spot_img
spot_img

ऋषिराम रेमी स्मृतिग्रन्थ नियाल्दा

समिक्षा

शरद ऋतु

दाङ क्षेत्रका लागि सुपरिचित नाम हो ऋषिराम रेग्मी । साहित्य र समाजसेवाको क्षेत्रमा महत्वपूर्ण योगदान गर्नुभएका रेग्मीको स्मृतिमा ‘स्मृतिग्रन्थ’ प्रकाशन भएको छ । जसमा ऋषिराम रेग्मीका बारेमा विस्तृत विवरण समेटिएको छ । उहाँले खेल्नु भएको भूमिका, उहाँले दिनुभएको योगदान लगायतका विषयहरु ‘स्मृतिग्रन्थ’ मा समेटिएको छ । नेपाली साहित्य, भाषा, शिक्षा तथा समाजसेवाका क्षेत्रमा निष्ठापूर्वक जीवन समर्पित गर्नुभएका बहुआयामिक व्यक्तित्व हुनुहुन्छ, स्वर्गीय ऋषिराम रेग्मी । वि.सं. १९९७ सालको लक्ष्मीपूजाको पावन दिनमा पिता डिल्लीराज रेग्मी र माता खिमकुमारी पौडेल रेग्मीका सुपुत्रका रूपमा जन्मनुभएका रेग्मीको निधन २०७७ साल असार २९ गतेका दिन भएको थियो । ‘स्मृतिग्रन्थ’मा विभिन्न विषयहरु समेटिएका छन् । उहाँसंगै सहकार्य गरेकाहरुको स्मरण रहेको छ । जागिरमा रहेको समयमा संगत गरेकाहरुले खुलेरै उहाँका बारेमा लेख्नुभएको छ । परिवारका सदस्यहरुले अभिभावकको योगदानका बारेमा लेखेका छन् । कुनै व्यक्ति परिवारको मात्रै व्यक्ति हुँदैन । सामाजिक रुपमा ठूलो योगजान नगरेपनि अर्थात सामान्य खालको योगदान गर्नेको पनि कुनै न कुनै हिसावले चर्चा हुने गर्दछ । तर ऋषिराम रेग्मीले गर्नुभएको योगदान स्मरण गर्नुपर्ने खालको रहेको छ । ऋषिराम रेग्मीले परिवारका लागि मात्रै होइन त्यो भन्दा माथि उठेर यो समाजका लागि योगदान गर्नुभयो ।

रेग्मीले गरेको योगदान दाङको सामाजिक, सांस्कृतिक तथा साहित्यिक जागरणमा अतुलनीय रहेको छ । उहाँले आफ्नो जीवनकालमा जनता विद्यापीठ, बेलझुण्डीमा लामो समय सेवा गर्नुभयो । साथै, जनकल्याण माध्यमिक विद्यालय दुधरासको स्थापना, विकास र स्तरोन्नतिका लागि अग्रणी भूमिका निर्वाह गर्नुभयो । साहित्यमा विशेष गरी शास्त्रीय छन्दोबद्ध कविता लेखनमा उहाँको विशेष दखल रहेको थियो । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको स्थापना कालदेखि नै विभिन्न जिम्मेवारी सम्हाल्दै अध्यक्षका रूपमा समेत रहेर उहाँले भाषा, साहित्य र संस्कृतिको उत्थानमा अहम् योगदान पु¥याउनुभयो । उहाँको दिव्य अवसानपछि उहाँको स्मृति, योगदान र कृतित्वलाई अक्षुण्ण राख्ने उद्देश्यले दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानद्वारा ‘ऋषिराम रेग्मी स्मृतिग्रन्थ’ को प्रकाशन गरिएको छ । उहाँका ज्येष्ठ सुपुत्र वामदेव रेग्मी तथा आफन्तजनले स्मृतिग्रन्थ प्रकाशन गर्नुभएको थियो । ‘स्मृतिग्रन्थ’को संरचना र विषयगत वर्गीकरणको कुरा गर्ने हो भने उहाँले आफैले लेख्नुभएको भाषाशास्त्र र यसको विकासक्रमको बारेमा अनुसन्धानमुलक लेख प्रकाशित छ । उहाँप्रतिको सम्मान सहित यो लेखलाई दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरले प्रकाशित गरेको स्मारिका–२०६८ बाट साभार गरिएको छ । ‘ऋषिराम रेग्मी स्मृतिग्रन्थ’ मा उहाँका आफ्नै पूर्वप्रकाशित शास्त्रीय÷वैचारिक आलेखका साथै उहाँलाई नजिकबाट चिन्ने, बुझ्ने र उहाँसँग विभिन्न सहकार्य गरेका विद्वान्, साहित्यकार, नातेदार, सहकर्मी तथा शुभचिन्तकहरूका ५० भन्दा बढी संस्मरण, श्रद्धाञ्जली र अनुसन्धानमूलक लेखहरू समावेश गरिएका छन् ।

विषयवस्तुको प्रकृति अनुसार यस ग्रन्थमा समेटिएका सामग्रीहरूलाई मूलतः देहाय बमोजिमका चार प्रमुख क्षेत्रमा विभाजन गरेर समीक्षा गर्न सकिन्छ ।

(क) ऋषिराम रेग्मीका आफ्नै रचना र प्राज्ञिक योगदानस्मृतिग्रन्थको सुरुवात स्व. रेग्मी स्वयम्ले रचना गर्नुभएको ‘भाषाशास्त्र र यसको विकासक्रम’ नामक गहन एवं प्राज्ञिक आलेखबाट गरिएको छ । यस आलेखले उहाँ केवल एक भावुक कवि वा समाजसेवी मात्र नभई भाषाशास्त्र र व्याकरणको गहिरो ज्ञान भएका विद्वान् हुनुहुन्थ्यो भन्ने तथ्यलाई अकाट्य रूपमा सिद्ध गर्दछ । छन्दोबद्ध कविता लेखनमा उहाँको जुन निपुणता थियो, त्यसको मूल आधार उहाँको भाषाशास्त्रप्रतिको यही गहिरो अध्ययन नै थियो ।

(ख) पारिवारिक सम्बन्ध, आत्मीयता र व्यक्तिगत जीवनका पाटारेग्मीको पारिवारिक जीवन र उहाँको आत्मीय व्यवहारलाई नजिकबाट प्रस्तुत गर्ने लेखहरू यस खण्डमा रहेका छन् । जसमा सन्तान र परिवारका तर्फबाट विभिन्न संस्मरणहरु लेखिएको छ । गणेशदेवी आचार्यको ‘बुवा आमाको स्मरणमा’, गीता रेग्मी धितालको ‘प्रेरणाका स्रोत ऋषिराम रेग्मी’, छविकिरण वलीको ‘सम्झनामा बुवा स्व. ऋषिराम रेग्मी’, बसन्तकुमार आचार्यको ‘आमा–बुवाको सम्झना’ तथा भाई मेघराज रेग्मीको ‘सम्झनाका दुई शब्द’ जस्ता लेखहरूले एक अभिभावकका रूपमा रेग्मीको स्नेह, मार्गदर्शन र पारिवारिक अनुशासनलाई दर्शाउछन् । यसैगरी नातेदार तथा भान्जा–भान्जीहरूको दृष्टिमा पनि विषय सन्दर्भहरु राखिएको छ । जसमा एकराज रेग्मीले (‘स्व. भिनाजु ऋषिराम रेग्मीको सम्झनामा’) लेख्नुभएको छ । यस्तै डा. मधुमालती खत्री (‘ठुल्दाइ ऋषिराम रेग्मीको सम्झनामा’) लेख्नुभएको छ । ऋषिराम रेग्मीसंग लामो समय सहकार्य गर्नुभएका प्रा. लेखनाथ आचार्य (‘सम्झनाका शब्द श्रद्धा ः मामाप्रति !’) लेख्नुभएको छ । यसैगरी श्रीधर शर्मा (‘मेरो मामाघर’), बसन्ता रेग्मी रिजाल (‘मामाघर जाँदा’), नारायण शर्मा पौडेल (‘मावलको मेरो बुवा’) तथा शंकर पौडेल (‘स्मरणमा ऋषिराम काका’) जस्ता रचनाहरू लेख्नुभएको छ । यि लेखहरुले उहाँको पारिवारिक आत्मीयता, भद्र स्वभाव र मामाघर÷ससुराली खण्डमा उहाँले बाँडेको मायाको चित्रण गरेको देखिन्छ । रेग्मीको आफ्नै लेखबाट सुरुभएको स्मृतिग्रन्थको अन्तिम विषयका रुपमा वंशवृक्ष र प्रामाणिकता शिर्षकमा लेख रहेको छ । लेखनीका हिसावले ग्रन्थको अन्त्यतिर डा. हिमलाल पन्थीद्वारा तयार पारिएको ऋषिराम रेग्मीसंगको सानिध्यता भन्ने लेख रहेको छ ।

(ग) यसैगरी रेग्मीले साहित्यको माध्यमबाट गरेको योगदानका बारेमा समेटिएका लेखहरु रहेका छन् । जसमा साहित्यिक सहयात्रा, समकालीन साथीभाइ र समसामयिक दृष्टिस्व. रेग्मीको बहुआयामिक व्यक्तित्व, साहित्यिक साधना र सामाजिक सम्बन्धका विविध आयामलाई उहाँका समकालीन मित्र तथा साहित्यकारहरूले उल्लेख गर्नुभएको छ । साहित्यिक व्यक्तित्व र कृतित्वको मूल्यांकन भन्ने विषयमा डा. कृष्णराज डि. सी.ले लेख्नुभएको छ । ‘साहित्यकार ऋषिराम रेग्मीप्रति हार्दिक श्रद्धाञ्जली’), शिर्षकको लेखमा संक्षिप्त रुपमा उहाँका बारेमा लेखिएको छ । यस्तैगरी गोमा पोख्रेल प्रेरणाका स्रोत ऋषिराम रेग्मी लेख्नुभएको छ । (‘कृतिको आलोकमा देखिनुहुने ऋषिराम रेग्मी ) शिर्षकमा डा. गोविन्द आचार्यको लेख रहेको छ । जसमा आचार्यले रेग्मीको विविध पाटो उजागर गर्नुभएको छ । टीकाराम उदासी प्रा. डा. शिवकुमार सुवेदी, डा. लोकराज पराजुली लगायतका लेखहरुले रेग्मीको साहित्यिक योगदान, विशेष गरी छन्दोबद्ध कविताप्रतिको उहाँको निष्ठा र समर्पणको उच्च मूल्यांकन गरेका छन् ।

उहाँका विविध पाटोका बारेमा कमलमणि देवकोटा, जानकी रेग्मी तिमिल्सिना, धर्मबहादुर बैरागी (रावत), नगेन्द्र गुरु, पद्मकमल शर्मा र सरिता देवकोटाका रचनाहरूले उहाँप्रति काव्यिक श्रद्धाञ्जली अर्पण गरेका छन् । मित्रता र सहयात्राका अनुभूतिहरूका विषयमा खगराज न्यौपाने, खुमानन्द अधिकारी, गणेश विष्ट, दामोदर पौडेल, नवराज रेग्मी प्रा. नारायणकुमार आचार्य, बलदेव एञ्जिरे, भुपेन्द्रबहादुर डाँगी। मेघलाल के. सी., राजकुमार पोख्रेल, हरिप्रसाद पाण्डे तथा शेषमणि रिजालका संस्मरणहरूले रेग्मीको सादगी, निष्ठा र इमानदार सामाजिक छवि प्रस्तुत गरेका छन् । (

घ) संस्थागत, शैक्षिक तथा सामाजिक योगदानका बारेमा लेखिएका रचनाहरु पनि रहेका छन् । दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान र स्थानीय संस्थाका बारेमा लेखिएका छन् । ऋषिराज रेग्मी दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको अध्यक्षका रुपमा खेल्नुभएको भूमिकाका बारेमा लेखिएका रचनाहरु पनि थुप्रै रहेका छन् । रेग्मी कुनै पनि पद पाउनका लागि मरिहत्ते गर्ने व्यक्ति हुनुहुन्थेन । उहाँले पद, पुरस्कार, सम्मान जस्ता कुराबाट आफूलाई टाढा राख्नुभएको थियो । आफ्नो काम निरन्तर रुपमा गर्ने उहाँको बानी थियो । जसको सम्मान गर्दै देवेन्द्रकुमार रिजालले लेख्नुभएका ‘वेल्झुण्डी क्षेत्रकै उज्ज्वल तारा विद्वान ऋषिराम रेग्मी’ तथा टोपबहादुर वलीले मेघराज रेग्मीसँग लिएको ‘अन्तर्वार्ता’ ले रेग्मीको शैक्षिक, संस्थागत र सामाजिक योगदानलाई उजागर गर्दछ । जनता विद्यापीठ बेलझुण्डी र जनकल्याण मावि दुधरासको विकासमा उहाँले खेलेको नेतृत्वदायी भूमिकालाई यी लेखहरूले ऐतिहासिक दस्तावेजका रूपमा सुरक्षित गरेका छन् ।

