जेष्ठ नागरिकलाई सम्मान, विभिन्न क्षेत्रका उत्कृष्टहरुलाई पुरस्कार र सम्मान
राप्ती पोष्ट
घोराही, माघ । घोराही उपमहानगरपालिकाले मंगलबार ४७ औँ स्थापना दिवस मनाएको छ । कार्यवाहक नगरप्रमुख हुमाकुमारी डिसीको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले गर्नुभएको थियो ।
स्थापना दिवसलाई सम्बोधन गर्दै शर्माले संघीयता कार्यान्वयनमा आएपछि स्थानीय सरकारले जनताको सेवामा विशेष योगदान दिइरहेको बताउनुभयो । नागरिकको नजिकको सरकारको रुपमा रही शिक्षा, स्वास्थ्य, पूर्वाधार, खेलकुद, कृषि, पर्यटनलगायत क्षेत्रमा अनुकरणीय काम गरिरहेको उहाँले बताउनुभयो । यस्तै, स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कृषि अनुदानदेखि यान्त्रिकरणको काम गरेर हौसला दिईरहेको बताउनुभयो । आयआर्जनमा जोड्न उद्यमशीलता विकासका कार्यक्रम, सीप तालिमदेखि आवश्यक कानुन निर्माणमा अग्सर रहेको उहाँको भनाइ थियो
शहरलाई गाउँसम्म जोड्ने गरि सडक पूर्वाधार निर्माण गर्नेदेखि कृत्रिम जलाशय निर्माण गरेर वातावरण संरक्षण र कृषि उत्पादनको आधार निर्माण गरेको बताउनुभयो । स्थानीय सरकारले छोटो अवधिमा राम्रो काम गरणन सक्छन् भन्ने उदाहरण घोराहीले प्रस्तुत गरिरहेको बताउनुभयो । बालमैत्री पालिकाका रुपमा २०७८ मा घोषणा गरेर देशमै अनुकरणीय काम गरेको घोराहीले लैंगिक हिंसा नियन्त्रितपालिका बनाउने अभियानले देशमै उत्कृष्ट हुने बाटोमा रहेकोे बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले संविधानले दिएको अधिकार कार्यान्वयनमा जुट्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले सबै तह, वर्ग, समुदाय, धर्म, संस्कृतिको जगेर्ना गर्दै सुशासन कायम राख्दै समानान्तर हितका पक्षमा लाग्नु सबैको दायित्व रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव बालिका लम्साल, नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी, नेकपा माओवादीका बसन्त चौधरी, नागरिक समाज दाङका सचिव नारायणप्रसाद श्रेष्ठले स्थानीय सरकारलाई प्राप्त अधिकारको प्रयोग गरेर नागरिकको सेवामा खटिन अपिल गर्नुभयो । उक्त अवसरमा नगरका पूर्व उपप्रमुख दामोदर अधिकारी, पूर्व कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेय तथा राष्ट्रिय जनमोर्चा, नेपाल पत्रकार महासंघ दाङ शाखा, नेकपा समाजवादी पार्टीका प्रमुख प्रतिनिधिहरु बोल्नुभएको थियो ।
यसैबीच, संचारकर्ममा रही नगरको सर्वाङ्गिण विकासमा योगदान पुर्याएको भन्दै रेडियो मध्यपश्चिमकर्मी भावना सुवेदी, गोरक्ष दैनिककर्मी लीलाधर वली र ग्रामीण अपडेट अनलाइनका दीपक वलीलाई पुरस्कृत गरिएको छ । पालिकामा रही विभिन्न क्षेत्रबाट योगदान दिईरहेकाहरुलाई पनि पुरस्कृत एवम् सम्मान गरेको छ ।
यसैगरी सय वर्षमाथिका १० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । सम्मानित हुनेमा घोराही ४ का १०४ वर्षका उमी पुन मगर, घोराही ५ का १०२ वर्षका विष्णुकुमारी रावत, घोराही ६ का १०५ वर्षका यमुनादेवी खनाल, घोराही ९ का १०४ वर्षका दुरपति कमेनी, घोराही १२ का १०३ वर्षका दास्नु थारु, घोराही १२ का १०१ वर्षका साईबिर खत्री, घोराही १४ का १ सय वर्षका देव बुढा, घोराही १६ का १०५ वर्षका जमुनी डाँगी, घोराही १८ का १०२ वर्षका जुमाने सुनार र सोही वडाकै १०४ वर्षका तुलसी आलेमगर रहनुभएको छ । उहाँहरुलाई खादासहित विभिन्न सामग्री दिएर सम्मान गरिएको हो ।
यसैगरी, विभिन्न पाँच वटा टोल विकास संस्थालाई पनि सम्मान गरिएको छ । सम्मानित हुनेमा फुलबारी टोलविकास संस्था, पद्मोदय टोल विकतस संस्था संयुक्त टोल विकास संस्था, सरसफाइ टोल विकास संस्था, लालीगुरास टोल विकास संस्था रहेका छन् । विद्यालयतर्फ श्री सिद्ध रत्ननाथ नारायणपुर प्रथम, जनता मावि बुका द्वितीय, पद्मोदय नमुना मावि तृतीय, सान्त्वनातर्फ मावि हापुर बिजौरी र आवि गिठेपानी रहेका छन् भने सरसफाइ अभियन्तातर्फ बयलडाँडा चौतारी क्लब, लोटस ट्रेनिङ सेन्टर, लक्षिन बुढा स्मृति प्रतिष्ठानलाई सम्मान गरिएको छ । पालिकाको विकासमा उत्कृष्ट कार्य गरेका निकायलगायत सय बढीलाई पनि स्थापना दिवसका अवसरमा सम्मान गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन पूर्वाधार महाशाखा प्रमुख युवराज पौडेलले गर्नुभएको थियो ।