राप्ती पोष्ट
घोराही, १५ भदौ । नेपाल बार एशोसियसन जिल्ला बार इकाईको आइतबार सम्पन्न निर्वाचनबाट अधिवक्ता मणिराज आचार्य (मौसम) अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँले प्रतिद्वन्द्वी निर्मल गौतमलाई पराजित गर्नुभएको हो ।
बारको निर्वाचनमा दुईवटा टिम मैदानमा थिए । जसमा एउटा टिमको नेतृत्व आचार्यले र अर्को टिमको नेतृत्व गौतमले गर्नुभएको थियो । आचार्यले ६३ मत प्राप्त गर्दा गौतमले ५० मत प्राप्त गर्नुभएको थियो । आचार्यको टिमबाट सचिवमा भरत न्यौपाने निर्वाचित हुनुभयो । उहाँले पनि ६३ मत प्राप्त गर्नुभएको थियो । उहाँका प्रतिष्पर्धी किरण पौडेलले ५३ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै उपाध्यक्षमा तिलक केसी ६० मत सहित विजयी हुँदा लुमबहादुर कार्कीले ५० मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्षमा फकला थारु ६२ मत सहित विजयी हुँदा उहाँका प्रतिष्पर्धी कृष्णप्रसाद आचार्यले ५३ मत प्राप्त गर्नुभएको थियो । सह सचिवमा ५७ मत सहित विना पाण्डेय विजयी हुनुभएको थियो भने उहाँकी प्रतिष्पर्धी हरिचन्द्रा कुमारी वलीले ५६ मत प्राप्त गर्नुभयो ।
सदस्यमा गोपाल प्रसाद भुषाल (६३), विनय कुमार मिश्र (५७), माधव प्रसाद अधिकारी (६१), शान्तराज सुवेदी (६४), धनसिंह गिरी (६५), निश्चल हमाल (६४) र मनिराम चौधरी (५३) मत सहित विजयी हुनुभयो । उहाँ भने गोलाप्रथाबाट विजयी हुनुभएको थियो । अर्का सदस्य दिपक थापाले पनि ५३ मत प्राप्त गर्नु भएपछि गोला प्रथा गरिएको थियो । सदस्यमा यादवप्रसाद खनाल, लेखनाथ काफ्ले, खिमबहादुर अधिकारी, केशवकुमार शर्मा, उत्तमप्रसाद भण्डारी र माधव सुवेदी पनि पराजित हुनुभयो ।



