जयन्ती चौधरी/राप्ती पोष्ट
दाङ ६ साउन । गढवा गाउँपालिका–४ दाङकी अर्निका चौधरीलाई करेत सर्पले टोक्यो । सर्पको विष शरीरमा फैलिँदै गएपछि परिवारले तत्काल उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा लैजाने प्रयास ग¥यो । तर दाङमै उपचार सम्भव नभएपछि उनलाई असार २५ गते राति कपिलवस्तुको गोरुसिङ्हेस्थित सर्पदंश उपचार केन्द्रमा लगियो ।
त्यस्तै, शुद्धोधन नगरपालिका–१ का लवकुश पासीलाई गोमन सर्पले टोक्यो । सर्पको टोकाइबाट छ्ट्पटाईरहेको अवस्थामा तत्कालै उहाँलाई सर्पदंश उपचार केन्द्रमा पु¥याइयो । उपचारपछि ठिक भएर घर फर्किनुभयो । विषालु सर्पको टोकाइपछि उपचारका लागि अस्पताल पुग्नुपर्ने बाध्यता र समयमै उपचार नपाउँदा हुन सक्ने जोखिमका यी दुई घटना लुम्बिनी प्रदेशमा सर्पदंशको बढ्दो चुनौतीका प्रतिनिधि घटना हुन् ।
लुम्बिनी प्रदेशका मध्य तराई तथा पहाडी क्षेत्रका दाङ, बाँके, कपिलवस्तु, रुपन्देहीलगायतका जिल्लामा गर्मी र वर्षायाम सुरु भएसँगै सर्पदंशका घटना बढ्ने गरेका छन् । खेतबारी, घरआँगन, जंगल तथा घाँसे मैदानमा मानिसको चहलपहल बढ्ने समयमा विषालु सर्पको टोकाइबाट सयौँ नागरिक प्रभावित हुने गरेका छन् । समयमै उपचार नपाउँदा कतिपयले अकालमै ज्यान गुमाउने गरेका छन् ।
पछिल्ला वर्षहरूमा सर्पदंश उपचार केन्द्रमा उपचार गराउन आउने बिरामीको संख्या बढिरहेको छ । यसको एउटा कारण सर्पदंशबारे जनचेतना बढ्नु र अर्को कारण गाउँगाउँमा उपचार केन्द्रको पहुँच विस्तार हुनु रहेको जानकारहरुको भनाई छ । पहिले सर्पले टोकेपछि झारफुक र धामीझाँक्रीको भर पर्ने प्रवृत्ति रहेकोमा अहिले उपचारका लागि अस्पताल तथा सर्पदंश उपचार केन्द्र पुग्ने क्रम बढेको उपचार केन्द्रका अधिकारीहरू बताउँछन् ।
गोरुसिङ्हेमा बढ्दो चाप
कपिलवस्तु जिल्लाको गोरुसिङ्हेस्थित नेपाली सेनाको शम्शेर दल गणको हाताभित्र रहेको सर्पदंश उपचार केन्द्र अहिले लुम्बिनी प्रदेशकै प्रमुख सर्पदंश उपचार केन्द्रका रूपमा स्थापित भएको छ । पूर्वी तराई र लुम्बिनी प्रदेशको मध्य तराईको बीचमा पर्ने भौगोलिक अवस्थिति तथा दक्ष प्राविधिक जनशक्तिको उपलब्धताका कारण यस उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढ्दै गएको छ । कपिलवस्तुका अतिरिक्त अर्घाखाँची, दाङ, प्युठान, गुल्मी, बाग्लुङ र रुपन्देहीलगायतका जिल्लाबाट समेत बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । नेपाली सेनाको प्राविधिक सहयोग तथा बुद्धभूमि नगरपालिकाको व्यवस्थापनमा स्थापना भएको यस केन्द्रले विभिन्न पालिका, नगरपालिका, विद्यालय र क्याम्पससँग सहकार्य गरेर सर्पदंशसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीका अनुसार सचेतना कार्यक्रमका कारण सर्पले टोकेपछि झारफुकको पछि नलागी अस्पताल जानुपर्छ भन्ने चेतना बढेको छ । त्यसैले पछिल्ला वर्षहरूमा सर्पदंशका बिरामी उपचारका लागि केन्द्रसम्म आउने क्रम बढेको उहाँको भनाइ छ ।
उहाँका अनुसार आर्थिक वर्ष २०८२÷०८३ को साउन १ गतेदेखि २०८३ असार २० गतेसम्म गोरुसिंगे सर्पदंश उपचार केन्द्रमा एक हजार तीन सय ५० जना बिरामीले उपचार पाएका छन् । ति मध्य एक हजार तीन सय ४१ बिरामी उपचारपछि निको भएर घर फर्किएका छन् । उपचार सम्भव नभएपछि १४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको थियो भने नौ जनाको मृत्यु भएको थियो । यस उपचार केन्द्रमा २ वर्षदेखि १६ वर्ष उमेर समूहभन्दा माथि र ५० वर्षभन्दा तलका उमेर समूहका बिरामी सर्पदंशका घटनामा सबैभन्दा बढी आउने गरेका छन् । त्यस्तै, १ देखि १६ वर्षभन्दा मुनिका बालबालिका र महिलाहरूमा पनि सर्पदंशका घटना बढी हुने गरेको भण्डारीले बताउनुभयो । सर्पदंशका बिरामी विशेषगरी असार, साउन र भदौ महिनामा बढी आउने गरेका छन् । यस क्षेत्रमा गोमन, करेत, भाइपर तथा अविषालु प्रजातिका सर्पको टोकाइ बढी हुने गरेको छ ।
गोरुसिंगे उपचार केन्द्रको तथ्यांकले सर्पदंशको जोखिम कति गम्भीर छ भन्ने अर्को चित्र पनि देखाउँछ । आर्थिक वर्ष २०८१÷०८२ मा एक हजार आठ सय ६३ जना बिरामी उपचारका लागि आएका थिए । तीमध्ये नौ सय ३९ जना महिला र नौ सय २४ जना पुरुष थिए । १६ वर्षभन्दा मुनिका बालबालिका दुई सय १७ जना रहेका थिए । सो अवधिमा गोमन सर्पको टोकाइबाट ५६ जना, करेतबाट ९३ जना, भाइपरबाट एक सय ४१ जना, बिच्छीको टोकाइबाट ५७ जना र अन्य कारणबाट एक हजार चार सय ५५ जना गरी कुल एक हजार आठ सय ६३ जना उपचारका लागि आएका थिए । तीमध्ये ७७ जना गम्भीर बिरामी रहेका थिए । ३१ जनालाई अन्य अस्पतालमा रेफर गरिएकोमा आठ जनाको मृत्यु भएको थियो ।
गढवामा पनि बढ्दै सर्पदंशका घटना
यता दाङको गढवा गाउँपालिकास्थित गढवा सर्पदंश उपचार केन्द्रमा पनि सर्पदंशका बिरामीको संख्या बढ्दै गएको छ । ज्वालादल गणका गणपति तथा नेपाली सेनाका प्रमुख सेनानी सन्तोष थापाका अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा तीन सय २२ जना बिरामी उपचारका लागि आएका थिए । तिमध्ये सबैभन्दा बढी प्रभावित हुने उमेर समूहमा ८ देखि २० वर्षका ६९ जना, २० देखि ३० वर्षका ६७ जना, ३० देखि ४० वर्षका ६८ जना, ४० देखि ५० वर्षका ५२ जना, ५० देखि ६० वर्षका ४० जना, ६० देखि ७० वर्षका ७ जना र ८० देखि ९० वर्षका ८ जना रहेका थिए ।
उपचारका लागि महिला एक सय ६८ जना र पुरुष एक सय ४० जना उपचारका लागि आएका थिए । गढवामा रहेको सर्पदंश उपचार केन्द्रमा उपचार सम्भव नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएको थियो । तिमध्य चारजनाको उपचारका क्रममा मृत्यु भएको बताइन्छ । गढवा क्षेत्रमा जेठ, असार, साउन र भदौ महिनामा सर्पदंशको जोखिम सबैभन्दा बढी देखिने गरेको छ । यस क्षेत्रमा करेत र गोमनजस्ता विषालु सर्पका साथै धामन र पानीसर्पले मानिसलाई टोक्ने गरेका छन् ।
गढवा सर्पदंश उपचार केन्द्रमा गढवा गाउँपालिका, राजपुर गाउँपालिका, लमही नगरपालिका र राप्ती गाउँपालिकाका साथै प्युठानका नागरिकसमेत उपचारका लागि आउने गरेका छन् । यसैगरी, आर्थिक वर्ष २०८१÷०८२ मा दुई सय २३ जना सर्पको टोकाइका बिरामी उपचारका लागि आएका थिए । तीमध्ये ८ देखि २० वर्ष उमेर समूहका ६० जना, २० देखि ३० वर्षका ४७ जना, ३० देखि ४० वर्षका ३७ जना, ४० देखि ५० वर्षका २६ जना, ५० देखि ६० वर्षका ३० जना, ६० देखि ७० वर्षका १९ जना र ७० देखि ८० वर्षका ४ जना रहेका थिए । तीमध्ये महिला १ सय २५ जना र पुरुष ९८ जना थिए ।
अघिल्लो आर्थिक वर्षमा उपचार केन्द्रमा कुनै पनि बिरामीको मृत्यु भएको छैन । गढवा क्षेत्रमा सर्पको टोकाइबाट बढी प्रभावित हुने उमेर समूह २० देखि ४० वर्ष रहेको छ । उपचार केन्द्रले विभिन्न स्थानीय निकायसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा सर्पदंश उपचारसम्बन्धी सचेतना कार्यक्रम गर्दै आएको प्रमुख सेनानी थापाले बताउनुभयो ।
बाँकेमा पनि करेतको जोखिम बढी
बाँकेको ओभरीस्थित रणबम गण ब्यारेकअन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज सर्पदंश उपचार केन्द्रमा पनि सर्पदंशका बिरामी उपचारका लागि आउने गरेका छन् । उपचार केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१ वैशाख १ गतेदेखि २०८२ वैशाख ३० गतेसम्म ५६ जना बिरामी उपचारका लागि आएका थिए । तीमध्ये सबैभन्दा बढी १९ देखि ४० वर्ष उमेर समूहका ३५ जना, ४१ वर्षभन्दा माथिका १६ जना र १ वर्षदेखि १८ वर्ष उमेर समूहका ५ जना थिए । उपचारका लागि आएका सबै ५६ जना बिरामी निको भएर घर फर्किएका छन् । तीमध्ये सबैभन्दा बढी करेत सर्पको टोकाइबाट ३७ जना, गोमन सर्पको टोकाइबाट ३ जना र अन्य सर्पको टोकाइबाट १६ जना उपचारका लागि आएका थिए ।
बाँके क्षेत्रमा सर्पदंशको प्रभाव सबैभन्दा बढी असार, साउन, भदौ र असोज महिनामा देखिने गरेको छ । यस उपचार केन्द्रमा बाँके र दाङ जिल्लाबाट बिरामी आउने गरेका छन् । २०८२ वैशाख १ गतेदेखि २०८२ चैत ३० गतेसम्म ५७ जना सर्पको टोकाइबाट बिरामी उपचारका लागि आएका थिए । तीमध्ये १ देखि १८ वर्षसम्मका ५ जना, १९ देखि ४० वर्षसम्मका २३ जना र ४१ वर्षभन्दा माथिका २९ जना रहेका थिए । उपचारका लागि आएका सबै बिरामी ठिक भएर घर फर्किएका छन् ।
२०८३ वैशाख १ गतेदेखि असारसम्म १२ जना बिरामी उपचारका लागि आएका छन् । तीमध्ये ४१ वर्षभन्दा माथिका ८ जना, १ देखि १८ वर्षसम्मका ३ जना र १९ देखि ४० वर्षसम्मका १ जना रहेका छन् । यस उपचार केन्द्रमा पनि करेत र गोमन सर्पको टोकाइका बिरामी बढी आउने गरेको जनाइएको छ । सर्पदंशको प्रभाव असोज महिनासम्म रहने गरेको छ ।
गर्मी र वर्षासँगै बढ्छ जोखिम
लुम्बिनी प्रदेशमा सर्पदंशको जोखिम मौसमसँग प्रत्यक्ष जोडिएको छ । गर्मी बढेसँगै सर्पहरू बाहिर निस्कने र वर्षायाममा उनीहरूको बासस्थानमा पानी पस्ने भएकाले मानव बस्ती तथा घरआँगनसम्म आउने गरेका छन् । विशेषगरी जेठदेखि असोजसम्म सर्पदंशका घटना बढी देखिने गरेका छन् । गोरुसिंगे, बाँके र गढवाका उपचार केन्द्रको तथ्यांकले पनि यही अवस्थालाई पुष्टि गर्छ । सर्पदंशका घटनामा करेत र गोमन सबैभन्दा बढी जोखिमयुक्त देखिएका