रेग्मीका बारेमा जति विषयहरु लेखिएका छन् ति सवैले रेग्मीले खेलेको भूमिकालाई सकारात्मक रुपमा उजागर गरिएका छन् । हुनत हाम्रो एउटा पक्ष के छ भने जव व्यक्ति जिवित हुन्छ तवसम्म उसलाई सहज तरिकाले जिम्मेवारी नदिने, सम्मान नदिने र स्यावास नभन्ने तर जव व्यक्तिको निधन हुन्छ तव हामी गुणगान गाउन थाल्छौं । रेग्मीसंग संगत गरेका विशिष्ट व्यक्तित्वका दृष्टि पनि स्मृतिग्रन्थमा उल्लेख गरिएको छ । जसमा नारायणप्रसाद शर्मा (गौतम)ले लेख्नुभएको ‘ऋषिराम जोडीको स्मरण’, संविधान सभा सदस्य एवं संरक्षकहरूको मार्गदर्शनले पनि यो स्मृतिग्रन्थलाई ऐतिहासिक एवं विचारोत्तेजक बनाएको छ ।

मूल विषयवस्तु र वैचारिक विश्लेषणको कुरा गर्ने हो भने ‘ऋषिराम रेग्मी स्मृतिग्रन्थ’ केवल शोक वा श्रद्धाञ्जली प्रकट गर्ने माध्यम मात्र नभई दाङ उपत्यकाको भाषा, साहित्य, शिक्षा र समाजसेवाको आधा शताब्दी लामो इतिहास बुझ्ने महत्वपूर्ण दस्तावेज बनेको छ । ग्रन्थको गहन विश्लेषण गर्दा केही निष्कर्ष निकाल्न सकिन्छ । मुलरुपमा शास्त्रीय छन्द साहित्यका साधकका रुपमा रेग्मीले योगदान गर्नुभएको थियो । नेपाली साहित्यमा आधुनिकतासँगै शास्त्रीय छन्दको प्रयोग ओझेलमा पर्दै गएको समयमा पनि स्व. रेग्मीले छन्दोबद्ध कवितामार्फत भाषा र साहित्यको सेवा गर्नुभयो । उहाँको काव्य चेतना परिष्कृत, अनुशासित र शास्त्रीय नियमबद्ध थियो भन्ने कुरा उहाँका रचना र समकालीन साहित्यकारहरूका टिप्पणीबाट स्पष्ट हुन्छ । उहाँ शिक्षा र समाजसेवाका पर्यायका रुपमा हुनुहुन्थ्यो । शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले उहाँले जनता विद्यापीठ र जनकल्याण मावि दुधरासको विकासमा आफ्नो ऊर्जा खर्चिनुभयो । गाउँ–ठाउँमा विद्यालय स्थापना गर्नु, शिक्षाको स्तर उकास्नु र समाजलाई सही दिशा दिनु उहाँको जीवनको प्राथमिक ध्येय थियो । निष्ठावान् र समभावी व्यक्तित्वः ग्रन्थका प्रकाशकीय पानाहरूमा उल्लेख गरिए अनुसार श्रीमद्भगवद्गीताको ‘जातस्य हि ध्रुवो मृत्युः…’ भन्ने शाश्वत सत्यलाई आत्मसात् गर्दै जीवनभर समभाव राख्ने र समाजसेवालाई नै धर्म मान्ने आदर्श पुरुष हुनुहुन्थ्यो रेग्मी । उहाँको सरल, भद्र र हसिलो स्वभावले जोकसैलाई पनि आकर्षित गर्दथ्यो ।

दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानको ऐतिहासिक दायित्वलाई उहाँले कुशलतापूर्वक निर्वाह गर्नुभयो । तुलसीपुर क्षेत्रमा साहित्यिक गतिविधिहरु गर्नका लागि गठन गरिएको दाङ साहित्य तथा संस्कृति प्रतिष्ठानले वि.सं. २०५७ मा स्थापना भएदेखि नै विविध साहित्यिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्दै आएको छ । सोही क्रममा रेग्मीले पनि संस्थामा आवद्ध रहेको साहित्यीयक संस्थाको श्रीबृद्धिका लागि लाग्नुभयो । ऋषिराम रेग्मीका बारेमा बुझ्नका लागि यो स्मृमिग्रन्थ थोरै सहायक हुन्छ । स्मृतिग्रन्थमा विविधतापूर्ण संकलन गरिएको छ । स्मृतिग्रन्थमा प्राज्ञ, प्राध्यापक, साहित्यकार, राजनीतिज्ञ, पारिवारिक सदस्य, विद्यार्थी तथा समकालीन साथीभाइहरू गरी समाजका हरेक तप्काका मानिसहरूका दृष्टिकोण समेटिएको छ । यो रेग्मीका लागि मात्रै होइन अघिल्लो पुस्ताको साहित्यका बारेमा बुझ्नका लागि काम लाग्नेछ । अर्को हिसावले भन्ने हो भने दाङ जिल्लामा पहिलो पटक जागिर खाने पुस्ताका रुपमा उहाँहरु पर्नुहुन्छ भन्दा फरक पर्दैन । स्मृतिग्रन्थ दाङ क्षेत्रको साहित्यिक इतिहास, छन्दोबद्ध कविताको परम्परा, स्थानीय शैक्षिक विकास र सांस्कृतिक आन्दोलनबारे अध्ययन गर्न चाहने शोधार्थीहरूका लागि एक अत्यन्त उपयोगी सन्दर्भ सामग्री बनेको छ ।

‘ऋषिराम रेग्मी स्मृतिग्रन्थ’ एउटा व्यक्तिमा केन्द्रित रहेर तयार पारिएको भए तापनि यसले सिङ्गो दाङ क्षेत्रको प्राज्ञिक, शैक्षिक र सामाजिक चेतनाको प्रतिनिधित्व गर्दछ । स्व. ऋषिराम रेग्मीले आफ्नो ८० वर्षको जीवनकालमा भाषा, साहित्य, शिक्षा, संस्कृति र समाजसेवामा छर्नुभएको बीउ कसरी झाङ्गिएर वृक्ष बनेको छ भन्ने कुरा यस पुस्तकमा सङ्कलित रचनाहरूले स्पष्ट पार्छन् । संस्थाका तर्फबाट दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान, आर्थिक भार वहन गर्ने ज्येष्ठ सुपुत्र वामदेव रेग्मी तथा सम्पादन मण्डलले गरेको यो कार्य अत्यन्तै प्रशंसनीय र स्तुत्य छ । ऋषिराम रेग्मीजस्ता सादगी, निष्ठा र कर्मयोगी स्रष्टाको स्मृतिमा प्रकाशित यो ग्रन्थ नेपाली भाषा–साहित्यको श्रीवृद्धिमा एउटा महत्त्वपूर्ण इट्टा साबित भएको छ । उहाँको भौतिक शरीर हामीमाझ नरहे पनि उहाँको कीर्ति र विचार यस स्मृतिग्रन्थमार्फत युगौँयुगसम्म जीवन्त रहनेछ ।

व्यक्तिगत रुपमा ऋषिराम रेग्मीसंग मेरो राम्रो परिचय थियो । २०४६ सालमा कक्षा ८ मा अध्ययन गर्नका लागि जनकल्याण माध्यमिक विद्यालय दुधरास पुगेपछि उहाँलाई चिन्न थालें । हामी स्कुल पुग्दा उहाँ जागिरका लागि विजौरी तर्फ गइरहनुभएको हुन्थ्यो । त्यतिवेला साहित्यिक गतिविधीहरु खासै हुन्थेनन् । उहाँलाई एउटा जागिरे व्यक्तिका रुपमा चिनेको थिए । अर्को उहाँको छोरी गिता र म संगै एउटै कक्षामा पढ्ने । साथिको बुवाका नाताले चिने । अर्को कुरा उहाँको घर दुधरास स्कुल देखि ठिक पश्चिमतर्फ थियो । कक्षा ८ मा पढ्दा त कक्षाकोठाबाट उहाँको घर देखिन्थ्यो । उहाँ आउ जाउ गरेको राम्रोसंग देखिने भएकाले पनि चिन्न सजिलो भयो । उहाँको साहित्यिक व्यक्तित्वका बारेमा भने केही बर्ष पछि मात्रैै थाहा पाए । २०४९ सालमा कक्षा १० को जाँच सकेपछि म घोराहीतिर बस्न थालें । घोराही आएपछि विस्तारै म पनि साहित्यीयक गतिविधिमा संलग्न हुन थालें । घोराहीमा रहेको समयमा म प्रगतिशिल लेखक संघमा आवद्ध भए । राप्ती साहित्य परिषदका गतिविधिमा सक्रिय हुन थालें । कतिपय कार्यक्रम तुलसीपुरमा हुँदा पनि जान थालें । उहाँ घोराहीमा लेखक संघका कार्यक्रमहरुमा आउनुहुन्थ्यो । यहि क्रममा उहाँसंगको सम्वन्ध अझ प्रगाढ हुँदै गएको हो । पटक पटकका भेटमा उहाँले साहित्य, कलाका विषय मात्रै होइन कतिपय विषयमा अनुसन्धान गरिरहेको कुरा सुनाउनुहुन्थ्यो । उहाँले एउटा कृति तयार पारेको कुरा मलाई पनि बताउनुभएको थियो । रेग्मीसंग पाण्डुलिपी होलान जस्तो लाग्छ । ति कृतिहरु प्रकाशनका लागि परिवारका सदस्यहरुले ध्यान दिनुहुनेछ भन्ने आशा र विश्वास सहित भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार