शरद अधिकारी
नेपालको राजनीतिक इतिहासमा केही यस्ता व्यक्तित्व छन्, जसको योगदान कुनै एक दल, विचार वा समयको सीमाभित्र बाँधेर मूल्याङ्कन गर्न सकिँदैन । तिनैमध्ये एक हुनुहुन्छ, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ । उहाँलाई केवल नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने नेताका रूपमा मात्र बुझ्नु उहाँको योगदानलाई सानो बनाउनु हुनेछ । वास्तवमा पुष्पलाल नेपाली राजनीतिमा विचार निर्माण गर्ने, आन्दोलनको दिशा तय गर्ने र भविष्यको राजनीतिक मार्गचित्र कोर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो ।
आज पुष्पलालको निधन भएको ४७ वर्ष पूरा भइसकेको छ । तर उहाँले उठाएका धेरै राजनीतिक प्रश्न र दिएका धेरै वैचारिक निष्कर्ष आज पनि नेपाली राजनीतिमा उत्तिकै सान्दर्भिक देखिन्छन् । अझ रोचक कुरा के छ भने, कुनै समय उहाँका विचारको आलोचना गर्नेहरू नै अहिले उहाँको राजनीतिक दृष्टिकोणको सही मूल्याङ्कन गर्न थालेका छन् । वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मनुभएका पुष्पलालको राजनीतिक जीवन कुनै सुविधाजनक वातावरणमा सुरु भएको थिएन । त्यो समय नेपाल राणाशासनको कठोर दमनमा थियो । बोल्ने स्वतन्त्रता थिएन, राजनीतिक संगठन खोल्ने कल्पनासम्म गर्न सकिँदैनथ्यो । त्यस्तो कठिन परिस्थितिमा परिवर्तनको सपना देख्नु आफैंमा साहस थियो । त्यसमाथि संगठित राजनीतिक आन्दोलन निर्माण गर्नु झन् चुनौतीपूर्ण काम थियो ।
पुष्पलालको राजनीतिक यात्रामा एउटा भावनात्मक र ऐतिहासिक मोड पनि जोडिएको छ । १९९७ सालमा आफ्ना दाजु तथा अमर शहीद गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिनुअघि जेलमा भएको भेटमा गंगालालले भन्नुभएको थियो । ‘मैले प्रजातन्त्रका निम्ति बालेको दियोलाई तैंले प्रज्वलित पार्नेछस’ यहि भनाई पुष्पलालका लागि जीवनभरको प्रेरणा बन्यो । त्यो एउटा भाइप्रतिको विश्वास मात्र थिएन, नेपालको राजनीतिक इतिहासले बोकेको एउटा जिम्मेवारी थियो । त्यसपछि पुष्पलाल राणाशासनविरुद्धको आन्दोलनमा पूर्ण रूपमा समर्पित हुनुभयो ।
राजनीतिक जीवनको प्रारम्भमा उहाँ प्रजातान्त्रिक आन्दोलनसँग जोडिनुभएको थियो । तर समयसँगै उहाँले नेपाली कांग्रेसको नेतृत्व र राजनीतिक कार्यदिशाले सामाजिक तथा आर्थिक रूपान्तरण सम्भव नहुने निष्कर्ष निकाल्नुभयो । त्यसपछि उहाँ माक्र्सवादी विचारधारातर्फ आकर्षित हुनुभयो र २००६ सालमा भारतको कलकत्तामा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गर्नुभयो । त्यो केवल एउटा नयाँ दलको जन्म थिएन, नेपालको राजनीतिक इतिहासमा एउटा नयाँ वैचारिक धारको उदय थियो ।
त्यतिबेला नेपालमा कम्युनिष्ट विचारधाराबारे जानकारी नै न्यून थियो । पुष्पलालले त्यसलाई बुझाउन र फैलाउन ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपाली भाषामा अनुवाद गर्नुभयो । यसलाई नेपाली भाषाको पहिलो व्यवस्थित साम्यवादी साहित्यका रूपमा पनि लिइन्छ । विचारलाई जनतासम्म पु¥याउन भाषा र साहित्यको प्रयोग गर्नुपर्छ भन्ने उहाँको बुझाइ त्यहीँबाट देखिन्छ । पुष्पलाल केवल संगठनकर्ता मात्र हुनुहुन्थेन । उहाँ गम्भीर राजनीतिक विश्लेषक पनि हुनुहुन्थ्यो । उहाँले नेपाली समाजको वर्गीय संरचना, राष्ट्रिय चरित्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र नेपालको भू–राजनीतिक अवस्थाको अध्ययन गरेर राजनीतिक निष्कर्ष निकाल्नुभयो । उहाँका धेरै लेख, भाषण र दस्तावेज आज पनि नेपाली राजनीतिका महत्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा अध्ययन गरिन्छन् ।
उहाँको सबैभन्दा ठूलो राजनीतिक विशेषता भनेको समयभन्दा अगाडि सोच्ने क्षमता थियो । तत्कालीन समयमा कम्युनिष्ट आन्दोलनभित्र नेपाली कांग्रेससँग सहकार्य गर्ने विचार निकै विवादित थियो । धेरैले त्यसलाई विचारबाट विचलन भन्दै आलोचना गरे । कतिपयले पुष्पलाललाई गद्दारसम्म भने। तर उहाँको तर्क स्पष्ट थियो । नेपालमा निरंकुश पञ्चायती व्यवस्थालाई हटाउन लोकतान्त्रिक र वामपन्थी शक्तिबीच कार्यगत एकता अपरिहार्य छ । इतिहासले अन्ततः पुष्पलालकै विश्लेषणलाई सही सावित ग¥यो । २०४६ सालको जनआन्दोलन नेपाली कांग्रेस र वामपन्थी शक्तिको संयुक्त आन्दोलनबाट सफल भयो । त्यसपछि पनि विभिन्न राजनीतिक मोडमा लोकतान्त्रिक र वाम शक्तिहरूबीच सहकार्य हुँदै आयो । जुन विचारका कारण कहिल्यै आलोचित हुनुपरेको थियो, आज त्यही विचार नेपाली राजनीतिमा स्थापित रणनीति बनेको छ ।
पुष्पलालले स्थापना गरेको नेपाल कम्युनिष्ट पार्टी आज विभाजित हुँदै दर्जनभन्दा बढी कम्युनिष्ट दलमा परिणत भएको छ । तर विडम्बना के छ भने, उहाँले भने जीवनभर कम्युनिष्ट आन्दोलनको एकतामै जोड दिनुभयो । आफूले स्थापना गरेको पार्टी फुटेपछि पनि अर्को नयाँ पार्टी खोलेर व्यक्तिगत नेतृत्व खोज्ने बाटो उहाँले रोज्नुभएन । वैचारिक बहस र संगठनात्मक एकतामार्फत आन्दोलनलाई अघि बढाउनुपर्ने उहाँको धारणा अन्तिम समयसम्म कायम रह्यो ।
आज नेपालमा कम्युनिष्ट शक्ति राष्ट्रिय राजनीतिमा महत्वपूर्ण शक्तिका रुपमा छ । धेरै पटक कम्युनिष्ट दलहरूले सरकारको नेतृत्व गरेका छन् । संविधान निर्माणदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससम्म कम्युनिष्ट दलहरूको महत्वपूर्ण भूमिका रहेको छ । यस सफलताको जगमा पुष्पलालले रोपेको वैचारिक बीउ रहेको तथ्यलाई अस्वीकार गर्न सकिँदैन । यद्यपि अर्को प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ । पुष्पलालले देखेको समाजवादी नेपाल निर्माणको सपना कति पूरा भयो ? राजनीतिक परिवर्तन भए, शासन व्यवस्था फेरियो, संविधान बदलियो, सत्ता परिवर्तन अनेकौं पटक भयो । तर सामाजिक न्याय, आर्थिक समानता, सुशासन र जनजीविकाका धेरै प्रश्न अझै समाधान हुन सकेका छैनन् । यही कारण पुष्पलालका विचारलाई सम्झनु मात्र पर्याप्त हुँदैन, उहाँले उठाएका प्रश्नहरूको उत्तर खोज्नु पनि आवश्यक हुन्छ ।
पछिल्ला वर्षहरूमा नेपालका कम्युनिष्ट दलहरू बारम्बार विभाजन, सत्ता समीकरण र नेतृत्व संघर्षमा अल्झिएका देखिन्छन् । विचारभन्दा पद, संगठनभन्दा सत्ता र सिद्धान्तभन्दा समीकरणलाई प्राथमिकता दिने प्रवृत्ति बढ्दै गएको टिप्पणी हुने गरेको छ । यस्तो अवस्थामा पुष्पलालको वैचारिक इमानदारी, संगठनप्रतिको निष्ठा र दीर्घकालीन राजनीतिक सोच अझ बढी सान्दर्भिक देखिन्छ ।
नेकपा एमालेसहित नेपालका अधिकांश कम्युनिष्ट दलहरूले पुष्पलाललाई आफ्नो वैचारिक प्रेरणाको स्रोत मान्ने गरेका छन् । तर पुष्पलालको सम्मान केवल जन्मजयन्ती वा स्मृति दिवसमा माल्यार्पण गरेर मात्र हुँदैन । उहाँले प्रतिपादन गरेको राष्ट्रिय स्वाधीनता, लोकतान्त्रिक अभ्यास, वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन र जनमुखी राजनीतिलाई व्यवहारमा उतार्न सके मात्र उहाँप्रतिको साँचो सम्मान हुनेछ । नेपाली राजनीतिले धेरै नेता जन्मायो, धेरै आन्दोलन देख्यो र धेरै सत्ता परिवर्तन पनि भोग्यो । तर समयभन्दा दशकौँ अगाडिको राजनीतिक भविष्य देख्ने नेता भने विरलै जन्मन्छन् । पुष्पलाल श्रेष्ठ त्यस्ता दुर्लभ नेतामध्ये एक हुनुहुन्थ्यो । आज पनि उहाँका विचार अध्ययन गर्दा लाग्छ, उहाँले केवल आफ्नो समयलाई होइन, नेपालको राजनीतिक भविष्यलाई पनि पढ्नुभएको थियो । नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास लेखिँदा पुष्पलालको नाम पहिलो अध्यायमा रहनेछ । तर उहाँको महत्व त्यतिमै सीमित छैन। उहाँ नेपाली लोकतान्त्रिक आन्दोलन, वैचारिक राजनीति र राष्ट्रिय रूपान्तरणको साझा इतिहासका पनि अविस्मरणीय पात्र हुनुहुन्छ । उहाँले देखाएको विचार, त्याग र दूरदर्शिताले आगामी पुस्तालाई पनि उत्तिकै प्रेरणा दिनेछ । यही नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।
२०८३ साउन ६ गतेको राप्ती पोष्ट दैनिकमा प्रकाशित