअघि निर्वाचन प्रक्रियालाई लिएर विवाद उत्पन्न भएपछि निर्वाचन रोकिएको थियो । पछिल्लो समय अदालतको आदेशसँगै निर्वाचन प्रक्रिया अघि बढ्ने अवस्था बनेपछि विभिन्न समूह तथा उम्मेदवारहरू चुनावी तयारीमा केन्द्रित भएका छन् ।
डाँगीले अब ध्रुवकुमार गहतराज नेतृत्वको प्यानलबाट अलग रहेर स्वतन्त्र खुला सदस्य पदमा आफ्नो उम्मेदवारी रहेको घोषणा गरेसँगै संघमा आबद्ध सम्पूर्ण साधारण सदस्य उद्योगी व्यवसायीलाई विवेकपूर्ण मतदान गर्न आग्रह गर्नुभएको छ । प्रेस विज्ञप्तिमा उहाँले सत्य, न्याय, व्यावहारिकता तथा व्यवसायीको हकहित र कल्याणका लागि आफू पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।




