समावेशी विकास र स्थानीय प्राथमिकताको प्रतिबिम्ब
राप्ती पोष्ट
तुलसीपुर, असार । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२÷०८३ का लागि आफ्नो १७ औं नगरसभामार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख टिकाराम खड्काद्वारा प्रस्तुत गरिएको १७ पृष्ठ लामो दस्तावेजले नगरको वर्तमान आवश्यकता र भविष्यमुखी योजनाहरुलाई समेट्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास, पर्यावरण संरक्षण तथा सामाजिक समावेशीताजस्ता महत्वपूर्ण क्षेत्रमा प्राथमिकता दिएको छ ।
संघीयता कार्यान्वयनको सन्दर्भमा स्थानीय तहको जिम्मेवारी अझै गहन बनिरहेको बेला तुलसीपुरले अघि सारेको यो नीति कार्यक्रम एक सशक्त नमुना बन्न सक्ने सम्भावना बोकेको दावी गरिएको छ । तुलसीपुरका प्रमुख खड्काले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई प्राथमिकता दिंदै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
शिक्षामा आमूल सुधारको दृष्टिकोण
तुलसीपुर उपमहानगरपालिकाले शिक्षालाई सुदृढ गर्नका लागि ‘भित्र्याउने, सिकाउने र टिकाउने’ अभियानलाई केन्द्रमा राखेर आगामी वर्षको कार्ययोजना तय गरेको छ । बालबालिका विद्यालय भर्ना भएर मात्र पुग्दैन, उनीहरूको निरन्तर उपस्थिति र सिकाइमा टिकाउपन हुनुपर्ने सन्देश यो योजनाले बोकेको छ । यसका लागि विद्यालयहरूमा भौतिक पूर्वाधार सुधारदेखि लिएर शैक्षिक सामग्री, विज्ञान प्रयोगशाला, पुस्तकालय र शौचालयको स्तरोन्नति कार्यलाई तिव्रता दिने उल्लेख छ । यसबाहेक ‘मेरो विद्यालय, सुरक्षित र उत्कृष्ट शिक्षालय’ भन्ने नारासहित विद्यालयलाई मुल्य–मान्यताको आधारमा उकास्ने सोच, अभिभावक र शिक्षकबीच संवादमूलक कार्यक्रमको निरन्तरता, र विद्यार्थी–शिक्षकको सम्बन्धमा पारदर्शिता ल्याउने प्रयत्न, यी सबैले स्थानीय शिक्षा प्रणालीमा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ ।
स्वास्थ्य क्षेत्रमा पहुँच र पूर्वतयारीमा जोड
स्वास्थ्य क्षेत्रलाई तुलसीपुरले केवल उपचारको विषय होइन, सामाजिक उत्तरदायित्वका रूपमा पनि हेरेको देखिन्छ । स्वास्थ्य पूर्वतयारी, सचेतना र समावेशी सेवाप्रदायक प्रणाली निर्माणजस्ता कार्यहरू यस नीति कार्यक्रमको मूल मर्ममा छन् । अस्पताललाई आपतकालीन प्रतिक्रिया केन्द्रका रूपमा सशक्त बनाउने योजनाले प्राकृतिक वा मानवीय विपद्का बेला तत्काल राहतको व्यवस्था सुनिश्चित गर्न मद्दत पु¥याउनेछ ।
यातायात क्षेत्रसँग जोडिएका सवारी चालकहरूका लागि ‘स्वस्थ चालक, सुरक्षित यात्रा’ कार्यक्रम निरन्तरता दिइएको छ । यो पेशासँग संलग्न मानिसहरूको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखिएको नगरप्रमुखले स्पष्ट पार्नुभयो । ‘मेयर स्वस्थ मुटु अभियान’ जस्ता कार्यक्रमलाई अघि सारिएको छ । यस्ता कार्यक्रमले नसर्ने रोगहरूको नियन्त्रणलाई नगरपालिकाको गम्भीरताका साथ लिएको पनि नगरप्रमुखले बताउनुभयो । यसैगरी ‘स्वस्थ किशोरी, स्वस्थ आमा’ कार्यक्रमले किशोरीदेखि मातृत्वमा पुग्ने महिलाहरूसम्मको स्वास्थ्यमाथि केन्द्रित विशेष ध्यान दिएको छ ।
त्यस्तै, अपांगता भएका व्यक्तिहरूलाई लक्षित गरेर अपांग स्रोत केन्द्रको स्थापना, सहायक सामग्रीको वितरण र सहज जीवन यापनका लागि आवश्यक पूर्वाधार तयार गर्ने योजना समावेश गरिएको छ, जसले समावेशी स्वास्थ्य सेवा प्रणाली निर्माणतर्फको ध्यानाकर्षण गराउने विश्वास तुलसीपुर उपमहानगरपालिकाको छ ।
कृषिमा उत्पादन र बजारको सन्तुलन
‘एक वडा, एक कृषि उत्पादन संकलन तथा प्रवद्र्धन केन्द्र’को अवधारणालाई अघि सारिएको छ । कृषकहरूका उत्पादनलाई संकलन गर्ने, भण्डारण गर्ने, प्रशोधन गर्ने र स्थानीय बजारमा प्रवाह गर्न सक्ने एकीकृत केन्द्रहरूले बजार अभावका कारण सड्ने उत्पादनको समस्या समाधान गर्न सक्ने विश्वास व्यक्त गरिएको छ । बाह्य उत्पादनको अनावश्यक आयातलाई घटाउने नीति लिँदा स्थानीय उत्पादनको मूल्य संरक्षण र आत्मनिर्भरताको भावना बलियो हुने बताइएको छ ।
यसै सन्दर्भमा तरकारी बजार र हाटबजारलाई प्रत्येक वडामा विस्तार गर्ने योजना पनि महत्वपूर्ण छ । यसले उपभोक्ता र उत्पादकबीच प्रत्यक्ष सम्पर्क कायम गराउने, बिचौलिया हटाउने र उत्पादकलाई उचित मूल्य दिलाउने गरी नीति तथा कार्यक्रम तय गरिएको छ ।
रोजगारीमा सहकारी र सीपमूलक कार्यक्रमको मेल
‘सबल सहकारी, बढाउने छ रोजगारी’ अभियानले रोजगारी सिर्जना र स्थानीय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योगको प्रवद्र्धनलाई जोड दिएको छ । यस अवधारणाले रोजगारी सिर्जनासँगै स्थानीय स्रोतको अधिकतम उपयोग, आय आर्जन र आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने विश्वास गरिएको छ । यसैगरी, द्वन्द्वपीडित, एकल महिला, विपन्न र हिंसापीडित वर्गका लागि सीपमूलक तालिम, उद्यमशीलता विकास कार्यक्रम र रोजगारीमा जोड्ने योजनाले सामाजिक समावेशिता र न्यायमा आधारित विकासको परिकल्पना प्रतिविम्बित गर्ने नगरप्रमुख खड्काको भनाई छ ।
पर्यटनमा स्थानीय सम्पदाको उत्थान
तुलसीपुर उपमहानगरपालिकाले पर्यटकीय सम्भावनाहरूको पहिचान मात्र नभई संरचनागत विकासमा पनि ध्यान दिएकाछ । ‘घुम्न जाऔं तुलसीपुर’ अभियानअन्तर्गत छिल्लीकोट मन्दिर, थर्कोट मन्दिर, चमेरे गुफा, राप्ती शान्ति पार्क, जन्तीढुंगा, गौरीगाउँ ताल, सुकौराकोट दरबारलगायत क्षेत्रको विकासको प्रतिबद्धता नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
‘एक वडा, एक पर्यटकीय स्थल’ भन्ने अवधारणाले प्रत्येक वडामा रहेका लुकेका सम्पदाहरूको पहिचान, संरक्षण र प्रवद्र्धनमार्फत आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नुका साथै स्थानीय रोजगारीमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
भौतिक पूर्वाधारमा दीर्घकालीन सोच
पूर्वाधार विकासका पक्षमा नगरले सडक, पुल, आवास, भू–उपयोग योजना, बस्ती विकासलाई समेट्दै दीर्घकालीन सोच बोकेको नीति अघि सारेको छ । ग्रामीण क्षेत्रलाई शहरसँग जोड्ने सडक विस्तार, सुरक्षित आवास, बस्ती व्यवस्थापन, आवासीय क्षेत्र र व्यापारिक क्षेत्र छुट्याउने भू–उपयोग नीतिले शहरीकरणलाई व्यवस्थित बनाउनेछ । यसैसाथै नगर सौन्दर्यकरण, फोहोरमैला व्यवस्थापन, हरियाली प्रवद्र्धन, खुला क्षेत्र विकास र सरसफाइका कार्यक्रमहरू ‘सफा तुलसीपुर, सुन्दर तुलसीपुर’को अभियान अन्तर्गत अगाडि सारिएको छ ।
राजस्व सुधार र संस्थागत संयन्त्र सुदृढीकरण
स्थानीय सरकारको आयस्रोतको मेरुदण्ड भनेकै कर प्रणाली हो । तर लामो समयदेखि यस क्षेत्रमा पारदर्शिता, क्षमता र कार्यान्वयनको कमजोरी देखिँदै आएको छ । यही समस्यालाई सम्बोधन गर्न तुलसीपुर उपमहानगरपालिकाले नयाँ राजस्व ऐन निर्माण गरेर कर प्रणालीलाई प्रभावकारी बनाउने योजना अघि सारेको छ । यसले नगरपालिका भित्रका आयश्रोतलाई समुचित व्यवस्थापन, कर संकलनमा पारदर्शिता र करदाता–मैत्री वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
सामाजिक समावेशिता र सहजीकरण
तुलसीपुर उपमहानगरपालिकाले महिला, बालबालिका, अपांगता भएका व्यक्ति, जेष्ठ नागरिक, विपन्न वर्ग लगायत सबैको जीवन सहज बनाउने उद्देश्यले नीति निर्माण गरेको छ । शिक्षा, स्वास्थ्य, सीपमूलक तालिम, रोजगार, सहायक सामग्रीको उपलब्धता, संरचनागत पूर्वाधार–यी सबै कुरामा समावेशी दृष्टिकोण लिएको छ । यसैगरी, विपद् व्यवस्थापनमा तयारी, वातावरण संरक्षण, विपद्को पूर्वचेतावनी प्रणाली र जोखिम न्यूनीकरणको उपायमा जोड दिएको कार्यक्रमले प्राकृतिक विपद्को जोखिम कम गर्दै दीगो विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले प्रस्तुत गरेको २०८२÷०८३ को नीति तथा कार्यक्रम समग्रमा स्थानीय आवश्यकतालाई सम्बोधन गर्न सक्ने र नागरिकको जीवनस्तर उकास्न सक्षम एक सशक्त दस्तावेजका रुपमा रहेको नगरप्रमुख खड्काको दावी रहेको छ । यि कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्ति, प्रशासनिक क्षमता र नागरिकको साझेदारी अपरिहार्य रहेको भनाई पनि उहाँको छ । उहाँले संघीयताको मर्म अनुसार स्थानीय सरकारमार्फत जनताको घरदैलोमै सेवा पु¥याउने बताउनुभयो ।
तुलसीपुरले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, पूर्वाधार, पर्यटन, सामाजिक सुरक्षा र वातावरण संरक्षणजस्ता बहुआयामिक क्षेत्रलाई समेट्दै यस्तो सेवा प्रणाली निर्माण गर्ने प्रयास गरेको खड्काको भनाई छ । यदि यी कार्यक्रमहरू समयमै, पारदर्शी ढंगले, र जनसहभागिताका साथ कार्यान्वयन भए, भने तुलसीपुर संघीयताको नमूना नगरका रूपमा स्थापित हुन विश्वास गरिएको छ ।