spot_img
spot_img

दाङमा शीर्ष नेताहरुको लगातारको आगमन, प्रधानमन्त्री ओली आउँदै

छबि पुरी/ राप्ती पोष्ट

घोराही, ४ फागुन । गत जेठ ३१ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्रीको हैसियत नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीको पाँचौँ दीक्षान्त समारोहमा सहभागी हुन दाङ आउनुभयो । त्यसको ठीक आठ महिनापछि पार्टी अध्यक्षको हैसियतमा माघ ११ र १२ गते दाङ आउनुभयो ।

विविध कारणले १२ वर्षदेखि रोकिएको दीक्षान्त समारोहमा कुलपतिका रुपमा सरिक हुनुभएका दाहालले नेसंवि र दाङको विकास बारे निकै चर्चा गर्नुभयो । साढे महिनापछि दाङमा पाइला टेक्दा माघको ११ र १२ गते जनताको बीचमा आएको भन्दै फुर्सदिलो रुपमा समय बिताउनुभयो

उहाँले दुई दिनको बिचमा पार्टीको कार्यक्रमदेखि शुभेच्छुकसँग पनि भलाकुसारी गर्नुभयो । सत्ता छाडेर जनताको बिचमा आएको भन्दै आगामी २०८४ मा हुने निर्वाचनका लागि जनतासँग भोट समेत माग्न भ्याउनुभयो । उहाँले दाङको बारेमा जनयुद्धका बेलादेखि जानकार रहेको बताए पनि यहाँको विकासका लागि ठोस योजना भने सुनाउनु भएन । ‘म घोराही तुलसीपुर सडकमा त्यो बेला हिँड्दा दुर्घटनामा परेको थिएँ । त्यसैले यहाँको बारेमा याद छ । टरीगाउँ विमान स्थल सुचारु गर्न यहाँका नेतृत्वले इच्छाशक्ति देखाएमा राम्रो हुनेछ । दाङको विकासका लागि हामी गम्भीर छौँ, अध्यक्ष दाहालले भन्नुभयो ‘साविक राप्तीको आर्थिक केन्द्र हो । दाङको विकासका लागि सबै लागौँ । दाङ अवश्य बन्नेछ ।’

दाहाल दाङबाट फर्किएको १४ दिनपछि माघ २६ गते नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आउनुभयो । उहाँ यसअघि २०७८ को स्थानीय तहको निर्वाचनमा प्रचारप्रसारका लागि प्रचण्डसँग दाङ आउनुभएको थियो । त्यसको करिव ३ वर्षपछि दाङ आउनु भएका सभापति देउवाले दंगीशरण गाउँपालिका ३ चखौरामा भएको थारु समुदायको कार्यक्रमदेखि पार्टीको विभिन्न कार्यक्रममा सहभागीता जनाउनुभयोे ।
उहाँले दाङको विकासका लागि टरीगाउँ धावनमार्ग विस्तार अपरिहार्य रहेको बताउनुभयो । पश्चिम क्षेत्रकै पुरानो विमान स्थल भएपनि चलायमान बन्न नसकेको टरीगाउँ विमान स्थल बिस्तार गरेर सुचारु गर्दै दाङको विकासका लागि पहल गर्ने आश्वासन दिनुभयो । दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन हुनु र प्रदेश राजधानी हुनु यहाँको विकासको आधार रहेको उहाँले बताउनुभयो ।

सभापति देउवाले थारू समुदायको उत्थानका लागि आरक्षण आवश्यक रहेको बताउनुभयो । दाङ थारु जातिको विशेषता बोकेको जिल्ला भएकाले थारु समुदायको कला, संस्कृति, भाषा, पहिचान संरक्षणमा जुट्नुपर्ने धारणा राख्नुभयो । दाहाल र देउवापछि अबको ८ दिनपछि फागुन ५ गते प्रधानमन्त्री केपी शर्मा ओली पनि दाङमा आउँदै हुनुहुन्छ । उहाँ यसअघि २०७६ माघ १२ गते देशकै दोस्रो लामो पुलका रुपमा  रहेको राप्ती नदी पुलको उदघाटन गर्न र नेकपा विभाजनपछिको कार्यक्रम सम्बोधन गर्न देउखुरीमा आउनुभएको थियो ।

पाँच वर्षपछि दाङमा पाइला टेक्न लाग्नुभएका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जिल्लामा आउँदा सोमबार लुम्बिनी प्रदेश सभामा पाँचौँ अधिवेशनमा विशेष सम्बोधन गर्ने र घोराहीमा हुने जनसभालाई सम्बोधन गर्नुहुनेछ । यसअघि दुई दिन दाङमा रहने बताईएपनि उहाँ सोमबार नै काठमाडौँ फर्किने नेकपा एमाले दाङले जनाएको छ । प्रधानमन्त्री ओली फागुन ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने र लामो समयदेखि अलपत्र रहेको घोराही–तुलसीपुर चारलेन सडकको शिलान्यास गर्ने बताइएको थियो ।

उहाँले यहाँको विकास र सम्भावनालाई कुन ढंगले सम्बोधन गर्नुहुनेछ भन्ने दाङबासीले प्रतिक्षा गरेका छन् । घोराहीमा हुने सभामा प्रधानमन्त्री ओलीको बोलीबाट जिल्लाको अवस्था बारे सम्बोधन हुने आशा गरेका छन् । उसो त, लुम्बिनी प्रदेशको राजधानीसमेत रहेको दाङमा एकपछि अर्को गरेर शीर्ष दलका मुख्य नेता आईरहँदा दाङले धेरै आश्वासन पाएको छ । एक महिनाको अवधिमा देशका प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्री  दाङमा  आएर विभिन्न विषयमा यहाँको अवस्थासँगै आगामी योजनाका बारेमा बोलिरहँदा लामो समयदेखि अधुरा योजना र यसअघि सार्वजनिक गरिएको विकासका योजनाले सार्थकता पाउनेमा दाङबासीमा आशा पलाएको छ ।

तर, कतिपयले पछिल्लो समय शीर्षस्थ नेताहरु दाङमा आईरहँदा यहाँको विकास निर्माणभन्दा पनि राजनीतिक उद्देश्य पूरा गर्न आईरहेको टिप्पणी गर्छन् । वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूको दाङ आगमनलाई यहाँका नागरिकले प्रदेश राजधानीको विकाससँगै विकास योजनामा शीर्ष नेताहरुको धारणा कस्तो छ भन्ने कोणबाट हेरिरहेका छन् । देशका ठूला पार्टीका शीर्ष नेतृत्व जिल्लामा आउँदा उनीहरूको आगमनले दाङ विकासमा पक्कै पनि सकारात्मक प्रभाव पर्ने आशा नागरिक वर्गले गरिरहेका छन् ।

नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले शीर्ष नेताहरूको पछिल्लो दाङ आगमनले दाङको विकास र समृद्धिका लागि केही भएपनि दवाव निर्माण गर्ने धारणा व्यक्त गर्नुहुन्छ । यद्यपि, उहाँले जनताले खास्सै ठूलो अपेक्षा नराखे पनि नेताहरुले  नागरिकसँग बसेर छलफल गर्न समय निकाल्नु पर्ने आवश्यक ठान्नु हुन्छ । दाङले भोगिरहेका समस्या समाधानका लागि कसरी अघि बढ्दा राम्रो होला भन्ने बारे नेताहरुले जिल्लामा आएको बेला वृहत छलफल गर्दा राम्रो हुने उहाँको भनाई छ ।

दाङको विकासका लागि दाङको हवाई यातायात व्यवस्थापन, कोइलाबास नाका पूर्ण सञ्चालन, नेपाल संस्कृत विश्वविद्यालय व्यवस्थापन, लमही–धारापानी–तुलसीपुर कोरिडोर, घोराही–प्युठान सडक, घोराही–स्वर्गद्वारी केबुलकार, लमही–घोराही सुरुङमार्ग, घोराही–तुलसीपुर–अमिलिया फोरलेन सडक, माडी–दाङ, शारदा–दाङ डाइभर्सन तथा ग्वारखोला उच्च बाँध, वृहत दाङ उपत्यका सिँचाइ आयोजना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा निर्माणाधीन रंगशाला, प्रदेश राजधानीको गुरुयोजना कार्यान्वयनमा दाङ आएर फर्किने नेताहरुले गम्भीर लिनुपर्ने नागरिक अगुवा चन्द्रराज पन्त बताउनुहुन्छ ।

भूगोलका हिसावले एसियाकै ठूलो उपत्यका मानिएको दाङ हरेक दृष्टिकोणबाट सम्भावना बोकेको जिल्ला हो । तर, नेताहरुले यहाँको सम्भावना र अवसरलाई बारम्बार राजनीतिक भ¥याङ बनाएर माथि पुग्दा जिल्ला बिर्सँदा दाङले दुख पाईरहेको दाङका सामाजिक अभियन्ता विकिरण गौतम बताउनुहुन्छ । अहिले सत्ता साझेदारमा शीर्ष नेता तथा आगामी प्रधानमन्त्रीका रुपमा हेरिनु भएका शेरबहादुर देउवा दाङ आएर फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आगमन हुनुलाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राख्नुहुन्छ । ‘देशका बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरू जिल्लामा आउनु महत्वपूर्ण विषय हो । दाङको विकास हुन बाँकी छ । यहाँको विमानस्थल सुचारु हुनुपर्नेछ । सडक फोरलेन हुनुपर्ने यहाँका नागरिकको आशा छ’ उहाँले भन्नुभयो ‘उहाँहरूको आगमनले विकासमा सघाउ पुग्छ जस्तो लाग्छ ।’ तर, दाङको सम्भावना र समृद्धिको सपना पूरा गर्न नेताले जनताका आवाजको सुनुवाई भने गर्नुपर्छ ।’

दाङ राजनीतिक प्रभाव  रहेको जिल्ला हो । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा ९माओवादी केन्द्र०का लागि विशेष जिल्ला मानिन्छ । अहिले पनि प्रतिनिधि सभा र प्रदेश सभामा यहाँका नेताहरुको प्रभाव देखिन्छ । अर्कातिर नेकपा एमालेका महासचिव शंकर पोखरेल पनि दाङ कै भएकाले पछिल्लो समय नेताहरुको दाङ भ्रमणलाई अर्थपूर्ण रुपमा पनि हेरिएको छ । लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका पोखरेललाई नेकपा एमालेमा ओलीको उत्तराधिकारीका रूपमा समेत धेरैले अड्कल काट्ने गरेका छन् ।

spot_img
spot_img
सम्बन्धीत समाचार
थप समाचार
spot_img

चर्चित समाचार