छन् । त्यसबाहेक कपिलवस्तु क्षेत्रमा भाइपरको टोकाइबाट पनि धेरै बिरामी उपचारका लागि आउने गरेका छन् । सर्पदंशका घटनामा बालबालिका, महिला तथा खेतबारी र ग्रामीण क्षेत्रमा काम गर्ने मानिसहरू बढी जोखिममा पर्ने गरेका छन् । रातको समयमा घरभित्र सुतिरहेका बेला करेतले टोक्ने घटना पनि हुने गरेका छन् भने खेतबारी, जंगल तथा घाँसे क्षेत्रमा काम गर्दा गोमनलगायतका सर्पको टोकाइमा पर्ने गरेका छन् ।
उपचार केन्द्र थपिएपनि चुनौती थपिदै
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा नेपाली सेनाले स्थानीय तहको व्यवस्थापनमा प्राविधिक सहयोग गर्दै नागरिकलाई निःशुल्क सर्पदंश उपचार सेवा प्रदान गर्दै आएको छ । सर्पदंश उपचार केन्द्रहरूको विस्तारसँगै ग्रामीण तथा दुर्गम क्षेत्रका नागरिकलाई उपचारमा सहजता भएको छ । तर सबै बिरामीलाई स्थानीयस्तरमै पूर्ण उपचार सम्भव नहुँदा गम्भीर अवस्थाका बिरामीलाई ठूला अस्पतालमा रेफर गर्नुपर्ने अवस्था अझै कायम छ ।
सर्पदंशको उपचारमा सबैभन्दा महत्वपूर्ण कुरा समयमै उपचार हो । तर ग्रामीण क्षेत्रमा अझै पनि सर्पले टोकेपछि अस्पताल पुग्नुभन्दा पहिले झारफुक गर्ने, घरेलु उपचार गर्ने वा अन्य परम्परागत विधि अपनाउने क्रम सामान्य रुपमा मात्रै रहेको छ । उपचार केन्द्रहरूले सञ्चालन गर्दै आएका सचेतनामूलक कार्यक्रमले भने यस प्रवृत्तिमा क्रमशः परिवर्तन ल्याइरहेको देखिन्छ ।
एन्टिभेनम खरिदका लागि ५० लाख बजेट
लुम्बिनी प्रदेश सरकारले सर्पदंश उपचारलाई प्रभावकारी बनाउन एन्टिभेनमको उपलब्धतालाई प्राथमिकतामा राखेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी उमेश गौतमका अनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षमा स्नेक एन्टिभेनम खरिदका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । तर सर्पदंशका घटना बढिरहेका बेला उपचार केन्द्रमा बिरामीको चापअनुसार एन्टिभेनमको पर्याप्त मौज्दात, दक्ष जनशक्ति र आवश्यक उपकरणको निरन्तर उपलब्धता सुनिश्चित गर्नु चुनौतीपूर्ण छ ।
चेतनाले जोगाउन सक्छ ज्यान
लुम्बिनी प्रदेशमा सर्पदंशका घटना हरेक वर्ष दोहोरिने गरेका छन् । तथ्यांकले हजारौँ मानिस उपचारका लागि सर्पदंश उपचार केन्द्र पुगेको देखाउँछ । धेरैजसो उपचारपछि निको भएर घर फर्किएका छन् । तर उपचारमा ढिलाइ हुँदा केहीले ज्यानसमेत गुमाउनुपरेको छ । तर उपचार केन्द्रहरूले स्थानीय तह, विद्यालय र क्याम्पससँग सहकार्य गरेर सञ्चालन गरेका सचेतना कार्यक्रमले सकारात्मक प्रभाव पारेको छ । सर्पले टोकेपछि झारफुकमा समय खेर नफाली तत्काल उपचार केन्द्रमा पु¥याउने चेतना बढ्दै गएको छ । सर्पदंशबाट हुने मृत्यु रोक्न उपचार केन्द्रको संख्या बढाउनु मात्रै पर्याप्त हुँदैन । समयमै अस्पताल पु¥याउने व्यवस्था, पर्याप्त एन्टिभेनमको मौज्दात, दक्ष स्वास्थ्यकर्मी, एम्बुलेन्सको सहज पहुँच र समुदायस्तरमा निरन्तर सचेतना आवश्यक रहेको देखिन्छ ।
२०८३ साउन ६ गतेको राप्ती पोष्ट दैनिकमा प्रकाशित