spot_img
spot_img

लुम्बिनीमा १६८ जना अझै सम्पर्कविहीन, दाङका मात्रै ४१ जना

राप्ती पोष्ट

दाङ, भदौ । नवलपरासी पश्चिमको नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा पछिल्लो तीन दिनमा बाढीले बगाएर ल्याएका ५४ वटा शव र शरीरका २५ वटा अंग फेला परेका छन् । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि नदीको बहावसँगै बगेर आएका शव तथा शरीरका अंग नवलपरासी पश्चिमका विभिन्न क्षेत्रमा भेटिएका हुन् ।
आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयअन्तर्गतको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार भदौ १३ गते राति १० बजेसम्म नवलपरासी पश्चिममा ५४ वटा शव र २५ वटा शरीरका अंग फेला परेका हुन् । केन्द्रका अनुसार भदौ ११ गते मात्रै २७ वटा शव र एउटा शरीरको अंग फेला परेको थियो । तीमध्ये आठ जना महिला, १६ जना पुरुष, एक बालक र दुई बालिकाको शव रहेको जनाइएको छ ।

त्यस्तै, भदौ १२ गते सात वटा शव र १२ वटा शरीरका अंग फेला परेका थिए । एकै दिन फेला परेका १९ वटा शव तथा अंगमध्ये कतिपय शरीरका छुट्टाछुट्टै भाग रहेका छन् । भदौ १३ गते पनि शव तथा शरीरका अंग फेला पर्ने क्रम रोकिएन । उक्त दिन २० वटा शव र १५ वटा शरीरका अंग फेला परेको केन्द्रले जनाएको छ । तीमध्ये पाँच जना महिला, १३ जना पुरुष, एक बालक र एक बालिकाको शव रहेको विवरणमा उल्लेख छ ।

यसरी तीन दिनमा मात्रै नारायणी नदी किनार तथा आसपासका क्षेत्रमा ५४ वटा शव र २५ वटा शरीरका अंग फेला परेका हुन् । नदीको बहावसँगै टाढाटाढासम्म शव तथा शरीरका अंग पुग्ने क्रम जारी रहेकाले खोजी तथा संकलन कार्यलाई निरन्तरता दिइएको छ ।

लुम्बिनीमा १६८ जना अझै सम्पर्कविहीन

यसैबीच बाढी तथा अन्य विपद्का कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका १६८ जना अझै सम्पर्कविहीन रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको जिल्लागत विवरणअनुसार सबैभन्दा धेरै दाङका ४१ जना अझै सम्पर्कमा आउन सकेका छैनन् । त्यसपछि रुपन्देहीका ३५, बाँकेका २०, रुकुम पूर्वका १६, रोल्पाका १४ र पाल्पाका ११ जना सम्पर्कविहीन छन् ।

त्यस्तै प्युठानका १०, अर्घाखाँचीका नौ, बर्दियाका आठ, गुल्मीका सात, नवलपरासी पश्चिमका छ र कपिलवस्तुका चार जना सम्पर्कविहीन रहेको केन्द्रले जनाएको छ । बाढी तथा विपद्को घटनापछि ठूलो संख्यामा मानिस सम्पर्कविहीन हुँदा परिवार तथा आफन्तमा चिन्ता बढेको छ । कतिपय मानिस सुरक्षित स्थानमा पुगे पनि सञ्चार सम्पर्क विच्छेद भएका कारण परिवारको सम्पर्कमा आउन नसकेको हुन सक्ने अनुमान गरिएको छ ।

१३ जना सम्पर्कमा आए

यसैबीच सम्पर्कविहीनमध्ये १३ जना भने पछिल्लो विवरणअनुसार सम्पर्कमा आएका छन् । रुपन्देहीका छ जना, दाङका पाँच जना, बाँकेका एक जना र प्युठानका एक जना सम्पर्कमा आएको मन्त्रालयले जनाएको छ । सम्पर्कविहीन व्यक्तिको खोजी तथा विवरण संकलनका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहले समन्वय गरिरहेका छन् ।

पहिचानका लागि शव सुरक्षित राखिँदै

बाढीपछि विभिन्न स्थानमा फेला परेका तर पहिचान खुल्न नसकेका शव तथा शरीरका अंगलाई सम्बन्धित अस्पतालका शवगृहमा सुरक्षित राखिएको छ । शवको पहिचानका लागि प्रहरी तथा सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढाइरहेका छन् ।

बाढीको तीव्र बहावले शवको अवस्था बिग्रिएका कारण पहिचानमा कठिनाइ भइरहेको छ । कतिपय अवस्थामा शरीरका अंग छुट्टाछुट्टै फेला परेकाले ती कुन व्यक्तिका हुन् भन्ने यकिन गर्न थप प्राविधिक परीक्षण आवश्यक पर्ने देखिएको छ ।
प्रहरीले शव तथा शरीरका अंगको अभिलेख राख्ने, आवश्यक नमुना संकलन गर्ने र आफन्तको विवरणसँग मिलान गरी पहिचान गर्ने प्रक्रिया अघि बढाएको छ । भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको बाढीका कारण ठूलो मानवीय क्षति भएको छ । बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो क्षति पु¥याएपछि नदीको बहावसँगै तल्लो तटीय क्षेत्रमा समेत शव फेला पर्ने क्रम जारी छ ।

नदी किनारका क्षेत्रमा सुरक्षाकर्मीले खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेका छन् । सम्पर्कविहीन नागरिकको खोजी तथा फेला परेका शवको पहिचान र सम्मानजनक व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको छ ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार